२०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

पश्चिमी वायुको प्रभाव कायमै, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना


५७४७ पाठक संख्या
  • २०८२ कार्तिक १७, सोमबार मा प्रकाशित ३ महिना अघि
  • कात्तिक १७, काभ्रेपलाञ्चोक ।नेपालमा हाल पश्चिमी वायुको प्रभाव कायमै रहेकाले केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

    विभागका अनुसार देशका अधिकांश स्थानमा मौसम सामान्यतया सफा रहने भए पनि कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्छ।

    हालै बङ्गालको खाडीमा विकसित ‘मोन्था’ चक्रवातको प्रभावका कारण देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपात भएको थियो। उक्त मौसम प्रणालीका कारण मनाङ, मुस्ताङलगायतका हिमाली क्षेत्रमा बाक्लो हिमपात भएपछि यातायात र पर्यटन गतिविधिमा असर परेको थियो। मनाङको डिस्याङ गाउँपालिका–९ तिलिचो ताल आधार शिविरमा फसेका १३ जना आन्तरिक तथा विदेशी पर्यटकलाई सशस्त्र प्रहरीको पर्वतीय उद्धार टोलीले सुरक्षित रूपमा उद्धार गरेको थियो।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कात्तिक १५ देखि १६ गते बिहानसम्म देशभरका ३०१ वर्षा मापन केन्द्रमा वर्षा रेकर्ड गरिएको थियो। तीमध्ये १८५ केन्द्रमा उल्लेख्य मात्रामा वर्षा भएको पाइएको छ।

    सबैभन्दा बढी वर्षा लमजुङको बेंसीशहर केन्द्रमा ७१.१ मिलिमिटर मापन गरिएको थियो। चारवटा मापन केन्द्रमा ५० मिलिमिटरभन्दा बढी वर्षा भएको विभागले जनाएको छ। हाल पश्चिमी वायुको प्रभाव जारी रहेकाले हिमाली यात्रु र स्थानीयवासीलाई मौसम अनुसार आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार