२०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

मतदाताको सहजता : राष्ट्रिय परिचयपत्रबाटै नाम दर्ता हुने व्यवस्था लागू


३९७९ पाठक संख्या
  • २०८२ कार्तिक २७, बिहिबार मा प्रकाशित २ महिना अघि
  • २७ कात्तिक, काठमाडौं। जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा बिहीबार दिउँसो मतदाता नामावलीमा नाम दर्ता गर्न आएका सेवाग्राहीको भीड लागेको थियो। युवादेखि ज्येष्ठ नागरिकसम्म आफ्नो नाम दर्ता गर्न लाइनमा उभिएका थिए।

    तर केही समयमै कार्यालय परिसरमै सूचना टाँसियो— “अब राष्ट्रिय परिचयपत्र भएकाले नाम दर्ता गर्न कार्यालयमा आउनु पर्दैन।”

    त्यसपछि लाइनमा बसेकाहरू मध्ये धेरैले आफूसँग राष्ट्रिय परिचयपत्र रहेको भन्दै घर फर्किए। एकाएक भीड घट्यो। निर्वाचन आयोगलाई पञ्जीकरण विभागले नागरिकले राष्ट्रिय परिचयपत्रका लागि भरेको बायोमेट्रिकसहितका विवरण उपलब्ध गराएपछि यो प्रक्रिया सहज भएको हो।

    राष्ट्रिय परिचयपत्रको आधारमा मतदाता नामावलीमा नाम समावेश गर्न सकिने भएपछि देशभरका निर्वाचन कार्यालयहरूमा सेवाग्राहीको भीड कम हुने अपेक्षा गरिएको छ।

    जिल्ला निर्वाचन कार्यालय काठमाडौंका प्रमुख ठाकुर प्रसाद भट्टराईले भने,“मतदातालाई निकै सहज भएको छ। अब मतदाता कार्यालय आउनु पर्दैन। जसको राष्ट्रिय परिचयपत्र छ, उसले घरमै बसेर अनलाइन आवेदन भर्न सक्छ। फोटो खिच्न पनि आउनु पर्दैन।”

    उनका अनुसार राष्ट्रिय परिचयपत्र भएकाले पनि अनलाइनबाट आवेदन दिनु आवश्यक हुन्छ। आवेदन दिएपछि सम्बन्धित व्यक्तिले आवेदन नम्बर प्राप्त गर्छन्। त्यसपछि प्रदेश वा जिल्ला निर्वाचन कार्यालयले अनुमोदन गरेपछि मोबाइल वा इमेलमार्फत मतदाता परिचयपत्र नम्बर पठाइनेछ।

    नागरिकको बायोमेट्रिक विवरण राष्ट्रिय परिचयपत्र प्रणालीबाटै प्राप्त हुने भएकाले अब मतदाता नामावली दर्ता प्रक्रिया पूर्ण रूपमा डिजिटल प्रणालीमा आधारित हुँदै गएको आयोगले जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार