काठमाडौँ । नेकपा एमालेले प्रतिगामी शक्तिहरूको ‘षड्यन्त्र’ विरुद्ध आज देशैभरि शक्ति प्रदर्शन गर्दै जनसभा आयोजना गरेको छ। जनपरिचालन कार्यक्रमअनुसार अधिकांश जिल्ला सदरमुकाम तथा ठूला सहर–बजार क्षेत्रमा जनसभाहरू भइरहेको पार्टीले जनाएको छ।
एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार जनसभामा व्यापक जनसहभागिता जुटाउने उद्देश्यले केन्द्रीय सदस्यदेखि जिल्ला तहका नेतृत्वलाई जिम्मेवारी विभाजन गरिएको छ।
उनका अनुसार जनपरिचालन कार्यक्रम चार चरणमा अघि बढाइएको छ। पहिलो चरणमा कात्तिक २२ गते देशैभर वडा भेला सम्पन्न भएको थियो। दोस्रो चरणअन्तर्गत कात्तिक २५ गते अधिकांश स्थानीय तहमा जनप्रदर्शन तथा र्यालीहरू भएका थिए। तेस्रो चरणमा आज जिल्लास्तरमा जनसभा भइरहेको छ भने अन्तिम चरण मंसिर ६ गते काठमाडौँमा विशाल जनसभा गरी समापन गरिने छ।
आजका सभामा शीर्ष नेतृत्व विभिन्न स्थानमा सहभागि छन्। महासचिव शंकर पोखरेल नेपालगन्जमा, उपमहासचिव प्रदीप ज्ञवाली गुल्मीमा र उपमहासचिव पृथ्वी सुब्बा गुरुङ लमजुङमा आयोजित आमसभालाई सम्बोधन गर्दैछन्।
यस्तै, रुपन्देहीमा सचिव छविलाल विश्वकर्मा, झापाको बिर्तामोडमा सचिव पद्मा अर्याल, तथा कोशी प्रदेशका मुख्यमन्त्री एवं स्थायी कमिटी सदस्य हिकमत कार्की धनकुटामा आयोजना गरिएको जनसभामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
प्रतिक्रिया दिनुहोस