२०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

पाँचखाल–३ स्थित तामेश्वर महादेवमा बालाचतुर्दशी अवसरमा दीप प्रज्वलन, घाट क्षेत्र सजिएर उज्यालो


११५७१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८२ मंसिर २, मंगलबार मा प्रकाशित २ महिना अघि
  • काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिका–३ स्थित सुनमतीगंगा घाट परिसरमा रहेको तामेश्वर महादेव मन्दिर क्षेत्रमा बालाचतुर्दशीको अवसरमा दीप प्रज्वलन कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न गरिएको छ।

    दिप प्रज्वलन कार्य तथा सदविज छर्ने कार्यलाइ सहज बनाउन घाट व्यवस्थापन समितिले दुई दिनअघिबाट नै सरसफाइ तथा स्थल व्यवस्थापनको काम सुरु गरेको थियो। तयारीका कारण सम्पूर्ण मन्दिर तथा घाट क्षेत्र आकर्षक रूपमा सजिएको समितिले जनाएको छ।

    घाट व्यवस्थापन समितिका अध्यक्ष कमल दुलालका अनुसार बालाचतुर्दशीका दिन बत्ति बाल्न आउने भक्तजनलाई सहज वातावरण उपलब्ध गराउनु समिति­को दायित्व भएकाले निरन्तर संरचना र व्यवस्थापन सुधार भइरहेको छ। “घाट र वरपरको क्षेत्रमा निरन्तर व्यवस्था सुधार भइरहेको छ। थप निर्माणको आवश्यकता रहेकोले त्यसतर्फ पनि पहल भइरहेको छ,” अध्यक्ष दुलालले बताए।

    समितिका सदस्य ज्ञानबहादुर थापाले सुरुवाती दिनहरूमा घाट व्यवस्थापन कठिन रहे पनि अहिले समुदाय र शुभेच्छुकहरूको साथ बढ्दै गएको बताए। “सुरुमा धेरै चुनौती थियो, तर क्रमशः दुवै हातले साथ दिने दानवीरहरू बढ्दै गए। स्थानीय तहबाट पनि मद्दत मिल्दै आएको छ,” उनले भने।

    यस वर्षको तयारीमा सुरक्षा निकायदेखि स्थानीय संस्थासम्मको उल्लेखनीय सहयोग प्राप्त भएको समितिले जनाएको छ। केही दिनअघिको सरसफाइ अभियानमा सशस्त्र प्रहरीको सहयोग रहेको र आज व्यवस्थापनका लागि पाँचखाल नगरपालिकाले २ थान पाल उपलब्ध गराएको थियो।

    त्यस्तै पाँचखाल–३ वडाले नगद १० हजार रुपियाँ प्रदान गरेको छ। आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्थाले वत्तिको व्यवस्था मिलाएको छ भने विन्ध्यवासिनी बचत तथा ऋण सहकारीले भक्तजनका लागि रातभर चियाको व्यवस्था गरेको छ। प्रतिष्ठा कृषि सहकारीले पिउने पानी उपलब्ध गराएको छ। भविष्य निर्माण युवा क्लबले झिभिलिमिलि बत्तीको सजावट मिलाएको छ।

    भक्तजनबाट स्वयं प्रेरित रूपमा चन्दा सहयोग आइरहेको समितिले जनाएको छ। संकलित रकम नियमित रूपमा कोषमा अभिलेख गरिने तथा समग्र रकम आगामी भवन निर्माण र पूर्वाधार विकासमा लगानी गरिने समितिले जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार