२०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

“निर्वाचन सुरक्षाका लागि प्रहरीले थप १०० गाडी किन्ने, फास्ट ट्र्याकमा खरिद प्रक्रिया अघि बढ्यो”


३३८१ पाठक संख्या
  • २०८२ मंसिर ५, शुक्रबार मा प्रकाशित २ महिना अघि
  • काठमाडौँ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाल प्रहरीले सुरक्षाका लागि थप १०० वटा गाडी खरिद गर्ने तयारी गरेको छ। अर्थ मन्त्रालयबाट सहमति मिलेपछि प्रहरीले नयाँ पिकअप पट्रोल भ्यान खरिदका लागि टेन्डर आह्वान गरेको हो।

    प्रहरीका एक उच्च अधिकृतका अनुसार मंसिर ७ मा बिड खुल्ने छ। यसपटक १०० वटा पिकअप पट्रोल भ्यान फास्ट ट्रयाक प्रक्रियामार्फत खरिद गर्न लागिएको हो। जेनजी आन्दोलनका क्रममा प्रहरीका धेरै सवारीमा आगजनी भएको र आसन्न निर्वाचनका कारण ‘विशेष अवस्था’ भन्दै फास्ट ट्रयाकमा खरिद अघि बढाइएको बताइएको छ।

    यसअघि प्रहरीले ८५ वटा गाडी खरिदका लागि बोलपत्र खुला गरेको थियो। तीमध्ये ७५ वटा पिकअप पट्रोल भ्यान र १० वटा विद्युतीय पिकअप स्कर्ट भ्यान रहेका छन्। ८५ गाडीमध्ये पिकअप पट्रोल भ्यान खरिदको ठेक्का अग्नि इन्कर्पोरेटले पाएको छ। महिन्द्राको स्कोर्पियो पिकअप भ्यान ४२ लाखभन्दा कम मूल्यमा सम्झौता हुन लागेको अधिकारीहरू बताउँछन्।

    त्यस्तै १० वटा विद्युतीय स्कर्ट भ्यान सीजी मोटर्सले एक महिनाभित्र उपलब्ध गराउने सहमति जनाएको छ। सार्वजनिक खरिद ऐन अनुसार १२० दिनभित्र सामान बुझाउनुपर्ने भए पनि यसपटक चुनावअघि नै गाडी ल्याइने व्यवस्था मिलाइँदै छ।

    जेनजी प्रदर्शनका क्रममा प्रहरीका १८२ चारपांग्रे सवारी साधनमा आगजनी भएको थियो। त्यसपछि प्रहरी प्रधान कार्यालयले ५०० भन्दा बढी गाडी खरिद प्रस्ताव गरेको थियो। विनियोजित बजेटबाट ८५ गाडी खरिद गर्न अर्थ मन्त्रालयले स्वीकृति दिएपछि प्रक्रिया अघि बढाइएको हो।

    यसैबीच, प्रहरीले हालै ६ सय हेलमेट र ४ हजार थान ‘राइट कन्ट्रोल गियर’ खरिद गरेको छ। यी सामग्रीहरू मंसिर १५ भित्र उपलब्ध गराइने प्रहरी स्रोतले बताएको छ।

    २०७२ पछि पहिलोपटक ठूलो मात्रामा भिड नियन्त्रण सामग्री खरिद गर्न लागिएको प्रहरी अधिकारीहरू बताउँछन्। चुनावअघि दंगा नियन्त्रणका लागि आवश्यक अश्रुग्यास सेल पनि २४ हजार थान खरिद गर्नेगरी सम्झौता भए पनि ६ हजार ३ सय मात्र चुनावअघि आइपुग्ने अनुमान छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार