
सुदिप काफ्ले , जकार्ता, मङ्सिर ५ । इन्डोनेसियाको मध्य जाभा प्रान्तमा आएको ठूलो पहिरोमा कम्तीमा १० जनाको मृत्यु भएको र १८ जना बेपत्ता रहेको अधिकारीहरूले बताएका छन्। पाण्डनारुम जिल्लास्थित पाण्डानारुम गाउँमा लगातार परेको भारी वर्षापछि पहिरो खसेपछि ठूलो जनधनको क्षति भएको हो।
विपद् न्यूनीकरण एजेन्सी (BNPB) का प्रवक्ता अब्दुल मुहारीका अनुसार हालसम्म सात वटा शव फेला परे पनि मृतकको संख्या १० पुगेको पुष्टि गरिएको छ। लामो वर्षा र पहाडी क्षेत्रको कमजोर माटो तहका कारण पहिरो आएको र चुनौतीपूर्ण परिस्थितिमा खोजी–उद्धार कार्य जारी रहेको उनले बताए।
स्थानीय अधिकारीका अनुसार पहिरोले ४८ घर क्षतिग्रस्त बनाएको र १९५ जना प्रत्यक्ष प्रभावित भएको छ। बिएनपिबीको पछिल्लो विवरणअनुसार ९३४ जनालाई सुरक्षित अस्थायी आश्रयस्थलमा सारिएको छ।
पहिरो प्रभावित क्षेत्रमा राष्ट्रिय खोजी तथा उद्धार एजेन्सी बसरनास, सेना, प्रहरी र स्थानीय निकायसहित ७०० भन्दा बढी जनशक्ति परिचालन गरिएको छ। खोजी तथा उद्धार कार्यलाई तीन भागमा विभाजन गरिएका क्षेत्रहरूमा सञ्चालन गरिँदैछ भने पानीले भरिएका स्थान सफा गर्न भारी मेसिनरी, उद्धार कुकुर एकाइ र आधुनिक उपकरण प्रयोग गरिएको जनाइएको छ।
प्रतिक्रिया दिनुहोस