२०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

गुटबन्दी र असमानतामा निराश मल्लको एमाले परित्याग


२९६५ पाठक संख्या
  • २०८२ मंसिर ६, शनिबार मा प्रकाशित २ महिना अघि
  • ६ मंसिर, रुकुमपूर्व । रुकुमपूर्वका पूर्व उपविजेता तथा एमालेका प्रतिनिधि सभा उम्मेदवार कैलाशकुमार मल्ल नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्। पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार उनलाई औपचारिक सदस्यता प्रदान गरेका हुन्।

    ०७९ को प्रतिनिधि सभा निर्वाचनमा माओवादीका उम्मेदवार पूर्णबहादुर घर्तीमगरसँग पराजित भएका मल्लले एमाले त्याग्दै मूल कम्युनिस्ट धारमा फर्किएको घोषणा गरेका छन्। घर्तीले १२ हजार २६२ मत ल्याउँदा मल्लले ५ हजार २११ मत प्राप्त गरेका थिए।

    पार्टीभित्र गुटगत स्वार्थ, राजनीतिक असमानता र ‘जनवादी केन्द्रीयता’ विपरीतका व्यवहारले निराश भएपछि नयाँ राजनीतिक यात्रामा लागेको मल्लको भनाइ छ। ७० वर्ष उमेर सीमा र दुई कार्यकाल सीमित गर्ने प्रावधान उल्ट्याइएको निर्णयले असन्तुष्टि अझ बढाएको उनले बताएका छन्।

    जनयुद्धकालीन पृष्ठभूमि, सेनाद्वारा गिरफ्तारी र शिवपुरीमा भोगेको यातनासहितको अनुभव स्मरण गरेका मल्लले माओवादी मूलधारका कार्यकर्ताप्रति एमाले नेतृत्वको नकारात्मक व्यवहारले आफू अलग हुन बाध्य भएको टिप्पणी गरे। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण रोकिएको विषयलाई पनि उनले ‘अहंकारी प्रवृत्ति’को उदाहरण बताए।

    रुकुम–रोल्पा जस्ता ‘रातो भूगोल’प्रति उदासीनता, शहीद परिवारप्रति बेवास्ता र पार्टीभित्रैको भ्रष्टाचार संरक्षण सामान्यजस्तै बनेको आरोपसमेत मल्लले लगाए।

    नेता प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल र भीम रावलले मूल कम्युनिस्ट धारमा फर्किन प्रेरित गरेको उल्लेख गर्दै मल्लले अब रुकुमपूर्वको शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा ध्यान केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरे।
    ‘फुटेर होइन, जुटेर मात्रै रुकुमपूर्वको समृद्धि सम्भव छ,’ मल्लले भने।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार