काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले होटल तथा रेस्टुरेन्टले तोकिएको अधिकतम खुद्रा मूल्य (एमआरपी) भन्दा बढी शुल्क लिएर पिउने पानी बेच्न नपाउने स्पष्ट निर्देशन दिएको छ।
पछिल्लो समय सिलबन्दी प्रशोधित पिउने पानी (मिनरल वाटर) मा उपभोक्ताबाट मनपरी मूल्य असुल गर्ने गरेको गुनासो बढेपछि विभागले सोमबार सार्वजनिक विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएको हो।
विभागले उत्पादकले तोकेको एमआरपीभन्दा बढी मूल्य लिने कार्य उपभोक्ता अधिकारविपरीत भएको स्पष्ट उल्लेख गर्दै होटल–रेस्टुरेन्टमा मेनुमा उल्लेख नभएको अवस्थामा मात्र टेबुलमा राखिएको बोतलको मूल्य लिन नपाइने जनाएको छ।
‘उपभोक्ताले मागेपछि मात्र सेवा पाउँछन्, टेबलमा राखिएका बोतलका लागि अतिरिक्त शुल्क लिनु उपयुक्त छैन,’ विभागले जनाएको छ।
एमआरपी भन्दा बढी लिई व्यापार गर्ने व्यवसायीप्रति उपभोक्ता संरक्षण ऐन, २०७५ तथा नियमावली, २०७६ अनुसार कारबाही हुने चेतावनी दिँदै विभागले उपभोक्तालाई सजग रहन आग्रह गरेको छ। यदि कुनै व्यवसायीले तोकिएको मूल्यभन्दा बढी रकम असुल गरेको प्रमाणसहित उजुरी परेमा सम्बन्धित व्यवसायीलाई जरिवाना तथा उपभोक्तालाई क्षतिपूर्ति दिलाउने कानुनी व्यवस्था रहेको विभागले जनाएको छ।
प्रतिक्रिया दिनुहोस