२०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

जनकपुरधाममा आज भव्यतासाथ मनाइँदै विवाह पञ्चमी


३७१९ पाठक संख्या
  • २०८२ मंसिर ९, मंगलबार मा प्रकाशित २ महिना अघि
  • , राम–सीताको प्रतीकात्मक विवाह महोत्सव सम्पन्न

    जनकपुर, मङ्सिर ९ — त्रेतायुगमा मार्गशीर्ष शुक्ल पञ्चमीका दिन भगवान् राम र सीताको विवाह भएको धार्मिक विश्वासका आधारमा आज देशभर धूमधामसँग विवाह पञ्चमी पर्व मनाइँदैछ। मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा मुख्य समारोह भगवान् राम–सीताको प्रतीकात्मक विवाह संस्कारसहित सम्पन्न हुँदैछ।

    गोस्वामी तुलसीदासद्वारा वर्णित रामायण अनुसार मिथिलाका राजा जनकले राखेको स्वयंवरमा रामले शिवधनुष भाँचेर सीताको वरण गरेका थिए। सोही दिनलाई सम्झेर मिथिलावासीहरू वर्षेनि विशेष महोत्सव आयोजना गर्दै आइरहेछन्।

    यस वर्ष पनि मटकोर, तिलकोत्सव, स्वयंवर, र विवाह संस्कार मिथिला परम्परा अनुसार भव्य रूपमा सम्पन्न हुँदैछ। राम मन्दिरबाट निकालिएको विशेष डोलामा भगवान् रामको प्रतिमा र जानकी मन्दिरबाट सजाइएका डोलामा सीतालाई रङ्गभूमिसम्म पु-याइने कार्यक्रम आज सम्पन्न हुँदैछ। रङ्गभूमिमा स्वयंवर तथा वैवाहिक विधि पूरा भएपछि दुवैको डोला शोभायात्रासहित जानकी मन्दिरमा लगिनेछ।

    महोत्सवमा देशभरका साथै भारतका सीमावर्ती क्षेत्रमा रहेका भक्तजन समेत सहभागी हुन्छन्। रङ्गभूमि मैदानमा वर–बधु पक्षबीच हुने हाँसो–ठट्टा, मिथिलाका प्रतीकात्मक झाँकी, रामलीला र भजन–कीर्तनले जनकपुरधाम आज पूर्ण रूपमा उत्सवमय बनेको छ। पहिले तिरहुतियागाछीमा मनाइने यो महोत्सव पछिल्ला दुई दशकदेखि रङ्गभूमिमा विशेष कार्यक्रमसहित आयोजना हुँदै आएको हो।

    श्रद्धालु भक्तजन बिहानैदेखि सरोवर तथा नदीमा स्नान गरी पूजाअर्चना गरिरहेका छन्। धार्मिक मान्यताअनुसार विवाह पञ्चमीमा सहभागी हुँदा मनोकामना पूरा हुने र मोक्ष प्राप्ति हुने विश्वास छ।

    हाल चार दिनसम्म मनाइने विवाह पञ्चमी महोत्सव आजको मुख्य समारोहसँगै उत्कर्षमा पुगेको छ। देशभरका राम–सीता मन्दिरमा पनि आज विशेष पूजा तथा महोत्सव आयोजना भइरहेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार