काभ्रेपलाञचोक । मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको दुधौली नगरपालिका–२ गागनमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन्।
आज आइतबार बिहान करिब ३ः२० बजे पोखराबाट कटारीतर्फ जाँदै गरेको बा ३ ख ७४६२ नम्बरको बस र डकाहाबाट झुङातर्फ जाँदै गरेको ज ८ प ८१६४ नम्बरको मोटरसाइकल एक–आपसमा ठोक्किएको प्रहरीको प्रारम्भिक जानकारीमा उल्लेख छ।
दुर्घटनामा दुधौली नगरपालिका–३ का २५ वर्षीय महेश कुमरको मृत्यु भएको छ। उनलाई दुर्घटनास्थलबाट उद्धार गरी दुधौली नगर अस्पताल सिर्थौली पुर्याइए पनि चिकित्सकले बिहान ४ बजेतिर मृत घोषणा गरेका थिए।
सोही दुर्घटनामा कमलामाई नगरपालिका–१४ चन्दनपुरका करिब २५ वर्षीय दिपेश कुमर गम्भीर घाइते भएका छन्। दुधौली नगर अस्पतालमा प्राथमिक उपचारपछि उनलाई आज बिहान ६ः५५ बजे थप उपचारका लागि बिराटनगर रिफर गरिएको अस्पतालले जनाएको छ।
दुर्घटनास्थल प्रहरी चौकी हत्पतेबाट करिब ३ किलोमिटर र इलाका प्रहरी कार्यालय डकाहाबाट करिब १० किलोमिटर पश्चिमतर्फ पर्दछ।
प्रहरीले दुर्घटनाका कारणबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रतिक्रिया दिनुहोस