२०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

एमाले धनगढीमा महाधिवेशन प्रतिनिधि चयनमा दोहोरो सूची, विवाद केन्द्रसम्म


३२७७ पाठक संख्या
  • २०८२ मंसिर १५, सोमबार मा प्रकाशित २ महिना अघि
  • १५ मंसिर, धनगढी । नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोटमा धनगढीमा दुईवटा समानान्तर सूची सार्वजनिक भएपछि आन्तरिक विवाद सतहमा आएको छ।

    जिल्ला अध्यक्ष मञ्चु मलासी र सचिव पदराम भट्टले अलग–अलग महाधिवेशन प्रतिनिधि सूची सार्वजनिक गरेका हुन्। अध्यक्ष मलासी संस्थापन–इतर धारमा नजिक मानिँदा सचिव भट्ट संस्थापन पक्षमा देखिएका छन्।

    मलासी समूहको सूची

    अध्यक्ष मञ्चु मलासीले सार्वजनिक गरेको सूचीमा खुला तर्फ प्रदेश सांसद चक्रबहादुर मल्ल, दुर्गादत्त ओझा, डम्बर डौंडी, लक्ष्मण मलासी र हस्तबहादुर बुढा चयन भएको उल्लेख छ।
    महिलातर्फ मञ्चु मलासी स्वयं र लक्ष्मीदेवी मल्ल, दलिततर्फ सिता बिक र धनबहादुर नेपाली, र ४० वर्षमुनिका तर्फ बमबहादुर बम समावेश छन्।

    भट्ट समूहको सूची

    सचिव पदराम भट्टले सार्वजनिक गरेको समानान्तर सूचीमा खुला तर्फ सच्चिदानन्द जोशी, दीर्घराज बोगटी, शेरबहादुर मल्ल र पदमराज भट्ट छन्।
    महिलातर्फ रुपा कठायत र लक्ष्मी मल्ल, दलिततर्फ शान्ती चुनारा र धनबहादुर नेपाली, तथा युवा तर्फ खेमबहादुर घर्ती राखिएका छन्।
    भट्ट पक्षले आफूलाई जिल्ला इन्चार्ज गौरी ओलीले साथ दिएको दाबी गरेको छ।

    दुवै सूची सार्वजनिक भएपछि इन्चार्ज ओलीले पार्टी विधानविपरीत कब्जा गर्ने शैली अपनाइिएको भन्दै असन्तुष्टि जनाइन्।अध्यक्ष मलासीले भने निर्वाचन अधिकृतले सार्वजनिक गरेको सूची नै आधिकारिक भएको दाबी गर्दै सचिव भट्टले ‘नजानेर’ दोस्रो सूची निकालेको र अहिले फिर्ता गरेको बताइन्।

    तर सचिव भट्टले भने अध्यक्षले बिना सहमति एकलौटी रूपमा प्रतिनिधि घोषणा गरेको आरोप लगाएका छन्।
    उनका अनुसार, “मेरो हस्ताक्षर छैन, समर्थन छैन, त्यसकारण दोस्रो सूची नै आधिकारिक हो।”

    सुदूरपश्चिम प्रदेश कमिटीका सचिव जनक चन्दका अनुसार जिल्ला कमिटीबाट आएको दुवै सूची र निवेदनहरू केन्द्रीय संगठन विभागमा पठाइनेछ।
    केन्द्रको निर्णय नै अन्तिम हुने प्रदेश कमिटीले जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार