विराटनगर — विराटनगर महानगरपालिका–३ बरगाछी चोक नजिक गएराति भएको मोटरसाइकल दुर्घटनामा एक प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ। कोशी प्रदेश प्रहरी कार्यालय रानी, विराटनगरमा कार्यरत बेलबारी नगरपालिका–८ निवासी ३० वर्षीय भीम खड्काको उपचारका क्रममा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।
प्रहरीका अनुसार राति करिब साढे १२ बजे कोशी राजमार्ग हुँदै गइरहेका खड्का सवार बा.प्र. ०२–०४३ प ७७१६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा परेको थियो। दुर्घटनापछि गम्भीर घाइते भएका उनलाई तत्कालै उद्धार गरी विराट नर्सिङ होम पुर्याइएको थियो। तर, चिकित्सकले उपचारका क्रममा राति नै उनको मृत्यु पुष्टि गरेका थिए।
घटनाबारे थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरीले जनाएको छ। दुर्घटनाको वास्तविक कारण खुल्न बाँकी रहेको र प्राविधिक परीक्षण तथा प्रत्यक्षदर्शीका बयान संकलन कार्य अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस