२०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

आज पुत्रदा एकादशी : सन्तान–सुख प्रदान गर्ने धार्मिक विश्वास


२६७९ पाठक संख्या
  • २०८२ पौष १५, मंगलबार मा प्रकाशित १ महिना अघि
  • काठमाडौं– आज पौष शुक्ल एकादशी अर्थात् पुत्रदा एकादशीको व्रत विधिपूर्वक गरिँदैछ। पौराणिक तथा शास्त्रीय ग्रन्थअनुसार यो एकादशीको व्रत गर्नाले सन्तान प्राप्ति तथा पाप नाश हुने धार्मिक विश्वास रहिआएको छ।

    पुत्रदा एकादशीको माहात्म्य युधिष्ठिरको जिज्ञासामा भगवान् श्रीकृष्णले वर्णन गर्नुभएको उल्लेख विभिन्न ग्रन्थमा पाइन्छ। उक्त व्रतले समस्त पाप हरण गर्ने तथा सन्तान–सुख प्रदान गर्ने विश्वास गरिन्छ।

    यस तिथिका अधिदेवता भगवान् लक्ष्मीनारायण हुन्। आजको दिन तिल र तुलसी अर्पण गरी भगवानको पूजा–अर्चना गर्नुपर्ने, कुन्दको फल तथा पक्वान्न ‘अपुङ्गो’को नैवेद्य चढाई दारिमको अर्घ अर्पण गर्नुपर्ने र ब्राह्मणलाई घ्यू दान दिनुपर्ने कुरा पौराणिक ग्रन्थमा उल्लेख भएको पण्डित बालमुकुन्द देवकोटाले जानकारी दिनुभयो।

    पौराणिक कथाअनुसार, परापूर्वकालमा भावतीपुरीका राजा सुकेतुमान र महारानी चम्पा सन्तान नहुँदा चिन्तित थिए। एकदिन वन भ्रमणका क्रममा ऋषिमुनिको आश्रममा पुगेका राजालाई पुत्रदा एकादशीको व्रत गराइएको थियो। ऋषिको निर्देशअनुसार एकादशीमा उपवास बसेर द्वादशीमा व्रतको पारायण गरेपछि उनीहरूले पुण्यफलस्वरूप सुन्दर र तेजस्वी पुत्र प्राप्त गरेका थिए।

    धार्मिक विश्वासअनुसार, पुत्रदा एकादशीको माहात्म्य पढ्न वा सुन्नाले अग्निष्टोम वा अश्वमेध यज्ञ गरेसरहको फल प्राप्त हुने मान्यता छ। सन्तान प्राप्तिको कामना गर्ने भक्तजनले पुत्रदा एकादशीदेखि नियमित रूपमा
    ‘क्लीं देवकीसुत गोविन्द वासुदेव जगत्पते।
    देहि मे तनयं कृष्ण त्वामहं शरणं गतः क्लीं’

    मन्त्रको प्रतिदिन कम्तीमा पाँच माला (५०० पटक) जप गरी गोपाल स्तोत्रको पाठ गर्नाले निःसन्तानले पनि सन्तान–सुख प्राप्त गर्ने विश्वास रहेको पण्डित देवकोटाले बताउनुभयो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार