
सुशिल बञ्जरा
काभ्रेपलाञ्चोक । नेपाल शैक्षिक परामर्श संघ (ECAN) को आगामी कार्यकालका लागि वर्तमान प्रथम सचिव भवनाथ हुमागाईंले महासचिव पदमा आफ्नो औपचारिक उम्मेदवारी घोषणा गर्नुभएको छ।
यही पुस २८ गते सम्पन्न हुन गइरहेको संघको केन्द्रीय निर्वाचनलाई लक्षित गर्दै उहाँले संस्थालाई थप सशक्त, मर्यादित, व्यावसायिक र नीतिगत रूपमा प्रभावशाली बनाउने स्पष्ट प्रतिबद्धतासहित महासचिव पदमा दाबी प्रस्तुत गर्नुभएको हो।
शैक्षिक परामर्श क्षेत्रमा लामो समयदेखि निरन्तर रूपमा सक्रिय रहँदै आउनुभएका हुमागाईंले ईक्यानको कार्यसमिति सदस्यका रूपमा आफ्नो संगठनात्मक यात्रा सुरु गर्दै हाल प्रथम सचिवको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै आउनुभएको छ। संगठन तथा आन्तरिक मामिला विभागको संयोजकका रूपमा उहाँले केन्द्र र देशभर रहेका शाखाहरूबीचको समन्वय सुदृढ गर्न उल्लेखनीय भूमिका निर्वाह गर्नुभएको छ।
विशेषगरी लामो समयदेखि अवरुद्ध जस्तै बनेको व्यवसाय नवीकरण प्रक्रियालाई पुनः सुचारु गराउने, नयाँ शाखाहरू स्थापना तथा विस्तार गर्ने, निष्क्रिय सदस्यहरूलाई पुनः संगठनमा जोड्ने र सदस्यता संख्या वृद्धि गर्ने कार्यमा उहाँको योगदान महत्वपूर्ण मानिन्छ। संगठनलाई कागजी संरचनाबाट व्यवहारिक र क्रियाशील संस्थामा रूपान्तरण गर्ने प्रयासमा हुमागाईं अग्रपंक्तिमा देखिनुभएको व्यवसायीहरूको भनाइ छ।
उम्मेदवारी घोषणा गर्दै हुमागाईंले ईक्यानलाई केवल शैक्षिक परामर्श व्यवसायीहरूको छाता संगठनका रूपमा मात्र सीमित नराखी नीतिगत तहमा सरकारसँग प्रभावकारी संवाद गर्न सक्ने, अन्तर्राष्ट्रिय सरोकारवाला संस्थाहरूसँग सहकार्य बढाउन सक्ने र सदस्यहरूको हकहितका विषयमा स्पष्ट आवाज उठाउन सक्ने सशक्त संस्थाका रूपमा स्थापित गर्ने आफ्नो दृष्टिकोण सार्वजनिक गर्नुभएको छ।
उहाँले भन्नुभयो,
“मेरो प्राथमिकता केन्द्र र शाखाबीचको सम्बन्धलाई स्पष्ट नियम, प्रणाली र अभ्यासमार्फत संस्थागत गर्नु हो। साथै सरकार तथा अन्तर्राष्ट्रिय निकायहरूसँग ईक्यानको हैसियत मजबुत बनाउँदै संस्थालाई आर्थिक रूपमा पारदर्शी, उत्तरदायी र आत्मनिर्भर बनाउने मेरो स्पष्ट लक्ष्य छ।”
यसका साथै, युवा तथा नयाँ शैक्षिक उद्यमीहरूलाई संगठनको मूल धारमा समेट्दै दीर्घकालीन रणनीति तयार गरी कार्यान्वयन गर्ने, शैक्षिक परामर्श व्यवसायलाई व्यवस्थित, मर्यादित र विश्वसनीय बनाउने तथा व्यवसायीहरूका साझा समस्या समाधानमा संघलाई प्रभावकारी बनाउने उहाँको मुख्य एजेन्डा रहेको छ।
अनुभव, निरन्तरता, संगठनप्रतिको प्रतिबद्धता र स्पष्ट कार्ययोजनासहित चुनावी मैदानमा उत्रिनुभएका हुमागाईंले ईक्यानभित्र एकता, सहकार्य र पारदर्शितालाई बलियो बनाउँदै संस्थाको गरिमा उकास्ने विश्वास व्यक्त गर्नुभएको छ। उहाँले सम्पूर्ण शैक्षिक परामर्श व्यवसायी सदस्यहरूलाई साझा लक्ष्यका लागि एकताबद्ध हुन आग्रह गर्दै आफ्नो उम्मेदवारीलाई समर्थन र मत प्रदान गर्न अपिल गर्नुभएको छ।
संगठनात्मक नेतृत्वसँगै एक सफल र स्थापित शैक्षिक व्यवसायीका रूपमा पनि परिचित हुमागाईंको अनुभवले संघको नेतृत्वलाई थप व्यवहारिक, परिणाममुखी र विश्वासयोग्य बनाउने अपेक्षा व्यवसायीहरूबीच गरिएको छ।
प्रतिक्रिया दिनुहोस