काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–६ स्थित तिनपिप्ले बजारमा रहेको ग्रामिण महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाको सहकार्य तथा महिला शक्ति विकास केन्द्र नेपालद्वारा आयोजित खुल्ला महिला वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।
पाँचखाल नगरपालिकाकी उपप्रमुख सुर्यमाया दनुवारको विशेष आतिथ्यतामा सम्पन्न प्रतियोगितामा पूजा खड्का प्रथम स्थान हासिल गर्न सफल हुनुभएको छ। त्यसैगरी द्वितीय स्थानमा आकृति गौतम, तृतीय स्थानमा शान्ति चर्मकार तथा सान्त्वना स्थानमा मन्दिरा न्यौपाने रहनुभएको छ।
ग्रामिण महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाको सहकार्य र महिला शक्ति विकास केन्द्र नेपालको आयोजनामा नेतृत्व सीप विकास, कार्यक्रम सञ्चालन तथा समन्वय विस्तार, नागरिक शिक्षा, सुशासन, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण विषयमा तीनवटा ९–दिने तालिम सञ्चालन गरिएको थियो। ती तालिम सम्पन्न भएपछि सहभागीहरूको प्रस्तुति तथा क्षमता अभिवृद्धिका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको हो।
तालिममा सहभागी ३० जनामध्ये १७ जनाले वक्तृत्वकला प्रतियोगितामा सहभागिता जनाएका थिए। प्रतियोगितामा सावित्री पराजुली, आकृति गौतम, गीता तिवारी, शान्ति चर्मकार, पूजा खड्का, सानुमैयाँ नेपाल, गमला रंतेल, मन्दिरा न्यौपाने, प्रज्ञा भारती, पवित्रा लामिछाने, लक्ष्मी विक, ज्योति कायस्थ, निशा ढुंगाना, राधिका दुलाल, अनिसा घिमिरे, असिका गौतम र करिना बजगाईं सहभागी रहनुभएको थियो।
तालिम प्रशिक्षक तथा महिला शक्ति विकास केन्द्रकी सदस्य सृजना प्याकुरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा महिला शक्ति विकास केन्द्रकी सदस्य कुशुम दुलालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा पाँचखाल नगरपालिकाकी उपप्रमुख सुर्यमाया दनुवार, सञ्चारकर्मी ईश्वरी राजकुमार मैनाली, ग्रामिण महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाकी कोषाध्यक्ष तिलका अधिकारीलगायत वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन गायत्री पौडेलले गर्नुभएको थियो।
कार्यक्रममा सरस्वती चिमौरियाको संयोजकत्वमा तीन सदस्यीय निर्णायक समिति गठन भएको थियो जसमा झम्क प्रसाद गौतम र विद्या पराजुली रहनु भएको थियो भने समय पालकमा गणेश माया श्रेष्ठ रहनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस