२०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

माघ ३ देखि निर्वाचन आचारसंहिता लागू, फागुन २१ को निर्वाचन स्वच्छ बनाउन आयोगको अन्तिम तयारी


१९२५ पाठक संख्या
  • २०८२ पौष २६, शनिबार मा प्रकाशित १ महिना अघि
  • २६ पुस, काठमाडौं । प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू गर्ने अन्तिम तयारी गरेको छ। आयोगका अनुसार आगामी माघ ३ गतेदेखि आचारसंहिता कार्यान्वयनमा ल्याइनेछ।

    आयोगले फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको तयारीका सन्दर्भमा हालसम्म भएको प्रगति, व्यवस्थापन अवस्था तथा चुनौतीबारे प्रधानमन्त्री सुशीला कार्कीलाई जानकारी गराएको छ। निर्वाचन आयोगका तर्फबाट कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शुक्रबार प्रधानमन्त्रीसँग भेट गरी निर्वाचन तयारीबारे विस्तृत ब्रिफिङ गरेका हुन्।

    आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचनका लागि आवश्यक मतपत्र, मतदान सामग्रीको छपाई, ढुवानी योजना, मतदान केन्द्र व्यवस्थापन तथा जनशक्ति परिचालनलगायतका विषयमा हालसम्म उल्लेखनीय प्रगति भएको जानकारी प्रधानमन्त्रीलाई गराइएको छ।

    निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन सरकारी तथा गैरसरकारी निकायले निर्वाचन अवधिभर के कस्ता गतिविधि गर्न पाउने वा नपाउने भन्ने विषय आचारसंहितामा स्पष्ट रूपमा उल्लेख गरिएको आयोगले जनाएको छ। साथै राजनीतिक दल, उम्मेदवार, सरकारी कर्मचारी, सुरक्षा निकाय तथा सञ्चार माध्यमको भूमिका र जिम्मेवारी पनि आचारसंहितामा व्यवस्थित गरिएको छ।

    आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि सरकार, राजनीतिक दल तथा सबै सरोकारवाला निकायको सहकार्य अनिवार्य रहेको आयोगको बुझाइ छ। आयोगले आचारसंहिताको कडाइका साथ पालना गराउन अनुगमन संयन्त्रलाई सक्रिय बनाइने र उल्लङ्घन गर्ने उपर आवश्यक कानुनी कारबाही अघि बढाइने स्पष्ट पारेको छ।

    निर्वाचन आयोगले सबै पक्षलाई निर्वाचन आचारसंहिता पालना गर्न आग्रह गर्दै स्वच्छ, निष्पक्ष र विश्वसनीय निर्वाचन सम्पन्न गर्न सहयोग गर्न आह्वान गरेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार