२०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

काठमाडौँ विश्वविद्यालयमा तीनदिने ‘एआई कन्क्लेभ–२०२६’ प्रारम्भ


१९७७ पाठक संख्या
  • २०८२ पौष २८, सोमबार मा प्रकाशित ३ हफ्ता अघि
  • २८ पुस, काभ्रेपलाञ्चोक । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)मा आजदेखि तीनदिने ‘एआई कन्क्लेभ–२०२६’ (कृत्रिम बुद्धिमत्ता सम्मेलन) औपचारिक रूपमा सुरु भएको छ। सम्मेलन काठमाडौँ विश्वविद्यालयको डिपार्टमेन्ट अफ आर्टिफिसियल इन्टेलिजेन्स अन्तर्गत रहेको आर्टिफिसियल इन्टेलिजेन्स क्लब (केयुएआइसी)को आयोजनामा सञ्चालन भइरहेको हो।

    यो सम्मेलन केयुएआइसीमार्फत सञ्चालन गरिएको ‘एआई कन्भर्जेन्स–२०२६’ अन्तर्गतको दोस्रो चरणको कार्यक्रम हो। आयोजकका अनुसार पछिल्ला दुई वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ‘एआई–मिट’ कार्यक्रमलाई थप परिस्कृत, संरचित र प्रभावकारी बनाउँदै यस वर्ष ‘एआई कन्क्लेभ’को रूपमा विस्तार गरिएको हो।

    एआई क्षेत्रमा सिकाइ, अनुसन्धान र नवप्रवर्तनलाई एउटै साझा प्लेटफर्ममा समेट्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको क्लबका अध्यक्ष अशिम श्रेष्ठले जानकारी दिए। उनका अनुसार सम्मेलनको उद्देश्य एआईलाई केवल अनुसन्धान वा जेनरेटिभ टुलमा सीमित नराखी शिक्षा, स्वास्थ्य, वित्त, शासन प्रणाली, उद्योग तथा सामाजिक क्षेत्रमा यसको व्यावहारिक प्रयोगबारे व्यापक जनचेतना फैलाउनु रहेको छ।

    ‘ब्रिजिङ इन्टेलिजेन्स एन्ड इनोभेसन’ नाराका साथ आयोजना गरिएको यस सम्मेलनले विद्यार्थी, अनुसन्धानकर्ता, उद्योग क्षेत्रका प्रतिनिधि, स्टार्टअप, नीति–निर्माता तथा सर्वसाधारणलाई एउटै प्लेटफर्ममा जोड्ने लक्ष्य लिएको आयोजकले जनाएको छ। सम्मेलनमार्फत शैक्षिक संस्थान र उद्योग क्षेत्रबीच सहकार्य र संवादलाई समेत प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।

    ‘एआई कन्भर्जेन्स–२०२६’ कार्यक्रम तीन चरणमा सञ्चालन गरिने व्यवस्था गरिएको छ। पहिलो चरण ‘एआई क्यानभास’ अन्तर्गत एआई फाउन्डेसन कोर्स, बुटक्याम्प, वेबिनार तथा आधारभूत सिकाइ कार्यक्रमहरू सम्पन्न गरिएका छन्। दोस्रो चरणका रूपमा आयोजना गरिएको ‘एआई कन्क्लेभ’ माघ १२, १३ र १४ गते (जनवरी १२, १३ र १४) काठमाडौँ विश्वविद्यालयको केन्द्रीय कार्यालय परिसरमा सञ्चालन भइरहेको छ।

    सम्मेलनको पहिलो दिन सोमबार राष्ट्रियस्तरको ‘एआई समिट’ आयोजना हुने छ, जसमा एआई क्षेत्रका विज्ञ, नीति–निर्माता तथा उद्योग प्रतिनिधिहरूले एआईको वर्तमान अवस्था, सम्भावना र चुनौतीबारे विचार प्रस्तुत गर्नेछन्। दोस्रो दिन मङ्गलबार विद्यार्थी तथा स्टार्टअप लक्षित प्रोजेक्ट प्रदर्शनी, रोबोटिक्स प्रतियोगिता, ई–गेम्स, टेक–टक्स तथा टेक एक्सपो सञ्चालन गरिनेछ।

    त्यस्तै सम्मेलनको अन्तिम दिन बुधबार ‘एआई फर सोसाइटी’ शीर्षकमा प्यानल डिस्कसन आयोजना गरिनेछ। सो अवसरमा समाजमा एआईको प्रभाव, यसको नैतिक प्रयोग, एआई नीति तथा नियमनसम्बन्धी विषयमा छलफल हुनेछ। साथै ई–गेम्सको फिनाले, एआईसम्बन्धी जनचेतनामूलक कार्यक्रम तथा नीति संवादसम्बन्धी कार्यक्रमहरू पनि समावेश गरिएका छन्।

    तीनदिने ‘एआई कन्क्लेभ–२०२६’मा देशभरका विभिन्न विश्वविद्यालय, प्रविधि संस्था तथा उद्योग क्षेत्रबाट करिब पाँच हजार सहभागी तथा अवलोकनकर्ताको सहभागिता रहने अनुमान आयोजकले गरेका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार