२०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

युरिया मलको कालोबजारी प्रयास असफल, बालाजुबाट ४ सय बोरा युरिया बरामद


२६०१ पाठक संख्या
  • २०८२ पौष २८, सोमबार मा प्रकाशित ३ हफ्ता अघि
  • सुदिप काफ्ले ,काठमाडौँ । काठमाडौँको बालाजु क्षेत्रबाट प्रहरीले भन्सार छली भित्र्याइएको ठूलो परिमाणको कृषि सामग्री बरामद गरेको छ। काठमाडौँ महानगरपालिका–१६ स्थित बालाजु पुल नजिकै गरिएको चेकजाँचका क्रममा प्रहरीले ४ सय बोरा युरिया मल बरामद गरेको हो।

    उपत्यका प्रहरी कार्यालयका एक अधिकृतका अनुसार विशेष सूचनाका आधारमा शंका लागेर रोकिएको ना.६ ख ७०११ नम्बरको ट्रक जाँच गर्दा भन्सार प्रक्रिया नपुर्‍याई ल्याइएको युरिया मल फेला परेको हो। सोही ट्रकबाट ६० बोरा मकै पनि बरामद गरिएको प्रहरीले जनाएको छ।

    प्रहरीले ट्रक चालक रौतहट जिल्लाको वृन्दावन नगरपालिका–६ निवासी २५ वर्षीय राजकुमार महतोलाई नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा ती सामग्री भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएको हुन सक्ने आशंका गरिएको छ।

    बरामद गरिएको मल, मकै, ट्रक तथा पक्राउ परेका चालकलाई आवश्यक कानुनी कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जानकारी दिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको र यसमा संलग्न अन्य व्यक्तिहरूको पहिचान तथा खोजी कार्य पनि जारी रहेको बताइएको छ।

    कृषि प्रयोजनका लागि अत्यावश्यक मानिने युरिया मल अवैध रूपमा भित्र्याई कालोबजारी गर्ने प्रयास बढ्दै गएको भन्दै प्रहरीले भन्सार छली तथा अवैध ओसारपसार नियन्त्रणका लागि उपत्यकाका विभिन्न नाकामा निगरानी कडा बनाइएको जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार