२०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

बैंक लुटपाटपछि सुरक्षा कडाइ, सिन्धुलीमा अमेरिकी डलरसहित युवक नियन्त्रणमा


२४४५ पाठक संख्या
  • २०८२ पौष ३०, बुधबार मा प्रकाशित ३ हफ्ता अघि
  • ३० पुस, काभ्रेपलाञ्चोक । सिन्धुली जिल्लामा ठूलो मात्रामा अमेरिकी डलरसहित एक जना व्यक्ति पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय खुर्कोट र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले सवारी साधन चेकजाँचका क्रममा अमेरिकी डलर ५७ हजारसहित युवराज नेवारलाई पक्राउ गरेको हो।

    प्रहरीका अनुसार सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ माथिल्लो बजारस्थित चेकपोष्टमा काठमाडौंबाट इलामतर्फ जाँदै गरेको बा१६च ८०४८ नम्बरको टाटा सुमो सवारी साधनलाई रोकि चेकजाँच गर्ने क्रममा शंकास्पद अवस्था देखिएपछि खानतलासी गरिएको थियो। त्यस क्रममा सवारीमा सवार युवराज नेवारसँग रहेको कालो झोलाबाट अमेरिकी डलर ५७ हजार (१०० डलर दरका ५७० थान नोट) र नेपाली १२ हजार रुपैयाँ फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीले जानकारी दिए। बरामद गरिएको अमेरिकी डलरको नेपाली मूल्य करिब ८२ लाख रुपैयाँ बराबर पर्ने प्रहरीले जनाएको छ।

    घटनासँग सम्बन्धित थप अनुसन्धानका लागि टाटा सुमोका चालक विक्रम लिम्बूलाई पनि नियन्त्रणमा लिई सोधपुछ भइरहेको छ। बरामद रकमको स्रोत, प्रयोगको उद्देश्य तथा यसमा अन्य व्यक्ति वा समूह संलग्न छन् कि छैनन् भन्ने विषयमा विस्तृत अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

    यसअघि सिन्धुलीको घ्याङलेक–२ बस्तीपुरस्थित हायुटारमा रहेको नेपाल एसबीआई बैंकमा मंगलबार राति लुटपाट भएको घटनापछि सुरक्षा निकायले जिल्लाका प्रमुख राजमार्ग, नाका तथा चेकपोष्टहरूमा निगरानी कडा बनाएको थियो। सोही क्रममा सवारी साधनहरूको सघन चेकजाँच गर्दा ठूलो मात्रामा अमेरिकी डलरसहित युवराज नेवार पक्राउ परेका हुन्।

    प्रहरीले बैंक लुटपाटको घटनासँग बरामद गरिएको रकमको कुनै सम्बन्ध छ वा छैन भन्ने विषयमा पनि अनुसन्धान भइरहेको जनाएको छ। अनुसन्धान पूरा भएपछि थप विवरण सार्वजनिक गरिने प्रहरीको भनाइ छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार