२०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

भुक्तानी नपाएपछि  भोली देखि स्वास्थ्य बीमा सेवा बन्द गर्ने


३२२५ पाठक संख्या
  • २०८२ पौष ३०, बुधबार मा प्रकाशित ३ हफ्ता अघि
  • काठमाडौँ, पुस ३० गते । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले माघ १ गतेदेखि स्वास्थ्य बीमा अन्तर्गत प्रदान हुँदै आएका सम्पूर्ण उपचार सेवा बन्द गर्ने निर्णय गरेको छ।

    अस्पताल प्रशासनले सोमबार जारी गरेको सूचनामा स्वास्थ्य बीमा बोर्डले उपचार खर्चबापतको रकम समयमै उपलब्ध नगराएको तथा दररेटसम्बन्धी विवाद समाधान हुन नसकेकाले सेवा निरन्तरता दिन असम्भव भएको जनाएको छ। स्वास्थ्य बीमा सेवा लिने बिरामीको संख्या र उपचारको चाप निरन्तर बढ्दै गएको भए पनि आवश्यक भुक्तानी नहुँदा अस्पताल आर्थिक संकटमा परेको सूचनामा उल्लेख छ।

    अस्पतालका अनुसार बीमा बोर्ड र अस्पतालबीच उपचार शुल्कको दररेट फरक रहेको विषय लामो समयदेखि समस्या बनेको छ। विगत दुई वर्षदेखि अस्पतालले आफ्नै दररेटलाई अन्तिम मानी भुक्तानी गर्न आग्रह गर्दै आए पनि त्यसतर्फ कुनै सुनुवाइ नभएको जनाइएको छ। आन्तरिक स्रोतबाट दैनिक सम्पूर्ण खर्च व्यहोर्नुपर्दा अस्पतालले मासिक करिब दुई करोड रुपैयाँ घाटा बेहोर्नु परेको र यही कारण बीमा कार्यक्रम सञ्चालन गर्न नसक्ने अवस्था आएको अस्पतालको भनाइ छ।

    सूचनामा उल्लेख भएअनुसार अस्पतालको मासिक खर्च झण्डै पाँच करोड रुपैयाँ हाराहारीमा रहेको छ। तर स्वास्थ्य बीमा बोर्डले दाबी गरिएको रकममध्ये करिब ५० प्रतिशत मात्र स्वीकृत गर्ने र बाँकी रकम अस्वीकृत गर्दै आएको आरोप अस्पतालले लगाएको छ। हालसम्म अस्पतालले प्राप्त गर्नुपर्ने बीमा दाबी रकम झण्डै ४० करोड रुपैयाँ भुक्तानी हुन बाँकी रहेको जनाएको छ।

    टिचिङ अस्पतालले २०७७ सालदेखि स्वास्थ्य बीमा उपचार कार्यक्रम सञ्चालन गर्दै आएको थियो। बीमा सेवा बन्द हुने निर्णयपछि बीमामार्फत उपचार गराउँदै आएका बिरामीहरू प्रत्यक्ष प्रभावित हुने अस्पताल प्रशासनले जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार