काभ्रेपलाञ्चोक। खानीखोला गाउँपालिका–४ स्थित खुशी समाज युवा क्लबलाई स्थानीयस्तरमा खेलकुदको विकास तथा युवाहरूलाई खेलप्रति आकर्षित गर्ने उद्देश्यले जर्सी तथा फुटबल हस्तान्तरण गरिएको छ। क्लबले निकट भविष्यमै आयोजना गर्न लागेको ल्होछार कप फुटबल प्रतियोगिता सफल र भव्य रूपमा सम्पन्न गर्न सहयोग पुर्याउने लक्ष्यसहित उक्त खेल सामग्री प्रदान गरिएको हो।
समाजसेवी तथा युवा नेता दैवलाल घिसिङ (अनुशील)**को विशेष पहलमा क्लबका खेलाडीहरूका लागि १५ थान जर्सी र २ थान फुटबल उपलब्ध गराइएको हो। जर्सीहरू क्षेत्री समाजका केन्द्रीय उपाध्यक्ष श्याम कार्कीले पनौती नगरपालिका–८ का वडा सचिव तथा समाजसेवी भगवान बस्नेतको समन्वयमा क्लबलाई प्रदान गर्नुभएको हो। त्यसैगरी, समाजसेवी तथा युवा नेता, अखिल नेपाल खेलकुद महासंघका केन्द्रीय सदस्य एवं काभ्रे जिल्ला अध्यक्ष विरेन्द्र लामाले क्लबलाई दुई थान फुटबल सहयोग गर्नुभएको थियो।
खेलकुद सामग्री हस्तान्तरण कार्यक्रममा विभिन्न राजनीतिक, सामाजिक तथा सुरक्षा निकायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका नेता दैवलाल घिसिङ (अनुशील), क्षेत्री समाज काभ्रेका अध्यक्ष संगम क्षेत्री, पनौती प्रहरी चौकीका इञ्चार्ज रामबहादुर कार्की, पनौती नगरपालिका–८ का वडा सचिव भगवान बस्नेत, प्रहरी हल्दार रमेश भट्टराई, समाजसेवीहरू सृजना थिङ, राजन अधिकारी, विजय जिम्बा, डिबी लामा र विकास लामालगायत स्थानीय बुद्धिजीवी तथा युवाहरूको सहभागिता रहेको थियो।
कार्यक्रमका क्रममा खेलकुद सामग्रीहरू खुशी समाज युवा क्लबका अध्यक्ष इकमान लामालाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो। सामग्री ग्रहण गर्दै अध्यक्ष लामाले सहयोगप्रति धन्यवाद व्यक्त गर्दै क्लबले खेलकुदमार्फत युवाहरूलाई अनुशासित, स्वस्थ र सकारात्मक सोचतर्फ अग्रसर गराउने अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा बोल्ने वक्ताहरूले खेलकुदले युवाहरूलाई लागुऔषध, हिंसा तथा अन्य नकारात्मक गतिविधिबाट टाढा राख्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे। उनीहरूले स्थानीय तह, सामाजिक संघसंस्था तथा व्यक्तिहरूको संयुक्त प्रयासबाट खेलकुद क्षेत्रको विकास सम्भव हुने धारणा व्यक्त गर्दै यस्ता सहयोगले गाउँस्तरमा खेलकुदको वातावरण निर्माण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका थिए। कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो।
प्रतिक्रिया दिनुहोस