काभ्रेपलाञ्चोक। नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई केन्द्रमा राख्दै पार्टीभित्र एकता, अनुशासन र समर्पण आवश्यक रहेको भन्दै सम्पूर्ण नेता तथा कार्यकर्तालाई एकताबद्ध भएर चुनावी अभियानमा होमिन आह्वान गरेको छ।
जिल्ला सभापति तीर्थ लामाको हस्ताक्षरमा जारी विज्ञप्ति मार्फत विशेष महाधिवेशनको सन्दर्भमा पार्टीभित्र उत्पन्न भएका सबै प्रकारका तिता–मिठा अनुभूति, असहमति र मतभेदलाई बिर्सेर वर्तमान राजनीतिक चुनौतीको सामना गर्नुपर्ने आवश्यकता औंल्याइएको छ। विज्ञप्तिमा कोही पनि उत्तेजित वा निराश नबनी पार्टीको साझा उद्देश्यप्रति प्रतिबद्ध भई निर्वाचन अभियानमा लाग्न आग्रह गरिएको छ।
पार्टीले नेता–कार्यकर्ताबीच आपसी सम्मान, समेट्ने भावना र संरक्षण गर्ने दायित्व नेतृत्वको प्रमुख जिम्मेवारी भएको स्पष्ट पारेको छ। साथै फरक मत र फरक विचारको सम्मान गर्नु नेपाली कांग्रेसको ऐतिहासिक र आधारभूत मूल्य भएको उल्लेख गर्दै, आन्तरिक विवादको न्यायिक निरुपण नहुँदासम्म प्रत्येक सदस्यले आफ्नो वैयक्तिक स्वतन्त्रताको प्रयोग गर्न सक्ने भए पनि, विवादको औपचारिक टुंगो लागिसकेपछि सबैले पार्टीको आधिकारिक निर्णयलाई स्वीकार गर्दै ‘चारतारे झण्डा र रुख चिन्ह’ अन्तर्गत एकताबद्ध हुनुपर्नेमा जोड दिइएको छ।
विज्ञप्तिमा नेपाली कांग्रेसको आन्तरिक जीवनमा विशिष्ट परिस्थितिअनुसार गरिएका विशेष निर्णयहरूले पार्टीलाई थप ऊर्जाशील, गतिशील र जनमुखी बनाएको उल्लेख गरिएको छ। ती निर्णयहरूले नेपाल र नेपालीको उज्यालो भविष्यका लागि नवीन र सुदृढ कांग्रेस निर्माणको आधार तयार पारेको भन्दै पार्टीको दूरदर्शी र साहसी नेतृत्वप्रति सम्मान प्रकट गर्दै ‘सलाम’ भनिएको छ।
कांग्रेस काभ्रेपलाञ्चोकले अन्त्यमा लोकतन्त्रको संरक्षण, संविधानको कार्यान्वयन तथा जनताको हित सुनिश्चित गर्ने उद्देश्यसहित निर्वाचनमा होमिनु वर्तमान राजनीतिक परिस्थितिमा सबै कांग्रेसजनको साझा दायित्व भएको उल्लेख गर्दै पार्टी, देश र जनताप्रति समर्पित भएर चुनावी मैदानमा उत्रन पुनः एकपटक सबैलाई आह्वान गरेको छ।
प्रतिक्रिया दिनुहोस