४ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले उपमेयर सुनिता डंगोलसमक्ष औपचारिक रूपमा राजीनामा बुझाएका हुन्।
उपमेयर डंगोलले राजीनामा प्राप्त भएको पुष्टि गर्दै भनिन्, “हो, उहाँको राजीनामा आएको हो। मलाई नै बुझाउनुभएको छ।”
राजीनामा दिएपछि मेयर शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय जाने तयारीमा छन्। रास्वपा कार्यालय परिसरमा उनलाई स्वागत गर्न कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेखनीय भीड जम्मा भएको छ।
दिउँसो १ बजे नै केन्द्रीय कार्यालय पुग्ने कार्यक्रम रहे पनि राजीनामा र भावी राजनीतिक कदमबारे अन्तिम निर्णय गर्न केही समय लागेकाले उनी निर्धारित समयभन्दा ढिलो हुने भएका हुन्।
राजीनामापछि बालेन शाह रास्वपामा औपचारिक रूपमा प्रवेश गर्दै झापा–५ बाट प्रतिनिधिसभा सदस्यको निर्वाचन लड्ने तयारीमा रहेको बताइएको छ। पार्टी स्रोतका अनुसार उनी हाल रास्वपाका वरिष्ठ नेताको हैसियतमा छन्।
रास्वपा केन्द्रीय कार्यालयमा शाहलाई स्वागत गर्ने विशेष कार्यक्रम आयोजना गरिएको छ। त्यसलगत्तै उनी आजै जनकपुर जाने कार्यक्रम रहेको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।
मेयर पदबाट राजीनामासँगै बालेन शाहको यो कदमलाई स्थानीय राजनीतिबाट केन्द्रीय राजनीतितर्फको निर्णायक मोडका रूपमा हेरिएको छ।
प्रतिक्रिया दिनुहोस