२०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

नेपाली कांग्रेसका तीन समूहबीच उम्मेदवार छनोटबारे गम्भीर छलफल


२४९७ पाठक संख्या
  • २०८२ माघ ५, सोमबार मा प्रकाशित ३ हफ्ता अघि
  • काठमाडौं – नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवादका बीच आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार छनोटको विषयमा पार्टीका तीन प्रमुख समूहबीच छलफल भएको छ।

    गएराति काठमाडौंको धुम्बाराहीस्थित एक होटलमा सम्पन्न बैठकमा कांग्रेसका तर्फबाट प्रवक्ता देवराज चालिसे र नेता मधु आचार्य, पूर्वसभापति शेरबहादुर देउवा समूहबाट रमेश लेखक, तथा डा. शेखर कोइराला समूहबाट डा. मिनेन्द्र रिजाल सहभागी थिए।

    निर्वाचन आयोगको कार्यतालिका अनुसार मंगलबार उम्मेदवार मनोनयन गर्नुपर्ने भएकाले टिकट वितरण र उम्मेदवार छनोटलाई लिएर तीव्र छलफल भएको हो। मनोनयनका लागि अब एक दिन मात्र बाँकी रहेकाले पार्टीभित्रको आन्तरिक कलहलाई अस्थायी रूपमा थाती राख्दै सहमतिका आधारमा उम्मेदवार चयन गर्ने प्रयासमा नेताहरू जुटेका हुन्।

    बैठकमा प्रतिनिधिसभा निर्वाचनका लागि सम्भावित उम्मेदवारहरूको नाम संकलन गर्ने र त्यसपछि ती नामहरूलाई पार्टीको संसदीय बोर्डमार्फत अन्तिम निर्णयमा लैजाने विषयमा छलफल भएको बताइएको छ। कांग्रेसले उम्मेदवार छनोटका लागि यसअघि नै सभापति गगन थापाको नेतृत्वमा १३ सदस्यीय संसदीय बोर्ड गठन गरिसकेको छ।

    स्रोतका अनुसार तीनवटै समूहबीच प्रारम्भिक समझदारी कायम गर्ने प्रयास भइरहेको छ र सोही विषयलाई टुंगोमा पुर्‍याउन आज पनि बैठक बस्ने तयारी गरिएको छ। नेताहरूले चुनावी प्रतिस्पर्धामा पार्टीलाई एकताबद्ध रूपमा प्रस्तुत गर्न सहमति आवश्यक रहेकोमा जोड दिएका छन्।

    उल्लेखनीय छ, गत पुस २७ देखि माघ १ गतेसम्म काठमाडौंमा सम्पन्न विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएपछि कांग्रेसभित्र विवाद चर्किएको छ। निर्वाचन आयोगले थापा नेतृत्वको कार्यसमितिलाई औपचारिक मान्यता दिएपछि असन्तुष्ट देउवा समूहले उक्त निर्णय बदरको माग गर्दै आइतबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेको छ।

    यद्यपि, आन्तरिक विवाद अदालतमा पुगेको अवस्थामा पनि निर्वाचनको समयसीमा नजिकिँदै गएकाले कांग्रेस नेतृत्व चुनावी प्रक्रियामा केन्द्रित हुन बाध्य भएको देखिन्छ। विश्लेषकहरूका अनुसार उम्मेदवार छनोटमा सहमति जुट्न नसके पार्टीको चुनावी परिणाममा नकारात्मक असर पर्न सक्ने सम्भावना रहेको छ।

    यस कारण, कांग्रेसका तीनवटै समूहबीच जारी छलफललाई आगामी प्रतिनिधिसभा निर्वाचनका लागि निर्णायक कदमका रूपमा हेरिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार