२०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

प्रचण्ड उम्मेदवारी दर्ताका लागि आज रुकुमपूर्व प्रस्थान


२०८१ पाठक संख्या
  • २०८२ माघ ५, सोमबार मा प्रकाशित २ हफ्ता अघि
  • ५ माघ, काठमाडौं।नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज साँझ रुकुमपूर्व प्रस्थान गर्ने भएका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने उद्देश्यले उनी आजै रुकुमपूर्व जान लागेका हुन्।

    निर्वाचन आयोगको कार्यतालिका अनुसार मंगलबार उम्मेदवारी मनोनयन दर्ता हुने छ। सोही कार्यक्रमलाई लक्षित गर्दै प्रचण्डको रुकुमपूर्व भ्रमण तय गरिएको नेकपा रुकुमपूर्वले जनाएको छ। पार्टीका अनुसार उनको स्वागतका लागि जिल्लास्तरमा सम्पूर्ण तयारी पूरा भइसकेको छ।

    नेकपा रुकुमपूर्वका इन्चार्ज तेजबहादुर वलीका अनुसार प्रचण्डको विस्तृत कार्यतालिका अन्तिम रूप दिइसकिएको छ।
    उनले भने, “प्रचण्ड सोमबार रुकुमपूर्व पुग्नुहुनेछ र मंगलबार भव्य कार्यक्रमका साथ उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ।”

    इन्चार्ज वलीका अनुसार प्रचण्ड मंगलबार उम्मेदवारी दर्ता गरेपछि बुधबार मात्र काठमाडौं फर्किने कार्यतालिका रहेको छ। यस अवधिमा उनले जिल्लाका पार्टी नेता तथा कार्यकर्तासँग विशेष राजनीतिक छलफल र परामर्श गर्ने कार्यक्रम समेत तय भएको छ।

    यसअघि २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा गोरखा–२ बाट निर्वाचित भएका प्रचण्ड यसपटक भने जनयुद्धको आधारभूमि मानिने रुकुमपूर्वलाई निर्वाचन क्षेत्रका रूपमा रोज्दै त्यहाँबाट चुनावी प्रतिस्पर्धामा उत्रन लागेका हुन्। राजनीतिक विश्लेषकहरूले यस निर्णयलाई सुरक्षित निर्वाचन क्षेत्र खोजी र ऐतिहासिक आधारभूमिसँग पुनः जोडिन खोजेको कदमका रूपमा व्याख्या गरेका छन्। रुकुमपूर्वमा प्रचण्डको उम्मेदवारी दर्तासँगै चुनावी माहोल थप तातिने अपेक्षा गरिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार