७ माघ, काठमाडौं । कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक क्यालेन्डरअनुसार परीक्षा पहिलो साता नै गर्ने तयारी गरे पनि देशभर हुने निर्वाचनका कारण तालिका परिवर्तन गर्नुपरेको जनाएको छ ।
परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार बोर्डको निर्णयअनुसार एसईई परीक्षा चैत १९ गतेदेखि औपचारिक रूपमा सुरु हुनेछ । “चुनावी कार्यक्रमसँग तालिका जुध्न नदिन परीक्षा मिति केही पछाडि सारिएको हो,” उनले बताए ।
बोर्डका अनुसार परीक्षा सञ्चालनका लागि आवश्यक तयारी अघि बढाइएको छ । प्रश्नपत्र छपाइ, परीक्षा केन्द्र व्यवस्थापन, निरीक्षक तथा सुपरिवेक्षक खटाउने कार्य अन्तिम चरणमा पुगेको बोर्डले जनाएको छ । यस वर्ष नियमित तथा ग्रेडवृद्धि परीक्षार्थी गरी लाखौँ विद्यार्थी एसईईमा सहभागी हुने अपेक्षा गरिएको छ ।
निर्वाचनका कारण सार्वजनिक विद्यालयहरूमा पठनपाठन तथा प्रशासनिक गतिविधि प्रभावित नहोस् भन्ने उद्देश्यले परीक्षा तालिका समायोजन गरिएको बोर्डको भनाइ छ । नयाँ तालिकाअनुसार विद्यार्थी, अभिभावक तथा विद्यालयहरूलाई तयारी गर्न पर्याप्त समय मिल्ने विश्वास बोर्डले व्यक्त गरेको छ ।
एसईई परीक्षा माध्यमिक तहको महत्वपूर्ण मूल्याङ्कन भएकाले परीक्षालाई मर्यादित, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गरिने परीक्षा बोर्डले स्पष्ट पारेको छ ।
प्रतिक्रिया दिनुहोस