काभ्रेपलाञचोक । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि काभ्रेपलाञ्चोक क्षेत्र नम्बर १ बाट नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट दिननाथ गौतम उम्मेदवार बनेका छन्।
दशकौँदेखि वामपन्थी राजनीतिमा सक्रिय गौतमको राजनीतिक यात्रा विद्यार्थी आन्दोलनदेखि सशस्त्र संघर्ष, बेपत्ता जीवन, यातना र लोकतान्त्रिक गणतन्त्रको अभ्याससम्म फैलिएको छ।
वि.सं. २०२० सालमा काभ्रेपलाञ्चोकको चौंरीदेउराली–५ मा जन्मिएका गौतम निम्न वर्गीय परिवारमा हुर्किएका हुन्। सामान्य पारिवारिक पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेका उनले स्नातक तहसम्म अध्ययन गरेका छन्। २०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिक चेतनामा सक्रिय बनेका गौतम २०४१ सालदेखि शिक्षक पेशामा संलग्न भए। तर पञ्चायती व्यवस्था विरुद्धको आन्दोलनमा सक्रिय सहभागिता जनाएकै कारण २०४४ सालमा उनी शिक्षक सेवाबाट बर्खास्त भए।
त्यसपछि उनी संगठित रूपमा वाम राजनीतिमा संलग्न हुँदै नेकपा (मशाल) मार्फत पार्टी सदस्य, एरिया सेक्रेटरी, जिल्ला तथा क्षेत्रीय जिम्मेवारीमा पुगे। २०५२ सालमा स्थायी जागिर परित्याग गर्दै उनले जनयुद्धमा पूर्णकालीन रूपमा भूमिगत जीवन रोजे। २०५३ साल पुस १९ गते बेथान मोर्चाको कमाण्ड सम्हाल्दै मोर्चालाई सफल बनाएका गौतम त्यस समय काभ्रे–रामेछाप जिल्ला सेक्रेटरीको भूमिकामा थिए।
राज्यद्वारा गरिएको दमनको सिकारसमेत बनेका गौतम २०५६ साल श्रावण २५ गते बेपत्ता पारिएका थिए। १६ महिनासम्म सेनाको नियन्त्रणमा रहँदै उनले चरम यातना सहनुपरेको थियो। २०५७ साल कात्तिक १८ गते शान्ति वार्ताको वातावरण निर्माण गर्ने उद्देश्यसहित तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले उनलाई रिहा गरेको थियो। रिहाइपछि गौतम पुनः जनयुद्ध र जनआन्दोलनमा सक्रिय बने।
काभ्रे, रामेछाप, सिन्धुपाल्चोक र दोलखालगायत जिल्लामा संगठन विस्तार र आन्दोलनको नेतृत्वदायी भूमिका निर्वाह गरेका गौतममाथि २०५८ र २०५९ सालमा तत्कालीन सरकारले ‘रेड कर्नर नोटिस’समेत जारी गरेको थियो। राजनीतिक संक्रमणकालमा पनि संगठन र आन्दोलनलाई निरन्तरता दिँदै आएका उनले २०६५ सालमा काभ्रे जिल्ला अध्यक्ष, सह–इन्चार्ज तथा केन्द्रीय सदस्यको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरे।
स्थानीय तहको अभ्यासमा समेत सफल नेतृत्व प्रस्तुत गरेका गौतम २०७४ देखि २०७९ सम्म चौंरीदेउराली गाउँपालिकाको प्रथम निर्वाचित अध्यक्ष बने। उच्च मतसहित निर्वाचित भएर उनले आफ्नो कार्यकाल पूरा गरेका थिए। आधारभूत पूर्वाधार, शिक्षा, स्वास्थ्य, सडक तथा स्थानीय सुशासनलाई प्राथमिकतामा राखेर काम गरेको उनको दाबी छ।
लामो राजनीतिक संघर्ष, त्याग, संगठनात्मक अनुभव र स्थानीय तहको कार्यकारी नेतृत्वको अभ्यास बोकेका दिननाथ गौतम यसपटक काभ्रेपलाञ्चोक क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका रूपमा जनताको विश्वास पुनः जित्ने अभियानमा जुटेका छन्। नेकपाले अनुभवी, संघर्षशील र जनआधारित नेताका रूपमा उनलाई उम्मेदवार बनाएको बताएको छ।
प्रतिक्रिया दिनुहोस