२०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

पाँचखालमा नगरस्तरीय अन्तर–विद्यालय चौथो मेयर कप तथा राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता सुरु


४९६७ पाठक संख्या
  • २०८२ माघ ११, आईतबार मा प्रकाशित २ हफ्ता अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नं ४ मा अवस्थित रातामाटे चौरमा पाँचखाल नगरस्तरीय अन्तर–विद्यालय चौथो मेयर कप रनिङ शिल्ड तथा राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता (आज)आइतबारदेखि औपचारिक रूपमा सुरु भएको छ।

    पाँचखाल नगरपालिका प्रवक्ता एवं वडा नं ८ का वडा अध्यक्ष संजय तमाङको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहका प्रमुख अतिथि पाँचखाल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटा रहनुभएको थियो। प्रमुख अतिथि सापकोटाले खेलकुदले विद्यार्थीहरूमा अनुशासन, नेतृत्व विकास, प्रतिस्पर्धात्मक भावना र स्वस्थ जीवनशैलीको विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै नगरपालिकाले विद्यालयस्तरको खेलकुद प्रवर्द्धनलाई उच्च प्राथमिकतामा राख्दै आएको बताउनुभयो।

    उद्घाटन कार्यक्रममा पाँचखाल नगरपालिका वडा नं ४ का वडा अध्यक्ष सुन्दर तमाङले स्वागत मन्तव्य राख्दै खेलकुदले विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा टेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा वडा नं ३ का वडा अध्यक्ष सुन्दर अधिकारी, सर्वमंगला माध्यमिक विद्यालयका प्रधानाध्यापक जयराम अधिकारी, पाँचखाल भ्याली माध्यमिक विद्यालयका प्रिन्सिपल डी.बी. एडी लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गर्दै विद्यार्थीहरूलाई अनुशासित, खेलभावनायुक्त र प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्न प्रेरित गरिएको थियो भने कार्यक्रमको सञ्चालन शिक्षक रमेश खरेलले गर्नुभएको थियो।

    पाँचखाल नगरपालिका शिक्षा शाखाका स्रोत व्यक्ति धनबहादुर बस्नेतका अनुसार प्रतियोगिता लगातार तीन दिनसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा संस्थागत विद्यालय ७ र सामुदायिक विद्यालय १२ गरी जम्मा १९ विद्यालयको सहभागिता रहेको छ। विभिन्न खेल विधामार्फत उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरू राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि छनोट गरिने जनाइएको छ।

    प्रतियोगितामा सहभागी १९ विद्यालयका विद्यार्थीहरूले पाँचखाल नगरपालिका हाताबाट विभिन्न प्रकारका सांस्कृतिक तथा शैक्षिक झाँकीसहित कार्यक्रम स्थलसम्म पदयात्रा गरेका थिए। उक्त पदयात्रा कार्यक्रम स्थलमा पुगेर मार्चपासमा परिणत भएको थियो, जहाँ विद्यार्थीहरूले आफ्नो अनुशासन, टोली भावना र प्रतिभा प्रस्तुत गरेका थिए।

    नगरपालिकाको आयोजनामा सम्पन्न उक्त प्रतियोगिताले विद्यालयस्तरमा खेलकुद संस्कृतिको विकास गर्दै विद्यार्थीहरूलाई राष्ट्रियस्तरको प्रतिस्पर्धाका लागि तयार पार्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार