काभ्रेपलाञ्चोक । आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो वार्षिक कार्ययोजनाअनुसार आज आइतबार अन्तरविद्यालय निबन्ध लेखन प्रतियोगिता सम्पन्न गरेको छ।
विद्यार्थीहरूको बौद्धिक क्षमता अभिवृद्धि, सिर्जनशीलता विकास तथा शैक्षिक चेतना विस्तार गर्ने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगितामा संस्थाको कार्यक्षेत्रभित्र रहेका १५ वटा विद्यालयको उत्साहजनक सहभागिता रहेको थियो।
संस्थाका शिक्षा तथा तालिम उपसमिति संयोजक विष्णुप्रसाद पराजुलीको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका अध्यक्ष बाबुकाजी पराजुली प्रमुख अतिथि तथा संस्थाका सल्लाहकार सत्यवती भट्टराई विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा शिक्षा क्षेत्रको विकासमा सहकारी संस्थाको भूमिकाबारे समेत चर्चा गरिएको थियो।
कार्यक्रमको सञ्चालन संस्थाका सचिव रामप्रसाद कोइरालाले गर्नुभएको थियो। उहाँले प्रतियोगिताको उद्देश्य र अपेक्षित उपलब्धिबारे जानकारी गराउँदै सहकारी संस्थाले शिक्षा, सीप विकास तथा युवा सशक्तीकरणलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो।
प्रतियोगितामा सहभागी विद्यार्थीहरूमध्ये आजात माध्यमिक विद्यालयकी छात्रा आकृति श्रेष्ठ प्रथम स्थान, सर्वमंगला माध्यमिक विद्यालयकी छात्रा अनुष्का अधिकारी द्वितीय स्थान, महाकाली माध्यमिक विद्यालयकी छात्रा मानवी न्यौपाने तृतीय स्थान हासिल गर्न सफल हुनुभयो। त्यसैगरी महाङ्काल माध्यमिक विद्यालयकी छात्रा समीक्षा सापकोटा र भगवती माध्यमिक विद्यालयकी छात्रा रेजिना श्रेष्ठले सान्त्वना स्थान प्राप्त गर्नुभयो।
कार्यक्रमका क्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत ठाकुरनाथ अधिकारीले संस्थाको समग्र वस्तुस्थितिबारे प्रकाश पार्दै सहकारीले वित्तीय कारोबारसँगै सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य र सामुदायिक विकासका क्षेत्रमा निरन्तर योगदान दिँदै आएको जानकारी गराउनुभयो। उहाँले यस्ता प्रतियोगिताले विद्यार्थीहरूमा अध्ययनप्रति रुचि बढाउनुका साथै सिर्जनशील सोचको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरूलाई नगद पुरस्कार, प्रमाणपत्र तथा मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो। कार्यक्रममा सहभागी अतिथिहरूले विजेता तथा सहभागी सबै विद्यार्थीहरूको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता शैक्षिक गतिविधि निरन्तर सञ्चालन गर्न सुझाव दिनुभयो।
कार्यक्रमलाई सभ्य र भव्य रूपमा सम्पन्न गर्न सहयोग पुर्याउनुहुने संस्थाका सम्पूर्ण पदाधिकारी, शिक्षा तथा तालिम समिति, व्यवस्थापन पक्ष, सहभागी विद्यालय, शिक्षक प्रतिनिधि, विद्यार्थी तथा अन्य सरोकारवाला महानुभावहरूप्रति आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्था लिमिटेडले हार्दिक आभार व्यक्त गरेको छ। साथै, आगामी दिनमा पनि शिक्षा र समाज विकासका क्षेत्रमा निरन्तर सहकार्यको अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस