२०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

लायन्स क्लब र नगरपालिकाको सहकार्यमा पाँचखालमा निःशुल्क नेत्र शिविर


७३०७ पाठक संख्या
  • २०८२ माघ १२, सोमबार मा प्रकाशित १ हफ्ता अघि
  •  काभ्रेपलाञ्चोक। पाँचखाल नगरपालिका वडा नं. २ मा माघ ६ गतेदेखि ८ गतेसम्म तीन दिन निःशुल्क आँखाको जाँच शिविर सफलतापूर्वक सम्पन्न भएको छ।

    लायन्स क्लब अफ काभ्रेपलाञ्चोक भगवती, उज्यालो नेपाल, जेसीआई पाँचखाल तथा पाँचखाल नगरपालिकाको संयुक्त आयोजनामा सम्पन्न उक्त शिविरले स्थानीय नागरिकहरूलाई प्रत्यक्ष लाभ पुर्‍याएको छ।

    शिविर सञ्चालनका लागि रेयुकाइ एइको मासुनागा आँखा अस्पताल, बनेपाबाट प्राविधिक सहयोग प्राप्त भएको थियो। अस्पतालका अनुभवी नेत्र चिकित्सक तथा दक्ष स्वास्थ्यकर्मीहरूको टोलीले शिविर अवधिभर आँखासम्बन्धी परीक्षण तथा परामर्श सेवा प्रदान गरेको थियो।

    समुदायस्तरमा आँखासम्बन्धी रोगहरूको समयमै पहिचान गर्नु, सर्वसाधारणलाई निःशुल्क नेत्र स्वास्थ्य सेवा उपलब्ध गराउनु तथा आवश्यक उपचारतर्फ बिरामीहरूलाई सहजीकरण गर्नु शिविरको मुख्य उद्देश्य रहेको आयोजकहरूले जनाएका छन्।

    तीन दिनसम्म सञ्चालन भएको शिविरमा कुल ३२८ जना नागरिकहरूको निःशुल्क आँखाको जाँच गरिएको थियो। जाँच गरिएकामध्ये २३ जनामा मोतियाबिन्दु (Cataract) तथा ३ जनामा प्टेरिजियम (Pterygium) समस्या देखिएको थियो। त्यसैगरी, दृष्टि कमजोर भएका ५३ जना सेवाग्राहीलाई निःशुल्क चश्मा वितरण गरिएको थियो।

    मोतियाबिन्दु पहिचान भएका बिरामीहरूमध्ये १४ जनालाई रेयुकाइ एइको मासुनागा आँखा अस्पताल, बनेपामा उज्यालो नेपाल र लायन्स क्लब अफ काभ्रेपलाञ्चोक भगवतीको सहकार्यमा निःशुल्क शल्यक्रिया (अपरेशन) गराइएको छ। यसले दृष्टिविहीनताको जोखिममा रहेका नागरिकहरूको जीवनस्तर सुधार गर्न महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकहरूको भनाइ छ।

    शिविरमा स्थानीय समुदायको उल्लेखनीय सहभागिता देखिनुका साथै आयोजक संस्थाहरू, प्राविधिक टोली र पाँचखाल नगरपालिकाबीच उत्कृष्ट समन्वय कायम भएको थियो। पाँचखाल नगरपालिकाको सहकार्य र रेयुकाइ एइको मासुनागा आँखा अस्पतालको प्राविधिक सहयोगले शिविरलाई प्रभावकारी र सफल बनाउन महत्वपूर्ण भूमिका खेलेको थियो।

    आयोजक संस्थाहरूले आगामी दिनमा पनि यस्ता स्वास्थ्यसम्बन्धी निःशुल्क शिविरहरूलाई निरन्तरता दिँदै ग्रामीण तथा शहरी समुदायमा स्वास्थ्य सचेतना र सेवा प्रवाहलाई अझ विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार