१३ माघ, काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भारत सरकारले नेपाल सरकारलाई ६१ वटा सवारी साधन उपहारस्वरूप उपलब्ध गराएको छ ।
माघ ६ गते सिंहदरबारमा आयोजित एक कार्यक्रममा भारतीय दूतावासले क्याबिन पिकअप भ्यानहरू नेपाल सरकारलाई हस्तान्तरण गरेको हो । हाल ती सवारी साधनहरू सिंहदरबारस्थित गृह मन्त्रालय परिसरमा राखिएका छन् ।
गृह मन्त्रालयले निर्वाचन प्रयोजनका लागि वस्तुगत सहयोगस्वरूप अर्थ मन्त्रालयमार्फत भारत सरकारसँग सवारी साधनको माग गरेको थियो । सोही प्रस्तावअनुसार भारत सरकारले पहिलो चरणमा ६१ वटा सवारी साधन नेपाल सरकारलाई उपलब्ध गराएको जनाएको छ ।
यसपटकको निर्वाचनका लागि भारत सरकारले साना तथा ठूला गरी जम्मा ५३८ वटा सवारी साधन उपलब्ध गराउने बताइएको छ । ती सवारी साधनहरू नेपाल सरकारको नाममा दर्ता हुने भएकाले निर्वाचन सम्पन्न भएपछि सरकारको आवश्यकताअनुसार प्रयोग गर्न सकिने छ ।
भारत सरकारले विगतदेखि नै नेपालमा हुने निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सवारी साधनलगायत विभिन्न निर्वाचन सामग्री तथा उपकरण सहयोग गर्दै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस