
आई.आर.के.मैनाली१३ माघ, काठमाडौं । लागुऔषध कारोबारीसँग दुई लाख रुपैयाँ असुलेर छाडिदिएको आरोपमा सादा पोशाकमा कार्यरत दुई जना प्रहरीलाई जिल्ला प्रहरी परिसर काठमाडौंले हिरासतमा लिएको छ । पक्राउ पर्नेमा प्रहरी हवल्दार धीरेन्द्र विष्ट र प्रहरी जवान सुजन कार्की रहेका छन् ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत उनीहरू लागुऔषध कारोबारीसँग रकम असुलेको प्रमाण भेटिएपछि हिरासतमा राखी अनुसन्धान अघि बढाइएको परिसरका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए । उनका अनुसार घटनाबारे आन्तरिक छानबिन जारी छ र दोषी देखिए कानुनअनुसार कारबाही गरिनेछ ।
सादा पोशाक (घुमुवा) प्रहरीका रूपमा कार्यरत हवल्दार विष्ट यसअघि पनि यस्तै प्रकृतिका घटनामा जोडिएका व्यक्ति हुन् । उनी २०७७ सालमा न्युरोड क्षेत्रमा हुन्डी कारोबारको १० लाख रुपैयाँ लुटपाट प्रकरणमा मुछिएका थिए । त्यसबेला जिल्ला प्रहरी परिसर काठमाडौंमा घुमुवा प्रहरीकै रूपमा कार्यरत रहेका विष्ट सो प्रकरणमा सफाइ पाएपछि पुनः सेवामा फर्किएका थिए ।
उक्त घटनापछि समेत उनलाई उपत्यका प्रहरी कार्यालयले पुनः सादा पोशाकमा खटाउँदा फेरि आर्थिक अनियमिततामा संलग्न भएको आरोप लाग्नुले प्रहरी संगठनभित्रको निगरानी प्रणालीमाथि प्रश्न उठेको छ ।
‘कानुनको नजरमा सबै बराबर हुन्छन् भन्ने सन्देश दिन यो अनुसन्धान अघि बढाइएको हो । प्रहरी भए पनि गल्ती गरे उन्मुक्ति हुँदैन,’ एसपी भट्टराईले भने ।
सादा पोशाकमा कार्यरत प्रहरी कर्मचारी घुस तथा असुली प्रकरणमा पक्राउ पर्नु पहिलो घटना भने होइन । पछिल्लो समय चोरी, रकम असुली र अवैध गतिविधिमा संलग्न भएको गुनासो बढेपछि प्रहरी प्रधान कार्यालयले यस्ता प्रहरीलाई धमाधम हेडक्वार्टर झिकाएर छानबिन गरिरहेको छ ।
२० पुसमा प्रहरी प्रधान कार्यालयले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा कार्यरत ३२ जना प्रहरी कर्मचारीलाई आवश्यक छानबिनका लागि हेडक्वार्टर उपस्थित हुन निर्देशन दिएको थियो । तीमध्ये प्रहरी जवानदेखि प्रहरी नायव निरीक्षक (सई) सम्म रहेका छन् ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्लेका अनुसार अहिलेसम्म ८२ जना प्रहरी कर्मचारीलाई हेडक्वार्टर झिकाएर छानबिन भइरहेको छ । संगठनको नीतिविपरीत काम गरेका, आर्थिक अनियमितता र अवैध गतिविधिमा जोडिएका तथा उजुरी परेका प्रहरी कर्मचारीमाथि अनुसन्धान भइरहेको उनले बताए ।
यसअघि सादा पोशाकमा कार्यरत प्रहरी कर्मचारी बदनाम भएको भन्दै १५ चैत २०८० मा तत्कालीन गृहमन्त्री रवि लामिछानेले अपराध अनुसन्धान शाखाबाहेक सादा पोशाकमा प्रहरी परिचालन नगर्न निर्देशन दिएका थिए ।
सादा पोशाक प्रहरीसम्बन्धी समस्या अध्ययन गर्न २०७९ सालमा तत्कालीन डीआईजी टेकप्रसाद राईको नेतृत्वमा गठित कार्यदलले स्पष्ट कार्यविधि, ट्र्याक रेकर्डको आधारमा छनोट, छुट्टै तालिम र अधिकतम चार वर्षसम्म मात्र सादा पोशाकमा खटाउनुपर्ने सुझाव दिएको थियो । तर ती सिफारिसहरू व्यवहारमा कार्यान्वयन हुन नसकेको वर्तमान घटनाले देखाएको छ ।
प्रतिक्रिया दिनुहोस