काभ्रेपलाञ्चोक । कुनै समय सडक सञ्जाल र यातायात सुविधाबाट वञ्चित महाभारत गाउँपालिकाबाट मधेश प्रदेशको बारा जिल्लाको निजगढसम्म नियमित बस सेवा सञ्चालनमा आएको छ। संघीयता कार्यान्वयनपछि स्थानीय तहको सक्रियता र समन्वयबाट विकट क्षेत्रका बासिन्दाले सहज यातायात सेवा पाउन थालेका हुन्।
काभ्रे बस सेवा प्रालिले नेपाल सरकारबाट रुट परमिट अनुमति पाएसँगै आइतबारदेखि देविटार–निजगढ नियमित बस सेवा सुरु गर्न लागेको जनाएको छ। करिब १२० किलोमिटर दूरी रहेको उक्त रुट पार गर्न करिब ७ घण्टा लाग्नेछ। देविटारबाट बिहान ७ बजे छुट्ने बस दिउँसो २ बजे निजगढ पुग्नेछ भने निजगढबाट पनि बिहान ७ बजे नै बस छुट्नेछ।
महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बस सेवा सञ्चालनसँगै पालिकाको विकटता सहजतामा रूपान्तरण भएको बताउनुभयो। उहाँका अनुसार देविटार केन्द्र हुँदै चार जिल्ला र दुई प्रदेश जोड्ने यो सेवा स्थानीय विकास, आवागमन र आर्थिक गतिविधिका लागि महत्वपूर्ण उपलब्धि हो।
स्थानीय तह गठनपछि महाभारतमा पक्की सडक, पुल, विद्यालय, स्वास्थ्य संस्था, विद्युत् र सञ्चार संरचना निर्माणले तीव्रता पाएको छ। देविटार–निजगढ बस सेवा सञ्चालनले स्थानीय नागरिक थप लाभान्वित हुने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस