काभ्रेपलाञ्चोक । ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान, बनेपाले साना बालबालिकालाई लक्षित गर्दै एक विशेष कार्यक्रमको आयोजना गरी सम्मान तथा उपहार वितरण गरेको छ। विद्यालयका माथिल्लो कक्षामा अध्ययनरत विद्यार्थीहरूले तल्लो तहका बालबालिकालाई सम्मान गर्दै कार्यक्रमलाई अझ अर्थपूर्ण बनाएका थिए।
कक्षा ४ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरूले नर्सरीदेखि कक्षा ३ सम्मका बालबालिकालाई पूजा गरी विभिन्न शैक्षिक तथा उपभोग्य सामग्री उपहारस्वरूप प्रदान गरेका थिए। कार्यक्रममा करिब ५०० भन्दा बढी बालबालिकालाई कापी, कलमलगायत स्टेशनरी सामग्री, फलफूल, खाजा तथा अन्य आवश्यक सामग्री वितरण गरिएको विद्यालयले जनाएको छ।
“शिक्षा विद्यार्थीका लागि, विद्यार्थी देशका लागि” भन्ने मूल नाराका साथ सञ्चालन हुँदै आएको ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले नैतिक, व्यावहारिक तथा व्यावसायिक शिक्षामा विशेष जोड दिँदै आएको छ। साथै, राष्ट्रिय नाराका रूपमा रहेको “बालमैत्री शासन, बाल अधिकारको सम्मान” लाई आत्मसाथ गर्दै विद्यालयले यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको विद्यालय प्रशासनले जनाएको छ।
कार्यक्रममा विद्यालयका सञ्चालक तथा प्रबन्ध निर्देशक प्रताप वैद्य, शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। विगत वर्षहरूमा जस्तै यस वर्ष पनि अभिभावकहरूको सक्रिय सहभागिता देखिएको विद्यालयले जनाएको छ।
प्रबन्ध निर्देशक वैद्यका अनुसार विद्यालयले पाठ्यक्रममा मात्र सीमित नरही विद्यार्थीहरूमा सामाजिक उत्तरदायित्व, संस्कार, व्यावहारिक ज्ञानको विकास गर्ने उद्देश्यका साथ ठूला विद्यार्थीमार्फत साना बालबालिकालाई सम्मान र माया प्रदान गर्ने संस्कृतिको विकास गर्न यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको हो।
कार्यक्रमप्रति अभिभावक तथा शिक्षकहरूले सकारात्मक प्रतिक्रिया जनाउँदै यस्ता गतिविधिले बालबालिकामा सानै उमेरदेखि कला, संस्कृति, सहकार्य, सहयोग, सम्मान र सामाजिक भावनाको विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस