काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–४ लामिडाँडास्थित अरनिको राजमार्ग खण्डमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
पाँचखाल प्रहरी चौकी प्रमुख प्रहरी निरिक्षक प्रसान्त तामाङको अनुसार आज (बुधवार) दिउँसो करिब २ः४० बजे धुलिखेलबाट दोलालघाटतर्फ जाँदै गरेको बा.प्र.०२–०३० प ८०१३ नम्बरको मोटरसाइकल र बाह्रबिसेबाट काठमाडौँतर्फ आउँदै गरेको बा ३ ख ८४३ नम्बरको बस एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए। टाउकोमा गहिरो चोट लागेका उनलाई तत्काल उपचारका लागि धुलिखेल अस्पताल लगिएकोमा उपचारकै क्रममा दिउँसो करिब ३ः४० बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।
मृतकको पहिचान सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–५ निवासी अन्दाजी २६ वर्षीय सुसिल आले मगरको रूपमा खुलेको प्रहरीले जनाएको छ।
घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी पाँचखालबाट प्रहरी सहायक निरीक्षक मोहनबहादुर श्रेष्ठको कमाण्डमा ट्राफिकसहित ७ जनाको टोली घटनास्थलमा खटिएको थियो। मोटरसाइकल प्रहरी चौकी पाँचखालमा राखिएको छ भने बस र बस चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
बस चालक सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५ निवासी ५३ वर्षीय नानिबाबु ठकुरी रहेको र उनी हाल जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको नियन्त्रणमा रहेको जानकारी दिइएको छ।
दुर्घटनास्थल प्रहरी चौकी पाँचखालबाट करिब १ किलोमिटर उत्तरतर्फ पर्ने बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस