२०८२ माघ २५, आईतबार | Sun, 08, Feb, 2026

प्रेस चौतारी काभ्रेको सामाजिक सन्देश : अटिजम तथा बौद्धिक अपांगता भएकालाई न्यानो कपडा सहयोग


२२६३ पाठक संख्या
  • २०८२ माघ २२, बिहिबार मा प्रकाशित ३ दिन अघि
  • काभ्रेपलाञ्चोक । प्रेस चौतारी नेपालको २८औँ स्थापनादिवसको अवसरमा प्रेस चौतारी नेपाल काभ्रेपलाञ्चोक शाखाले अटिजम तथा बौद्धिक अपांगता भएका व्यक्तिहरूलाई न्यानो कपडा सहयोग गरेको छ।

    पाँचखाल नगरपालिका–११ खरेलथोकस्थित सुस्त मनस्थिती पुनर्स्थापना केन्द्रमा रहेका बौद्धिक अपांगता भएका बालबालिका तथा युवालाई ट्रयाकसुट, टोपी र फलफूल वितरण गरिएको हो। कार्यक्रममा प्रेस चौतारी काभ्रेका अध्यक्ष केदारनाथ तिमल्सिनाले पुनर्स्थापना केन्द्रका व्यवस्थापक रमेश खरेललाई सामग्री हस्तान्तरण गरेका थिए।

    हाल उक्त पुनर्स्थापना केन्द्रमा बालबालिका र युवा गरी २० जना बौद्धिक अपांगता भएका व्यक्ति आश्रित छन् भने ५ जना कर्मचारी कार्यरत छन्। स्थापनादिवसलाई मानवियतासँग जोड्दै सकारात्मक सन्देश दिन न्यानो कपडा वितरण गरिएको अध्यक्ष तिमल्सिनाले बताए। उनले ग्रामीण क्षेत्रमा सञ्चालित यस्ता पुनर्स्थापना केन्द्रलाई राज्यबाट थप सहयोग आवश्यक रहेको उल्लेख गर्दै विशेष सहयोगको आवश्यकता रहेका बालबालिकालाई सहयोग गर्न पाउँदा खुशी लागेको धारणा व्यक्त गरे।

    कार्यक्रममा पुनर्स्थापना केन्द्रका व्यवस्थापक रमेश खरेलले विविध समस्या र चुनौतीका बीच केन्द्र सञ्चालन गर्दै बालबालिकाको हेरचाह गरिरहेको बताए। केन्द्रमा छात्रा भवनको अभाव रहेको उल्लेख गर्दै बालबालिका तथा युवालाई उनीहरूको क्षमताअनुसार सीप विकासमार्फत उद्यमसँग जोड्दै आत्मनिर्भर बनाउने सहयोगको अपेक्षा व्यक्त गरे।

    २०५८ सालमा बौद्धिक अपांगता कक्षा सञ्चालनसँगै पुनर्स्थापना केन्द्रको सुरुवात भएको थियो। तत्कालीन समयमा शिक्षा कार्यालयमार्फत सञ्चालन हुँदै आएको केन्द्रलाई हाल सरकारले वार्षिक १० लाख रुपैयाँ सहयोग उपलब्ध गराउँदै आएको छ। सरकार तथा विभिन्न दातृ निकायको सहयोगमा संस्था सञ्चालन भइरहेको र विशेष अवसरमा विभिन्न व्यक्तिहरूले समेत सहयोग गर्दै आएको जनाइएको छ।

    न्यानो कपडा वितरण कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपानेले स्थानीय मुद्दालाई उजागर गर्दै सन्देशमूलक कार्यक्रमका रूपमा स्थापनादिवस मनाएकोमा प्रेस चौतारीलाई धन्यवाद व्यक्त गरे।

    कार्यक्रममा नेकपा एमाले काभ्रेका प्रचार विभाग प्रमुख श्याम सापकोटा, वरिष्ठ पत्रकार मधुसुदन गुरागाईं, नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष मोतिराम तिमल्सिना, प्रेस चौतारी काभ्रेका निवर्तमान अध्यक्ष भुवन रायमाझी, प्रेस चौतारी बागमती प्रदेश कमिटी सचिव जगत तामाङलगायत चौतारीकर्मीको उपस्थिति रहेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार