२३ माघ, बैतडी।बझाङको बित्थडचिर गाउँपालिका–७ लघुणाछा र बैतडीको पुर्चौडी नगरपालिका–७ भौनी गाउँ यतिबेला गहिरो शोकमा डुबेका छन्। जन्ती बोकेको बस दुर्घटनामा परेर १३ जनाको ज्यान गएपछि यी गाउँका बासिन्दा स्तब्ध बनेका छन्।
पवनदूत यातायातको सुप प्र ०२–००१ ख १११९ नम्बरको बस बिहीबार सडकबाट करिब २०० मिटर तल खस्दा दुर्घटना भएको हो। दुर्घटनामा ३४ जना घाइते भएका छन्। मृतक तथा घाइते सबै बेहुला–बेहुलीपट्टिका आफन्त र इष्टमित्र रहेका छन्।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डीएसपी दीपक रायका अनुसार घटनास्थलमै ६ जनाको मृत्यु भएको थियो भने कोटिला स्वास्थ्य चौकीमा २ जना र डडेल्धुरा अस्पताल लैजाँदै गर्दा थप ५ जनाले ज्यान गुमाएका हुन्।
दुर्घटनामा ज्यान गुमाउनेमा बझाङ बित्थडचिर–७ का केशवराज जोशी (४०), अशोकराज जोशी (१३), बसन्त जोशी (३५), विष्णुदत्त जोशी (४१), नरेन्द्रराज जोशी (४२), विसनदत्त जोशी (१८), दीपकराज जोशी (२७) र किसनदत्त जोशी (४५) रहेका छन्।
यस्तै, केदारस्यु गाउँपालिकाका मोहनदेव भट्ट (६०) र केशवराज भट्ट, जयपृथ्वी नगरपालिका–७ का बसन्तराज रतला (४०), पुर्चौडी–७ की पुष्पा अवस्थी (४०) तथा १४ वर्षीय सुशील जोशीको पनि मृत्यु भएको छ।
मृतकमध्ये नरेन्द्रराज र विष्णुदत्त जोशी सहोदर दाजुभाइ हुन्। उनीहरू क्रमशः गाउँपालिकामा प्राविधिक सहायक र महादेव माध्यमिक विद्यालयका शिक्षक थिए। वसन्तराज जोशी उनीहरूका भतिजा तथा गाउँपालिकामा कृषि प्राविधिकका रूपमा कार्यरत थिए। सुशील जोशी बेहुलीका भाइ हुन्।
घाइतेमध्ये २५ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ भने ५ जनालाई धनगढी र ४ जनालाई बझाङको देउलेख स्वास्थ्य केन्द्रमा उपचारका लागि पठाइएको छ।
बित्थडचिर–७ का वडाध्यक्ष दिनेश अधिकारीका अनुसार लघुणाछा गाउँका करिब १० घरका अधिकांश परिवार यस दुर्घटनाबाट प्रत्यक्ष प्रभावित भएका छन्।
“खुसी साट्न बिहेमा गएकाहरू कहिल्यै नफर्किने गरी गए। गाउँ नै रोइरहेको छ,” उनले भने।
हिजोसम्म जन्तीको सत्कारमा व्यस्त गाउँ आज शव कुरुवा र अस्पताल धाउनेहरूको भिडमा परिणत भएको छ। वडा सदस्य परिमलीदेवी जोशी घाइते श्रीमान्को कुरुवामा अस्पतालमै छिन्।
यसैबीच, लघुणाछा गाउँका शिक्षक उत्तमराज जोशी गाउँका ६ जनाको मृत्यु भएपछि विक्षिप्त अवस्थामा पुगेका छन्।
“मेरो परिवारमा म बाहेक सबै घाइते वा मृत छन्। समालिन सक्ने अवस्था छैन,” भन्दै उनी भक्कानिए।
एकै गाउँका दाजुभाइ, भतिजा, छोरी–ज्वाइँ र आफन्त गुमाउँदा बित्थडचिर र पुर्चौडीमा यतिबेला शोक र स्तब्धताको माहोल छाएको छ।
प्रतिक्रिया दिनुहोस