२०८२ माघ २८, बुधबार | Wed, 11, Feb, 2026

पञ्चकन्या बैंक्वैटमा सांस्कृतिक उत्सव, २३ विद्यालयबीच रोचक प्रतिस्पर्धा


११७१ पाठक संख्या
  • २०८२ माघ २८, बुधबार मा प्रकाशित २ घण्टा अघि
  • काभ्रेपलाञ्चोक । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) काभ्रेपलाञ्चोकको आयोजनामा जिल्ला स्तरीय लोक नृत्य प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। बनेपास्थित पञ्चकन्या बैंक्वैटमा आयोजित प्रतियोगितामा जिल्लाभरका २३ वटा विद्यालयले सहभागिता जनाउँदै नेपाली मौलिक कला र संस्कृतिको जीवन्त प्रस्तुति दिएका थिए।

    प्रतियोगितामा सहभागी विद्यार्थीहरूले विभिन्न जातजाति र समुदायका परम्परागत भेषभूषा, सांस्कृतिक झाँकी र लोक लयमा आधारित नृत्य प्रस्तुत गरी दर्शकको मन जितेका थिए। कार्यक्रममा मौलिकता, प्रस्तुतिकरण शैली, समूह समन्वय, सन्देश प्रवाह र सांस्कृतिक पक्षलाई मूल्याङ्कनका आधार बनाइएको थियो।

    प्रतिस्पर्धात्मक प्रस्तुति बीच बेलर स्कुल प्रथम स्थान हासिल गर्न सफल भयो। त्यसैगरी प्रगति प्रभात द्वितीय, बनेपाको लिन इन्टरनेशनल बोर्डिङ स्कुल तृतीय स्थानमा रह्यो भने पनौतीको सिद्धार्थ स्कुलले सान्त्वना पुरस्कार प्राप्त गरेको छ।

    प्रथम स्थान हासिल गरेको बेलर स्कुलले आगामी फागुन २ गते धादिङमा आयोजना हुने प्याब्सन बागमती प्रदेश स्तरीय लोक नृत्य प्रतियोगितामा काभ्रेपलाञ्चोक जिल्लाको प्रतिनिधित्व गर्नेछ।

    कार्यक्रम प्याब्सन काभ्रेका सचिव विमल न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो। प्याब्सन काभ्रेका अध्यक्ष श्याम बहादुर भुजेलको सभापतित्व तथा प्याब्सन केन्द्रका सचिवालय सदस्य हिरा शर्मा नेपालको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।

    कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले विद्यालय तहदेखि नै कला, संस्कृति र परम्पराको संरक्षणमा यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए। उनीहरूले विद्यार्थीहरूलाई पाठ्यपुस्तकमा सीमित नराखी अतिरिक्त क्रियाकलापमार्फत प्रतिभा प्रस्फुटन गराउनु आवश्यक रहेको धारणा व्यक्त गरे।

    प्रतियोगिताले विद्यार्थीहरूमा आत्मविश्वास वृद्धि गर्नुका साथै नेपाली लोकसंस्कृतिप्रति गर्व र जिम्मेवारीबोध जगाउने वातावरण सिर्जना गरेको आयोजकले जनाएको छ। कार्यक्रममा अभिभावक, शिक्षक तथा सांस्कृतिक क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार