नेपाली कांग्रेसभित्र महाधिवेशनको माग नयाँ होइन, तर अहिलेको जति तीव्रता, असन्तोष र संगठनगत अव्यवस्थाले बोलेको जति स्पष्टता विगतमा कमै देखिएको थियो। पार्टीको अन्तर्य संघर्ष समाधान हुनुभन्दाअघि नै सडकमा जेनजी आन्दोलन भड्कनु र जिल्लास्थरीय कार्यालयमा आगजनीसम्म हुनु, नेतृत्वको निर्णयहीनता र अविश्वसनीय ढिलाइको परिणाम हो। यसै परिवेशमा महामन्त्री विश्वप्रकाश शर्माले महाधिवेशनका दुई ठोस विकल्प सार्वजनिक गरेका छन्—र ती विकल्पले अहिलेको नेतृत्वलाई ‘एउटा निर्णय लिनैपर्ने’ सन्देश दिन्छन्।
पहिलो विकल्प—पुस अन्तिम सातामा विशेष महाधिवेशनको कार्यतालिका बनाउने—शर्माको व्यावहारिक प्रस्ताव हो। तयारीका लागि केही दिन थपिनुपरेमा १५ दिनको समयावधि तान्न सकिने, निर्वाचन मिति वा समानुपातिक सूची बुझाउने समय राजनीतिक सहमतिबाट पुनर्समायोजन गर्न सकिने उनको भनाइले यथार्थ बुझेको अनुभूति दिन्छ। हिमाली क्षेत्रको मौसम, सुरक्षाको संवेदनशीलता र राजनीतिक वातावरण हेर्दा मितिजडान लचक हुनुपर्ने स्पष्ट सन्देश उनले दिएका छन्।
तर उनीद्वारा अघि सारिएको दोस्रो विकल्प भने अझ गम्भीर छ—‘सुवर्ण शमशेर पथ’। २०१४ सालको जस्तै सभापतिले स्वेच्छाले मार्गप्रशस्त गर्ने बाटो अपनाए पार्टीले निकास मात्र पाउँदैन, नेतृत्वले सम्मानमय उचाइ पनि पाउँछ भन्ने उनको संदेश, व्यवहारमा सभापतिखुदमाथिको ‘सौम्य तर कडा’ दबाब हो। ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर उठाएको माग बेवास्ता गर्दै पार्टीलाई अनिश्चिततामा धकेल्दै लैजान सकिँदैन भन्ने उनको भनाइले नेतृत्वलाई सिधै चुनौती दिएको छ।
कांग्रेस अब एउटा ‘जंक्शन’ मा छ—जहाँ बाटो छान्ने निर्णय नेतृत्वले तुरुन्तै लिनुपर्छ।
■ पहिलो बाटो : महाधिवेशन गरेर संस्थागत लोकतन्त्रलाई सुदृढ बनाउने।
■ दोस्रो बाटो : सभापतिको नैतिक उच्चता प्रदर्शन गर्दै मार्गप्रशस्तको सम्मानजनक कदम। दुवै बाटो खुला छन्, तर मौनता र ढिलाइ–अब डुब्न लागेको नेतृत्वको अन्तिम अलिबलि मात्रै बन्नेछ।
कांग्रेसको समसामयिक संकट व्यक्तिको स्वार्थ नभई संस्थाको भविष्यसँग जोडिएको छ। अब निर्णय नलिइकनै बसिरहने नेतृत्वको मानसिकता नै पार्टीलाई कमजोर बनाउने मुख्य कारण हो। कांग्रेस नेतृत्वले अब एउटा कुरा बुझ्नैपर्छ : निर्णयको अभाव नै अहिलेको सबैभन्दा ठूलो संकट हो; निर्णय नै निकासको एकमात्र ढोका।
प्रतिक्रिया दिनुहोस