२०८२ माघ २५, आईतबार | Sun, 08, Feb, 2026

मतदाताको अस्थिरता होइन, राजनीतिक नेतृत्वप्रतिको कठोर फैसला


३५६३ पाठक संख्या
  • २०८२ माघ २२, बिहिबार मा प्रकाशित ३ दिन अघि
  • काभ्रेपलाञ्चोक जिल्लाको निर्वाचन माहोल यसपटक विगतभन्दा पूर्णतः फरक देखिएको छ। यसलाई मतदाताको अस्थिरता भनेर बुझ्नु राजनीतिक नेतृत्वको सजिलो बहाना मात्र हो। वास्तविकता के हो भने—मतदाता अब दलको झण्डामुनि आँखाबन्द गरेर उभिने अवस्थामा छैनन्। उनीहरू अब नारा होइन, नतिजा खोजिरहेका छन्।

    बहुदलीय व्यवस्थाबाट हुँदै गणतन्त्रसम्म आइपुग्दा नेपाली राजनीतिले जनतालाई जुन आशा देखायो, त्यो व्यवहारमा उतार्न राजनीतिक दलहरू पटक–पटक असफल भएका छन्। सत्ता प्राप्तिलाई लक्ष्य बनाएर गरिने गठजोड, सत्तामा पुगेपछि देखिने अहंकार, जनताको दुःख–पीडाप्रति देखाइने उदासीनता र जवाफदेहिताको अभावले मतदाताको विश्वास क्रमशः क्षय भएको छ। यही विश्वासको संकट आज मतपेटिकामा प्रकट हुँदैछ।

    विगतमा दलका कार्यकर्ताहरू पार्टी आदेशलाई अन्तिम सत्य ठानी मैदानमा उत्रिन्थे। उम्मेदवार योग्य छ कि छैन, इमानदार छ कि छैन भन्ने प्रश्न गौण हुन्थ्यो। तर आज त्यो युग समाप्त हुँदैछ। काभ्रेपलाञ्चोक मात्र होइन, देशैभर मतदाता संगठनको दबाबभन्दा विवेकको आवाज सुन्न थालेका छन्। यही कारण फागुन २० सम्म ‘जित पक्का’ ठान्ने धेरै उम्मेदवार फागुन २१ को परिणामले अचम्मित हुन सक्ने अवस्था सिर्जना हुँदैछ।

    काभ्रेपलाञ्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा देखिएको अवस्था यस परिवर्तनको स्पष्ट उदाहरण हो। केही दिनअघि कुनै उम्मेदवारको पक्षमा उभिएका बौद्धिक वर्गका व्यक्तित्वहरू छोटो समयमै आफ्नो धारणा पुनर्विचार गरिरहेका छन्। यो अवसरवाद होइन, चेतनाको विकास हो। उम्मेदवारका बोली, विगतका कर्म, सार्वजनिक आचरण र नैतिकता अन्तिम क्षणसम्म तौलिँदैछन्।

    यसपटक मतदाताको केन्द्रमा दल छैन, व्यक्ति छ। उसको इतिहास छ, उसका निर्णय छन्, उसका कमजोरी र असफलताहरू छन्। अब ‘हाम्रो पार्टी’ भन्ने भावनाले मात्र मत सुनिश्चित हुँदैन। जनताले सोधिरहेका छन्—सत्ता पाएपछि तिमीले के गर्‍यौ? जनताको विश्वासको मूल्य तिमीले कति चुकायौ? र अब फेरि किन विश्वास गरौँ?

    यो अवस्थामा पनि यदि राजनीतिक दल र उम्मेदवारहरू पुरानै शैलीमा जनतालाई हल्का ठान्दै, संगठनात्मक शक्ति र पैसाको भरमा जित निकाल्न सकिन्छ भन्ने भ्रममा छन् भने त्यो उनीहरूको गम्भीर भूल हुनेछ। मतदाता अब प्रयोगशाला होइन, निर्णायक शक्ति हुन्।

    यस निर्वाचनले एउटा कठोर सन्देश दिँदैछ—जनताको मौनता कमजोरी होइन, चेतावनी हो। मतदाताको अस्थिरता वास्तवमा राजनीतिक नेतृत्वप्रतिको कठोर फैसला हो। अब पनि नसच्यिए, मतपेटिकाले मात्र होइन, इतिहासले पनि निर्णय सुनाउनेछ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार