२०८१ अषाढ ३१, सोमबार | Mon, 15, Jul, 2024

सार्वजनिक भयो खानिखोला गाउँपालिकाको आ.व. २०८०/०८१ निति तथा कार्यक्रम


१५१३३ पाठक संख्या
  • २०८० आश्विन १, सोमबार मा प्रकाशित १0 महिना अघि
  • खानीखोला गाउँपालिकाको तेह्रौँ गाउँ सभा तथा सातौँ बजेट अधिवेशनमा अध्यक्ष ईन्द्रबहादुर थिङ (छिन्ताङ)द्वारा प्रस्तुत आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम

    आदरणीय सभा अध्यक्षज्यू, सभाका सदस्यज्यूहरू ।

    १. खानीखोला गाउँपालीकाको तेह्रौं गाउँसभाको सातौँ बजेट अधिवेशनमा उपस्थित गाउँपालिकाका उपाध्यक्षज्यू, गाउँसभाका सदस्यज्यूहरू, गाउँकार्यगाउँपालिकाका पदाधिकारी तथा सदस्यहरू, प्रमुख प्रशासकीय अधिकृत एवम् अन्य कर्मचारी मित्रहरू, नागरिक समाज, बुद्धिजीवी, पत्रकार, सुरक्षाकर्मीहरू सर्वप्रथम खानीखोला गाउँपालिकाको आजको यस गरिमामय गाउँसभामा म गाउँगाउँपालिकाको अध्यक्ष र गाउँ कार्यगाउँपालिका परिवारको तर्फबाट यहाँहरूलाई हार्दिक न्यानो अभिवादन टक्रयाउँदछु ।

    २. यस खानीखोला गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम यस गरिमामय गाउँसभाको बैठकमा प्रस्तुत गर्न पाउँदा म अत्यन्त गौरवान्वित भएको छु । २०७९ साल बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट हामीलाई मतदान मार्फत निर्वाचित गर्नु हुने आदरणीय खानीखोलाबासी आमाबुबा, दाजुभाइ तथा दिदीबहिनी लगायत सबैमा यसपालि पनि पुनः आभार सहित धन्यवाद व्यक्त गर्दछु । यस अवसरमा इतिहासका विभिन्न कालखण्डमा विशेष जनयुद्धको महान् अभियानमा यस खानीखोला गाउँपालिकाको भूमिबाट प्राण उत्सर्ग गर्नु हुने अमर योद्धाहरू रेशम बहादुर घिसिङ, डिल बहादुर थिङ, अर्जुन बहादुर थिङ, राममाया बजु, धन कुमारी गोले, मान कुमारी गोले, दल बहादुर ब्लोन, अरबिन्द्र जिम्बा, देवराज सापकोटा, भक्त बहादुर पाख्रिन, झलक दर्लामी, कुमार वाइवा, रमिता थोकर, डेनसाङ घिसिङ, लोक बहादुर सिंताङ लगायत अमूल्य जीवनको आहुति दिनु हुने यी महान् ज्ञात अज्ञात सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।

    नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राजनीतिक प्रणाली निर्माणसम्मको चरणमा आइपुग्दा घाइते तथा बेपत्ता पारिएका परिवारप्रति आजको यस सभा मार्फत गहिरो श्रद्धा पूर्वक सम्मान व्यक्त गर्दछु ।

    मूलुकको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरण तथा परिवर्तनमा युगान्तकारी रूपमा नेतृत्वदायी भूमिका खेल्नु हुने अग्रजहरूप्रति सम्मान व्यक्त गर्दछु।

    सङ्घीय संरचना अनुसार नेपालको बागमती प्रदेश अन्तर्गत काभ्रेपलान्चोक जिल्लाका १३ वटा स्थानीय तहहरू मध्ये जिल्लाको दक्षिणी भेगमा अति विकट मानिएको डाँडापारिको क्षेत्रमा अवस्थित यस खानीखोला गाउँपालिका खानीखोलाको स्वच्छ एवम् कञ्चन पानीजस्तै समृद्धिको मीठो सपना बोकेर अघि बढि रहेको छ । कूल १३२ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस गाउँपालिकाको उत्तरी सीमानामा बेथानचोक गाउँपालिका र रोशी गाउँपालिका, पूर्वमा महाभारत गाउँपालिका, दक्षिणमा मकवानपुरको बागमती गाउँपालिका र सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका र पश्चिममा ललितपुरको महाङ्काल गाउँपालिका पर्दछ । उत्तरतर्फ महाभारत पर्वत, पूर्वतर्फ चाउ खोला, दक्षिणतर्फ कोखाजोर र बागमती नदी एवम् पश्चिमतर्फ दुर्लुङ खोलाले घेरिएको यस गाउँपालिका आफैँमा प्राकृतिक रूपमा अत्यन्तै मनोरम सुन्दर र हरियालीयुक्त छ । गाउँपालिकाको नामसँग साइनो जोडिएको यस भूगोलको मध्य भाग भएर बग्ने खानीखोला यहाँको मुख्य सौन्दर्य हो । यहाँको संस्कार, भावना र मनोविज्ञान यही सौन्दर्यसँग जोडिएको छ । प्राकृतिक दृष्टिले शान्त, प्रदुषण रहित स्वच्छ हरियालीयुक्त खानीखोला आज विकासको अनमोल अपेक्षाको बीचमा खडा छ । २०७३ साल फागुन २७ गतेको स्थानीय सरकार सञ्चालन तथा गठन आदेश बमोजिम साविक फलामेटार, डाँडागाउँ, साल्मेचाकल, सालधारा र मिल्चे गरी ५ गाउँ विकास समिति मिलेर जम्मा ७ वडाको यस खानीखोला गाउँपालिकाको वि.सं. २०७८ को राष्ट्रिय जनगणना अनुसार १२,२०१ कूल जनसङ्ख्यामा पुरुष ४९.६ प्रतिशत र महिलातर्फ ५०.४ प्रतिशत रहेको छ । (जिल्ला निर्वाचन कार्यालय, काभ्रेपलाञ्चोकको तथ्याङ्क अनुसार यस गाउँपालिकामा १४,३९८ जनसङख्या रहेकोमा पुरुषतर्फ ७,०३४ र महिलातर्फ ७,३३४) रहेको देखिन्छ । जसमा गाउँपालिकामा अपाङ्गता भएका व्यक्ति २.८ प्रतिशत रहेका छन् । आफ्नै छुट्टै भौगोलिक पहिचान रहेको यस गाउँपालिकामा विशेष गरी तामाङ, मगर, नेवार, बाहुन, क्षेत्री, गुरुङ, माझी, विश्वकर्मा, सार्की, पहरी, दमाई समुदायका मानिसहरूको बसोबास रही आएको छ । दूध, तरकारी तथा माछामासुमा आफैँमा आत्मनिर्भर रहेको यस गाउँपालिकाको अर्को पहिचान ऐतिहासिक भीमसेनथान मन्दिर, महादेवथान मन्दिर, थुम्की, लाप्चे गुफा, गोल्मे दरबार, चमेरे गुफा हुनु हो । यस गाउँपालिकामा तामा, चुन, फलाम लगायत अथाह खानीको भण्डार रहेको छ। जडिबुटीजन्य प्राकृतिक स्रोतले पनि यस गाउँपालिका भरिपूर्ण छ । हाम्रो खानीखोला यस्ता अनगिन्ती सम्भावना बोकेर पनि सम्भावनाको भारीले थिचेर उठ्न नसकेको तितो चिनारी लिएर अब बदल्ने र बदलिने प्रक्रियाको यात्रामा अगाडि बढिरहको छ । न्यूनतम ३०० मिटरदेखि अधिकतम ३००० मिटर उचाईमा फैलिएको यस गाउँपालिका निश्चय नै हामी सबैको साझा प्रयत्नबाट बदलिनेछ भन्ने विश्वास यस सभाले लिएको छ । मूलुकमा सङ्घीयताको स्थापनासँगै यसले प्रदान गरेको जनाधिकार, सिंहदरबारको अधिकार गाउँ गाउँमा भएको व्यवस्थाले यहाँको जनमानसमा आएको उत्साह वास्तवमै आकर्षक छ । यसर्थ अब हामी सबै यो उत्साहका साथ “हामी बनाउछौँ, हाम्रो खानीखोला” अभियानमा जुट्न पुनः एक पटक आजको यसै गाउँसभाबाट सङ्कल्प गर्दैछौँ ।

    यस गाउँपालिका भौगोलिक रूपमा अति विकट रहे पनि यहाँको उच्च पहाडहरूमा रहेको महत्वपूर्ण जडीबुटी र खोलानालाहरू यस क्षेत्रको अर्थ उपार्जनका लागि महत्वपूर्ण आधार बन्न सक्छन् भन्ने कुरामा कुनै दुई मत छैन । सङ्घीय संरचना अन्तर्गत राजधानीबाट नजिक रहेर पनि विविध कारणले हालसम्म पनि यहाँका अधिकांश जनताहरू कृषि पेशामा नै आत्मनिर्भर रहेकोले यहाँको मुख्य आर्थिक स्रोत पनि कृषिमा नै आधारित रहेको छ । यस क्षेत्रको कृषि उत्पादनलाई बजारीकरण गरी केन्द्रीय राजधानीसम्म विस्तार गरी अर्थोपार्जनलाई प्रभावकारी बनाउन उपयुक्त मार्गको खोजीमा हामी निरन्तर प्रयासरत रहेको कुरा म यहाँहरू समक्ष राख्न चाहन्छु।

    सभाका सदस्यज्यूहरू,

    वर्तमान परिवेश

    ३. विश्वव्यापी रूपमा फैलिएको कोभिड – १९ महामारीबाट थलिएर माथि उठ्न लागेको अर्थतन्त्र पुनः रुस युक्रेन युद्ध र सोबाट विश्व आपूर्ति श्रृङ्खलामा आएको सङ्कुचनले नेपाललाई समेत प्रभाव पारेको छ । यसबाट सङ्घीय सरकारको राजस्व परिचालनमा प्रभाव पर्न गई स्थानीय तहले पाउनु पर्ने वित्तीय हस्तान्तरणमा नकारात्मक असर परेको छ ।

    नेपालले जनसाङ्ख्यिक लाभ लिँदै अल्प विकसित मूलुकबाट विकासशील मूलकको श्रेणीमा उक्लिनै लाग्दा हरेक दिन सयौँ युवाहरू रोजगारीको खोजीमा गाउँ छोडेर विदेशिनु पर्ने अवस्थाले हामी सबैलाई गम्भीर बनाएको छ। आन्तरिक र बाह्य बसाइँ सराइँका कारण नेपालका गाउँघरहरू सुनसान बस्तीका रूपमा रूपान्तरित हुन पुगेका छन् । उब्जाउ खेतबारी बाँझै रहन पुगेका छन् । यस सन्दर्भमा युवालाई गाउँभित्रै  रोजगारीको अवसर सिर्जना गर्ने र गाउँघरको बसाइलाई आकर्षक बनाउने चुनौति हामी सबैको साझा मुद्दा हुन पुगेको छ।

    नेपालको संविधान २०७२ जारी भए पश्चात दोस्रो पटक सम्पन्न सङ्घ, प्रदेश र स्थानीय तहको निर्वाचनले अब सङ्घीयताको स्थायित्व र संस्थागत विकासबारे विमति राख्ने विषयले प्राथमिकता पाउने छैन । सङ्घीयता सबल रुपले स्थापित भई कार्यान्वयनको दोस्रो पञ्च वर्षीय कार्यकाल पनि आरम्भ भइ सकेको वर्तमान परिवेशले यसप्रतिको आशङ्काले कुनै स्थान नपाउने निश्चित छ ।

    यद्यपि यही संविधानद्वारा प्रदत्त अधकिारको उपभोग गर्दै निर्वाचनमा सहभागी भई विजयी भएका केही व्यवस्था विरोधीहरूको आवजाहरू यदाकादा देखिनु लोकतान्त्रिक प्रणाली अन्तर्गतकै अङ्ग हो भन्ने कुरालाई बुझेर तपाईं हामी यो व्यवस्थाबाट जनताले प्राप्त गरेको लाभको पक्षमा दृढतापूर्वक उभिने प्रण गर्नु पर्दछ।

    यस विशिष्ट परिस्थितिमा हामीले हाम्रो अर्थतन्त्रलाई पुनःउत्थानशील क्रियाकलाप मार्फत अगाडि बढाउँदै तीव्र र दीगो आर्थिक विकास गरी समृद्ध नेपाल सुखी नेपालीको मूल लक्ष्य हासिल गर्नु परेको छ । यसका लागि हाम्रो गाउँपालिकामा स्थानीय आर्थिक तथा पूर्वाधार विकासका कार्यक्रमलाई विशेष जोड दिनु पर्ने अवस्था सिर्जना भएको छ । सेवा प्रवाहलाई थप प्रभावकारी बनाई सुशासनको अनुभूति जनमानसमा ल्याउन गाउँपालिकाको क्षमता विकास गर्न समेत अपरिहार्य छ । यसका लागि विद्युतीय सुशासन प्रणालीलाई सेवा प्रवाहमा व्यापक र प्रभावकारी बनाउनु पर्ने अवस्था देखिन्छ।

    सभाका सदस्यज्यूहरू,

    अब म गाउँपालिकाको अर्थतन्त्र र बजेट प्रणालीमा देखिएका मुख्य चुनौति, उपलब्धी र अवसरहरुबारे समीक्षा प्रस्तुत गर्न चाहन्छुः

    चुनौति

    ४. यस गाउँ सभाका सदस्यज्यूहरू हामी निर्वाचित भएको यो एक वर्ष हाम्रो निम्ति मूलतः अनुभवकै वर्ष रह्यो । हामीद्वारा गत आर्थिक वर्षमा प्रस्तुत गरिएका नीति कार्यक्रमहरूले लिएका लक्ष्य एवम् आकाङ्क्षाहरू वास्तवमै आकर्षक र जनउत्तरदायी नै थिए । यिनै आकाङ्क्षाहरूलाई कार्यान्वयनतर्फ लैजाँदै गर्दा निश्चय पनि विभिन्न प्रकृतिका जटिलताहरू उत्पन्न भए । सार्वजनिक यातायात सेवालाई सबै मौसम अनूकुलित बनाउन निर्धारण गरिएको लक्ष्य यस वर्ष पूरा गर्न सकिएन । २०८० सालको असारसम्ममा केन्द्रीय विद्युतीकरण मार्फत केन्द्रीय विद्युत प्रसारण लाइन जडान गर्ने कार्यमा विद्युतीय तार लाइन बिछ्याउने जिम्मेवारी पाएको सम्बन्धित निर्माण कम्पनीले समयमै कार्य सम्पन्न नगरेको र अन्य प्रक्रियागत कार्यमा पूर्णता पाउन बाँकी रही ढिला हुन पुगेको छ ।

    सञ्चार सेवामा आशातीत परिणाम निकाल्न सकिएको छैन । ठेक्का सम्झौता बमोजिम कार्य निर्माण कम्पनीकै ढिलाइका कारण च्याल्टी, कोठे, दयागाउँ, महादेवटार, देउराली, कुस्पा, तालढुङ्गा सडक निर्माण कार्य ढिलो हुन पुगेको छ । बैंकले असहज महसुस गरेको कारण वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने कार्य लागू गर्न सकिएको छैन। नागरिकमा आफ्नो गाउँको विकासका लागि एकीकृत भई अघि बढ्ने भन्दा पनि स-साना विवाद सिर्जना भई महत्वपूर्ण उपलब्धी हासिल गर्ने अवसरहरु गुम्ने खतरा कायमै छ । गाउँपालिका केन्द्रसँग जिल्ला सदरमुकाम जोड्ने मोटर बाटोलाई अझै व्यवस्थित गराउन सकिएको छैन ।

    गाउँपालिकाभित्र पर्यटकीय स्थल बनाउन सकिने सम्भावना रहेका प्रशस्त ठाउँहरू हुँदा पनि भौगोलिक विकटताको कारण यी कार्य पूरा गर्न सकिएको छैन । इन्टरनेट एवम् सञ्चार सेवा नियमित हुन नसक्दा सार्वजनिक सेवा प्रवाहमा समेत असर परेको छ । प्रदेश राजधानी हेटौडा नजिकै भएर पनि बागमती नदीमा पुल निर्माण नहुँदा जनजीवन थप कष्टकर बनेको अवस्था छ। त्यस्तै जिल्ला सदरमुकामसँगै राजधानी जोड्ने खानीखोला, दुर्लुङ खोलामा हाम्रै कार्यकालमा जति सक्दो छिटो पुल निर्माण गर्नु हाम्रा लागि ठूलै चुनौति बन्ने हो कि भन्ने आभास भएको छ । युवा जनशक्तिलाई कृषि व्यवसायप्रति आकर्षित गर्दै कृषिमा आत्मनिर्भर गर्न गराउन नसक्नु अर्को चुनौति देखिएको छ । वैदेशिक रोजगारीबाट फर्केका सीपयुक्त युवाको सीप तथा पुँजीलाई उद्यम विकासमा उपयोग गर्न स्रोत साधन र बजेट अभावका कारण न्यून पूँजी लगानी गर्नु पर्ने बाध्यात्मक अवस्थाले थप समस्या उत्पन्न गराएको छ । गुणस्तरीय मलखाद, बिउँ बिजन समयमा नै उपलब्ध गराउन विकट भूगोल समस्याको पहाड बनेको छ । निर्माण व्यवसायीले समयमा कार्य सम्पन्न नगरि दिँदा कृषि उपज र गैर कृषि उत्पादनलाई बजारीकरण गर्न अपेक्षित रूपमा सडक पूर्वाधारको विकास नहुँदा जनताको आयआर्जनमा अभिवृद्धि गरी जीवनस्तर उकास्न सकिएको छैन । सबै कृषि तथा पशुपंक्षीजन्य उत्पादनमा बीमाको पहुँच हालसम्म पुऱ्याउन सकिएको छैन ।

    उपलब्धि

    यस वर्ष गाउँपालिकाले केही ऐतिहासिक उपलब्धी हासिल गरेको छ । खानीखोला गाउँपालिकामा हालसम्म ३०० किलोमिटर भन्दा बढी नयाँ ट्र्याक सडक, १६ किलोमिटर स्टोन सोलिङ, ३.२ किलोमिटर ग्य्राबेल र १.६ किलोमिटर आरसिसि ढलान सडक पूर्वाधारमा विकास भएको छ ।

    गाउँपालिकाभित्रका खानीखोला र दुर्लुङ खोलामा पक्की पुलको ठेक्का गराउन सफल भइएको छ । विगतदेखि निर्माण कार्य अघि नबढेको सिक्रे दोभान पुलको निर्माण कार्यलाई छिट्टै नै सम्पन्न गर्ने गरी तीव्रता दिइएको छ । बहुचर्चित खानीखोला करिडोरको स्यार्ते जन्ते खण्ड ट्र्याक खोलिएको छ ।

    यहाँको नागरिकको कल्पनाभन्दा पनि बाहिर रहेको हात्तीसार सिके दोभान नयाँ ट्र्याक खोल्न सफल भइएको छ । ट्र्याक जोड्न बाँकी रहेका अति महत्वपूर्ण ठानिएका कोदोखोरिया, त्रिवेणी, धाप्ले, महाङ्काल ट्र्याक खोलिएको छ । मोटर बाटोले जोडिन बाँकी रहेका बस्तीहरू बलडाँडा, सिँगारडाँडा, बाँसपुर, भ्याकुरे जस्ता बस्तीहरूमा सडकको पहुँच विस्तार गर्ने कार्य सफल भएको छ ।

    खोपासी तालढुङ्गा सडकको स्तर उन्नतिको लागि प्रदेश सरकारको सहयोगमा लाटीखोल्सी, स्याउरेथली, गडगडे जस्ता असजिला क्षेत्रमा ढलान तथा सोलिङ कार्य सम्पन्न भएको छ ।

    कफीमा जसको उत्पादन उसैलाई अनुदान कार्यक्रम शानदार रूपले सफल भएको छ जसका कारण किसान कफी खेतीप्रति थप आकर्षित भई उत्साहजनक ढङ्गले कफी खेतीमा उल्लेखनीय रूपमा सहभागितामा बढोत्तरी भएको छ ।

    भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको लगत सङ्कलन गरी निस्सा प्रकाशन गरिएको छ । हाम्रो गाउँपालिकाले यस आर्थिक वर्षको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA ) मा ८०.२५ अङ्क र वित्तीय सुशासन जोखिम मूल्याङ्कन (FRA) मा ७० अङ्क प्राप्त गरेको छ । यो अङ्क गत आर्थिक वर्षभन्दा १०० प्रतिशतले नै बढी हो ।

    आन्तरिक राजस्व गत विगतको तुलनामा ४०० प्रतिशतले वृद्धि भएको छ । तालढुङ्गा पुछार सिंचाइ कुलो, जगथली सिंचाइ कुलो, पलाञ्चोक सिंचाइ र बोराङबेंसी लिफ्ट सिंचाइ कुलो निर्माण कार्य सम्पन्न भएको छ ।

    गाउँपालिकाभित्रका ३८ वटै विद्यालय सुधार गर्नका लागि निरन्तर अनुगमन, तालिम र अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिएको छ । गाउँ शिक्षा सम्मेलन मार्फत शिक्षाको आवधिक योजना निर्माण गरिएको छ । स्थानीय पाठ्यक्रम निर्माण र मातृभाषा शिक्षा कार्यक्रम लागू गरिएको छ ।

    असहाय बालबालिकाको शिक्षामा सुनिश्चितताका लागि आवासीय शिक्षालय सञ्चालन गरिएको छ । विद्यालय शिक्षा बाहिर रहेका बालबालिकालाई विद्यालयको शैक्षिक क्रियाकलापमा सहभागी गराउनका लागि अनिवार्य निःशुल्क शिक्षा लागू गरी पोशाक, पाठ्यपुस्तक लगायतका उत्प्रेरणा जगाउने किसिमका कार्यक्रम सञ्चालनमा ल्याइएको छ ।

    गाउँकार्यपालिकाको प्रशासकीय भवन निर्माणका लागि आवश्यक जग्गा व्यवस्थापन सम्बन्धी कार्य अन्तिम चरणमा पुगेको छ भने ३ वटा वडा कार्यालयकको कार्यालय भवन सम्पन्न भएर प्रभावकारी रूपमा सार्वजनिक सेवा प्रवाह भई बाँकी ३ वटा वडा कार्यालय भवन निर्माण गर्न ठेक्का आव्हान गर्न अन्तिम चरणमा पुगेको छ ।

    गाउँपालिकाको केन्द्रदेखि माथिल्लो क्षेत्रका बिरामीहरूको सेवा पुऱ्याउन फेन्दे (Fende) फाउन्डेसनको सहयोगमा एम्बुलेन्स सेवा सुचारु गरिएको छ । ८०० जना दीर्घ रोगी तथा जेष्ठ नागरिकहरूको मासिक रूपमा घुम्ती स्वास्थ्य परीक्षण मार्फत स्वास्थ्य सेवा पाई लाभ लिइरहेको अवस्था छ ।

    गाउँपालिकाको सबै स्वास्थ्य चौकीहरू मार्फत ९८ प्रकारका औषधि निःशुल्क वितरण गरिएको छ । महिलाहरूको स्वास्थ्यमा विशेष जोड दिँदै आमा समूह र महिला स्वयम् सेविकाहरूलाई अनुशिक्षण गरिएको छ। डिभिजन वन कार्यालय, काभ्रेपलाञ्चोक, धुलिखेलको सहयोगमा ४, ५ र ६ नं. वडाका केही स्थानमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको छ ।

    अवसर

    ५. प्राकृतिक सौन्दर्य र स्वच्छ वातावरणले भरिपूर्ण धार्मिक एवं सांस्कृतिक सम्पदामा धनी यस खानीखोला गाउँपालिका प्राकृतिक स्रोत उपयोगिताको दृष्टिकोणबाट व्यापक सम्भावना बोकेको स्थानीय तह हो । माहाभारत पर्वत श्रृङ्खलाको उच्च पहाडी क्षेत्र भित्रका पर्यटनको सम्भावनाका साथ साथै पहिचान भएका वा पहिचान हुन बाँकी जडिबुट्टीको उपयोगिताको प्रचुर सम्भावना रहेको छ। यस गाउँपालिका भौगोलिक तथा सांस्कृतिक विविधतासँगै प्रदेश राजधानी र सङ्घीय राजधानी सँगको नजिक रहेकोले आन्तरिक तथा बाह्य पर्यटन भित्र्याउन सकिने प्रवल सम्भावना देखिन्छ ।

    सडक लगायतको पूर्वाधारको व्यवस्था गर्न सके गाउँपालिकाको केन्द्रदेखि प्रदेश राजधानीसम्म पुग्न दुई घण्टा भन्दा बढी समय नलाग्ने अवस्था रहेको छ । आदिवासी जनजाति र अन्य समुदाय बीचको परस्पर सुमधुर सम्बन्ध कायम गरी सदभावपूर्ण जीवन यापन पद्दति अपनाउनु यहाँको मौलिक विशेषता हो जुन गाउँपालिकाको विकास र समृद्धिको सुवर्ण अवसर हो ।

    प्रादेशिक लोक मार्ग, बि.पी. लोक मार्ग र मदन भण्डारी लोक मार्ग हाम्रै गाउँपालिकाको केन्द्र हुँदै प्रदेश राजधानी जोड्न प्रथामिकतामा परेको छ । भौगोलिक एवम् प्राकृतिक दृष्टिले हामीले निर्धारण गरेको लक्ष्य मुताबिक कफी खेतीको लागि अनुकूलित वातावरण हाम्रा लागि लाभको विषय बनेको छ । केन्द्रीय विद्युत प्रशारण लाइन जडान गर्न ८० प्रतिशत आधार तयार भएको छ। जसको उत्पादन उसैलाई अनुदान” कार्यक्रम मार्फत सम्पूर्ण कृषक थप उत्साहित हुनु र यसलाई थप प्रभावकारी बनाउँदै लैजानु अवसरको रूपमा रहेको छ ।

    ६. वार्षिक नीति तथा कार्यक्रम तर्जुमाका लागि अपनाइएको नीति

    ६.१ नेपालको संविधानमा स्थानीय शासन सम्बन्धी उल्लेखित नीतिगत व्यवस्था, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम स्थानीय तहले आवधिक, वार्षिक तथा रणनीतिक योजनाहरू बनाई लागू गर्दै जानु पर्ने प्रावधान, राष्ट्रिय योजना आयोगले जारी गरेको स्थानीय तहको योजना तर्जुमा दिग्दर्शन २०७८, पन्ध्रौँ आवधिक योजनाको मूलभूत पक्षहरू अनुसार विभिन्न चरणको सहभागितामूलक प्रक्रियाबाट यस गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम तयार पारिएको छ ।

    ६.२ गाउँपालिकाको सहभागितामूलक योजना तर्जुमा तथा लोकतान्त्रिक गणतन्त्रात्मक सङ्घीय शासन व्यवस्थाको मर्म अनुरुप राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता सम्पन्न जनताको शासन प्रक्रियामा अधिकाधिक रूपमा सहभागिता गराई नेपालको स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले निर्देशित गरे अनुरुप प्रक्रिया मार्फत टोल तथा बस्तीस्तरीय योजना तर्जुमा गोष्ठी सम्पन्न गरिएको छ । टोल तथा बस्तीस्तरीय योजना तर्जुमा गोष्ठी गरी टोल तथा बस्ती स्तरबाट छनौट भई आएका योजनाहरूको प्राथमीकरण गरिएको छ ।

    ६.३ गाउँपालिकामा क्रियाशील राजनीतिक दल, शिक्षक, बुद्धिजीवी, महिला एवम् विभिन्न क्षेत्रका सरोकारवाला व्यक्ति, पक्ष, निकाय समेतको छलफल, सुझाव, सल्लाह र पृष्ठपोषणको आधारमा यो नीति तथा कार्यक्रम तर्जुमा गरिएको छ ।

    ६.४ गाउँपालिका भित्रका आवश्यक सम्भाव्य स्रोतहरूको समुचित पहिचान गरी आपसी परामर्शको आधारमा नीति, कार्यक्रम तर्जुमा गरिएको छ ।

    ६.५ गाउँपालिकाका संस्थागत, विषयगत समितिहरूले नियम सङ्गत ढङ्गले बैठक बसी सीमा निर्धारण र मापदण्डको अनुशरण गरी आदिवासी जनजाति, दलित, महिला, बालबालिका लगायत समावेशीकरणको नीति अवलम्बन गरिएको छ ।

    ६.६ नीति तथा कार्यक्रम र बजेट तर्जुमाको सम्पूर्ण पूर्व तयारी सम्पन्न गरिएको छ।

    ७. सोँच

    हामी बनाउँछौँ हाम्रो खानीखोला” भन्ने मूल नारालाई सम्पूर्ण खानीखोलाबासी नागरिकहरूको साझा नाराको रूपमा स्थापित गरी सोही बमोजिम सम्पूर्ण नागरिकलाई विकास र परिवर्तनको मार्गतर्फ एकीकृत र केन्द्रीकृत हुने वातावरण सिर्जना गरी स्वस्थ, स्वच्छ, सभ्य एवम् समुन्नत खानीखोला सबै दृष्टिले सुविधा सम्पन्न बनाउने सौंच यस नीति तथा कार्यक्रमले बोकेको छ।

    ८. लक्ष्य

    आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम तर्जुमा गरि रहँदा यस गाउँपालिकालाई समुन्नत, समृद्ध र आत्मनिर्भर बनाउने नीति तथा कार्यक्रम र योजनाहरूलाई प्राथमिकता दिइएको छ । जनताबाट प्रत्यक्ष माग भएका तथा यस गाउँपालिकाको दीर्घकालीन महत्वका योजनाका रूपमा पहिचान भएका योजना तथा कार्यक्रमहरूलाई समावेश गरी यस गाउँपालिकाको सम्भावना र अवसरलाई मध्यनजर गर्दै नीति तथा कार्यक्रम तय गरेको व्यहोरा अवगत गराउँछु । “भौतिक पूर्वाधार युक्त : बेरोजगार मुक्त” उत्पादनले भरिपूर्ण समावेशी समानुपातिक चरित्र बोकेको, उद्यमशील नागरिक, गरिबी र विभेद रहित खानीखोला निर्माण गर्ने हाम्रो लक्ष्य रहेको छ ।

    ९. अपेक्षित उपलब्धी

    यस नीति तथा कार्यक्रमबाट आगामी तीन वर्ष भित्रमा गाउँपालिका प्रशासकीय भवन निर्माण सम्पन्न हुने अनुमान गरिएको छ । गाउँपालिका केन्द्रदेखि जिल्ला सदरमुकामसम्म र प्रदेश राजधानी हेटौँडासम्म सबै मौसममा सडक सञ्जालले जोडिएको हुनेछ । आगामी दुई वर्षभित्र गाउँपालिकाभित्र एक सामुदायिक क्याम्पस स्थापना गरिनेछ । वडा केन्द्रसम्म नियमित सडक सञ्चालनको व्यवस्था गरिएको हुनेछ । करिब तीन सय जना युवाहरूले आगामी तीन वर्षभित्र कृषिमा रोजागारीका अवसर पाएका हुनेछन् भने गाउँपालकिास्तरीय १५ शैयाको अस्पताल आगामी तीन वर्षभित्र निर्माण सम्पन्न भई सञ्चालनमा ल्याइनेछ । स्थानीय तहमा उत्पादित सबै कृषि उपज तथा गैर कृषि उत्पादनले स्थानीय खरिद तथा बिक्री केन्द्र मार्फत २४ सै घण्टा बजार प्राप्त गर्ने र उत्पादनशील कार्यमा हरेक नागरिक सहभागी हुने अपेक्षा गरिएको छ ।

    गाउँसभाका सदस्यज्यूहरू,

    अब म आर्थिक वर्ष २०८०/०८१ को विषयगत एवम् क्षेत्रगत नीति तथा कार्यक्रम प्रस्तुत गर्दछु ।

    १०. आर्थिक विकास

    नेपालका सबै निर्वाचित निकाय एवम् राजनितीकर्मीहरूले आर्थिक समृद्धि विषयलाई आफ्नो प्रमुख एजेण्डाको रूपमा प्रस्तुत गरि गरिरहेको कुरा हामीमा सर्व विदितै छ तर समृद्धिको आधार समृद्धिको खाका र समृद्धि सम्बन्धी ठोस योजना बन्न नसक्दा फेरि समृद्धि केवल राजनीतिक एवम् चुनावी भाषणको मिठो ‘शव्द बाहेक केही बन्न नसकेको आजको तितो यथार्थ हो । यसर्थ खानीखोलाको आर्थिक जीवनलाई माथि उठाउने सन्दर्भमा खानीखोला सरकारले आफ्नो ध्यान मूख्य रूपमा केन्द्रित गर्न चाहि रहेको छ जसको निम्ति तपसिल बमोजिमको नीति लिइएको छ ।

    (क) कृषि

    १. “गाउँमै बसौँ शिक्षा सुधारौं उत्पादन बढाऔं समृद्ध बनौं” भन्ने नाराका साथ यस गाउँपालिकामा रहेका परम्परागत तथा निर्वाहमुखी खेती प्रणालीलाई निरुत्साहित गर्दै कृषिमा यान्त्रीकरण, आधुनिकीकरण र बजारीकरण गरी सम्पूर्ण खानीखोलाबासी किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गराउनका लागि जोड दिइनेछ र यस्ता क्रियाकलापका लागि प्रारम्भिक चरणमा वडा स्तरीय अभिमुखीकरण तालिमको व्यवस्था मिलाइनेछ ।

    २. यस गाउँपालिका भित्रको उत्पादन कार्यलाई प्राभवकारी तुल्याउनको लागि गाउँपालिकास्तरीय “एक वडा एक उत्पादन” कार्यक्रम अन्तर्गत कृषि र पशुपंक्षी क्षेत्रमा विशेष प्राथमिकता दिई सोको लागि करार सेवा मार्फत “एक वडामा एक कृषि प्राविधिक” कर्मचारी नियुक्तिलाई निरन्तरता दिइनेछ ।

    ३. यस गाउँपालिकाको प्रमुख उत्पादनको रूपमा रहेको कफी खेतीलाई खानीखोलाको मुख्य नगदे बालीका रूपमा विकास गरी “कफीमा जसको उत्पादन उसैलाई अनुदान” कार्यक्रमलाई निरन्तरता
    दिइनेछ र आम कफी उत्पादक कृषकहरूलाई सहकारी वा समूहमा आवद्ध गराई उत्पादन कार्यमा सामूहिकताको नीति लागू गरिनेछ ।

    ४. खानीखोला गाउँपालिकालाई कफी पकेट क्षेत्रको रूपमा थप विकास र विस्तार गरिनेछ ।

    ५. कृषि तथा पशुपंक्षी तथ्याङ्क अद्यावधिक गरी किसान सूचीकरणलाई व्यवस्थित गरिँदै लगिनेछ।

    ६. रैथाने बाली संरक्षणमा जोड दिइनेछ ।

    ७. गाउँपालिकाको केन्द्रमा किसानहरूद्वारा उत्पादित वस्तुहरूलाई व्यवस्थित एवम् बजारीकरण गर्न एक कृषि हाट बजार स्थापना गरी सञ्चालनमा ल्याइनेछ ।

    ८. किसानहरूलाई कृषि समूह र सहकारीमा सङ्गठित गरी उपलब्ध खेतीयोग्य जमिनका साथै बाँझो जमिनको उपयोग गरी कृषि उत्पादन (कागती र खयर) बढाउने कार्यक्रम सञ्चालनमा ल्याइनेछ ।

    ९. गाउँपालिका भित्रका विकेन्द्रित एवम् अनुत्पादित क्षेत्रमा छरिएको श्रम शक्तिलाई उत्पादन क्षेत्रमा जोड्न श्रम सहकारी स्थापना गरिनेछ।

    १०. चिया, कफी र तरकारी खेती विकास तथा प्रवर्द्धन कार्यक्रम लागू गरिनेछ ।

    ११. सहुलियत दरमा किसानलाई रासायनिक मल उपलब्ध गराइनेछ ।

    (ख) पशुपंक्षी

    १. पशु पालन क्षेत्रमा गाईभैंसी तथा बाख्रा पालनको लागि अति अनुकुल वातावरण भएकोले दूध र मासु उत्पादनमा कार्यविधि निर्माण गरी अनुदान मार्फत प्रोत्साहन गरिनेछ ।

    २. पशु उपचारलाई भरपर्दो बनाउन आधुनिक औजार उपकरण व्यवस्था गरिनेछ ।

    . किसानसँग ५० प्रतिशत प्रत्यक्ष साझेदारीमा गाईभैंसी प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिनेछ।

    ४. पशु स्वास्थ्य घुम्ती शिविर सञ्चालन गरिनेछ । औषधी र खोप सेवालाई प्रभावकारी बनाइनेछ । व्यवसायिक रूपमा पशु पालन गर्ने किसानलाई कार्यविधि निर्माण गरी अनुदानको व्यवस्था गरिनेछ । पशु बीमा कार्यक्रमलाई विकास र विस्तार गरिनेछ ।

    ५. रेबिज, लम्पिस्किन जस्ता महामारीजन्य रोग नियन्त्रणका लागि आवश्यक कार्यक्रम तय गरिनेछ ।

    ६. पशु नश्ल सुधारका कार्यक्रम सञ्चालन गरिनेछ र पशुपंक्षी तथा मत्स्य पालनका लागि आवश्यक उन्नत माछाका भुरा, उन्नत घाँसका बिउँ बेर्ना, दाना, औषधि खोप लगायतका सामग्रीको प्रबन्ध गरिनेछ।

    ७. दूधको व्यवस्थित भण्डारण गर्न चिस्यानकेन्द्र स्थापना गरिनेछ र दूग्धजन्य उद्योग स्थापना गरिनेछ ।

    (ग) सिंचाई

    १. खानीखोला गाउँपालिकाका कृषि योग्य जमिन तथा फाँटहरूमा अनिवार्य सिंचाईको व्यवस्था गरिनेछ । भाङटारबेसी, फलामेटार, धार्ने, जगथली, आँपटार, बेलटार, महादेवटार, महाङ्काल, बोरनबेसी, तालढुङ्गा, हात्तीसार, माझीटार, सतिघाट, बाहुनबिर्ता, बलदेउ जस्ता फाँटहरूमा सिंचाईको उचित प्रवन्ध मिलाइनेछ।

    (घ) उद्योग, व्यापार तथा व्यवसाय

    १. जडिबुटी प्रशोधन (काष्ठ र गैरकाष्ठ) उद्योग स्थापना गरिनेछ।

    २. दूध तथा दूध जन्य पदार्थको उत्पादनलाई केन्द्रीकृत गर्न उद्योग स्थापना गरिनुका साथै कार्यविधि निर्माण गरी साना उद्योगलाई प्रोत्साहन अनुदानको व्यवस्था मिलाइनेछ ।

    ३. गाउँपालिकामा नेपाल सरकारले कार्यान्वयन गर्ने लघु उद्यम विकास कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन र गाउँपालिकाको समेत लगानी सहभागिता बढाइनेछ ।

    ४. यस गाउँपालिकामा जन्मनु भई गाउँपालिकाभित्र र गाउँपालिका बाहिर रहनु भएका व्यवसायीहरुलाई यसै गाउँपालिकामा सामूहिक लगानी गरी व्यवसाय गर्न चाहने व्यक्तिहरुलाई लगानीमा आकर्षित गरिनेछ ।

    ५. खानीखोला गाउँपालिका आफैँ खानी नै खानी भएको भूगोलको अर्को नाम हो । यहाँ तामाखानी, फलामखानी, चुनखानीको सम्भाव्यता सम्बन्धी प्रारम्भिक अध्ययन भइसकेको छ । यसर्थ यहाँको खानीलाई उत्खनन गरी निर्यात गर्न सकेमा यहाँको आर्थिक विकासको लागि ठूलो मद्दत पुग्ने हुनाले सो सम्बन्धी योजना बनाई कार्यान्वयन गर्न पहल गरिनेछ।

    ६. खानीखोला गाउँपालिकामा निजी साझेदारीमा पेट्रोल पम्पक्रसर उद्योग सञ्चालनमा ल्याइनेछ ।

    (ङ) पर्यटन

    १. गाउँपालिका भित्रका सम्पूर्ण सांस्कृतिक सम्पदाको संरक्षण, प्रवर्द्धनमा जोड दिइनेछ साथै भाषा, कला, संस्कृति तथा धर्म संरक्षणका लागि विभिन्न कार्यक्रम आयोजना गरिनेछ । भाषा, कला, साहित्य तथा संस्कृति संरक्षण तथा प्रवर्द्धन गर्न आवश्यक तालिम, प्रतियोगितात्मक शोध तथा कार्यशाला कार्यक्रमहरू अगाडि बढाइनेछ ।

    २. गाउँपालिका भित्र भएका ऐतिहासिक, पुरातात्विक, धार्मिक, पर्यटकीय सम्पदा, मठ मन्दिर, गुम्बा, पाटी, पौवा, सतल, कुवा पधेरो, अन्तिम दाह संस्कार गर्ने घाट जस्ता सम्पदाहरूको पुनःनिर्माण तथा संरक्षण गरिनेछ ।

    ३. तामाङ सामुदायको संस्कृतिसँग जोडिएको अति लोकप्रिय बाजा डम्फु र सो डम्फुको नामसँग जोडिएको पेङदोर्जेको प्रतिमा सहित पहिचान झल्किने गरी पेङदोर्जे डम्फु पार्क निर्माण गरिनेछ ।

    ४. यस खानीखोला गाउँपालिकाबाट दस वर्षे जनयुद्धको क्रममा विभिन्न स्थानमा पुगी सहादत प्राप्त गर्नु भएका १६ जना महान् सहिदहरूको स्मृतिमा एक सहिद पार्क निर्माण गरिनेछ । सहिद, बेपत्ता तथा घाइते परिवारलाई रोजगारीमा प्राथमिकता दिइनेछ।

    ५. गाउँपालिकाभित्र भिमसेनथानमा भिमसेनको मन्दिर स्थापना गरिनेछ र लाप्चेको चमेरे गुफा ( अर्विन्द गुफा) संरक्षण तथा प्रवर्द्धन गरिनेछ ।

    ६. गाउँपालिका क्षेत्रमा मनाइने जात्रा, मेला उत्सव लगायत स्थानीय पर्वहरूको प्रवर्द्धनका लागि आवश्यक प्रचार प्रसार गरी संरक्षण र प्रवर्द्धनमा योगदान पुग्ने कार्यक्रमको व्यवस्था गरिनेछ।

    ७. जनसंख्या, भूगोल र सामुदायिक प्रभावलाई मूलयाङ्कन गरी गाउँपालिकास्तरीय पर्व विदा घोषणा गरिनेछ।

    ८. खानीखोलाबासी नागरिकको सांस्कृतिक मूल्य, मान्यता र जागरणलाई संबोधन गर्ने गरी दशैं, ल्होसार र माघी जस्ता पर्वहरुको संरक्षण संवर्द्धन गरिनेछ र यहाँ रहेका सबै समुदायको भाषा, संस्कृति, धर्मको पहिचान झल्कने गतिविधिहरूको संरक्षण गर्नुका साथै प्रवर्द्धन गरिनेछ।

    ९. गाउँपालिकाको पूर्व-पश्चिम – उत्तर-दक्षिण चारै सीमाना नाकामा सहिदगेट सहितको प्रवेशद्वार निर्माण गरिनेछ ।

    १०. खानीखोला गाउँपालिका केन्द्र रहेको बस्ती तालढुङ्गा स्वयं एक ऐतिहासिक र आफैँमा आश्चर्य लाग्दो अनौठो ढुङ्गाबाट बनेको र छुट्टै परिचय बोकेको तथ्यलाई थप स्थापित गर्न र सोही मार्फत तालढुङ्गाको सौन्दर्य र पर्यटन विकासको सम्भावना रहेको अवस्थालाई “One Day Taaldhunga Stay” कार्यक्रम मार्फत पर्यटन प्रवर्द्धन गरिनेछ ।

    ११. खानीखोला वडा नं. ६ नयाँबस्तीमा बुद्धमूर्ति निर्माण र खानीखोला वडा नं. ५ सिके दोभानमा त्रिवेणी मन्दिर निर्माण गरी धार्मिक तथा सांस्कृतिक पर्यटन मार्फत पर्यटक आकर्षित गरिनेछ ।

    च) भूमि व्यवस्था, सहकारी तथा वित्तीय सेवा

    १. साना मझौला उद्यम व्यवसायद्वारा रोजगारीको अवसर सिर्जना गर्न प्रोत्साहित गरिनेछ । यसका लागि नेपाल सरकारको “टोलटोलमा सहकारी घर घरमा रोजगारी” कार्यक्रमलाई प्रभावकारी कार्यान्वयनमा जोड दिइनेछ ।

    २. गाउँपालिका भित्रका सहकारीहरूलाई आफ्नो जिम्मेवारी र कार्यक्षेत्रमा सबल र सक्षम बनाउन नियमन गरी प्रभावकारीताका साथ सञ्चालनमा ल्याउन प्रोत्साहित गरिनेछ ।

    ३. यस गाउँपालिकामा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत सङ्कलन भई निस्सा समेत प्राप्त भइ सककोले सो विवरण अनुसार जग्गाको नाप नक्सा तयार गरी जग्गा धनी प्रमाण पुर्जा वितरण गरिनेछ ।

    ४. गाउँपालिकास्तरमा रहेका सहकारी संस्थाको कार्य प्रकृतिका आधारमा वर्ग छुट्याई वर्गीकरण गरी अभिलेखिकरण गरिनेछ ।

    ५. गैरसरकारी संस्थाद्वारा सञ्चालन हुने कार्यक्रमहरू अनिवार्य रूपमा प्रस्तावका रूपमा पेश गर्नु पर्नेछ । गैरसरकारी संस्थाबाट प्रस्तावित कार्यक्रमको आवश्यकता र औचित्य पुष्ट्याइँ भएपछि स्वीकृति प्रदान गरिनेछ ।

    ६. गाउँपालिकाबाट स्वीकृत गैर सरकारी संस्थाको कार्यक्रमको लागत लाभान्वित समूह, क्षेत्र, बजेट, योजनाका कार्यान्वयन तालिका, परियोजना सञ्चालन अवधि समेत खुल्ने गरी संस्थाको फोकल पर्सनको नाम, सम्पर्क नम्बर सहितको योजना बोर्ड गाउँपालिकामा अनिवार्य राख्न लगाइनेछ ।

    ७. गाउँपालिका क्षेत्रभित्र रहेका ऐलानी पर्ति जग्गाको अभिलेखीकरण गरिनेछ । यस किसिमको जग्गाको संरक्षण र उचित प्रयोगमा पहल गरिनेछ । साविक नापी हुँदा आली, कान्ला कटाई नापिएका चार किल्ला कायम भएको जग्गालाई छुट जग्गाको रूपमा वर्गीकरण गरी जग्गाको आधारमा जग्गा धनी प्रमाण पुर्जाको व्यवस्था गर्ने नीतिलाई अगाडि बढाइनेछ । प्रमाणित नहुने ऐलानी पर्ति जग्गा प्रयोग गर्नु भएको हकमा राष्ट्रिय भूमि आयोगसँग समन्वय गरिनेछ।

    ८. खानीखोला गाउँपालिकाका सामरिक महत्वका मूल सडक र गाउँपालिकाको केन्द्र जोड्ने सहायक ‘शाखा सडकको गाउँपालिकास्तरीय सडक गुरु योजना (Mucipal Transportation Master Plan- MTMP) तयार पश्चात् सडक मापदण्ड कार्यान्वयन गराई नापी कार्यालय काभ्रेपलाञ्चोक, धुलिखेलबाट लगत कट्टा गराइनेछ।

    (छ) श्रम, रोजगारी तथा गरिबी निवारण

    १. यहाँको आर्थिक विकासको स्रोत र सम्भाव्यताको मूल पक्ष भनेकै कफी र पशुपालन क्षेत्र रहेको भन्ने विषय पहिचान भई सकेकोले कफी र पशुपालनतर्फ आम नागरिकलाई प्रोत्साहित गरी
    यसमा उद्यमशील बनाउने र गाउँपालिकाले उत्पादनको मूल क्षेत्र कफी र पशुपालनलाई नै ठानेर विशेष अनुदानको व्यवस्था गरिनेछ।

    २. खानीखोलाको अथाह जडिबुटीलाई उत्पादन तथा सङ्कलन गरी सामूहिक जडिबुटी खेती मार्फत परिचालन गरिनेछ र खानीखोला गाउँपालिकास्तरीय जडिबुटी केन्द्र स्थापना गरी आर्थिक स्रोतको माध्यम बनाइनेछ ।

    ३. गाउँपालिका स्तरमा एक स-मिल खोल्न प्रोत्साहित गरिनेछ ।

    ४. वातावरणीय प्रभाव मूल्याङ्कन गरी गाउँपालिकाभित्र साझेदारीमा क्रसर उद्योग स्थापनालाई प्रोत्साहन गरिनेछ।

    ५. खानीखोला बाहिर स्वदेश तथा विदेशमा रहेको युवाहरूलाई गाउँमा नै श्रम गर्ने उत्पादन बढाउने र रोजगारीको अवसर सिर्जना गर्ने कार्यलाई अघि बढाइनेछ ।

    ६. गरिब घर परिवारको एकीकृत सूचनाको लागि गरिब घर परिवार सूचना प्रणाली निर्माण गरी गरिब परिचय पत्र वितरण गरिनेछ र गाउँपालिकाका सबै कार्यक्रममा गरिब लक्षित कार्यक्रमको प्रभावकारी कार्यान्वयन गरिनेछ ।

    ७. गाउँपालिकाको बेरोजगार युवाहरूलाई रोजगार सेवा केन्द्रमा सूचीकृत गरी बेरोजगार युवाहरू मध्येबाट प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत रोजगारी सिर्जना गरिनेछ ।

    ९. युवा बेरोजगारी न्यूनीकरणका लागि सरकारी, गैरसरकारी, सहकारी तथा निजी क्षेत्रको समन्वय र सहकार्यमा सीप तथा उद्यमशील क्षमता विकासका कार्यक्रमहरू सञ्चालन गरिनेछ ।

    १०. गाउँपालिकाका असहाय एवम् विपन्न नागरिकलाई विपद्पूर्ण अवस्थामा सहयोग गर्न खानीखोला नागरिक सहायता कोष स्थापना गरी सञ्चालनमा ल्याइनेछ ।

    ११. बागमती प्रदेश सरकारद्वारा घोषणा गरिएका गृहिणी महिला उद्यमशीलता विकास कार्यक्रम, वडा समाजवादी कार्यक्रम, युवा रोजगारी कार्यक्रम, खास क्षेत्र खास उत्पादन कार्यक्रम लगायतका विविध कार्यक्रममा साझेदारी गरी सञ्चालनमा ल्याइनेछ ।

    ११. सामाजिक विकास

    क) शिक्षा

    १. आवश्यकता र वास्तविक जीवनसँग जोड्ने र काम सिकाउने जीवन उपयोगी सीपमा आधारित शैक्षिक पाठ्यक्रमको विकास गरी एक विद्यालयबाट नमूनाको रूपमा शुरूआत गर्ने र क्रमशः सवै विद्यालयमा सो अनुसारको पठनपाठनको व्यवस्था मिलाइनेछ ।

    २. शिक्षा नियमावली, शिक्षा नीति, बहुभाषा शिक्षा निर्देशिका जस्ता कानुनी तथा नीतिगत व्यवस्था मार्फत शिक्षा क्षेत्रको गुणस्तर नियमन एवम् प्रवर्द्धन गरिनेछ।

    ३. गाउँपालिकाको स्थानीय तथा मातृभाषा पाठ्यक्रम तर्जुमा गरी लागू गरि सकिएकोले यसै आर्थिक वर्षमा पाठ्यपुस्तक मुद्रण तथा छपाइ गरी स्थानीय तथा मातृभाषा पाठ्यक्रम कार्यान्वयनमा थप विस्तार गरिनेछ।

    ४. विद्यालय बाहिर रहेका र बीचमै विद्यालय छोड्ने बालबालिकाहरूलाई विद्यालय शिक्षा पूरा गर्न प्रोत्साहनका लागि विशेष प्याकेज सञ्चालन गरिनेछ ।

    ५. विद्यालयहरूको भौतिक पूर्वाधार, स्वास्थ्य तथा सरसफाइ सुविधा र आधारभूत खानेपानी सुविधा विस्तार गर्दै शिक्षकहरूको पेशागत क्षमता विकासका लागि निरन्तर तालिम सञ्चालन गरिनेछ ।

    ६. विषयगत शिक्षकहरूको अभिलेख व्यवस्थापन गरी गाउँपालिकाको शैक्षिक विकासमा उनीहरूको
    अनुभवलाई उपयोग गरिनेछ ।

    ७. सबै विद्यालयहरूमा पुस्तकालय, विज्ञान र कम्प्युटर प्रयोगशाला स्थापनाको नीति लिइनेछ।

    ८. सबै शिक्षकहरूलाई प्रविधिमैत्री बनाइनेछ ।

    ९. अनुगमन, निरीक्षण र सुपरिवेक्षण कार्यलाई थप प्रभावकारी बनाइनेछ ।

    १०. आफ्ना बालबालिका र विद्यालयप्रतिको भूमिकाबारे जिम्मेवार बनाउन विद्यालय व्यवस्थापन समिति र अविभावक बीच निरन्तर अन्तर्क्रिया र अनुशिक्षणात्मक कार्यक्रम सञ्चालन गरिनेछ।

    ११. अनाथ तथा असहाय बालबालिकाका लागि निःशुल्क आवासीय शिक्षा सञ्चालनमा निरन्तरता
    दिइनेछ ।

    १२. सामुदायिक अध्ययन केन्द्रलाई सञ्चालनमा ल्याइनेछ र हरेक वडामा एउटा सामुदायिक अध्ययन केन्द्र सञ्चालनमा जोड दिइनेछ ।

    १३. गाउँपालिकास्तरीय अतिरिक्त शैक्षिक क्रियाकलाप सञ्चालन गरिनेछ र विद्यालय स्तरमा सञ्चालन गर्न आर्थिक सहायता उपलब्ध गराइनेछ ।

    १४. गाउँपालिकास्तरीय परीक्षा प्रणाली लागू गरी Home Centre विहीन बनाई स्तरयुक्त बनाइनेछ ।

    ५. विद्यालयको भौतिक निर्माण र मर्मत कार्यलाई निरन्तरता दिइनेछ ।

    १६. अपुग शिक्षक पदपूर्तिका लागि स्वयंसेवक शिक्षक कार्यविधि कार्यान्यवनमा ल्याइनेछ ।

    १७. एस.इ.इ. परीक्षा दिनबाट बञ्चित रहेका वा एस.इ.इ. परीक्षा नदिई बसेका वा एस.इ.इ. पूरक परीक्षा पनि दिन नपाउने शैक्षिक योग्यता भएका विद्यार्थीहरुलाई खुला विद्यालय मार्फत एस.इ.इ. परीक्षा दिन पाउने व्यवस्था मिलाइनेछ ।

    १८. अविभावकसँग निरन्तर अन्तर्क्रिया कार्यक्रमबाट प्राप्त सुझाव जस्ताको त्यस्तै शिक्षक अविभावक सङ्घ र विद्यालय व्यवस्थापन समिति मार्फत प्रत्येक विद्यालयका प्रधानाध्यापकसम्म पु-याई शैक्षिक गुणस्तर सुधारका लागि सम्बन्धित प्रधानाध्यापकलाई पूर्ण जिम्मेवार र जवाफदेही बनाइनेछ ।

    १९. आधारभूत (कक्षा ५ देखि ८ कक्षासम्म ) तहदेखि माध्यमिक तहसम्मका सबै विद्यालयमा इन्टरनेट सेवा विस्तार गरिनेछ ।

    २०. बालबालिकाको प्रारम्भिक शिक्षण बालविकास केन्द्रबाट हुने भएकोले यसलाई प्रभावकारी रूपमा सञ्चालन गर्न विशेष योजना बनाई आवश्यकता अनुसार पुनरावलोकन र विस्तार गरिनेछ।

    १. आगामी तीन वर्षभित्रमा खानीखोला गाउँपालिकामा एक प्राविधिक शिक्षालय र एक सामुदायिक क्याम्पस स्थापना गरिनेछ ।

    २२. गाउँपालिकाका अल्पसङ्ख्यक र दलित समुदायबाट एस.इ.इ. परीक्षामा उत्कृष्ट अङ्क ल्याएका एक/एक जना छात्रालाई स्नातक तहसम्मको छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

    २३. सामुदायिक विद्यालयका शिक्षण कार्यलाई गुणस्तरीय र परिणाममुखी बनाउन गाउँपालिका शिक्षा शाखा र सबै विद्यालयका प्रधानाध्यापकसँग कार्य सम्पादन करार गरिनेछ । साथै गाउँपालिकाको सम्पूर्ण विद्यालयका शैक्षिक कार्यक्रममा एक रुपता ल्याउन शैक्षिक क्यालेन्डरको पूर्ण पालना गर्न गराउन लगाइनेछ ।

    २४. यस गाउँपालिकाको शैक्षिक गुणस्तर सुधार तथा शैक्षिक अनुसन्धानात्क कार्यका लागि काठमाडौँ विश्वविद्यालय लगायत सङ्घ, प्रदेश र जिल्लास्तर अन्तर्गतका उत्कृष्ट शिक्षण संस्थासँग सहकार्य गरिनेछ।

    ख) संस्कृति

    १. गाउँपालिकाभित्र आयोजना हुने महोत्सवहरूमा विविध जातीय भेषभुषा, कला साहित्य, सङ्गीत लगायतको झाँकी सहित प्रदर्शन गर्ने नीति लिइनेछ ।

    २. गाउँपालिकाका सबै जाति, आदिवासी जनजाति, अति सीमान्तकृत, सीमान्तकृत समुदायको धर्म, भाषा, संस्कृति, परम्परा, कला, साहित्य, परम्परागत ज्ञान, सीप, क्षमता, अनुभव र योग्यताको संरक्षण र संवर्द्धन गरिनेछ।

    ३. गाउँपालिका भित्र बोलिने सबै भाषा, सबै समुदायका परम्परागत पर्वहरु र झाँकीहरु, डम्फु, खैंजडी, टुङ्गना लगायतका बाजाहरुको समूह बनाई संरक्षण गरिनेछ साथै लामा, ताम्बा, बोम्बो, कोसे लगायतका धार्मिक एवम् सांस्कृतिक क्रियाकलापको संरक्षण र प्रतिस्पर्धात्मक किसिमले पुनःस्थापित गरिनेछ ।

    ग) युवा तथा खेलकुद

    १. खेलकुदको विकास गर्न विभिन्न खेलहरूका लागि खेलकुद मैदान लगायतका खेल पूर्वाधार निर्माण तथा मर्मत सम्भार गरिनेछ ।

    २. विषयगत खेल पुरस्कार राशीहरू स्थापना तथा दिगो व्यवस्थापन गर्दै जाने नीति लिइनेछ ।

    ३. विपन्न, गरिब र सुकुम्बासी परिवारका युवाहरूलाई इलेक्ट्रोनिक्स सामग्री मर्मत, प्लम्बिङ्ग तथा इलेक्ट्रिसियन, ब्युटि पार्लर, होटल म्यानेजमेन्ट, व्यावसायिक पशु पालन तथा तरकारी खेती जस्ता तालिमहरू प्रदान गरी गरिबी न्यूनीकरण र जिवीकोपार्जनमा सहजीकरण गरिनेछ।

    ४. युवा क्लब गठन तथा युवा स्वयंसेवक परिचालन र युवाको मुद्दामा बहस पैरवी कार्यक्रम सञ्चालन गरिनेछ ।

    ५. सङघ र प्रदेश सरकारसँग समन्वय गरी गाउँपालिकास्तरीय एक रङ्गशाला निर्माण गरिनेछ।

    ६. गाउँपालिकाले खेलकुद सम्बन्धी नीति निर्माण गरी गाउँपालिकाभित्रका खेलकुदका गतिविधिलाई व्यवस्थित बनाउँदै लगिनेछ ।

    ७. गाउँपालिकास्तरीय खानीखोला गाउँपालिका कप खेलकुद प्रतियोगितालाई निरन्तरता दिइनेछ ।

    ८. गाउँपालिकाका सम्पूर्ण खेलकुदसँग सम्बन्धित गतिविधिहरु खेलकुद विकास समिति मार्फत सञ्चालन गरिनेछ।

    ९. युवा स्वयम्सेवक विकास, युवा क्लब गठन तथा नमूना संसद् अभ्यास कार्यक्रम सञ्चालन गरिनेछ।

    घ) लैङ्गिक समानता र सामाजिक समावेशीकरण

    १. महिला, बालबालिका, अल्पसङ्ख्यक, भूमिहीन, अति गरिब, आदिवासी जनजाति र सामाजिक बहिष्करणमा परेका वर्गको लागि उत्थानशील कार्यक्रमहरू सञ्चालन गरिनेछ।

    २. ऐतिहासिक कालदेखि दलित तथा शिल्पी समुदायले जीवन निर्वाहको रूपमा अपनाइ आएका परम्परागत पेशालाई व्यावसायिक उद्यमको रूपमा विकास गर्न पूँजी लगानी सहयोग गरिनेछ।

    ३. विकासका कार्यक्रमहरूमा टोल विकास संस्थाहरूलाई प्रभावकारी रूपमा सहभागी गराइनेछ, सघन परिचालन गरिनेछ साथै प्रत्येक बस्ती टोल सुधार समिति गठन गरी आफ्नो विकासको अपनत्व आफैँले लिने वातावरण बनाइनेछ ।

    ४. जेष्ठ नागरिक परिचय पत्र वडास्तरबाट नै उपलब्ध गराउने व्यवस्था मिलाइनेछ ।

    . “हिंसामुक्त गाउँपालिका हाम्रो पहिचान” भन्ने अभियान सञ्चालन गरी सबै प्रकारका हिंसा विरुद्ध शून्य सहनशीलताको नीति लिइनेछ । पारिवारिक हिंसाद्वारा पीडितको संरक्षणका कार्यक्रम सञ्चालन गरिनेछ ।

    ६. महिला उद्यमशीलता विकासका लागि महिलाद्वारा प्रवर्द्धित व्यवसायमा निश्चित शत प्रतिशत कर छुटको व्यवस्था गरिनेछ ।

    ७. गर्भवती महिलाको लागि आमा सुरक्षा कार्यक्रम र नवजात शिशुको लागि पोषण कार्यक्रम सञ्चालन गरिनेछ ।

    ८. गाउँपालिका तथा वडास्तरीय बाल क्लब सञ्जाललाई प्रभावकारी रूपमा परिचालन गरिनेछ।

    ९. बालविकास केन्द्रहरूको भौतिक पूर्वाधार स्तरोन्नति गरिनेछ।

    १०. घोषणा हुन बाँकी सबै वडाहरूलाई आर्थिक वर्ष २०८०/०८१ भित्र बालमैत्री वडा घोषणा गर्ने कार्य सम्पन्न गरी बालमैत्री गाउँपालिका घोषणा गरिनेछ

    ११. दलित तथा उत्पीडनमा पारिएका उपेक्षित समुदायको क्षमता विकास, सचेतना कार्यक्रम, सीप विकास तालिम, आय आर्जनमूलक कार्यक्रम सञ्चालन गरिनेछ र दलित समुदायको परम्परागत सीप तथा ज्ञानलाई आधुनिकीकरण गरिनेछ ।

    ङ) स्वास्थ्य

    १. खानीखोला गाउँपालिकास्तरीय निर्माणाधीन अधुरो अस्पताल भवन सङ्घ तथा प्रदेश सरकारसँग पहल गरी छिटै सम्पन्न गरी सञ्चालनमा ल्याइनेछ ।

    २. खानेखोला गाउँपालिकाका सबै वडाहरुमा आधुनिक स्वास्थ्य चौकी भवन निर्माण गरिनेछ ।

    ३. खानीखोला गाउँपालिकामा गत आर्थिक वर्षबाट सञ्चालनमा ल्याइएको जेष्ठ नागरिक तथा दीर्घ रोगीहरुको मासिक घुम्ती स्वास्थ्य परीक्षण कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

    ४. वर्षमा एक पटक खानीखोलास्तरीय एकीकृत स्वास्थ्य शिविर सञ्चालन गरिनेछ।

    ५. यस गाउँपालिकाका गर्भवती महिलाहरूका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइनेछ ।

    ६. नेपाल रेडक्रस सोसाइटीसँग सहकार्य गरी रक्त सञ्चार सेवालाई सहज तुल्याइनेछ ।

    ७. गाउँपालिका क्षेत्रभित्र हुने परम्परागत औषधिजन्य वनस्पतिको संरक्षण, जडिबुटी खेती प्रवर्द्धन र प्रशोधनका कार्यहरू सञ्चालन गरिनेछ ।

    ८. महिला स्वयंसेविकाहरूको दक्षता विकास तालिम उपलब्ध गराई उनीहरूको सेवालाई प्रभावकारी तुल्याइनेछ ।

    ९. स्वास्थ्य क्लिनिकहरूले प्रदान गर्ने आधारभूत सेवाहरूको शुल्क नियमन गरिनेछ ।

    १०. अति सीमान्तकृत, सीमान्तकृत, गरिब तथा पछाडि परेका जनसमुदायलाई निःशुल्क स्वास्थ्य बीमा गर्ने व्यवस्था मिलाइनेछ ।

    ११. स्वास्थ्य चौकीहरूमा ल्याब सेवा सञ्चालनका लागि विशेष व्यवस्था गरिनेछ ।

    (च) खानेपानी तथा सरसफाइ

    १. खानीखोला गाउँपालिकाका सम्पूर्ण बस्तीमा रहेको खानेपानीको अभाव पूर्ति गर्न आगामी चार वर्षभित्र “खानीखोला सरकारको अभिभारा एक घर एक धारा” कार्यक्रम सम्पन्न गरिनेछ।

    २. खानेपानीको समस्या भएका गाउँपालिकाको सबै ठाउँमा बृहद् खानेपानी आयोजना मार्फत खानेपानीको व्यवस्था गरिनेछ। साना खानेपानी आयोजना निर्माणलाई प्राथमिकतामा राखी उचित बजेट विनियोजन गरिनेछ ।

    ३. खानेपानीको लागि नेवा (NEWAH) संस्था सँग सहकार्य गरी ८० / २० प्रतिशत साझेदारी लागतमा बृहद् खानेपानी आयोजना कार्यान्वयन गरिनेछ ।

    ४. प्लास्टिकजन्य फोहोर नियन्त्रण र न्यूनीकरण गर्न प्लास्टिक झोला प्रयोगलाई निरुत्साहित गरिनेछ। साथै गाउँपालिकाबाट निस्कासन हुने फोहोरमैला व्यवस्थापन गर्न उपयुक्त स्थानमा गाउँपालिकास्तरीय एक फोहोरमैला व्यवस्थापन स्थल (Dumping Site) निर्माण गरिनेछ ।

    ५. कोठे, दयागाउँ, डाँडागाउँ, धार्ने क्षेत्र, फलामेटार, मिल्चे, महाङ्काल, कुस्पा, बाँसघारी, तालढुङ्गा लगायतका बस्तीहरुमा यसै आर्थिक वर्षमा खानेपानी योजना सञ्चालनमा ल्याइनेछ ।

    (छ) अपाङ्ग, जेष्ठ नागरिक तथा महिला बालबालिका

    १. महिला सशक्तिकरण तथा नेतृत्व विकास, महिला उद्यमशीलता तथा सीप विकास, लैङ्गिक हिंसा न्यूनीकरण, बालबिवाह अन्त्य तथा अपाङ्गता पुनः उत्थानका कार्यक्रमहरू सञ्चालन गरिनेछ ।

    . “समृद्ध महिला उन्नत गाउँपालिका” नारालाई सार्थक बनाउन महिला उद्यमी निर्माण सम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ ।

    ३. बालअधिकार, बालश्रम र बालमैत्री केन्द्रित विकासलाई प्रोत्साहन र कार्यन्वयन गरिनेछ ।

    ४. अपाङ्गता भएका व्यक्तिलाई सीप, अवसर र सहयोगी सामग्री सम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ।

    ५. अपाङ्गता परिचयपत्र वितरण, सामाजिक सुरक्षामा आवद्धता लगायतका कार्यक्रमलाई अभियानकै रूपमा सञ्चालन गरिनेछ ।

    ६. महिला, बालबालिका, एकल महिला, अपाङ्गता, जेष्ठ नागरिक आदिको वार्षिक तथ्याङ्क व्यवस्थापन तथा अद्यावधिक गरिनेछ ।

    ७. जेष्ठ नागरिक विश्राम स्थल चौतारो निर्माणमा जोड दिइनेछ ।

    ८. गाउँपालिका भरिका परम्परागत सीपलाई आधुनिकीकरण गर्नका लागि प्रोत्साहन गरिनेछ ।

    ९. बालमैत्री स्थानीय शासनको सूचकहरूलाई सहयोग पुग्ने कार्यक्रमहरू तय गर्दै आ.व २०८०|०८१ बाट पूर्ण रूपमा बालमैत्री बनाउने नीति प्राथमिकताका साथ कार्यन्वयन गरिनेछ । प्रत्येक वडा र विद्यालयम बालमैत्री स्थानीय शासनको अवधारणा अनुरुप बाल क्लबहरू तथा बाल क्लब सञ्जाल गठन गरिनेछ । साथै सबै माध्यमिक विद्यालयमा विद्यार्थी सञ्चालित सामूहिक कोष सञ्चालनमा ल्याइनेछ ।

    १०. अपाङ्ग बालबालिका, अपाङ्गता भएका व्यक्तिका लागि पुनःस्थापना कार्यक्रम सञ्चालन गरिनेछ।

    ११. बालविवाह तथा बहुविवाहलाई निरुत्साहित गर्ने असल मनशाय सहित विवाह गर्नुपूर्व अनिवार्य रूपमा वडा कार्यालयबाट विवाह अनुमति सिफारिस लिएर मात्र विवाह गर्ने पद्धति विकास गरिनेछ ।

    १२. “विवाहवारी २० वर्ष पारी” भन्ने मूल नाराका साथ बाल विवाह रोकथामका लागि सचेतना कार्यक्रम आयोजना गरिनेछ ।

    १३. यस गाउँपालिकाका गर्भवती महिलाहरुको आकस्मिक उद्धारको लागि राष्ट्रपति महिला उद्धार कार्यक्रममा यस गाउँपालिका पनि सूचीकृत गर्न महिला, बालबालिका मन्त्रालयमा विगतमा गरिएको पहलमा निरन्तरता दिइनेछ ।

    (ज) सामाजिक सुरक्षा तथा पञ्जीकरण

    १. सामाजिक सुरक्षा भत्ता वितरण सरलीकरण गरी प्रत्येक वडा कार्यालयबाटै वितरण गर्न आवश्यक पहल गरिनेछ ।

    २. गाउँपालिकाको हरेक वडामा व्यक्तिगत घटना दर्ता सम्बन्धी घुम्ती शिविर तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ ।

    १२. पूर्वाधार विकास

    (क) भवन, आवास तथा बस्ती विकास

    १. गाउँकार्यपालिकाको प्रशासकीय भवन निर्माणका लागि यसै आर्थिक वर्षमा स्रोत सुनिश्चित गरी ठेक्का प्रक्रिया अघि बढाइनेछ ।

    २. बाँकी वडा कार्यालय भवन निर्माण गर्न जिल्ला समन्वय समिति, काभ्रपलाञ्चोकको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत लगानीमा वडा कार्यालय भवन निर्माण कार्यलाई आगामी ४ वर्षभित्र पूर्णता दिइनेछ ।

    ३. गाउँपालिकाको केन्द्र तालढुङ्गा बजारलाई नमूना सहरको रूपमा विकास गर्ने योजना बनाइनेछ। साथै गाउँपालिकाको सहरी विकासको सम्भावना बोकेको जगथली, महाङ्काल र फलामेटारको पनि सम्भाव्यता अध्ययन गर्ने प्रक्रिया अघि बढाइनेछ ।

    ४. गाउँपालिका केन्द्र रहेको तालढुङ्गा बजारलाई स्वीकृत डि.पि.आर. बमोजिम प्रदेश सरकारको सहयोगमा सहरी विकास गरिनेछ ।

    (ख) सडक, पुल तथा यातायात

    १. आगामी तीन वर्षभित्र सबै वडा केन्द्रसम्म बाह्रै महिना यातायात सञ्चालन हुने गरी पूर्वाधार विकास गरिनेछ।

    २. बाहुनबिर्ता, धार्ने, सतिघाट, महाभारत जोड्ने चाउ खोला, ललितपुर जोड्ने दुर्लुङ खोला, खानीखोला, धनमनाबेसी कुपिनटार सुकुम फेदीको दुर्लुङ खोलामा पक्की पुल निर्माणको लागि सङ्घ र प्रदेशसँग समन्वय गरी आगामी चार वर्षभित्र पक्की पुल निर्माण गरिनेछ।

    ३. आगामी तीन वर्षभित्र सबै बस्तीहरूमा सडक सञ्जालसँग जोडिने व्यवस्था मिलाइनेछ ।

    ४. खानीखोला गाउँपालिकाको पहिचान बोक्ने र धेरै भन्दा धेरै बस्तीलाई समेट्ने खानीखोला कोरिडोरलाई खानीखोलाको मेरुदण्ड सडकको रूपमा विस्तार एवम् विकास गरी प्रदेश राजधानी हेटौँडासम्म जोडिनेछ ।

    ५. गाउँपालिका भित्रका अन्तर वडा र अन्तर गाउँपालिका जोड्ने सडकको पहिचान गरी प्राथमिकता निर्धारण सहित सडक गुरुयोजना निर्माण गरिनेछ ।

    ६. गाउँपालिका भित्रका झोलुङ्गे पुल निर्माण गर्न आवश्यक स्थानहरूमा आगामी ४ वर्ष भित्रमा झोलुङ्गे पुल निर्माण गरिनेछ ।

    ७. सडक एवम् अन्य पूर्वाधारको क्षेत्रमा आवधिक योजना निर्माण गरी सङ्घ र प्रदेशसँग समपूरक बजेटको व्यवस्था गर्ने कार्यलाई जोड दिइनेछ ।

    ८. गाउँपालिकास्तरीय सडक गुरु योजना (Municipal Transportation Master Plan-MTMP) तयार गरी सडक मापदण्ड कार्यान्वयनमा ल्याइनेछ ।

    ९. सडक निर्माण गर्दा दिगो विकासको नीति बमोजिम योजनाको २ प्रतिशत बायो इन्जिनियरिङ्ग सम्बन्धी कार्यक्रम लागू गरिनेछ ।

    १०. गाउँपालिका स्तरका ठूला आयोजनाहरू निर्माण गर्दा सम्भाव्यता अध्ययन प्रतिवेदन डिपिआर तयार पारेर मात्र सञ्चालन गरिनेछ।

    ११. हाल सञ्चालनमा रहेको झोलुङ्गे पुलहरूको मर्मत सम्भार गर्ने आवश्यकताको पहिचान गरी थप स्थानमा झोलुङ्गे पुल तथा मोटरेवल पक्की पुलहरूको निर्माण कार्यलाई अगाडि बढाइनेछ ।

    १२. गाउँपालिकाको विकासमा रुपान्तरणकारी परिवर्तन ल्याउन सक्ने केही ठूला आयोजनाहरु पहिचान गरी गाउँपालिकाको गौरवका आयोजनाका रूपमा कार्यान्वयन गरिनेछ ।

    १३. विगतदेखिका निर्माणाधीन तथा अधुरा योजनाहरुलाई सम्पन्न गर्न क्रमागत रूपमा बजेट विनियोजन गरिनेछ ।

    १४. गाउँपालिकाभित्रका महत्वपूर्ण सडक आयोजनाको नयाँ ट्र्याक खोल्ने भन्दा पनि भएका सडकलाई दीगो र मजबुद बनाउन नाला, ग्य्राबेलिङ, सोलिङ, ढलान, ग्याबिन आदिमा प्राथमिकता दिइनेछ ।

    १५. आगामी ४ वर्षभित्र जिल्ला सदरमुकाम धुलिखेलदेखि गाउँपालिका केन्द्र तालढुङ्गासम्म र गाउँपालिका केन्द्रदेखि सबैभन्दा नजिकको बजार केन्द्रसम्म पहुँच पुग्ने खोपासी कामीडाँडा तालढुङ्गा र तालढुङ्गा हेटौँडा सडक ढलान वा कालोपत्रे गरिनेछ ।

    १६. गाउँपालिकाभित्रका सडकहरु जुनसुकै बेला क्षति भई आवागमन अवरुद्ध हुने भएकाले यातायात सुचारु गर्न आपतकालीन सडक मर्मत सम्भार कोष सम्बन्धी कार्यविधि तर्जुमा गरी कार्यान्वयन गरिनेछ।

    १७. महादेवटार सतभैया पुल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (DPR) गरिनेछ।

    (ग) जलस्रोत तथा उर्जा

    १. यसै आर्थिक वर्षमा खानीखोला गाउँपालिकाभरि केन्द्रीय विद्युत प्रसारण लाइन विस्तार गर्ने कार्य सम्पन्न गरी कम्तिमा ५० प्रतिशत भन्दा बढी घरधुरीमा विद्युत सेवाको पहुँच पुऱ्याइनेछ।

    २. जलवायु परिवर्तन न्यूनीकरणका लागि आवश्यक कार्यक्रमहरू सञ्चालन गर्न अन्तरगाउँपालिका तथा अन्तर संस्था साझेदारी कार्यक्रम ल्याइनेछ ।

    ३. गाउँपालिकाको केन्द्र तालढुङ्गा, जगथली र महाङ्काल लगायतका मुख्य बजार क्षेत्रमा वैकल्पिक ऊर्जा मार्फत सौर्य सडक वत्तीको व्यवस्थालाई निरन्तरता दिइनेछ ।

    ४. गाउँपालिका भित्रको लघु जलविद्युत आयोजनाहरूको संरक्षण एवम् सम्वर्द्धन गरी उक्त आयोजनाबाट उत्पादित उर्जा स्रोतलाई केन्द्रीय प्रसारण लाइनसँग जोडिनेछ।

    ५. पोखरी संरक्षण, पहिरो तथा खहरे नियन्त्रण, विकासका पूर्वाधारको संरक्षण, नदी उकास क्षेत्रको संरक्षण गरी जल, जमिन, जङ्गल र जलाधारको संरक्षण गरिनेछ।

    (घ) सूचना तथा सञ्चार प्रविधि

    १. गाउँपालिकाले कार्यविधि निर्माण गरी आफ्नो क्षेत्रका स्थानीय सञ्चार माध्यम (रेडियो, टेलिभिजन, पत्रपत्रिका, अनलाइन) लाई स्थानीय लोककल्याणकारी सन्देश उपलब्ध गराइनेछ।

    ४. गाउँपालिकाबाट चौमासिक बुलेटिन प्रकाशन तथा प्रसारण गरिनेछ ।

    ५. गाउँपालिकाको सम्पूर्ण नियमित गतिविधिहरूको डकुमेन्ट्री बनाई अभिलेखिकरण गरिनेछ ।

    ६. सबै वडाहरूमा इन्टरनेट सेवाको अभावले गर्दा अनलाइन मार्फत दिइने सेवा प्रवाहमा बाधा पर्न गएकोले सम्पूर्ण वडाहरूमा इन्टरनेट सेवा विस्तार गरी अनलाइन सेवाको विकास गरिनेछ।

    ७. गाउँपालिकाभित्र रहेको एक मात्र संचार सेवा एकदमै कमजोर तथा फितलो भई गाउँपालिका निवासी सम्पूर्ण नागरिकको दैनिक सूचनामा बाधा परेकोले सञ्चार सेवालाई थप व्यवस्थित गर्न थप सञ्चार टावरको विस्तार गरिनेछ ।

    ८. चुस्त, दुरुस्त गति तथा पारदर्शीताका साथ सेवा प्रवाह दिन विभिन्न सेवाहरू अनलाइन / अफलाइन सफ्टवेयर मार्फत प्रदान गरिनेछ ।

    ९. डिजिटल गाउँपालिका निर्माणमा सिङ्गो गाउँपालिकाको जनशक्ति स्रोत साधनलाई समेत परिचालन गरी सफ्टवेयरमा केन्द्रीकृत गरिनेछ र गाउँपालिकाको वार्षिक Video Documentary निर्माण गरी अभिलेखिकरण गरिनेछ ।

    १०. सबै वडाको पञ्जीकरण सम्बन्धी सेवा प्रवाह व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत गरिनेछ ।

    १३. वन, वातावरण तथा विपद् व्यवस्थापन

    (क) भू-संरक्षण तथा जैविक विविधता

    १. वन अतिक्रमण तथा डढेलो नियन्त्रणलाई निरुत्साहित गर्न वृक्षरोपणका कार्यक्रम लागू गरिनेछ ।

    २. वन क्षेत्रबाट बग्ने नदी खोला र खोल्सीहरूमा थुपारिएका ढुङ्गा, गिट्टी, वालुवा जस्ता नदी जन्य पदार्थहरूको सोही स्थानमा तटबन्ध बनाउनुको साथै बाँकी नदीजन्य पदार्थ सार्वजनिक पूर्वाधार निर्माणमा लगाउनुका साथै बिक्री वितरण समेत गरी गाउँपालिकाको आन्तरिक स्रोत बढाइनेछ।

    ३. “हरियो वन फलफूलको मान : खानीखोला गाउँपालिकाको आफ्नो छुट्टै शान” भन्ने मूल नाराका साथ प्रदेश सरकार र सङ्घीय सरकारको समन्वयमा विरुवा रोप्ने नीति ल्याइनेछ ।

    ४. वनलाई केवल वनको रूपमा मात्र संरक्षण गर्ने परम्परालाई परिमार्जन गर्दै वन क्षेत्रलाई उत्पादन र अर्थोपार्जनको क्षेत्रको रूपमा विकास गर्नका लागि सामुदायिक वनभित्र व्यावसायिक र उत्पादनमूलक गतिविधि सञ्चालन गर्न सामुदायिक र कबुलियती वनलाई परिचालन गर्दै वन सम्पदालाई एग्रो फरेस्ट्रीको सिद्धान्त बमोजिम वन सरसफाई सहित फलफूल रोपण कार्यक्रम सञ्चालन गरिनेछ ।

    ५. भू-संरक्षण, जलाधार व्यवस्थापन र जल उत्पन्न प्रकोप न्यूनीकरणका कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गरिनेछ । विपद् जोखिम न्यूनीकरण, जलवायु परिवर्तन असर न्यूनीकरण तथा जैविक विविधता संरक्षणका लागि दीर्घकालीन योजना बनाई कार्यान्वयनको पहल गरिनेछ ।

    (ख) फोहोरमैला व्यवस्थापन

    १. गाउँपालिकाको तालढुङ्गा र अन्य बजार क्षेत्र लगायतको फोहोरलाई व्यवस्थित गर्न वातावरणीय प्रभाव मूलयाङकन गरी फोहोरमैलाको उचित व्यवस्थापन गरिनेछ ।

    २. गाउँपालिकाको बजार क्षेत्रमा पर्ने स्थानहरूमा सार्वजनिक शौचालय निर्माण गरिनेछ।

    ३. शैचालयजन्य फोहोर व्यवस्थापनको लागि प्रत्येक घरलाई आफ्नै सेफ्टी ट्याङ्की बनाउनु पर्ने कार्यलाई अनिवार्य बनाइनेछ साथै शौचालयजन्य फोहोर नदी वा खोल्सीहरूमा व्यवस्थापन गर्न पाइने छैन ।

    . “हाम्रो घरको फोहोर हामी आफैँ व्यवस्थापन गछौं”, “हाम्रो टोलको फोहोर हामी आफैँ व्यवस्थापन गछौं”, “हाम्रो वडाको फोहोर हामी आफैँ व्यवस्थापन गछौँ” भन्ने मूल नाराका साथ सम्पूर्ण गाउँपालिकाबासीहरूले हामी सफा, स्वच्छ र स्वस्थ्य रहन्छौँ भन्ने प्रतिवद्धताको निम्ति अपिल गरिनेछ।

    ५. हरेक वडामा स्वास्थ्य सचेतना सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ।

    ६. आकस्मिक प्रकोपजन्य रोग नियन्त्रणका लागि आवश्यक नीति बनाई प्रभावकारी रूपमा कार्यान्वयन गरिनेछ।

    (ग) विपद् जोखिम व्यवस्थापन तथा जलवायु परिवर्तन अनुकूलन

    १. गाउँपालिकाभित्र बाढी पहिरो, चट्याङ, हावाहुरी, आगलागी, भूकम्प आदि विपद्का घटनाहरू निरन्तर रुपले भइरहने हुनाले प्राकृतिक विपद् न्यूनीकरणको सम्भावनालाई अध्ययन गरी विपद् न्यूनीकरणको लागि आवश्यक पहल गरिनेछ ।

    २. गाउँपालिका क्षेत्रको विपद् जोखिम सर्भेक्षण गर्ने र सोका आधारमा योजना निर्माण गरी कार्यान्वयन गरिनेछ र भू-संरक्षणका लागि वृक्षरोपण, तटबन्धन कार्यक्रम सञ्चालन गरिनेछ।

    ३. भुकम्प, बाढि, पहिरो, आगलागि, चटयाङ, महामारी, दुर्घट्ना जस्ता विभिन्न प्रकारका प्राकृतिक प्रकोपबाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराइनेछ जसका लागि गाउँपालिका विपद् व्यवस्थापन कोष स्थापना गरिनेछ ।

    ४. विपद् विरुद्धको प्रतिकार्यलाई व्यवस्थित बनाउन आवश्यक योजना निर्माण गरिनेछ र रेड क्रस लगायतका संस्थासँग समन्वय गरी विपद् पूर्ण अवस्थामा गरिने उद्धार तथा पुनःस्थापना कार्यलाई छिटो र छरितो बनाउन विपद् प्रतिकार्य टिम निर्माण गरिनेछ ।

    १४. सुशासन तथा संस्थागत क्षमता विकास

    (क) नीति, कानुन, न्याय तथा सुशासन

    २. गाउँपालिका अन्तर्गतका कुनै पनि कार्यालयमा कर्मचारी विदामा बस्दा वा फिल्डमा जाँदा समेतको अवस्थामा वैकल्पिक जिम्मेवारी र उत्तरदायी कर्मचारी तोकेर जानकारी खुल्ने गरी सूचना बोर्डमा उल्लेख गरिनेछ।

    ३. आफ्नो कार्यालयको कार्य प्रगति, समस्या, चुनौति र समस्या सामाधानसहितको मासिक बैठक राखिनेछ।

    ४. कर्मचारीहरुको क्षमता र संस्थागत क्षमता विकासका योजना निर्माण गरी सञ्चालन गरिनेछ।

    ५. भौगोलिक विकटताका कारण कर्मचारी अभावले कार्यालय कामकाजमा बाधा पर्ने हुँदा थप जिम्मेवारीको आधारमा कर्मचारी प्रोत्साहन भत्ताको व्यवस्था मिलाइनेछ। साथै उत्कृष्ट कार्यसम्पादन गर्नेलाई पुरस्कृत गरिनेछ ।

    ६. गाउँकार्यपालिकाको कार्यालय, वडा कार्यालय एवम् विद्यालय, स्वास्थ्य चौकी आदिमा सूचना अधिकारी तोकी हरेक सूचना प्रवाह गरिनेछ ।

    ७. गाउँपालिका अन्तर्गतका हरेक कार्यालयमा गुनासो पेटीका राखी मासिक रूपमा सोको सुनुवाई गरिनेछ।

    ८. गाउँपालिका अन्तर्गतका हरेक कार्यालयमा इ हाजिरीको व्यवस्था गरिनेछ ।

    ९. कर्मचारी कल्याणकारी कोष स्थापना गरी कार्यान्वयनमा ल्याइनेछ ।

    १०. गाउँपालिकाले प्रत्येक ४-४ महिनामा सार्वजनिक सुनुवाई र आर्थिक वर्ष सकिएर अर्को आर्थिक वर्षको पहिलो चौमासिकको पहिलो महिनामा नै सामाजिक परिक्षण अनिवार्य रूपमा सञ्चालन गरिनेछ ।

    ११. उपभोक्ता समितिहरूका पदाधिकारीलाई सार्वजनिक निर्माण तथा कार्यक्रम सञ्चालन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिनेछ ।

    १२. गाउँपालिकाको स्वीकृत बजेटको इस्टिमेट तयार गरेर मात्र उपभोक्ता समितिसँग सम्झौता गर्ने, यस किसिमको इस्टिमेट तयार गर्दा उपभोक्ताले बुझ्ने गरी नेपाली भाषामा तयार गरिनेछ ।

    १३. खानीखोला गाउँपालिकाको बेरुजु न्यूनीकरणका लागि बेरुजु फर्छयौट् समिति गठन गरी न्यूनीकरण तर्फ प्रक्रिया अघि बढाइनेछ ।

    १४. न्यायिक समितिको क्षेत्राधिकार भित्रका विवादहरुको शीघ्र निरुपण गरी प्रभावकारी न्याय सम्पादनमा जोड दिइनेछ र आवश्यकता अनुसार नीतिगत तथा कानुनी प्रबन्ध मिलाइनेछ।

    १५. न्यायिक समितिका पदाधिकारी तथा कर्मचारी र वडास्तरीय मेलमिलाप कर्ताहरुको क्षमता अभिवृद्धि गर्न उचित तालिमको व्यवस्था गरिनेछ ।

    १६. प्रारम्भिक विवादहरु वडामा क्रियाशील मेलमिलाप कर्ताबाट समाधान गर्ने नीति लिइनेछ ।

    ७. हालसम्म स्वीकृत भई पारित भएका कानुनहरुलाई सङ्ग्रहीत गरी स्थानीय कानुन सङ्ग्रह प्रकाशन गरिनेछ।

    १८. आवश्यकता अनुसार निरन्तर आवश्यक कानुन तर्जुमा गरी कार्यान्वयनमा ल्याइनेछ ।

    (ख) सङ्गठन तथा क्षमता विकास, जनशक्ती व्यवस्थापन र सेवा प्रवाह

    १. गाउँपालिका भित्रको नियमति सेवालाई सुचारु गर्नको लागि प्रर्याप्त जनशक्ति नभएको कारण सोको परिपूर्ति गर्न प्रदेश लोक सेवा आयोग, बागमती प्रदेश, हेटौँडा समक्ष आवश्यक दरबन्दी बमोजिमको जनशक्ति माग गरिनेछ साथै गाउँपालिकामा आवश्यक कतिपय विषयगत शाखासँग सम्बन्धित कर्मचारी गाउँपालिकाबाट नै पदपूर्ति गरिनेछ ।

    २. कर्मचारी संगठन तथा व्यवस्थापन सर्वेक्षण (O&M Serve) गरी सोको प्रतिवेदन कार्यन्वयनमा ल्याइनेछ ।

    ३. गाउँपालिकाभित्र उत्कृष्ट नतिजा हासिल गर्ने उपभोक्ता समिति, निर्माण व्यवसायी, कृषक, कृषक समूह, कृषि फर्म, सहकारी, स्वास्थ्य संस्था एवम् शैक्षिक संस्थाहरूलाई पुरस्कारको व्यवस्था मिलाइनेछ ।

    ४. गाउँपालिका अन्तर्गतका सम्पूर्ण कार्यालयहरूमा कर्मचारीहरू नभई सेवाग्राही घर फर्कनु पर्ने अवस्थाको अन्त्य गर्दै लगिनेछ ।

    ५. गाउँपालिकाको सार्वजनिक सेवाको सन्दर्भमा सम्पूर्ण विवरण खुल्ने गरी गाउँकार्यपालिकाको कार्यालय, वडा कार्यालय र स्वास्थ्य संस्थाहरूमा नागरिक वडापत्र राखिनेछ।

    ६. निर्वाचित जनप्रतिनिधिको क्षमता विकासका लागि अभिमुखीकरण तथा तालिम कार्यक्रम सञ्चालन गरिनेछ ।

    ७. खानीखोला गाउँपालिकाको वडा नं. १, ३, ६ र ७ सबैभन्दा दुर्गम, भौगोलिक दृष्टिले सबैभन्दा ठूलो भूगोल समेटिएको, जनसङ्ख्याका आधारमा धेरै जनसङ्ख्या रहेको र कतिपय बस्तीबाट वडा कार्यालयसम्म सेवा लिन न्यूनतम तीन घण्टासम्म समय लाग्ने भएकाले यी वडाहरुको पुनःसंरचना
    गर्न सरोकारवाला नागरिक, राजनीतिक दलको समेत सहमतिमा प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय समक्ष पेश गरिनेछ ।

    (ग) राजस्व तथा स्रोत परिचालन

    १. गाउँपालिकाको आन्तरिक आय बढाउनको लागी यहाँ भएका खानीजन्य पदार्थ (ढुङ्गा, गिट्टी, बालुवा) उतखनन गरी निर्यात, बिक्री वितरण गर्न कानुन बमोजिम प्रक्रिया बढाइ आवश्यक पहल गरिनेछ ।

    २. गाउँपालिकाको राजश्वको दायरा बढाइनेछ र आम नागरिकलाई “राज्यलाई कर तिर्नु हरेक नागरिकको कर्तव्य” हो भन्ने कुरामा प्रभावकारी अनुशिक्षण गरिनेछ ।

    ३. आन्तरिक आय व्यवस्थान, प्राकृतिक स्रोत बिक्री सम्बन्धी ऐन तथा नियमावली तर्जुमा गरी राजस्व परिचालनलाई थप व्यवस्थित तुल्याइनेछ ।

    ४. आन्तरिक आयका स्रोतको सम्भाव्यता अध्ययन, राजस्व बाँडफाँट, अन्तर सरकारी वित्तीय हस्तान्तरण तथा गैरसरकारी क्षेत्रको स्रोत परिचालनका लागि स्थानीय सरोकारवाला, प्रदेश र नेपाल सरकारका निकाय तथा गैरसरकारी संस्था र विकास साझेदारहरुसँग साझेदारी गरिनेछ।

    (घ) तथ्याङ्क प्रणाली तथा योजना र विकास व्यवस्थापन

    १. गाउँपालिका स्थित सबै विषयगत क्षेत्रहरूको वस्तुगत विवरणको यथार्थ आँकडा आउने खालको प्रोफाइल निर्माण गरिनेछ र सोही तथ्याङ्कको आधारमा खानीखोला गाउँपालिकाको भावि योजना निर्माण गरिनेछ ।

    २. टोल, बस्ती तथा गाउँस्तरबाट नागरिकको छनौटमा परेका विकास योजनाहरूलाई कार्यान्वयन गर्न तत्कालीन एवम् दीर्घकालीन प्रकृतिका योजनाको वर्गीकरण गरी कार्यान्वयनमा ल्याइनेछ र तत्काल कार्यान्वयन हुन नसकेका योजनाहरू गाउँपालिका योजना बैंकमा समावेश गरी प्राथमिकताको आधारमा कार्यान्वयन प्रक्रियामा लगिनेछ।

    अन्त्यमा यस गरिमामय सभामा सभालाई शानदार ढङ्गले सम्पन्न गर्नका लागि उपस्थित गाउँसभाका सदस्यज्यूहरू, राजनीतिक दलका प्रतिनिधिज्यूहरु, कर्मचारी साथीहरू र यो नीति तथा कार्यक्रमलाई खानीखोलाको विकासको दस्तावेजको रूपमा ग्रहण गर्नु हुने सम्पूर्ण सहभागीहरूप्रति हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्दछु । धन्यवाद !

    श्री इन्द्र बहादुर थिङ

    अध्यक्ष

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार