२०८० फागुन १५, मंगलबार | Tue, 27, Feb, 2024

अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन्


७०६६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ फागुन ३, बुधबार मा प्रकाशित १ साल अघि
  • ओई, सुन्नन्, भ्यालेन्टाइनमा के गिफ्ट दिने होला ? एकछिन त अलमलै परे चिन्दै नचिनेको मान्छेले के भनेको होला ! फरक्कै पछाडि फर्केर हेर्दा थाहा भयो कुनै अन्नजान युवतीको फोनवार्ता रहेछ। वसन्तपुर काठमाडौंको सबै भन्दा धेरै जमघट हुने ठाउँमा पर्छ। जहाँ किनमेलको लागि पुगेकी थिएँ। ती युवतीको फोन सुन्न्ने चाहना होइन तर म बसेको ठाउँमा नै आएर फोनमा बोलेपछि सुन्दिन भनेर पनि सुख छैन्। फेब्रुअरी ७ परेको रैछ। आज त रोज डे के छ प्लान ? भन्दै लामै कुराकानी गरिन्। बस्दाबस्दै ती युवतीको कुराले झस्कायो। १५ मिनेट भएछ बसेको। फोन आयो अनि म त्यहाँबाट हिडेँ। मैले ठाउँ छोडे पनि मलाई त्यो प्रश्नले छोडेन्।

    सार्वजनिक ठाउँमा बसेर त्यो पनि काठमाडौंको सबै भन्दा धेरै जमघट हुने ठाउँमा त्यस्ता कुरा गर्नु उचित हुन्छ, हुँदैन। त्यो सायद तिनको दिमागले सोच्न भ्याएन होला। कतिपय कुरा आफूमा मात्रै सीमित राख्दा राम्रो हुन्छ। तर हिजोआज त आफू नै उदांगो हुनेगरी साथीसँग कुरा हुने रहेछ।

    अनि, सोच्न थालेँ,
    कसैले कसैलाई माया गर्नु, कसैसँगसँगै हिड्नु, अनि सँगै बस्दै बस्नु ठूलो कुरा होइन। यत्ति गर्दैमा आकाशै खसेको देख्ने दुनियाँ पनि हाम्रो अगाडि छ। अनि यो सबै कुराको कुनै प्रवाह नगरी आफू नै उदांगो हुने दुनियाँ पनि हाम्रै अगाडि छ। यो दुवैको बीचमा तपाईं हामी पनि छौं। त्यो जमातलाई यो पचाउन अलि गाह्रो हुने रहेछ।

    सबै भन्दा बढी दिवस मनाइने देशमध्ये नेपाल अग्रपंतिमा पर्ने गर्छ। नेपालीले आफ्नो मौलिक संस्कृतिलाई भुल्दै गइरहेका छन्। आफ्नो संस्कार र संस्कृति भुल्दा पाश्चात्य संस्कृतिलाई दिन दुई गुण रात चौगुणा अंगाल्दै गइरहेको देखिन्छ। लोकतन्त्र दिवस, गणतन्त्र दिवस, शहीद दिवस हुँदै अहिले फागुन २ अर्थात् १४ फेबु्रअरी प्रणय दिवसलाई धुमधामको साथ मनाउने चलन पनि हाम्रै देसमा सुरु भइसकेको छ।

    प्रेमको आफ्नै परिभाषा छ। प्रेमको महत्त्व आफ्नो ठाउँमा छ। प्रेमलाई अहिले हल्का रुपमा लिने क्षणिक स्वार्थका लागि गर्ने अनि छोड्ने। फेरि अर्कोसँग प्रेम गर्ने संस्कृतिको विकास पनि सँगसँगै बढ्दै गएको समयमा पादरी सेन्ट भ्यालेन्टाइनको सहादतसँग सम्बन्धित रहेको यो दिवसबारे जानेर बुझेर भन्दा पनि एउटा लहैलहैमा यसलाई मनाउन हाम्रा युवा, युवती लागि परेका छन्।

    खासमा प्रणय दिवस वा प्रेम दिवस, १४ फेब्रुअरीमा विश्वभर मनाइने दिवस हो। यो पर्व पादरी सेन्ट भ्यालेन्टाइनको बलिदानसँग सम्बन्धित छ। तत्कालीन रोमन सम्राट क्लाउडियस द्वितियले युवा प्रेम र विवाहतिर लागे सैनिक सेवा प्रभावित हुन्छन् भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए। तर भ्यालेन्टान भने सम्राटको निर्णयलाई धर्मविरुद्ध भन्थे। उनको बुझाइ थियो अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन्।
    त्यसैले उनले राजाज्ञा अवज्ञा गर्दै प्रेम र विवाहका लागि प्रेरित मात्र गरेनन्, युवायुवतीका जोडीहरू तयार पारेर सार्वजनिक स्थलमै सामूहिक विवाह कार्यक्रम सम्पन्न गरे। निषेधाज्ञा तोडेको आरोपमा उनलाई ईपू २७० को फेब्रअरी १४ मा मृत्युदण्ड दिइएको थियो।

    प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा भ्यालेन्टाइन डे मनाउन थालिएको विश्वास गरिन्छ। विश्वभर नै यस दिनलाई उत्सवको रूपमा मनाउने गरिन्छ। तर हिजोआज यो विकृति बनेको छ।

    मानिस सामाजिक प्राणी हो। समाजमा घुलमिल हुन र जीउनको लागि मानवीय आवश्यकता पूरा गर्नुपर्ने हुन्छ। त्यो आवश्यकता पूरा गर्ने क्रममा हर कुरासँग प्रेम बसेको हुन्छ। तर बिडम्बना, आज समाजमा यसको सन्तुलन बिग्रँदै गएको छ।

    जसको नकारात्मक प्रभाव मान्छेको मानवीय मूल्य, नैतिकता र सामाजिक संरचनामा समेत परिरहेको छ। एउटाको गल्तीले हजारौंको हेराइ बिग्रेको छ। एउटाको कामले हजारौंलाई दोषीको बिल्ला भिराएको छ र बिना कसूर सजाय दिएको छ।

    आफ्नो सपना बिग्रँदा र छाती चर्कँदा सन्तानलाई के भयो होला ? कस्तो अवस्थामा छन् होला ? भन्ने आशंकामा रातभर जागा रहने आमाबुवालाई वास्ता नगर्ने युवायुवती रोज डे, प्रपोज डे, किस डे, चकलेट डे र भ्यालेन्टाइन डेको व्यग्र प्रतिक्षामा बसिरहेका हुन्छन्।

    उनीहरुलाई जन्म अनि कर्म दिने आमाबाबा होइन। एउटा रोज दिनेको मायाले तानेको हुन्छ। त्यसो त बुवाआमालाई पनि सम्झन्छन्। तर वर्षको एक दिन। आमाको मुख हेर्ने र बुवाको मुख हेर्ने दिन। त्यो पनि अरुलाई देखाउनको लागि सामाजिक सञ्जालमा पोष्ट्याउनको लागि मात्रै। यसो भन्दै गर्दा ममाथि आरोप पनि लाग्न सक्ला। तर यो धेरैसँग मेलखाए कै कुरा हो। अहिलेको समाज यै बाटोमा हिँडेको देखेकै कुरा हो।

    अनि कसैले कसैलाई स्वच्छ मनले माया गर्नु विकृति होइन। तर हाम्रो समाजले त्यो बुझ्न सकेको छैन या त हामीले बुझाउन सकेका छैनौँ। फलानोको बर्षौदेखि अफेयरमा थियो रे ! त्यो केटासँग फलानो ठाउँमा गएर बसेकी, बसेको छ। फलानी त आज योसँग मस्किँदै हिँडेकी थिई, निको चाल छैन, छिट्टै बिहे गर्दिए हुन्छ। यसैगरी कुरा काट्ने धेरै हुन्छन्। धेरै सुनिन्छ। यतिसम्मकी अग्रेजी शब्द शुद्धसँग उच्चारण गर्न नसक्दा सम्म बोल्न छोड्दैनन्।

    संस्कृती कि विकृति

    पश्चिमी देशबाट सुरु भएको भ्यालेन्टाइन डे नेपालमा पनि संस्कृतिको रूपमा विकास हुँदै गएको छ। विशेषगरी युवाबीच लोकप्रिय भ्यालेन्टाइन डेमा विकृति पनि बढ्दै गइरहेको छ।
    प्रेमलाईभन्दा क्षणिक भावनात्मक आवेग र शारीरिक आकर्षणलाई केन्द्रमा राखेर गरिने गतिविधिलाई नै प्रणय दिवस भनेर बुझ्ने र मनाउने गरिएको छ। जुन अति नै खतरनाक हो। जसले गर्दा पनि समाजमा विकृति फैलिदै गएको छ।

    प्रेमलाई कुनै सूत्रमा बाँध्न सकिँदैन। प्रेमको कुनै हद र सीमा पनि हुँदैन। यसको नाप गर्ने कुनै एकाई पनि छैन। न त यसको सुरु छ, न यसको कुनै अन्त्य नै। प्रेम भनेको जीवन हो, यदि आमालाई पेटको बच्चाप्रति प्रेम नहुँदो हो त, जीवन कहाँ रहन्थ्यो ? जीवन कुनै नियमले चल्दैन। त्यसैले प्रेमको पनि कुनै नियम हुँदैन।

    युवाका लागि लक्षित प्रेम दिवसलाई धेरैले प्रेम गर्ने दिनको रुपमा मात्रै बुझ्ने गरेका छन्। तर वर्षमा एक दिन मात्रै होइन, माया गर्ने मनको लागि हरेक दिन प्रेम दिवस हुन्छ र हुनसक्नुपर्छ।

    मायामा कुनै स्वार्थ र शर्त हुनु हुँदैन। मायाको अर्थ मन पराउनु मात्र होइन, हृदयको मागलाई स्वीकार गर्नु हो। माया केटा र केटी बीचमा मात्रै हुनुपर्छ भनेर बुझ्नु हुँदैन। परिवार भित्रका हरेक सदस्यलाई साँचो माया गर्न सक्नु नै प्रेम हो। माया हुँदै नहोस्, भएपछि सधैंभरिलाई होस्।

    जे जस्तो डे र दिवस भए पनि यस्ता अवसरमा यस्ता दिवसले स्वार्थी मन सबैलाई निःस्वार्थ माया गर्न सिकाओस्। पत्थर बन्दै गइरहेको मानव मनमुटुमा प्रेमभाव भरियोस्। सबैलाई प्रेम दिवसको शुभकामना।स्रोत खबरहव ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार