२०८१ श्रावण १, मंगलबार | Tue, 16, Jul, 2024

खाद्य पदार्थमा रङ्गको प्रयोग सम्बन्धी जानकारी


११४६७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८१ जेष्ठ २, बुधबार मा प्रकाशित २ महिना अघि
  •  

    भनिन्छ मानिसले सबैभन्दा पहिले आफ्नो आँखाले खान्छ । यसको अर्थ कुनै पनि व्यक्तिले खाद्य पदार्थ उपभोग गर्नु अघि उक्त खाद्य पदार्थ खाने हो वा होइन भन्ने कुरा आँखाले हेरेर छुट्याउने गर्दछ । यदि कुनै पनि खाद्य पदार्थमा आँखाले स्पष्ट देखिने गरि किरा लागेको, ढुसी परेको, चिलेसा परेको, सडेगलेको देखिन्छ भने त्यस्तो खाद्य पदार्थ उपभोक्ताले खरिद गर्ने वा उपभोग गर्ने गर्दैनन् र यसको ठिक विपरीत आँखाले हेर्दा सफा, राम्रो, नबिग्रेको अवस्थाको र विशेषत: हेर्दा आकर्षक देखिने रङ्गिन खाद्य पदार्थ उपभोक्ताको पहिलो रोजाईमा पर्दछन् ।

    त्यसैले बजारमा विक्रि वितरणका लागि राखिएका अधिकाशं अर्ध-प्रशोधित एवं प्रशोधित खाद्य पदार्थहरु उपभोक्ताको रोजाईमा परोस् भनी आकर्षक बनाउन विभिन्न प्रकारका रङ्गहरुको प्रयोग गरिएको हुन्छ । त्यसोतः खाद्य पदार्थमा रङ्ग भने उपभोक्ताको ध्यान आकर्षण गर्न मात्र प्रयोग गरिएको भने होईन । खाद्य पदार्थ प्रशोधन गर्ने क्रममा खाद्य पदार्थमा भएको प्राकृतिक रङ्ग नष्ट भई खाद्य पदार्थमा अस्वभाविक रङ्ग देखिन सक्छ सोहीलाई ठीक गर्न प्रसोधनकर्ताले रङ्गको प्रयोग गर्ने गर्दछन् । यसका अलावा खाद्य पदार्थमा भएको प्राकृतिक रङ्ग भण्डारणको क्रममा प्रकाश, हावा, उच्च तापक्रम, आद्रताका कारणले नष्ट हुन सक्छ वा फिक्का (Fade) भएर जान सक्ने हुनाले प्रशोधित खाद्य पदार्थमा रङ्गको प्रयोग गर्ने गरिन्छ । कतिपय सन्दर्भमा रङ्ग नभएका खाद्य पदार्थहरुलाई आकर्षक बनाउन पनि रङ्गको प्रयोग गरिन्छ । हालको समयमा बढ्दो बजारीकरण र प्रतिस्प्रधात्मक व्यवसायिक क्षेत्रका कारण प्राय जसो सबै प्रकारका अर्ध-प्रशोधित तथा प्रशोधित खाद्य पदार्थमा रङ्गको प्रयोग बढ्दो छ ।

    खाद्य पदार्थमा प्रयोग हुने यस्ता रङ्गहरु के हुन् त ?

    खाद्य पदार्थमा खाद्य योगशिल -Food Additive को रुपमा प्रयोग हुने रङ्ग एक प्रकारको डाई -Dye_ लेक्स -Lakes_ जस्ता रसायन हुन् जसले खाद्य पदार्थमा रङ्ग प्रदान गर्दछन् । धुलो -Powder, दाना -granules_, झोल -Liquid, आदिका रुपमा उपलब्ध डाईजहरु पानीमा सजिलै घुलनशिल हुन्छन् र विभिन्न पेय पदार्थहरु, बिस्कुट, कुकिज, केक जस्ता बेकरीजन्य पदार्थ, मिठाई, चकलेट, क्यान्डी, टफि जस्ता कन्फेक्सनरी -Confectionary_ उत्पादनहरु, दूधजन्य विभिन्न तयारी उत्पादनहरुमा प्रयोग गर्ने गरिन्छ ।

    लेक्स् -Lakes_ हरु पानीमा घुलनशिल हुँदैनन् तर डाईजको तुलनामा यी बढी टिकाउ (सजिलै फिक्का नहुने) हुन्छन् र चिल्लोजन्य खाद्य पदार्थ जसमा जलांशको मात्रा थोरै हुन्छ त्यस्ता खाद्य पदार्थमा प्रयोग गरिन्छ । खाद्य पदार्थमा प्रयोग गरिने यस्ता डाईज र लेक्स् भने कृत्रिम/सिन्थेटिक रङ्गहरु हुन् ।

    के रङ्ग प्रयोग भएका खाद्य पदार्थ उपभोग गर्न हुन्छ त ?

    रङ्ग प्रयोग गरिएका खाद्य पदार्थ खान मिल्ने वा नमिल्ने कुरा खाद्य पदार्थमा प्रयोग गरिएको रङ्गको किसिम, मात्रा र प्रयोग विधिमा भर पर्दछ । खाद्य ऐन २०२३ र खाद्य नियमावली २०२७ बमोजिम प्रयोग गर्न स्वीकृत खाद्य रङ्गहरु, विभिन्न देशका सम्बन्धित नियमनकारी निकायहरु जस्तै : फूड एण्ड ड्रग एडमिनिस्ट्रेशन, यु.एस. (Food And Drug Administration, US), युरोपियन फूड सेफ्टी अथोरिटि, युरोप (European Food Safety Authority, Europe), फूड सेफ्टि एण्ड स्ट्याण्डर्ड अथोरिटि, भारत (Food Safety and Standard Authority, India) र अन्तर्राष्ट्रिय रुपमा खाद्य पदार्थहरुको मापदण्ड, कार्यविधि, कोड अफ प्राक्टिस् (Code of Practice) तयार गर्ने सङ्गठन कोडेक्स एलिमेन्टेरियस कमिसन (Codex Alimentarius Commission) लगायतले स्विकृत गरेका खाद्य रङ्गहरु प्रयोग गरिएका खाद्य पदार्थहरु मात्र उपभोग गर्न सुरक्षित मानिन्छन् । यस्ता खाद्य रङ्गहरु वर्षौ वर्षको अध्ययन अनुसन्धान पश्चात मात्र प्रयोग गर्नका लागि स्वीकृति प्रदान गरिएका हुन्छन् र साथै यसको प्रयोग विधि र अधिकतम प्रयोग मात्रा समेत तोकिएको हुन्छ । स्वीकृत नगरिएका अखाद्य रङ्गहरु प्रयोग गरिएको खाद्य पदार्थ भने मानव स्वास्थ्यका लागि हानिकारक हुन्छन् । त्यसै गरि स्वीकृती प्राप्त कृत्रिम खाद्य रङ्गहरु समेत तोकिएको अधिकतम मात्राको सीमा भन्दा बढी प्रयोग गरे अथवा गलत विधिद्वारा प्रयोग गरेमा मानव स्वास्थ्यलाई हानिकारक हुन्छन् । तसर्थ यस्ता अप्राकृतिक कृत्रिम खाद्य रङ्गहरु प्रयोग गर्दा विशेष सावधानी अपनाउनु पर्दछ ।

    खाद्य/अखादय रङ्गहरु कसरी छुट्याउने त ?

    सामान्य मानिस वा उपभोक्ताहरुका लागि खाद्य पदार्थहरुमा प्रयोग गरिएको रङ्ग खाद्य रङ्ग हो वा होइन भनी छुट्याउन त्यति सजिलो भने छैन। कुनै पनि प्रशोधित खाद्य पदार्थको लेबलमा उक्त खाद्य पदार्थमा प्रयोग गरिएको रङ्गहरुको नाम उल्लेख गरिएको भएता पनि यस्ता नामहरु वैज्ञानिक नाम (scientific name) हुने वा नामको सट्टा अन्तर्राष्ट्रिय रुपमा प्रयोग गर्ने गरिएको पहिचान नं (INS Number) एवं युरोपियन युनियनले प्रयोग गर्ने “ई” (E) नम्बर उल्लेख गरिएको हुन्छ । उदाहरणका लागि एजोरुविन (Azorubine)  एक स्वीकृत खाद्य रड्ग (रातो) हो र कुनै पनि खाद्य पदार्थमा एजोरुविन (Azorubine) को प्रयोग गरिएको भए त्यस्तो खाद्य पदार्थको लेबलमा “INS122” वा “E122” भनी उल्लेख गरिएको हुने हुनाले उक्त रङ्ग के कस्तो किसिमको हो भनी सर्वसाधारण उपभोक्तालाई छुट्याउन मुस्किल हुन्छ । तर यस किसिमको दुविधाको समाधानका लागि उपभोक्ताले आफ्नो देशको सम्बन्धित नियमनकारी निकायहरुबाट अनुमती प्राप्त उत्पादनहरु मात्र उपभोग गर्न राम्रो हुन्छ । नेपालको सन्दर्भमा कुनै पनि खाद्य पदार्थ उत्पादन गरि विक्रि वितरणका लागि बजारमा ल्याउनु पूर्व नियमनकारी निकायले उद्योगले प्रयोग गर्ने कच्चा पदार्थ, खाद्य सामाग्री, खाद्य योगशील, खाद्य रङ्गहरु लगायतको सम्पूर्ण जानकारी लिई, उद्योगको स्थलगत अनुगमन निरिक्षण गरि, उत्पादित वस्तुको प्रयोगशालामा परिक्षण गरे पश्चात मात्र उत्पादन अनुमति अर्थात खाद्य अनुज्ञापत्र प्रदान गर्ने हुदाँ यस्ता खाद्य उद्योगबाट उत्पादित खाद्य पदार्थहरु मात्र उपभोक्ताले उपभोग गर्न विश्वास योग्य हुन्छन् ।

    तर लेबल नलगाईएका वा सम्बन्धित नियमनकारी निकायबाट अनुमति नलिई उत्पादन गरिएका खाद्य पदार्थहरुमा भने जथाभावि रुपामा रङ्ग प्रयोग गरिएको वा अखाद्य रङ्ग प्रयोग गरिएको हुन सक्ने हुनाले यस्ता खाद्य पदार्थ सुरक्षित छ भनी यकिन गर्न सकिन्न । तसर्थ यस्तो अवस्थामा उपभोक्ता आफैँ पनि सचेत हुनु अत्यन्त जरुरी छ ।

    नेपाली बजारमा खाद्य रङ्ग प्रयोगको अवस्था के कस्तो छ त ?

    विद्यमान नेपाली बजारलाई नियालेर हेर्ने हो भने नेपालमा ठूला उद्योग देखि लिएर सामान्य किसिमको होटल, रेष्टुरेण्ट, मिठाई पसल, सडक छेउछाउका खाद्य पदार्थ र घर-घरमा रङ्गको प्रयोग बढ्दो छ जसको प्रमुख कारण भनेको कृत्रिम रासायनिक रङ्गहरुको सस्तो मुल्य, बढ्दो र सहज उपलब्धताका साथै उपभोक्ताले वाह्य रुपमा रङ्गीन खाद्य पदार्थहरु रुचाउनु नै हो । हाम्रो बजारहरुमा सडक छेउछाउ बिक्रि हुने चटपटे, बरफका गोला, कटन क्यान्डी, पेय पदार्थ, मिठाई पसलमा पाईने जेरी, बुनिया देखि चाड पर्वमा घर-घरमा तयार गरिने सिन्के रोटी, झिलिङ्गा रोटी लगायतका खाद्य पदार्थहरुमा समेत रङ्गको प्रयोग गरेको पाईन्छ । यस्ता खाद्य पदार्थमा कुन किसिमका रङ्ग कति मात्रामा प्रयोग भएको हो भनी भन्न सकिन्न । साथै यस्ता खाद्य पदार्थमा तेलमा तार्नु पूर्व नै रङ्गको प्रयोग गर्नाले गलत विधिको अवलम्बन भएको समेत पाइन्छ । त्यसै गरि ताजा फल तरकारीमा समेत यदा कदा अप्राकृतिक अखाद्य रङ्ग प्रयोग गर्ने गरेको घटनाहरु समेत भएको पाइन्छ । केहि महिना यताको घटनालाई नै हेर्ने हो भने भारतका केहि प्रान्त र नेपालमा पनि घुमिफिरी बेचिने कटन क्यान्डी (Cotton Candy) मा मानव स्वास्थ्यमा गम्भिर असर पुर्र्याउने अखाद्य रङ्ग रोडामाइन बी (Rhodamine B)  को प्रयोग भएको प्रयोगशालाको जाँच विश्लेषणबाट खुलेको थियो ।

    नेपालमा खाद्य रङ्ग सम्बन्धी के कस्तो व्यवस्था छ त ?

    खाद्य रङ्गहरुको प्रयोग सम्बन्धी व्यवस्था खाद्य ऐन २०२३ र खाद्य नियमावली २०२७ मा गरिएको छ । नियमावलीमा खाद्य पदार्थमा प्रयोग गर्न मिल्ने एघार वटा सिन्थेटिक डाइजहरुको विवरण अनुसूची-१० मा दिईएको छ । जस्तै रातो रङ्गका लागि अमरेन्थ, पान्स्यू ४ आर, इरिथ्रिसिन, कामोइसिन (एजो रुविन), फास्टरेड ई., पंहेलो रङ्कका लागि टाट्राजिन, सनसेट एलो एफ. सी. एफ, नीलो रङ्गका लागि इन्डिगोटिन, ब्रिलिएन्ट ब्लू एफ. सी. एफ, हरियो रङ्गका लागि उल ग्रिन बी. एस र फास्ट ग्रिन एफ.सी.ए. नामका डाइजहरु प्रयोग गर्न स्वीकृत प्रदान गरिएको छ ।

    यस्ता खाद्य रङ्गहरु खानको लागि तयार खाद्य पदार्थमा प्रति किलोग्राम २०० मि.लि.ग्राममा नबढाई प्रयोग गर्नु पर्ने व्यवस्था रहेको छ । यसका अलावा यसरी प्रयोग गरिने डाइज विशुद्व हुनुका साथै पकाएर खानु पर्ने खाद्य पदार्थमा यसको प्रयोग निषेध गरिएको छ । कुनै पनि खाद्य पदार्थमा इनअर्गानिक रङ्ग र पिग्मेन्टको प्रयोग भने गर्न नपाईने व्यव्स्था नियमावलीमा रहेको छ ।

    नेपालमा खाद्य पदार्थमा रङ्गको प्रयोग सम्बन्धी कानूनी व्यवस्था भएता पनि यसको नियमन कार्य भने कठिन हुँदै गएको छ । खाद्य पदार्थको स्वच्छता, गुणस्तर मापन तथा नियन्त्रण गर्ने निकाय नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग यसको नियमनकारी निकायको रुपमा कार्य गर्ने जिम्मेवार निकाय रहेको छ ।

    विभाग र मातहतका कार्यालयहरुले रङ्ग प्रयोग गरि तयार गरिएका खाद्य पदार्थहरुको नियमित अनुगमन निरिक्षण, नमूना सङ्कलन र प्रयोगशाला विश्लेषण गरि तोकिएको मापदण्ड अनुरुप नगरेको पाएमा प्रचलित कानून बमोजिम कारवाही गर्ने कार्य समेत गरिरहेको छ तर सडक पेटी देखि घर-घरसम्म पुगेको रङ्गको जथाभावि प्रयोगलाई नियन्त्रण गर्न भने चुनौतिपूर्ण भएको छ । विशेषतः चेतनाको अभावमा उपभोक्ता वर्गले घर घरमा मापन नै नगरी पकाएर वा तारेर खाईने खाद्य पदार्थहरुमा रङ्गको प्रयोग गरिरहेको हालको अवस्था छ ।

    अन्त्यमा

    खाद्य पदार्थमा प्रयोग गरिने यस्ता अप्राकृतिक/सिन्थेटिक रङ्गहरुले आँखालाई सन्तोष प्रदान गर्ने बाहेक न त पौष्टिकता प्रदान गर्छ न त उर्जा नै, साथै उच्च तापक्रममा (पकाउने वा तेलमा तार्ने गर्नाले) कृत्रिम खाद्य रङ्गहरु प्रयोग गर्दा यिनीहरुको आफ्नो रसायनिक स्वरुप परिवर्तन भई हानिकारक तत्त्वहरुमा परिवर्तन हुन्छन् जुन कार्सिनोजेनिक (क्यानसरका कारक तत्त्व) हुन सक्छ । त्यसैले रङ्गीचङ्गी खाद्य पदार्थहरु सकेसम्म उपभोग नगर्दा नै राम्रो हुन्छ । विशेषतः स्वीकृत गरिएकै खार्नु पराई फाईदा पुग्छ । यदी रङ्गको प्रयोग गर्नै परे पनि प्राकृतिक रङ्ग जस्तै कर्क्यूमिन (वेसार), केसर, एनाटो,द्य रङ्ग भएता पनि यस्ता रङ्गहरु अतिनै कम मात्रामा (अधिकतम १० के.जी. खाद्य पदार्थमा २ ग्राम) प्रयोग गर्नु पर्ने हुनाले यसको सही मात्रा मापन गरि प्रयोग गर्न सामान्य घरेलु अवस्थामा कठीन भएकाले र तोकिएको अधिकतम सीमा भन्दा बढी मात्रामा उपभोग गर्दा मानव स्वास्थ्यमा नकारात्मक असर पर्ने हुँदा घरेलु तथा सामान्य होटल/रेष्टुरेन्ट, मीठाई पसल, भोजनालयहरुमा कृत्रिम रङ्गहरुको प्रयोग नगर्दा नै उचित हुन्छ ।्दा बढी मात्रामा उपभोग गर्दा मानव स्वास्थ्यमा नकारात्मक असर पर्ने हुँदा घरेलु तथा सामान्य होटल रेष्टुरेन यदी रङ्गको प्रयोग गर्नै परे पनि प्राकृतिक रङ्ग जस्तै कर्क्यूमिन (वेसार), केसर, एनाटो, क्यारामेलहरु प्रयोग गर्नु उत्तम हुन्छ ।

    विद्यमान अवस्थामा नियमनकारी निकायको एक्लो पहलले मात्र खाद्य पदार्थमा रङ्गको प्रयोग सम्बन्धी स्वच्छ व्यवाहार कायम गर्न सम्भव छैन यसमा उत्पादक, प्रयोगकर्ता, उपभोक्ता एवं सम्बन्धित सबैले आ-आफ्नो तर्फबाट इमान्दारी पूर्वक मापदण्डको पालन गर्नु आवश्यक छ । सबैको प्रयासबाट मात्र खाद्य पदार्थहरुमा कृत्रिम खाद्य रङ्गहरुको सहि र उचित मात्रामा प्रयोग हुन सके आम उपभोक्ताको खास गरी बालबालिकाको स्वास्थ्यमा खाद्य पदार्थहरुको उपभोगबाट पर्न सक्ने प्रतिकूल असरबाट बचाउन सकिन्छ ।

          सन्दर्भ सामग्री :

    • खाद्य ऐन २०२३
    • खाद्य नियमावली २०२७
    • “Food Ingredients and colors” by International Food Information Council (IFIC) Foundation, US Food and Drug Administration (FDA)
    • efsa.europa.eu

    मनिषा चापागाई

    खाद्य अनुसन्धान अधिकृत

    खाद्य प्रविधि तथा गुण नियन्त्रण  डिभिजन कार्यालय, धुलिखेल

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार