२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

एकदिन सिविन बालिका शान्ति गृहमा म


१६२९२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ चैत्र ११, शनिबार मा प्रकाशित १ साल अघि
  • प्रदीप सापकोटा

    हिजो लामै कुरा भयो भगवतीजीसँग । मेरो वडामा रहेको बत्तिमूनीको अध्याँरो जस्तो स्कूल जनज्योती प्रा.वि.बुढापोखरीको बारेमा । त्यहाँ ४८ जना बालबालिका अध्ययनरत छन् । अभाव र गरिवीको कुरुपतालाई सुन्दर सुमुधूर भविष्यमा वदल्न पनि तिनको शैक्षिक उन्नयन हुन जरुरी हुन्छ । केही शैक्षिक सहयोग हुँदा पनि ति कलिला मूनाहरु र तिनका अभिभावकहरुलाई राहत हुन्छ । यहि विषयमा कुरा भएको थियो । मलाई थाहा छ केही अभिभावकलाई अपवादको रुपमा छोडिदिने हो भने अधिकाँशको आर्थिक दुरावस्था नै छ । मैले उहाँलाई तथ्य पेश गरेको थिंए । त्यहि समुदायबाट प्राइमरी तहमा प्राइभेट बोर्डिङ्ग स्कूल जानेको सँख्या कटाएर अरु सामुदायिक स्कूलमा पढ्छन् । रहर त तिनको नि हुँदो हो नि आफ्ना सन्ततीलाई प्राइभेट स्कूलमा राखेर पढाउने ! तर आर्थिक कुरा बाधक बनेर आउँदोरहेछ ।

    भगवती सकारात्मक भावमा प्रस्तुत भएको पाएँ मैले । उनले सिविनको केन्द्रमा परामर्श गरेर आर्थिक अवस्था कमजोर बालबालिकाको लागि केही शैक्षिक सामाग्री सहयोग गर्न सकिने जानकारी गराइन। यसको लागि आवश्यक कागजात तयारी गर्न पनि सल्लाह दिइन । मैले अस्ति बेलुकी नै जनज्योती प्रा.वि.का अध्यक्ष विक्रम सापकोटा दाजुलाई फोन गरेर आवश्यक कागजात जुटाउन प्रधानाध्यापकसँग सम्पर्क गर्न भनें । साथै प्र.अ.विष्णु सापकोटालाई पनि फोन गरेर बेलिबिस्तार लगाएँ ।

    मंसिरको २५ गते २०७८ को शनिवार अरु काम खासै छैन् । कोठा सफा गर्न पनि अल्छि लाग्यो । धुलिखेल नगरपालिकाका मेयर अशोक ब्यान्जु श्रेष्ठसँग अपरान्ह ४ बजे धुलिखेलमा भेट्ने पूर्वनिर्धारित कार्यक्रम बाहेक अरु समय खाली नै छ मेरो । पनौतीको पस्थलीमा रहेको सिविन बालिका शान्ति गृहको अवलोकन गर्न जाने जाने भन्दा पनि कहिल्यै मौका मिलेन् वा साइत जुरेको थिएन । अव यहि कागजपत्र बुझाउने बहानामा जान पाइने भयो । मैले भगवतीजीको अनुकुलता वा प्रतिकुलताको बारेमा जानकारी लिंने प्रयास गरें । उनले केही घण्टा फुर्सद मिलाउन सकिने जानकारी दिइन । मैले उहाँलाई मेसेज गरें विहान ११ बजेतिर आइपुग्ने भनेर ।
    विहानको खाना पछि म निस्कें घरबाट । पनौतीमा १२ बर्षे मकरमेला आउँन अव ३५ दिनमात्र बाँकी छ । त्यसैले नगरपालिकाले मेलाको लागि आवश्यक पूर्वाधारहरु निर्माणको लागि युद्धस्तरमा कार्य गर्दैछ ।

    सडक,ढल,सरसफाई, पनौतीको मेला लाग्ने परिसरहरुमा रंगरोगन लगायतका कार्यहरु भैरहेका छन् । सडकवन्दै गर्दा धुलाम्मे हुनु आपत्तिको विषय थिएन मेरालागि । पनौती बजार पुँगे । पूल तरेर सुन्थानतिर हान्निएँ स्कुटीमा म । त्रिवेणी घाटबाट पारीपट्ट्तििर पनि सडक निर्माण हुँदै थियो भने मालबाहक टिपरहरुको ताँतीले सडक जाम भएको अवस्था थियो । केहीबेरमा पार भएँ म । लुभ लामाटार पनौती नमोवुद्ध सडकको यतापट्टिको खण्डको कार्य पनि भैरहेको रहेछ । वारी खोपासीका उर्वर फाँटतिर आँखा लगाएँ मैले । ओहो ! ति उर्वर फाँट त बस्तीले रित्तिन थालेछन् । घरैघर । मन कुँडियो । सुगमताको लालचमा मान्छेले सुन फल्ने उर्वर भूमि रित्यायो । नयाँ घर नै नेपालीको सपना भएको अहिलेको समयले मलाई चिमोट्छ । जीन्दगीभर दुःख गरेर कमाएको पैसाले मान्छे सुगममा एक घर बनाउने सपना पाल्छ । यस्तै छ हाम्रोतिर । मनमा अमिलोसंग बेलगाम सोच बोक्दै म अघि बढें । विग्रेको हाम्रो पर्यावरणले मेरो मनभित्रको समुन्द्रमा अशान्तको ज्वारभाटा चलाएर गयो । सुन्थानको वडा कार्यालय पार भएँ म । उकालो लाग्दै गर्दा जाममा परें । त्यहाँपनि डोजर चलाएर सडकको काम हुँदै थियो । सडकको सिंह भनिने भिमकाय टिपर तेर्सिएकोले जाम भएको रहेछ । म पनि जाममा लामबद्ध भएँ । विकास हाम्रो नि सपना यहि डोजर रहेछ क्यार ! परिवर्तन भएको छ साँच्चै नै । जाम खुल्यो म अघि बढें । सुन्थानको चाक्लो फाँट । तर यतापनि बस्ती विस्तार भएको छ । सुनेथें च्याम्ग्राङ्गबेसी र डाडाँपारीका अन्य स्थानहरुबाट बसाईं सरेर आएकाहरु धेरै छन् यहाँ । कृषिप्रधान मुलुक भनिएको हाम्रो देशका उर्वर फाँटहरु बस्तीमा परिणत भएका छन् । अनि किन नभित्रिनु छिमेकी देशहरुबाट चामलका वोरा ! तरेली परेका आँखा च्यातेर हेर्नुपर्ने खेतका फाँटहरु कता गए ? कठै ! मेरो निधार खुम्चियो । मनमनै भनें‘सुख र पायकको खोजीमा हाम्रो दिमाग यतिखेर काई परेको छ ।’

    म मुख्य सडकलाई छाडेर दाहिंने मोडिएँ । राजन सर भेट भए । उनी पनौती नगरपालिकाको शिक्षा शाखामा छन् । उनले आफ्नो घर औंलाले देखाए नजिकै रहेछ । खाना खाए नखाएको सोधे । यहि त सुन्दर पक्ष छ हामी नेपालीको । अरुको सुख सुविस्ताको ख्याल गर्ने संस्कृति । तर अब त स्वार्थको बलिवेदीमा चढ्न थालिसक्यो बाबै मान्छे ! आफ्नोपन मर्न थालिसक्यो । म राजन सरसँग विदा भएर अघि बढ्छु । सुन्तला घारी । तर सुन्तला पनि खै किन हो पहिलेजस्तो उत्पादन हुन छोडेको छ रे । सुन्तलाका बोटहरु बृद्ध उमेरका रोगी जस्ता देखिन्छन् । उपचार नपाएर रोइरहेका जस्ता देखिने सुन्तलाका बोटहरुले मलाई दुःखी बनाउँछन् । मेरो मन ढुंगा बन्न सक्दैन् नि त ! त्यही भएर खिन्न मान्दै अलिक ओरालो झर्छु । बाटो अलि अप्ठ्यारो छ स्कुटीको लागि,उवडखावड र ढूंगाका गिर्खाहरु धेरै भएको । म अलिक तलै पुगेपछि मेरो गन्तब्यको बाटो नभएको महसुस हुन्छ । घर अगाडी जुठेल्नीमा भाँडा माझिरहेकी महिला देंखे र स्कुटी रोकें ।

    ‘दिदी,सिविनको शान्ति बालिका गृह जाने बाटो कता हो ?’

    उनले थाहा नभएको बताइन । आ जे त होस भनेर अझै अगाडी झरें म । मलाई प्रष्ट भैसकेको थियो । मैले बाटो भुलेकै हो । मनले भन्यो यतैकतैबाट मूल सडक निस्कने बाटो पक्कै होला । अर्धबैश्य एक जोडी बाटोमा भेटिए । मैले त्यही प्रश्न तेस्र्यांए ।
    ‘बाबु,तपाईले बाटो भुल्नु भएछ । उताबाटै सजिलो थियो । तर केही छैन् । तपाई अलिक अगाडी गएर देब्रे मोडिनुस र अलिकति उकालो चढ्नुस । केही घरहरु आँउछन् । अनि त्यहाँबाटा दाहिने अलि अगाडी गएपछि एउटा लाँकुरीको चौतारो आउँछ त्यसपछि मुलबाट भेटिन्छ अनि दाहिने जानुहोला ।’
    ‘यो ठाउँलाई के भन्छन् नि दाई ?’ ठाउँको नाम जान्ने उत्सुकता म मा ।
    ‘खल्थली ।’
    म धन्यवाद ज्ञापन गरेर अघि बढें ।
    यतापनि विकासे काम हुँदै रहेछ । धुलाम्ये छ बाटो । ओठ फुटेर जात्रै भा’छ मेरो । यतिखेर यतातिर मध्यान्हको घामले रापिलो भएकोले गर्मी बढेको महसुस भएको छ । करिव एक किलोमिटर पर पुगेपछि सडकको दाहिनेतिर गेट देंखे । स्कुटीको गेटको आडमा अडाएँ । सुरक्षागार्ड दाजुलाई आफु भगवतीजीलाई भेट्न आएको भन्दै परिचय बताएँ । उनले अनुमति लिनुपर्ने भएकोले एकछिन कुर्न भने । उनको मोवाइलवाट फोन लगाए भित्र । सायद भगवतीलाई नै गरेका होलान् । छिर्नको लागि अनुमतिको पास आयो । मैले स्कुटी छिंराएँ । अलिक पर अर्काे एउटा मोटरसाइकल रोकेको रहेछ । त्यहिं नजिक रोकें ।

    साना साना नानीहरु फत्र्यांङ्गफुर्तुङ्ग गर्दैछन् । म केही नानीहरुबाट घेंरिए । ‘सर नमस्कार ।’ अनुशासन सिकाइएको रहेछ । मैले उनीहरुको नमस्ते फर्काएँ । ‘भगवती म्याडम कता हुनुहुन्छ ?’ बिना सम्बोधन मैले ति नानीहरुलाई सोधें। उनीहरुले अगाडीको भवन देखाए । मैले एक पटक चारैतिर नजर लगाएँ । हरियाली,फुलहरुको लस्कर,केही अग्ला रुखहरु । म ति सानी नानीले औल्याएको स्थानतिर लागें । एक मोटी बृद्धा आमा घाम तापेर बसेकी । नजिकै एकजना तन्नेरी केटा । अनि भगवती उनीहरुसँग गफिंदै । मैले नमस्कारको औपचारिकता पुरा गर्न नपाउँदै भगवतीले आत्मियताको सुगन्ध छर्दै नमस्कार गरिन्। अनि त्यहाँ भएका साना ठूला नानीहरुले पनि मलाई सर नमस्कारको आदरभाव पस्किए । म त कृतज्ञ भएँ । घाम पनि मेरो स्वागतमा अलिक बढी ताप संचार गर्दै उपस्थित भएको भान पर्यो । मैले चारैतिर आँखा डुलाएँ । साना नानीहरु निर्वाध खेली रहेछन् । यताउता विचरण गरिरहेछन् । सबै आ आफ्नै तालमा ।

    ‘प्रदीप सर,उ चाँही अभिषेक । लामो समय यहिं बसेर हुर्के बढे,पढेको हो । अहिले उ काठमाडौतिर पढ्छ । भर्खरै आएको यहाँ । अभिषेक उहाँ चाही प्रदीप सर । पनौती नगरपालिकामा कार्यरत हुनुहुन्छ । हामी पुरानो साथी ।उहाँको ठमेलमा ब्यवसाय छ । ’
    त्यो तन्नेरीसँग परिचय गराउँछिन् भगवती ।
    ‘ठमेल त म पनि पाँच बर्षजति बसेंको हुँ सर । कोभिडको कारण होटल बन्द भएर त्यता छोडियो । सरको कहाँनेर हो र ?’
    ‘नसिंङ्ग चोक नजिक । चिःवहाल थाहा छ भाई ?हो त्यहिं छ होटल डिस्कभरी इन ।’ मैले पनि आफ्नो होटलको विज्ञापन पो गरें ।
    ‘होली हिमालयमा काम गरेको हुँ सर मैले ।’ अभिषेकले आफुले काम गरको होटलको नाम बताए ।
    किचेनको दिदि आउँछिन् अभिषेकको निम्ति खाना तयारी भएको रहेछ । मलाई पनि खाना खाए नखाएको सोधनी हुन्छ । म त घरबाटै खाना खाएर निस्केको थिए । बेस्मारी गर्मी भो । त्यसैले हामी भगवतीको कार्यकक्षमा प्रवेश गर्छाैं ।
    भगवती श्रेष्ठ,मेरो धेरै पुरानो आत्मिय मित्र । सायद दुई दशक पार भैसकेको छ उनीँसँगको चिनापर्ची र त्यसपछिको मित्रता । सरल,मृदुभाषी,सहयोगीभाव र विनयशिलता उहाँका पर्याय हुन् । जहिले नि हसिँलो मोहडामा प्रस्तुत हुने उहाँको शैलीको फ्यान हुँ म । उनको मुहारमा मैले कहिल्यै पनि तुँवालोले बास गरेको देखेको छुइन । जीवनका बैशालु उमेरहरु सबै सिविनमा बालबालिकाहरुसँग ब्यतित गरेकी भगवतीसँग मलाई भलाकुसारी गर्न असाध्यै रहर जाग्छ । तिनको जीवनका प्रत्येक पलहरु त्यस्तै बालबालिकाहरुसँग रहेर जीबनभित्र बयले उकाली चढेको देख्छु म । उनको ब्यस्तता देखेर पनि म छक्क पर्छु जहिल्यै ब्यस्त । प्रायः कुराकानी हुँदा लामै गफिन्छौं हामी । सिविन र भगवती एक अर्काका पर्याय र पहिचान बनेका छन् । दयालु भाव र स्नेहमा सदैव बाँचेकी भगवतीको आशावादी जीवनदृष्टि पाउँछु म । जतिसुकै बिप्ल्याँटा परिस्थितिहरुमा पनि सकारात्मक भावका साथ प्रस्तुत हुनसक्ने विशेषता भेट्छु उनमा । लाग्छ उनी खुला किताव बनेर प्रस्तुत भएकी छन् मसँग । मैले पनि मेरा सारा कुराहरु उनलाई सेयरिङ्ग गरेको छु । यस्तैगरी अघि पार भएको छ हाम्रो मित्रताको जंघार । थाहा छैन् अझै कति जंघार आउँछन् !
    म भित्तातिर आँखा लगाउँछु । विभिन्न चित्रकारिता पोखिएका छन् त्यहाँ । बालबालिकाका विभिन्न मुद्रा र भावभंगीका चित्रहरु । चार्ट छ सायद बालबालिका सम्बन्धि होला । कुनामा दैनिक अखवारको चाँङ छ । कम्प्यूटर,प्रिन्टर,दराज यस्तै यस्तै । तर शान्त छ कोठा ।

    ‘प्रदीप सर,पानी लिनुहुन्छ ? चिया,कफी ? खाना पनि नखाइ खाएको भनेको होला ?’ भगवतीको यस्तै प्रश्नहरुले घेरिंए म ।
    मैले घरमै खाना खाएर आएको । अहिले केही नपिउने बताएँ ।
    अनि हामीले धेरैबेर पनौती,नेपाली राजनीति,व्यक्तिगत लगायतका विषयमा कुराकानी गरेउँ । यत्तिक्कैमा एक जना महानुभाव नमस्ते भन्दै प्रवेश गरे । सरसंग परिचय गर्नुहोस है भन्दै भगवती एकछिन् हामीवाट ओझेल परिन ।
    ‘मेरो नाम राम भण्डारी । म सिविनको संगीत शिक्षक हुँ । काठमाडौ बस्छु । पूर्व झापा हो मेरो घर । हप्ताको एकदिन यहाँ आउँछु नानीहरुलाई संगीत सिकाउँछु । अनि उता टौखालको सिविन व्बाइज होस्टेलमा पनि सिकाउँछु ।’ सर्सर्ती आफुलाई पस्किए राम सरले ।
    मैले पनि आफ्नो परिचय दिंए । भगवती आइन । राम सर कक्षातिर लागे । फेरी हामी गफियौं । मैले जनज्योती स्कुलको कागजात वुझाएँ । उनले विद्यालयको युनिफर्मको नमूना माग्न भनिन । मैले प्रधानाध्यापकको मोवाइल नम्बर दिएँ ।

    करिव साँढे १६ रोपनी जग्गामा फैलिएको सिविनको यो बालिका शान्ति गृहमा सातवटा भवन रहेछन् । यो शान्ति गृहले आफ्नो दुई दशक पार गरिसकेको रहेछ । सन् २००२ मा स्थापित जोखिममा परेका बालिकाहरुको लागि आवधिक गृहको रुपमा रहेको रहेछ । वालिकाहरुको संरक्षण,सामाजिकिकरण, शसक्तिकरण तथा पारिवारिक पूर्नमिलन मुख्य विषय रहेछ । यसले बालिकाको अधिकार सुनिश्चितताको लागि जीवन उपयोगी सीप सम्बन्धी तालिम,बाल अधिकार सम्बन्धि तालिमहरु सञ्चालन गर्दै आएको रहेछ । विपदको वेलामा पनि यसले सहयोग प्रदान गरेको,नगरपालिका र वडा कार्यालयहरुसँग मिलेर बाल अधिकारको क्षेत्रमा विभिन्न कार्य गर्ने गरेको भगवतीले जानकारी दिइन । यससँगै यसले पनौती नगरपालिकाका विभिन्न विद्यालय तथा विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु सहयोग गर्ने गरेको पनि रहेछ ।

    ‘अहिले कति जना बालिकाहरु छन् यहाँ ?’ मैले जिज्ञासा राखें ।
    ‘यहाँको क्षमता ६० जनाको हो । घटबढ भैरहन्छ ।’
    ‘कति कति उमेर समूहका बालिकाहरु छन् त यहाँ अहिले ?’ म मा अझै उत्सुकता बढ्यो ।
    ‘सबैभन्दा सानो नानी यहि हो ।’उनले उनको नजिकैको कुर्सीमा बसिरहेकी एक निर्दाेष चकचक गरिरहेकी सानी बालिकातिर देखाउँदै भनिन्। ‘अहिलेकी कान्छी छोरी यहि हो । है छोरी?’मायाले बालिकालाई सुम्सुम्याउँदै मुस्कुराँउछिन् भगवती । ‘अहिले ४ बर्षदेखि १८ बर्षसम्मका बालिका छन् यहाँ ।’ उनले मेरो जिज्ञासा शान्त पारिन । त्यो अवोध बालिका हाम्रै वरिपरि चकचक गर्दैछे । मलाई पनि त्यही उमेरमा फर्कन मन लाग्यो । तर मन लागेर के गर्नु ! सम्भव छैन् पो ! एकजना बृद्धा आमा पनि बस्नु हुँदोरहेछ त्यहाँ । उहाँ ओहोरदोहोर गरिरहनु भएको थियो ।
    यसवीचमा भगवती आफैंले दुध हालेको कफी दुईकप बनाएर ल्याइन । स्वादिलो कफीको सुरुपसँगै हामी गफिएकै छौं । कतिपय ब्यक्तिगत पनि कुराकानी भए । म हेर्छु भगवतीको मुहार स्वयम्भूका शान्त र स्निग्ध जस्ता देखिन्छन् आँखा पनि । कर्तब्यको पदचापमा हिडिरहेकी एउटी नारी ।

    म भगवतीसँग विदा मागेर निस्कन खोज्दै गर्दा एउटी दिदिले कालो चिया ल्याउनु भयो । फेरी बसें चिया पिउँदै ।
    उनी एकछिन अल्मलिन,म पनि मौन बसें । मेरा आँखा टोलाएर उनलाई एकनास हेर्दै थिए । उनी पनि मलाई हेर्दैथिइन् । उनी दुई बीस आधा भन्दा बढी लागिसकिन । तर मैले पहिले भेटेकी भगवती जस्तै छिन् अहिले पनि । जहिले पनि शान्त र गम्भीर मुखाकृतिमा देखिन्छिन् । मैले विवाहको कुरा धेरै पटक गरें । तर तैले के पाइस विवाह गरेर भन्ने उनको जहिल्यै उत्तर आउथ्यो । पुराना स्मृतिका केही पलहरु सम्झाँए मैले ।
    ‘तपाईलाई सबै थाहा छ हगी । मैले त सब भुलिसकें ।’
    मेरो स्मरणको जवाफ उनिवाट यस्तो आयो ।

    भावुकता भन्दा पर जिम्मेवार जिन्दगी बाँचेकी भगवती ⁄ कुनै प्रसिद्ध र पवित्र तिर्थाटन भन्दा पनि माथिको तिर्थयात्रा गरिसकेकी तिर्थयात्री भगवती ⁄ उज्याली भगवतीको पवित्र आत्मियताको आडमा अडेस लागेर फेरी कुराकानीको श्रृंखला शुरु भयो । केही बाल अधिकारका कुरा,केही जिन्दगीका कुरा अनि अलिकति आफन्तहरुका बढीरहे । उनका र मेरा केही कुराहरु मिल्छन् । देखेको कुरा प्रष्ट वोल्ने,नवाँङ्गिने,व्यक्तिगत स्वार्थको लागि चाकरी नगर्ने,कसैसँग चिप्लो घस्न वा कसैको पाउ मोल्न नदुगर्ने यहि हो हाम्रा मिल्ने कुरा । अनि भगवती पनि म जत्तिकै खुला स्वभावकी छिन् । यस्तैमा उनको फोन आउँछ । मुहार अलिक नियाउरो पार्छिन् । आँखा रसिला प्रष्टै देख्छु म । जिज्ञासा मेटाइन उनले उनकी साथी जीवनको अन्तिम अवस्थामा सिभिल अस्पताल,बानेश्वरमा मृत्यूसँग लड्दै रहिछन् ।उनको कुराले मलाई पनि दुःखी बनायो । के गर्ने अरु त विकल्प नि थिएन ।मलाई अझै धेरै बस्न मन थियो । तर समयले चिप्लिएको संकेत गर्दै थियो ।मैले निस्किन जुत्ताको तुना कसें ।उनले खाजा खाएर जान गरेको आग्रह मानिन । म अर्काे दिन धेरैबेर बस्ने गरी आउने उधारो सम्झौता गरेर निस्के । उनी वाहिरसम्म आएर विदाइको बेला निन्याउरो मुहार लगाइन,जस्तै अस्ताउँदो घाम मधुरो हुन्छ । मैले विदाइका हात हल्लाएँ र बाहिरिएँ ।।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार