२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

हामी जनप्रतीनिधिहरु राजनीतिक पार्टी होईनौ, रोशि दलको रुपमा अगाडि बढेका छौं


४१३० पाठक संख्या

डि.वि (मोक्तान) लामा अध्यक्ष रोशि गाउंपालिका काभे्रपलाञ्चोक जिल्लाको साविक कटुन्जे गाउँ पञ्चायत वडा नं ५

  • नवसंकेत अनलाईन
  • २०७५ मंसिर २२, शनिबार मा प्रकाशित ५ साल अघि
  • डि.वि (मोक्तान) लामा
    अध्यक्ष
    रोशि गाउंपालिका

    काभे्रपलाञ्चोक जिल्लाको साविक कटुन्जे गाउँ पञ्चायत वडा नं ५ (हाल रोशि गाउंपालिका) चिप्ले भन्ने, कृषि एवं पर्यटनको लागि प्रचुर सम्भावना रहेको रमणिय स्थानमा पिता देवसिंङ लामा तथा माता चन्द्र कुमारी लामाको कोखबाट २०३१ साल भदौ १० गते जन्मनु भएका डि.वि लामा बाल्य कालबाटै आफ्नो आमाको इच्छा अनुसार समाज सेवामा समर्पित हुदै निरन्तर रुपमा अगाडि बढ्दै आउनु भयो ।
    हालको रोशि माविबाट कखरा सिक्दै, श्रीकृष्ण माध्यमिक विद्यालय दाप्चाबाट एस.एल.सि उतिर्ण गरी काठमाडौमा बस्दै आफ्नो अध्ययनलाई निरन्तरता दिदै जाने क्रममा २०५३ सालबाट सक्रिय ढंगबाट राजनीति साथै व्यवसायलाई संगसंगै अगाडी बढाउदै आउनु भएका लामा हाल रोशि गाउंपालिकाको अध्यक्षको पद सम्हाल्दै आउनु भएको छ । नेपाली कांगे्रस पार्टीको महांदिवेशन प्रतीनिधिको हैसियतले पार्टीमा समेत निरन्तर कार्य गर्दै आउनु भएका लामासंग गाउंपालिकाले हालसम्म गरेको कार्य साथै दिर्घकालिन योजनाको बारेमा ईश्वरी राजकुमार मैनालीले गरेको कुरा कानी अंश…।

    तपाइलार्ई सफल व्यवसायी भनेर भन्ने गरेको सुनिन्थ्यो, तर हाल आएर सक्रिय राजनीतिमा सहभागि भै रोशि गाउंपालिकाको अध्यक्षको जिम्मेवारी सम्हाल्दै आउनु भएको छ , तपाईलाई राजनीतिमा आउने पे्ररणा कहांबाट मिल्यो ?

    मैले एस.एल.सि पास गरेपछि काठमाडौ बसे त्यतिखेर अध्ययन, व्यवसाय र सक्रिय ढंगबाट राजनीति समेत गरे । मैले राजनीतिमा प्रवेश गर्ने प्रमुख कारण मेरो आमा, बुवा र मामाको प्रेरणाले गर्दा हो । मेरो आमाले मलाई सानै देखी समाजको सेवा गर्न सिकाउनु हुन्थ्यो, अनि मेरो बुवा देवसिंङ लामा कटुन्जेमा तीन पटक प्रधानपञ्च भएर स्थानियको सेवा गर्नु भएको थियो अनि मेरो मामा चमारसिं लामाले जिल्ला पञ्चायतको जिम्मेवारी सम्हाल्नु भएको थियो । उहांहरुले मलाई सानैमा भन्ने गर्नु हुन्थ्यो मानिस भएर जन्मिएपछि पेट भर्ने र कमाउने मात्र काम गरेर हुंदैन, त्यस्तो त जस्ले पनि गर्छ । वास्तबमा मानिसको काम भनेको समाजको हित हुने कार्यमा लागि रहनु हो । मैले ति शब्दहरुलाई स्मरण गर्दै समाजसेवाको प्रमुख मार्ग राजनीति हो भन्ने लागेर अगाडी बढें ।

    रोशि गाउंपालिकाको अध्यक्षमा निर्वाचित भई गाउंको बिकास गर्ने मौका पाउनु भएकोमा कति सन्तुष्ट हुनुहुन्छ ?

    पहिलो कुरा रोशि गाउंपालिका भित्रका स्थानियको मन जित्न पाएकोमा धेरै खुसि छु उहांहरुलाई धन्यवाद दिन चाहन्छु । जुन दिन निर्वाचनबाट मैले विजय हासिल गरे सो दिनदेखि म खुसि भन्दा पनि गम्भिर भएको छु । किनकि जसरी मलाई रोशिका स्थानियले माया गरेर साथ दिनु भयो सो म माथी भएको विश्वसलाई मैले तोड्न नपरोस, भुल्न नपरोस र म निर्वाचनमा विजय हासिल गर्दैमा खुसि भइ हाल्नुपर्ने कारण त्यति छैन । म जुन दिन खुसि हुन्छु रोशि गाउंपालिकाका सम्पुर्ण स्थानियलाई मैले हंसाउन सक्छु त्यो दिन म पनि खुसि हुने छु । त्यसैले म जिम्मेवारी बोध गर्दै अगाडी बढ्दै छु, खुसिनै ठ्याक्कै साट्ने वेला त भएको छैन यदि मेरो कार्यकालमा गाउंपालिकाका सवै स्थानियको चाहना अनुसारको कार्य गर्दै उहांहरु खुसि हुनु भो भने मैले निर्वाचन जितेकोमा म पनि अवस्य खुसि हुन्छु ।

    तपाईले गाउंपालिकाको स्थानियहरुलाई खुसिका साह हंसाउन के—कस्तो नयाँ ढंगको योजना ल्याउनु भएको छ ?

    गाउंपालिकाको हितको लागि कार्य गर्ने तयारी गर्दै छु । स्थानिय तहको जिम्मेवारी सम्हालेको पहिलो बर्ष प्रतीनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमै अलमल भयो । रोशि गांउंपालिकामा पालिकाको कार्यालय साथै वडा कार्यलयहरु समेत थिएन । पहिलो बर्ष जनप्रतीनिधि तथा कर्मचारीहरु बस्ने ठाउको व्यवस्था गरेउ । केही समय नीति तथा नीयमका बिषयमा अन्योलले गर्दा अलमलमा केही समय खेरगयो । अन्योलहरु हट्दै स्प्रस्ट भएपछि अगाडी बढ्ने जमर्को गरियो । रोशिका स्थानियको चाहनालाई मध्यनजर राख्दै योजना निर्माण गर्ने कार्य सुरु गरेउ । जसमा सडक, पानी, स्वास्थ्य, शिक्षालाई पहिलो प्राथमिकतामा राख्दै अगाडी बढ्ने काम भयो । पहिलो बर्ष सुरु गरेको कार्यहरुलाई निरन्तरता दिदै अगाडी बढ्ने काम भएको छ ।

    गाउंपालिकाको यति धेरै योजनाहरु सफल गर्न माथिल्लो तहबाट सरकारले विनियोजन गरेको बजेटले नपुग्दा बिकल्पको खोजी गर्नु भएको छ ?

    कुनै पनि विकास निर्माणको कार्य गर्न जति भएपनि पुग्दैन, पहिलो कुरो हामीले वनाउने योजनामा चुक्नु भएन, त्यसपछि माथिबाट आएको बजेट भन्दा पनि आफैले विकास निर्माणको कार्य धेरै सम्पन्न पार्न आन्तरिक खर्चलाई सन्तुलन मिलाएर जे छ त्यसैलाई राम्रोसंग व्यवस्थित गरेर गाउंपालिकाको स्तर उकास्न र उन्नतिको लागी राम्रो योजना चाहियो, योजना भएपछि वजेटको समस्यानै हुंदैन । सरकारले केन्द्रिय तहबाट दिएको वजेटले कहिले धनि हुने रोशि ? हाम्रो रोशिको चाहना भनेको आफैले श्रम गर्ने र धेरै बिकास साथै आर्थिक उन्नती गर्ने हो । केन्द्रको मुख ताक्ने कार्यलेमात्रै रोशिको विकास हुंदैन रोशि आफै सक्षम भएर अवको ३÷४ बर्षबाट रोशिले केन्द्रसंग लिने भन्दा पनि केन्द्रलाई र प्रदेश सरकारलाई दिने ढंगको योजना अगाडी बढाएका छौं ।

    रोशिले यहि हर प्रकारको उत्पादनलाई आर्थिक उन्नतिको साथमा विकास निर्माण गर्ने लक्ष लिएका छौं । यो गाउंपालिका कृषि , पर्यटनको समेत संभावना रहेको गाउंपालिका भएकोले कृषिलाई आधुनिकिकरण गरेर कृषि क्षेत्रलाई अगाडी बढाएका छौं भने पर्यटकलाई आकर्षण गर्नको लागि भिमखोरी घ्याङलेख देखी तारा खसेउली लेख सम्म पर्यटक पदमार्गको लागि अध्ययनको कार्य सुरु भएको छ । रोशिमा भित्रि पर्यटन आकर्षणको लागि (रोशिमा पर्ने वि.पि राजमार्ग २२ किलोमिटर) रोशिखोलालाई जलाधार संरक्षण गरेर अगाडि बढ्ने लक्ष लिएका छौं । त्यसैले अबको केही बर्षमा रोशि गाउंपालिकाले आफैले उत्पादन गरेर अगाडी बढ्ने छौं । हाल केन्द्रिय सरकारबाट पाएको रकम साथै नीति नियमलाई अक्षरस पालना गर्दै अगाडी बड्ने क्रममा जे जति उपलब्ध भएको छ त्यसमा असन्तुष्ट छैनौ ।

    तपाईले गाउंपालिकाको जिम्मेवारी सम्हालेपछि के कती विकास निर्माणको कार्यहरु सम्पन्न गर्नुभयो ?

    हामीले निर्वाचनको समयमा जे जति बाचाहरु गरेका थियौं सोही अनुसार अगाडी बढेका छौं । रोशिमा सवैभन्दा बडी आवस्यक भनेको सडक हो, सोही कुरालाई प्राथमिकतामा राख्न स्थानियको सुझाव थियो । त्यसैले मेरो कार्यकालमा करिव रोशिको सवै वडाहरुमा सडक पुगी सकेको छ, खानेपानीको व्यवस्था गर्ने क्रम तिब्र गतिले अगाडी बढेको छ , १२ वटै वडाहरुमा स्वास्थ्य चौकीहरुको व्यवस्था भइ सकेको छ, शैक्षिक सुधारको वारेमा पनि अगाडी बढ्दै छौं । रोशिलाई समुन्नत रोशि बनाउनको लागि स्थानियहरुले घरमै वसेर श्रम गर्न चाहनेले महिनामा ३० देखी ५० हजार सम्म कसरी कमाई हुन सक्छ भन्ने बिषयमा समेत बाटो खोज्ने क्रम जारी छ ।

    रोशि गाउंपालिकामा तत्काल समस्याहरु केही रहेको छ ?

    यस गाउंपालिकामा त्यस्तो ठुलो समस्या खासै छैन, यस गाउंपालिका सिंगो नेपाल देश जस्तै हरेक जाती, हरेक भाषी र हरेक धर्मले नेतृत्व गरेको गाउंपालिका हो । १२ वटा वडाबाट सवै राजनीतिक पार्टीका नेतृत्वहरु रहनु भएको छ कार्यपालिकामा । हामी सवैले प्रण गरेका छौं कि राजनीतिक पार्टी होइन रोशिदल भएर अगाडी बढ्नु पर्छ । आउने हाम्रो कार्यकाल समाप्तिको समय सम्म गाउंपालीकामा रहेका जनप्रतिनिधहरु कुनै दलका होईन्, हो त रोशि दल मात्रै, भन्ने प्रण गरेर एक ढिक्काका साथ अगाडी बढेका छौं । त्यसैले गर्दा कार्यपालीकामा कुनै समस्या छैन ।

    सामान्य रुपमा रहेको समस्या भनेको सिमित स्रोत साधन, जनताको अपेक्षीत चाहना पुर्ण गर्न सकेको छैन । सिंहदरवार गाउंमा आएको भन्ने भनाई छ , गाउंपालिकाको अध्यक्षलाई भन्ने वित्तिकै सवै प्रकारको समस्या समाधान भइहाल्छ भन्ने सोच छ स्थानियमा । तर कार्यान्वयनको सवालमा कर्मचारी पनि पुर्ण हुनु पर्छ त्यसको पनि समस्या नै रहेको छ । आजको दिनसम्म पनि शिक्षा अधिकृत पाएको अवस्था छैन । मुल कुरो भनेको समाजलाई सकारात्मक सोचमा परिवर्तन गर्ने लक्ष लिएका छौं । सो सकारात्मक सोचमा बिकास गर्नको लागि पहिलो शिक्षा हो । जुन कुरालाई अगाडी बढाउनु पर्ने थियो तर आजसम्म शिक्षा अधिकृत पाएको छैन । जसले गर्दा शैक्षिक नीति बनाउन पाएका छैनौ हाम्रो समस्या भनेकै त्यही हो अरु कुनैपनि समस्या छैन ।

    विकास निर्माणको लागि दिर्घकालिन योजनाहरु के कस्ता रहेका छन् ?

    मैले अगाडी पनि भनिसकेको छु , रोशि गाउंपालिका एउटा काभे्र जिल्ला भरिको पाँचखाल र पनौती पछिको अर्को गाउंपालिकाको रुपमा रहेको रोशि गाउंपालिका , यहां गिटि बालुवा उत्पादन हुन्छ । सोही ढंगबाट रोशिलाई हेर्ने गरेको छ , तर हामीले आफ्नो पालिकामा भएका संरचनाहरु वेचेर रोशि धनी हुनु छैन, यसको विकल्पमा आफैमा कसरी अगाडी बढ्ने र गुरु योजनाहरु छान्ने भन्ने सवालमा अगाडी बढेका छौं । रोशिलाई जलाधार संरक्षण गरेर आकर्शक रोशिखोला बनाएर छेउछाउमा बांधहरु निर्माण गरी पुर्व मेची देखी पश्चिम महांकाली सम्मको यात्रामा निस्केका यात्रुहरुले भरपुर्ण मनोरञ्जन गर्ने वातावरण निर्माण गर्दै आन्तरिक पर्यटकको बिकास गर्ने लक्ष (गुरु योजना) लिएका छौं । विज्ञहरुसंग पनि रोशिमा रहेको अन्य विकल्पहरुका बारेमा पनि अनुसन्धान गर्ने कार्य जारी राखेका छौं । यहाँ जडिबुटी , चिया बगानको समेत संभावना रहेको पाएका छौं । धेरै भन्दा धेरै गुरुयोजनाहरु तयार गर्ने जमर्कोमा रहेका छौं ।

    पछिल्लो समयमा आएर स्थानिय तहमा कर बृद्धिको बिषयमा व्यापक बिरोध आएको छ, तपाईको पालिकामा विवाद आएको छ की छैन ?

    हो कतै कतै विरोध भएको सुन्नमा आएको छ, तर म एउटा सामाजिक संजालको प्रसंग जोड्न चाहें, एउटा वडा अध्यक्षले वडाको लेटरप्याडमा यो—यो बिर्षकको कर फ्रि, वडाध्यक्ष फलानो लेखेको पायं । त्यस्तो स्टाटर्स देखेर मलाई हांस उठ्थ्यो , किनभने म एउटा कार्यपालीका संञ्चालन गरेको मान्छे, कर घटाउने वा वढाउने नगरप्रमुख,गाउंप्रमुख साथै वडा अध्यक्षलाई अधिकार नै छैन । सो अधिकार भनेको सिंङ्गो गाउंसभालाई रहन्छ तर त्यो एउटा वडाध्यक्षले कसरी अधिकार पाए ? रोशिको करको सवालमा भन्नुपर्दा कर कस्ले तिर्ने जनताले हो, के आफ्नो ठाउ बनाउन सधै मागेर हुन्छ ? जनताको दायित्व के त, केही पनि नतिर्ने सवै सेवा सुबिधाहरु सित्तैमा व्यवस्था गर भन्ने कुरा मिल्दो बिषय हैन ।

    रोशिको सवालमा भन्नु पर्दा यहाँ कुनै पनि प्रकारको कर छुट छैन । पहिलाको कानुनको अनुसार जन्म दर्ता, मृत्यु दर्ता लगायतका व्यत्तिगत घटना समय भित्र दर्ता गराएमा निःशुल्क । समय भित्र दर्ता नगराएमा १ सय रुपैया लिन्छौं । कृषकको सवालमा केही करहरु लगाउने योजना गरेका थियौं । जुन अन्य स्थानिय तहलाई समेत मध्य नजर राखेका थियौं तर हामीले छलफल गरी अन्यत्रको तुलनामा करको भारी नबोकाउने भन्दै कार्यपालिकाको बैठकबाट ५० प्रतिशत कम निर्धारण गरेका छौं । रोशि गाउंपालिका भित्र ६—७ वटा क्रसर व्यवसायहरु छन् ति क्रसर व्यवसायीहरुमा भ्याट छलीका धेरै प्रमाणहरु भेटाएर उहाँहरुसंग केही समन्वय पनि गरेका छौं । जुन भ्याट छल्न खोज्नेलदाई कुनै हालतमा नछोड्ने तर खेति किसान गर्नेलाई ५० प्रतिशत घटाउने भनेर निर्णय गरेका हौं । रोशिले जनतालाई कर तिर्न सक्ने क्षमतावान बनाएर कर अशुलि गर्ने हाम्रो लक्ष हो ।

    तरकारी तथा फलफुलको लागि धेरै संभावना रहेको यो गाउंपालिकामा कृषिमा के कस्तो योजना ल्याउनु भएको छ ?

    यो गाउंपालिका कृषिमा धेरै संभावन भएको गाउंपालिका हो , कृषि भित्र फलफुल तथा तरकारीहरु पनि पर्दछ । हामीले प्रत्तेक बर्ष फलफुका बिरुवाहरु वितरण गर्ने गरेका छौं । जसरी हामीले केराको डेमो फर्म बनाएर परिक्षण सुरु गरेका छौं । कृषकहरुलाई कसरी अगाडी बढउन सकिन्छ भनेर आकर्षक प्याकेजहरु तयारी गर्दै र्छौ । थोरै समस्या भनेको बजारीकरणको रहेको छ । यहाँको भुभाग अलि फरक ढंगको भएकोले समस्या भएको हो । कृषकले सहि मुल्य नपाउने कुरा साँचो हो, हुनत हामीले प्रत्तेक वडामा कृषि संकलन केन्द्र पनि खडा गरेका छौं । बिचौलीयाले धेरै नाफा पाउने र कृषकले सहि मुल्य नपाउने कारणहरु सुन्नमा आएको छ । त्यसैले गर्दा अव कसरि कृषकहरुले सहि मुल्य पाउनको लागि नजिकको बनेपा शहर वा कालिमाटि फलफु तथातरकारी संकलन केन्द्रसंग समन्वय गरेर हप्ताको १ या २ दिन हाट बजारको व्यवस्था गर्दा या अन्य कुन तरीकाले हुन्छ कृषकले सहि दामा पाउने वातावरण तयार गछौं ।

    मुलुक भरकै स्थानिय तहमा कर्मचारीको अभाव भन्ने सुनिन्छ, रोशिमा कर्मचारीको अवस्था कस्तो रहेको छ ?

    करिव करिव यहांपनि कर्मचारी त नपुगेकै हो, कर्मचारी स्थानिय तहमा जान नमान्नुको कारण सुरुसुरुमा सवैले सिंहदरवार गाउंमै गयो, त्यहां सिंहहरु छन् भनेर जान गाह्रो मानेको हो । सुरुसुरुमा काहि काम नलाग्ने ढंगको कर्मचारी मात्रै यहाँ (रोशिमा) पठाईन्थ्यो । तर मैले जस्तो कर्मचारी पठाएपनि सहज ढंगबाट स्वीकार्दै अगाडी बढे । वास्तवमा भन्नु पर्दा कर्मचारी भन्दा म ठुलो होईन । कर्मचारीलाई मार्ग निर्देस गर्ने अधिकार केही समयलाई मैले जनताबाट पाएको मात्रै हो । कर्मचारी भनेको देशलाई वनाउछु भन्दै (राष्ट्रसेवा) अगाडी बढ्नु भएको छ । सोही बिषयलाई कहिले काँही मैले सम्झाउने मात्र मेरो काम हो । तर पछिल्लो समयमा आएर रोशि गाउंपालिकामा आउनको लागि कर्मचारीहरु सारै खुसिहुनेगरेको मैले पाएको छु । केहि दिन अगाडि मात्रै जिल्ला समन्वय समितिका अधिकारी कोमल धमला सरले भन्नु हुन्थ्यो कर्मचारहिरुलाई कुन ठाउंमा जाने भनेर सोध्दा रोशि नै रोज्ने गरेका छन ।

    अन्तमा पछिल्लो समयमा भएको मुलुकको राजनीति अवस्थाको बारेमा केही वताई दिनोस न ।

    बडो कठिन प्रस्न उठाउनु भयो, साच्चिकै म मुलुकको एउटा जिम्मेवार नागरिक साथै राजनीतिक कर्मीको हैसियतले भन्नु पर्दा साच्चिकै राष्ट्र र जनताको लागि नेताहरुले राजनीति गर्ने नेताहरु जवसम्म यो देशमा पैदा हुंदैन तवसम्म मुलुकको अवस्था अलि कमजोर नै हुन्छ । किनकि कुनैपनि कुरा हामी पार्टीको साथीले भनेमा ठिक हुने , विपक्षले भनेमा सो कुरा गलत भन्ने परिपार्टी नै सवैभन्दा खराव हो । यस्तो खाले प्रबिधि तत्काल हट्नु पर्छ म आफैले भोग्दै गरेको कुरा म एउटा पार्टीबाट नेतृत्व गर्दै गय संघिय सांम्सद र प्रदेश सांसद अर्को पार्टीको हुनुहुन्छ, उहांहरुले हामीलाई हेर्ने दृष्टिकोण नै सोताको छोरो जसरी हेर्नु हुन्छ । मेरो गाउंपालिका भित्र हेर्नोस १२ वटा वडा अध्यक्षहरु एउटै पार्टीको हुनुहुन्न फरक फरक पार्टीको हुनुहुन्छ तर म उहांहरुलाई त्यो आभास हुन दिन्न । समान रुपले उहांहरुलाई सम्मान गर्छु । गाउंपालिकाको कार्य गर्ने बिषयमा कुनै पार्टी छैन , पार्टीको काममा जाँदा मात्र पार्टी हुने हो । जस्तो कि कुनै पनि मंदिरमा जाँदा जुक्ता बाहिरै फुकालेर जानु पर्छ त्यस्तै पालिकामा बसेर निर्णय गर्दा बिचारलाई वाहीर राखेर आउन जरुरी रहन्छ ।

    मुलुकको अवस्था राम्रो हुनको लागि आफ्नो पार्टी र व्यक्तित्वको लागि नभईकन मुलुकको नेतृत्व गर्ने राजनैतिक पार्टीहरुले मुलुकको हितको लागि कार्य गरेमा मुलुकको भविश्य सुन्दर छ , यसरी ऐले जो जसरि चलेको छ पार्टीको प्रधानमन्त्री हुने, पार्टीको गाउंपालिकाको अध्यक्ष हुने, पार्टीको वडाध्यक्ष हुने हो र सोही प्रचलन चल्दै जाने हो भने मुलुकको भविश्य त्यति राम्रो देख्दिन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार