२०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024

जनताको भावनालाई सम्बोधन गर्न नसक्ने जनप्रतिनिधि हैन‚ कर्मचारीहरूले पेज किलाको रुपमा भूमिका निर्वाह गरेको छ


१३०५३ पाठक संख्या
  • २०८० श्रावण ९, मंगलबार मा प्रकाशित ९ महिना अघि
  • कर्मचारी भनेको थाइ सरकार रूप हो‚ जनताको भावनालाई सम्बोधन गर्न नसक्ने जनप्रतिनिधि हैन‚ कर्मचारीहरूले पेज किलाको रुपमा भूमिका निर्वाह गरेको छ‚ जनप्रतिनिधि आउजाउ गर्दा तामझाम गर्न जरुरी छैन

     

    — दलमान थोकर (डि.एम)

    बुबा माइला तमाङ तथा आमा धनकुमारी तमाङ ( साईली ) को कोखबाट काभ्रेको ऐतिहासिक एवं चर्चित स्थानको रुपमा परिचित तेमाल गाउँपालिका वडा नं ९ मेच्छे मा २०३८ साल फागुन ५ गते जन्मनु भएका दल मान थोकर ( तमाङ ) प्रस्ट वक्ता निडर ‚ अध्ययन‚ अनुसन्धान साथै सामाजिक कार्यमा रुचि राख्ने स्वभावको व्यक्ति हुनुहुन्छ ।

    मेच्छे मा रहेको —श्री कुशेश्वर विद्यापिठ मा.वि. बाट एस.एल.सि उत्रिर्ण गरी आफ्नो अध्ययनलाई निरन्तर अगाडि बढाउने क्रममा स्नातकोत्तर ‚ एल.एल.बी.सम्मको अध्ययन गर्नुभएका थोकरले आफ्नो अध्ययनकै क्रममा २०५८ सालबाट तेमालमा सडक‚ पिउने पानी ‚ विद्युतिकरण ‚ स्वास्थ्य र शिक्षाको विकासको लागि राजनीति अनिवार्य महसुस गर्दै राजनीति यात्रामा डोहोरिनु भयो ।

    अखिल क्रान्तिकारी इकाई बाट राजनीतिको सुरुवात गर्नुभएका थोकर लाई पहिलो गाँसमै दर्शन ढुंगो सावित भए जस्तै गरी राजनीति सुरुवातमै प्रहरीले धरपकड गरि यातना दिदै १८ महिना कस्टडीमै बस्न विवश भए । जेलमा बस्दाको पीडालाई शक्तिमा परिणत गर्दै आफ्नो लक्ष्यलाई पुरा गरिछाड्ने दृड संकल्प गर्दै अध्ययनका साथमा राजनीतिलाई पनि अगाडि बढाउँदै गर्दा अखिल क्रान्तिकारी इकाई सचिव हुँदै जिल्ला अध्यक्ष केन्द्रिय सदस्य समेतको जिम्मेवारी सम्हाल्नु भएको थियो ।
    मुलुकमा आमूल परिवर्तनको साथै तेमाmको मुहार फेर्ने अठोटका साथ नेकपा माओवादी केन्द्रको विभिन्न तहमा बसेर काम गर्दै जाँदा हाल माओवादी केन्द्र बागमती प्रदेश सचिवालय सदस्य समेतको जिम्मेवारी साथै तेमाल गाउँपालिका उपाध्यक्ष समेत रहनुभएका थोकरसंग सम्पादक ईश्वरी राजकुमार मैनालीले गरेको कुराकानी अंश ।

    तेमाल गाउँपालिकाको जिम्मेवारी सम्हाल्दै गर्दाको एक वर्षको अवधिमा के कति उपलब्धीहरू गर्नुभयो ?

    हामीले तेमाल गाउँपालिकामा निर्वाचित भएर आए पछिको १ वर्षको समयमा विगतलाई नियाल्दा केही रामै्र कामहरू भएका छन् । हाम्रो कार्यकालमा प्रमुख प्राथमिकता गाउँपालिकामा रहेका सबै वडाका सडकलाई स्तरोन्नति गर्दै १२ रै महिना सहज ढंगबाट सवारी सञ्चालन गर्ने हो । हामीले रणनीतिक सडक निर्माण नामाकरण गर्दै ५० लाखको प्याकेज बनाएर वडा नं १ देखि ९ सम्मकै वडाहरूका सडक स्तर उन्नतिको काम अगाडि बढाएका छौं । कामको समिक्षा गर्दै धेरै ठाउँमा सन्तोषजनक रहेको छ केही ठाउँमा हुनु पर्ने भन्दा केही कम कामहरू भएका छन् ।

    हामीले पूर्वाधार‚ स्वास्थ्य र शिक्षालाई अलि फोकस गरेउ ‚ त्यसो हुँदा स्वास्थ्यमा नसर्ने रोगसँग सम्बन्धित १८ दिने अभियान चलायौ । देशमै भयावहका स्थितिमा देखिएको यस्तो रोगको २ हजार ८ सय ३३ जनाको परिक्षण गरेका छौं । परीक्षणको क्रममा लगभग ६ सय जनालाई तत्काल उपचार गर्नुपर्ने स्थिति देखिएको छ । त्यस्ता समस्यामा परेकालाई निःशुल्क उपचारको लागि पहल गरेता पनि बजेटको अभावले गर्दा केही समस्या परेको छ । ०८०÷०८१ को बजेटमा केही व्यवस्था गर्ने सोचमा छौं ।

    तपाई तेमाल गाउँपालिका न्यायिक समितिको संयोजकको नाताले पालिकाका जनतालाई के कस्ता प्रकारका न्याय दिनुभयो ?

    आ.व ०७९/०८० मा १४ वटा मुद्दा दर्ता भएको थियो । हामीले मिलापत्रको माध्यमलाई प्राथमिकता दिदै दफा ४७ अनुसार दुवैतर्फ जितको अनुभुति गराउने वातावरण सृजना गरेका छौं । प्राय सबै मुद्दाहरू मिलापत्रको माध्यमबाट जित जितको अवस्थामा पुर्याएका छौं । न्यायिक समितिमा जनशक्तिको अभावले गर्दा केही समस्या परेको छ । यस्तो समस्या ७५३ नै स्थानीय तहकै समस्या हो । कानुनी ज्ञान कमी भएको कर्मचारी हुँदा पनि मुद्दाको वातावरण निम्तने गरेको पाइन्छ । मुद्दा दर्ता गराउने भनेको समयमा दुवै पक्ष उपस्थित नहुदा प्रकृया अलि लम्बिने समस्या पनि रहेको छ ।

    ऐतिहासिक तेमालको विकासमा फड्को मार्नु पर्छ भन्ने उद्देश्यका साथ विद्यार्थी जीवनबाटै राजनीतिमा होमिनु भएको नाताले स्थानीय तहको निर्वाचनमा मत माग्दै गर्दा जनतासमक्ष दिएको आश्वासनहरूको कति पुरा हुने क्रममा छ ?

    हामीले स्थानीय तहको निर्वाचनमा होमिँदै गर्दा तीन वटा विषयलाई प्राथमिकता दिएको थिय । जुन हो सडक पूर्वाधारलाई राम्रो बनाउने ‚ अर्को स्वास्थ्यलाई जनताको आवश्यकतालाई एकाकार गरेर लाने र शिक्षालाई आधुनिक ढंगबाट अगाडि बढाउँदै आमूल परिवर्तन तफर् लानुपर्छ भन्ने थियो । शैक्षिक क्षेत्रको निराशाजनक परिणामहरू छन् जुन कुराहरूलाई सुधारेर जानु पर्छ भन्ने थियो । हामीले तेमाल वासिसंग मत माग्दै गर्दा गरेका प्रतिबद्धता पुरा गर्ने उद्देश्यले सुरुवात गरेका छौं । सडक तफर् भकुन्डेदेखि मेच्छे पौवा सम्मको सडक संघीय सरकारले बनाउँदै छ । जुन सडक निर्वाचन क्षेत्रको रणनीतिक सडक हो । वडा बाट गाउँपालिका सम्मको ९ वटा सडकहरू छन् जुन सडकहरूको कालोपत्रेको सुरुवात गरिने लक्ष लिएका छौं । त्यसैगरी स्वास्थ्यको क्षेत्रमा बिभिन्न क्याम्पहरू राखेर अगाडि बढेको बताई सके । जुन शिविरबाट समयमा स्वास्थ्य परिक्षण गर्ने साथै औषधि सेवन गर्नुपर्ने रहेछ भन्ने चेतना फैलिएको छ ।

    हाम्रो काम गर्ने तौर तरिकालाई तेमाल वासिले अत्यन्तै सकारात्मक ढंगबाट लिएको पाएका छौं । शिक्षा तफर् बितेको वर्ष अध्ययन गर्ने वर्षको रुपमा लिएका छौं । कस्तो खालको कार्ययोजना बनाएर लागू गर्दा परिणाम राम्रो आउँछ भन्ने बिषयमा लागेका छौं । शिक्षा तफर् हाम्रो निष्कर्ष भनेको बेसिक लेबल ( प्राथमिक तहलाई) एकदमै राम्रो बनाउने तफर् अगाडि बढेका छौं ।

    तेमाल गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिहरू बिचको सम्बन्ध कस्तो छ ?

    अन्यत्रको पालिकाहरूमा जस्तो विवाद हाम्रो पालिकामा छैन । हामी तेमालमा निर्वाचित जनप्रतिनिधिहरू नेपाली कांग्रेस र नेकपा माओवादी बिचमा गठबन्धन गरी निर्वाचित भएका हौं । आपसमा मनमुटाव गरेर अगाडि बढ्नुपर्ने अवस्था देखेका छैनौ । जनताको आवश्यकतासँग एकाकार हुने हो भने कुनै विवाद हुने कुरै भएन । त्यसो नभई व्यक्तिगत वा दलगत स्वार्थमा लाग्ने हो भने झगडा हुनु हो । तेमाल गाउँपालिकामा रहेका हामी जनप्रतिनिधिहरू बिचमा अन्तरद्वन्द्व छ भन्ने मलाई लाग्दै लाग्दैन । हामी तेमालको जनताको चाहना अनुसार हामी सौहार्द ढंगबाट अगाडि बढेका छौं । तेमालको समग्र आवश्यकतालाई केन्द्रमा राखेर हामी अगाडि बढि राखेका छौं । हामी जनप्रतिनिधिले झगडा गर्दा त्यसको मार साथै भार खेप्ने जनताले नै हो । त्यसैले जनतालाई भार हुने ढङ्गको कार्य गर्न हुदैन भन्ने विषयमा दृढ छौं ।

    गाउँपालिकामा रहेका कर्मचारी र जनप्रतिनिधि बिच कस्तो सम्बन्ध रहेको छ ?

    जनप्रतिनिधि भनेको भरखर भरखर जनताको छनोटमा आएको प्रतिनिधिहरू हो । कर्मचारी भनेको थाई सरकार रुप हो । जनप्रतिनिधि र कर्मचारीको बिचमा कानुन सम्वत् ढङ्गको कार्यहरू नभएका अन्तरविरोध निम्तनु सक्छ । तेमाल गाउँपालिकामा कर्मचारी र जनप्रतिनिधिबीच त्यस्तो कुनै अन्तरबिरोध छैन । गाउँपालिकाले जारी गरेको कानुन ‚ स्थानीय तह सञ्चालन ऐन‚ संघीय सरकारले जारी गरेको ऐन ऐनकानुनहरूमा टेकेर अगाडि बढेका छौ त्यस्ता कार्यमा कर्मचारीको असहयोग भएको छैन । तेमालको हितको लागि जनताले जुन उद्देश्य राखेर अगाडि बढेको छ कर्मचारीले पेजकिलाको रुपमा भूमिका निर्वाह गरेको पाएको छु ।

    स्थानीय तहलाई मजबुत पार्न आन्तरिक स्रोतको व्यवस्था राम्रो हुनुपर्छ ‚ सो को विषयमा तपाईंले के कस्ता ढङ्गको तयारी गर्नुभएको छ ?

    हामी निर्वाचित भएर आउँदै गर्दा आन्तरिक स्रोतको व्यवस्था खासै केही भएको पाएनौ । हाम्रो टिम पालिकामा भित्रँदै गर्दा कर बढाउने हैन दायरा फराकिलो बनाउनु पर्छ ‚ स्रोतहरू बढाउनु पर्छ । पालिकाको आन्तरिक स्रोत के हुन सक्छ ? ढुंगा गिटी मात्रै स्रोत हुन् त ? हैन अन्य स्रोतहरू पनि छन् जसमध्ये तेमालको आन्तरिक स्रोतको रुपमा बुद्धजयन्तीलाई पनि लिन सकिन्छ । अन्य पालिकाहरूमा प्रतिकिलो ५ सय देखि १ हजार सम्म लिएका पाएका छौ तर तेमालमा प्रतिकिलो (तयारी) ५० र बोक्रा सहितको लाँदा प्रतिकिलो २५ रुपैयाँ कर निर्धारण गरेका छौं । पालिकामा व्यवसाय सञ्चालन गर्नेहरूलाई करको दायरामा आउनको लागि प्रेरित गरेर अगाडि बढ्ने लक्ष लिएका छौं ।

    योजना पुस्तिकामा उल्लेख भएका विकास निर्माणका कार्यहरू अक्षरश पूर्ण रुपमा सम्पन्न गराउने विषयमा के कस्तो तयारी छ ?

    त्यो हुन्छ ‚ हुनै पर्छ । ०७९/८० मा हाम्रो अनुभव के छ भने जति पनि योजनाहरू निर्माण गरेर किताब तयार गरेउ सो किताबमा उल्लेख भएको ९८ प्रतिशत कामहरू सम्पन्न भएका छन् । रणनैतिक सडक अन्तरगतको कामहरू ठेक्काको भएकोले केही ढिला भएपनि अन्य कार्यहरू समयमै जेठको पहिलो हप्तामै सम्पन्न भएका थिए । ०८०÷०८१ को बजेट बिनियोजन गर्दै गर्दा हाम्रो लक्ष बैशाखको पहिलो हप्तामै काम सम्पन्न गर्नुपर्छ भन्ने छ ।

    दीर्घकालिक ढङ्गको विकास निर्माण कार्यको लागि के कति बजेटको व्यवस्था गर्नुभएको छ ?

    तेमाल गाउँपालिकामा समस्याको विषय साथै ठुलो योजना भनेको विद्युतिकरणको थियो हाल सम्पन्न भएको छ । अव खासै समस्या छैन । अर्को महत्वपूर्ण योजना भनेको खानेपानी छ सो करिव अन्तिम चरणमा पुगेको छ तेमाल वासिले अव छिटै सुनकोसीको पानी उपयोग गर्दै हुनुहुन्छ । तेस्रो भनेको सडक तेमाल आउने पर्यटक वा अन्य जो कोहीलाई जुनसुकै तफर्बाट सहज ढंगबाट आउजाउ गर्ने वातावरण मिलाउन लागेका छौं । तेमालको यतिखेरको प्रमुख समस्या भनेको सडक हो । हाम्रो कार्यकाल सकिने समयसम्ममा सडकलाई राम्रो बनाउँछौं । हामी निर्वाचित जनप्रतिनिधिको पहिलो सपना भनेको तेमालको सडक राम्रो पार्ने ‚ पर्यटक आकर्षक गर्दै तेमाललाई अन्तराष्ट्रिय स्तर सम्म चिनाउने हो पुरा गर्छौ । त्यसैगरी साहसिक खेल अन्तरगत कुस्माको बञ्जीजम्प जस्तै सम्भावना पनि छ । जसले गर्दा आगामी दिनमा तेमालको आन्तरिक स्रोत अन्य पालिकाको तुलनामा उच्च रहन्छ ।

    अन्तमा तेमाल वासिहरु लाई केही भन्न चाहनु हुन्छ की ?

    तेमाल विकासको लागि हामीले धेरै कुराहरू सुरुवात गरेका छौं । केही अपुग कुराहरू पनि होला । हाम्रा कयौं मकि कमजोरीहरू पनि हुन सक्छ ‚ हाम्रो सकारात्मक कुराहरू मात्रै नभएर नकारात्मक कुराहरू पनि हुन सक्छ । त्यस्तो कमीकमजोरी लाई तेमाल वासिले औंल्याई दिन जरुरी रहन्छ । तेमालले एउटा नयाँ पनको सुरुवात गरेर अन्यत्रका व्यक्तित्वहरूलाई समेत मार्ग निदेश गर्न जरुरी छ । जुन हो निर्वाचित जनप्रतिनिधि पालिकामा आउजाउ गर्दा अनावश्यक तामझाम गर्न जरुरी छैन । हामी जनताबाटै आएको हो ‚ जनताको भावनालाई सम्बोधन गर्न नसक्ने जनप्रतिनिधि वास्तवमै जनप्रतिनिधि हैन । जनप्रतिनिधिले गरेका कार्यको बारेमा आलोचना गर्दा खुलेर गर्न जरुरी छ । आलोचना नै हाम्रो लागि सकारात्मक सुझाव हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार