२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

मेरो उम्मेदवारी गाउंपालिका अध्यक्षमै हो, पार्टीको सिपाही भएको नाताले पार्टीको निर्देशन अक्षरस मान्छु


१८७६० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ चैत्र १४, सोमबार मा प्रकाशित २ साल अघि
  • विनोद घिसिंङ
    चौरीदेउराली गाँउपालिका प्रबक्ता एवं वडा अध्यक्ष

    विगतमा काभे्र जिल्लाको निकै दुर्गम स्थान भनेर चिनिने कोशीपारीको साबिक माझीफेदा गा.वि.स वडा नं ७ हाल चौरीदेउराली गाउँपालिका वडा नं ३ (काफ्ले) मा पिता लाल बहादुर तमाङ तथा माता साईली तमाङको कोखबाट २०४० साल बैशाख ६ गते जन्मनु भएको बिनोद तामाङ (घिसिङ) सामाजिक सेवा साथै समाजमा पुरातनवादी सोचको अन्त्य गर्दै आमुल परिवर्तनको पक्षमा निरन्तर अगाडी बढ्दै आउनु भएको छ ।

    माता पिताको माईलो सन्तानको रुपमा जन्मनु भएका बिनोदले गाउँमै रहेको किरणोदय आधारभुत विद्यालयबाट क.ख.रा सुरुगरी दुई घण्टाको पैदल यात्रा गर्दै खाडदेवी माध्यमिक विद्यालयबाट एस.एल.सी उतिर्ण गर्नुभएको थियो । उच्च शिक्षाको लागि कोशीपारीमा क्याम्पसहरु नभएकोले राजधानी काठमाण्डांैमा गएर अध्ययन गर्दै स्नातकोत्तरसम्म अध्ययन गर्नुभएको बिनोद घिसिङले केही समय शिक्षण पेशाबाट रोजगारीको सुरुवात गरेपनि समाज रुपान्तरणको लागि रोजगारीलाई त्याग्दै अगाडी बढ्नु भयो ।

    २०५६ सालमा कक्षा ८ मा अध्ययन गर्दै गर्दा अनेरास्ववियु (क्रान्तिकारी) को सदस्यता लिएर समाजमा जरा फैलाएर रहेको वर्गिय तथा जातिय विभेदको अन्त्य गर्दै मुलुकमा आमुल परिवर्तनको खातिर उत्रनु भएको घिसिंङले आफ्नो व्यक्तिगत हितको पक्षमा कुनै वास्ता नगरी सामाजिक हितको लागि निरन्तर अगाडि बढ्दै गर्दा ०७४ को निर्वाचनमा होमिनु भयो । चौरीदेउराली गाउँपालिका वडा नं ३ को वडा अध्यक्षको उम्मेदवार बन्दै गर्दा वडावासीको साथ र सहयोगका कारण अत्याधिक मतका साथ विजय हुनुभएको घिसिङले पालिकाको प्रबक्ताको जिम्मेवारी समेत सम्हालदै आउनु भएको छ ।

    चौरीदेउराली गाउँपालिकाको प्रबक्ता एवं वडा अध्यक्ष घिसिङले विगतमा दुर्गम भनेर चिनिने पालिका हालको अवस्थामा हर प्रकारको विकासले फड्को मारेको र सो कार्यलाई निरन्तरता दिदै नमुना गाउँपालिका बनाउने साथै युवाहरुलाई रोजगारी दिने ढंगको योजनाका साथमा अगाडि बढ्नुपर्ने सोचका साथ अगाडी बढ्नु भएको प्रवक्ता घिसिङसँग समसामयिक विषयमा सम्पादक इश्वरी राजकुमार मैनालीले गरेको कुराकानी अंश….

    जिल्लामा रहेको स्थानिय तह मध्यको उत्कृष्ट कार्य गर्ने भनेर चौरीदेउरालीको निकै चर्चा छ, के वास्तवमै चौरीदेउरालीले राम्रो कार्य गर्न सफल भएकै हो त ?

    वास्तवमा भन्नुपर्दा चौरीदेउराली गाउँपालिका विगतको अवस्थालाई मध्यनजर राख्दा दुर्गम, अविकसित ग्रामिण भेगको रुपमा विगत ५ बर्ष अगाडी चिनिने गरिन्थ्यो । पछिल्लो समयमा आएर स्थानिय तहको निर्वाचन पश्चात निर्वाचित जनप्रतीनिधिहरुको टिमले योजनाबद्ध तरिकाले काम गर्दा पालिकाको विकास भएको छ । हामीले पालीकाको जिम्मेवारी सम्हाले लगतै पालिकावासीहरुसँग केन्द्रित रहेर विकास निर्माणका कार्यहरु कार्यान्वयन गरियो जस्ले गर्दा चौरीदेउराली गाउँपालिकाले विकास निर्माणमा राम्रो फड्को मार्न सफल भएको छ ।
    पालिकाको शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, सडक सञ्जाल, खानेपानी लगायतको कार्यमा जनताले महसुस गर्नेगरी पालिकाको विकास भएको छ । पालिकावासी साथै जनप्रतीनिधिहरु एक ढिक्का भएर लम्कि रहदा चौरीदेउरालीको विकास निर्माण कार्यमा नमुनाको रुपमै अगाडी बढेको हो ।

    चौरीदेउराली गाउँंपालिकालाई नमुना गाँंपालिका बनाउने दौडमा तपाई समेतका जनप्रतीनिधिहरु लागेको सुनिन्छ, सो कार्यको लागि अब के कस्ता योजनाहरु ल्याउनु भएको छ ?

    वास्तवमा तपाईले चुरो कुरा सोध्नुभयो, वास्तवमा भन्नुपर्दा नमुना भन्दापनि सो पालिकाको लागि आवश्यक वस्तुगत आवश्यकता र जनताले प्रत्याभुत गर्ने र जनताको आवश्यकता परिपुर्ती हुने ढंगको विकास गरियो भने चौरीदेउराली मात्र नभई सबै ठाउँं नमुना नै हुन्छ । सो नमुना बनाउने विषयमा पहिलो त शिक्षाको हबको रुपमा केन्द्रत भयौं । त्यसैगरी विगतमा कोशीपारीमा भएको सडकको अभावले भएको विकराल स्थितिलाई मध्यनजर गर्दै अगाडी बढियो फलस्वरुप हालको अवस्थामा सहज तरिकाले टोलटोलमा सडक सञ्जाल जोडिएको छ । पूर्वाधारको कार्यमा प्राथमिकता दिएर अगाडी बढ्दै गर्दा चौरीदेउराली गाउँपालिकालाई नमुना गाउँपालीका हुनुमा प्रमुख कारण भनेको हामी बागमती प्रदेशमै पहिलो गाउँपालिका होे जहाँ १५ शैयाको अस्पताल निर्माण गर्न सफल भएका छौं । हालको अवस्थामा अरु गाउँपालिकामा ३ शैयाको अस्पताल निर्माण हुदैछ । पालिकामा हालसम्म जे जती विकास भएको छ त्यसलाई थप विकास गर्न जरुरी रहन्छ , तब मात्र दिगो विकासलाई स्थापित गर्न सकिन्छ ।
    आगामी योजनामा पालिकावासिलाई रोजगारी दिदै गाउँमै बसेर राम्रो आम्दानी गर्ने वातावरण बनाउन जरुरी रहन्छ । पालिकामा शिक्षा, स्वास्थ्य साथै समग्र हिसाबले केन्द्रिकृत हुन जरुरी रहन्छ । अबको ५ वर्षमा काभे्र जिल्लाकै विशेष ठाउँ चौरीदेउराली बन्छ ।

    तपाई चौरीदेउराली गाउँपालिकाको प्रवक्ता साथै वडा अध्यक्ष (जनप्रतीनिधि) नाताले भन्नु पर्दा जनताको सेवा कसरी गर्नुपर्छ भन्ने लाग्छ ?

    मुख्य कुरा त हामी जनप्रतीनिधी भएपछी जनतालाई सुशासन सहित सेवा प्रदान गर्ने हो । हामी चौरीदेउराली गाउँपालिकाका जनप्रतीनिधिहरु जनताका सेवक भएर कार्य गर्दै आएका छौं । कतिपय स्थानमा जनप्रतीनिधिहरु शासक भएर अगाडी बढ्दा जनताले जनप्रतीनिधिलाई हेर्ने दृष्टिकोण नकारात्मक भएको हो ।
    जनतालाई के—कस्तो सहयोगको आवश्यक छ सो विषयमा मसिनो ढंगबाट बुझेर उहाँहरुलाई अभिभावक मानेर सेवा दिनु पर्दछ । त्यो विचमा हामी जनप्रतीनिधि भएर पनि मेरो आफ्नो अनुभवको हिसाबले पनि हामी एउटा उमेरमा जनप्रतीनिधी भयौं । जनप्रतीनिधी हुदै गर्दा हामीसँग धेरै चुनौतीहरु थिए , किनभने देश चाही एउटा व्यवस्थाबाट अर्को व्यवस्थामा अगाडी बढेको अवस्था र अर्को कुरा लामो राजनैतिक संक्रमण साथै राजनैतिक दलका प्रतिनिधिहरुले सञ्चालन गरेको समाज साथै एक प्रकारको तहस नहस स्थितिमा जनतालाई सुशासनमा ल्याउने, विधीमा ल्याउने पद्धतीमा जनतालाई डोहोर्याउनको लागि निकै चुनौतीपूर्ण हुदाँहुदै पनि जनतालाई आजको वस्तुगत आवश्यकता अनुसार कुन तरिकाले सेवा प्रवाहमा सहज हुन्छ भन्ने ढंगले राज्यले दिएको सेवा सुविधालाई जनताको घरघरमा पुर्याउन सक्नु साथै निस्पक्ष तरिकाले राजनीतिक पूर्वाग्राही, जातिय पूर्वाग्राही नराखिकन समान तरिकाले आफुले पाएको जिम्मेवारी पुरा गर्नु नै जनप्रतिनिधिको दायित्व हो भन्ने मलाई लाग्छ र सोही ढंगबाट अगाडी बढेर ५ वर्षे कार्यकाल पुरा गरियो ।

    तपाइको तर्क अनुसार मुलुकका विभिन्न तहमा रहेका जनप्रतिनिधीहरुले राम्रा कार्य गर्न नसकेका कारण जनताले दलका नेताहरुलाई हेर्ने दृष्टिकोण नकारात्मक भएको हो त ?

    यस्तो छ, यो चाहीं कस्तो भयो भने मुल विषय चाही आज जनता एक ढंगले हेर्दा खेरी अलि अव्यवस्थित जस्तो, जनतालाई राजनीतिक प्रति वितृष्णा जस्तो, केही अविश्वास जस्तो हुनुको पहिलो जिम्मेवारी चाही राजनीति नै हो । राजनीति र राजनीतित्व लाई नेतृत्व गर्ने नेतृत्वसँग बडि दोष जान्छ भन्ने मेरो तर्क हो । किनभने पछिल्लो अवस्थामा राजनीति गर्ने नेतृत्वहरु चाही जनताको सेवक नभई शासकको कोणबाट अगाडी बढेको महसुस भएको छ । त्यो सँगसँगै अर्को कुरा जनतालाई राजनीतिक रुपमा चाही सु—सूचित गर्न (पार्टीले लिएको नीतिलाई जनतासम्म पुर्याउन) नसक्नु र जनता तथा कार्यकर्तालाई प्रशिक्षित गराउन नसक्नु साथै कार्यकर्तालाई भर्ती गर्ने काम भयो तर स्कुलिङ भएन । स्कुलिङ नभएका कार्यकर्ताले समाजलाई नेतृत्व गर्न सकेनन् । पछिल्लो समयमा आएर मानिसमा राजनीतिमा लागेपछि जिवन उथल पुथल हुन्छ भन्ने नकारात्मक सोचको विकास भयो जसको कारण नेतृत्वहरु सेवकका रुपमा नभई शासकको रुपमा अगाडी बढ्यो ।

    यस्तो समस्याको जिम्मेवारी राजनीतिज्ञले लिनुपर्छ । नेपालमा रहेका संसदिय राजनीतिमा रहेका पार्टी र संसदिय राजनीति भन्दा बाहिर रहेका पार्टीले समेत यस्को जिम्मा लिन जरुरी रहन्छ । कार्यकर्तालाई भर्ती मात्रै नभएर राजनीतिक रुपमा समाज साथै मुलुकको हितको लागि गर्नुपर्ने महत्वपुर्ण कार्यका विषयमा प्रशिक्षीत गराउन आवश्यक रहन्छ ।

    स्थानिय तहको निर्वाचन नजिकिदै छ, निर्वाचन कुन ढंगबाट सम्पन्न गर्नुपर्छ भन्ने लाग्छ ?

    मुख्यचाही निर्वाचन भन्ने विषय आम नागरिकलाई आफ्नो मताधिकारको लागि हौसला पूर्ण तरिकाले सहभागी गराउनु हो । जनताको मताधिकारलाई शान्तिपुर्ण र भय रहित ढंगबाट निर्वाचनमा सहभागी गराउदै सहज ढंगबाट सम्पन्न गर्नुपर्छ । निर्वाचनमा भाग लिन कसैको दवाव साथै कसैको करकापमा नभई उस्को स्वविवेकले मताधिकारको प्रयोग गर्ने, मताधिकारलाई प्रयोग गरेर जनताको सेवक आफैले चुन्ने, आफुले आफ्नो सेवक चुन्दा उस्को क्षमता, लगाव, इमान्दारिता, नैतिकवान व्यक्ति छनोट गर्ने वातावरण बनाउन जरुरी रहन्छ । जनताले आफ्नो सेवक छनोट गर्दा कुनै दवाव तथा प्रलोभनमा नपर्ने वातावरणमा निर्वाचन सम्पन्न गराउन सक्दा मात्रै पक्कै पनि समाज साथै संघिय लोकतान्त्रिक गणतन्त्रको पहिलो अभ्यासलाई संस्थागत गर्ने विषयमा हामी पहिलो निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको योगदान रहेको छ । आगामी दिनहरुमा अझ थप विकसित गर्दै संघिय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत विकास गर्ने कुरामा त्यो जनप्रतीनिधि सक्षम र सवल बनाउने रुपमा छनोट गर्न जनतालाई स्वतन्त्र रुपमा जनतालाई शान्तिपूर्ण तरिकाले सहभागी गराउने विषयमा सबै राजनीतिक दलहरुको भूमिका हुनुपर्छ भन्ने मलाई लाग्छ ।

    आगामी निर्वाचनमा तपाई रहेको पालिका (चौरीदेउराली) मा कुन दलको अग्रता रहेको महसुस भएको छ ?

    स्वभाविक रुपमा चौरीदेउराली गाउँपालिका जिल्लाको राजनीतिक हिसावले पनि सबै राजनीतिक दलहरुलाई प्रस्टै छ की चौरीदेउराली गाउँपालिका जनयुद्धको आधार भूमि हो । त्यहाँ नेतृतवको हिसाबले, केन्द्रिकरणको हिसावले साथै आजको समयमा संघिय लोकतान्त्रिक गणतन्त्रको उपलब्धीको रुपमा हासिल भएको छ । सो उपलब्धीको लागि पहिलो योगदान दिएको गाउँपालिक चौरीदेउराली हो । त्यसैले गर्दा ०७४ को निर्वाचन परिणामको हिसावले पनि र हालको वस्तुगत स्थिती साथै पार्टीको सांगठानिक हिसाबले पनि माओवादीको जनमत अगाडी रहेको छ । त्यसैले गर्दा अन्य दलहरुको निष्कर्ष पनि के हो भने स्थानिय तहको निर्वाचनमा माओवादीकै अग्रता छ भन्ने हो । हामीले पनि हिजोको विराशतलाई जोगाउने कुरा, आन्दोलन साथै वलिदानको विराशतलाई, परिवर्तनको वाहकको रुपमा अगाडी बढेको नेतृत्वको योगदानलाई संरक्षण गर्ने हिसावले पनि हामीले राजनीतिक जिम्मेवारी पुरा गरिरहेका छौं । त्यसैले गर्दा आगामी निर्वाचनमा माओवादीको अग्रता सुनिश्चित रहन्छ ।

    विगतको विराशतलाई संरक्षण गर्दै तपाईहरुको कार्यकालमा भएको विकास निर्माणलाई थप व्यवस्थित गर्न साथै जनताको चाहनाहरु पूर्ण गराउनको लागि आगामी निर्वाचनमा पनि भाग लिने सोचमा हुनुहुन्छ ?

    पहिलो कुराचाही म एउटा राजनीतिक कार्यकर्ता भएको हैसियतले ०७४ को निर्वाचनमा पनि एउटा वडाको वडा अध्यक्ष हुदै गर्दा खेरी मैले असाध्यै आकांक्ष्ीा भएर साथीहरुको विचमा मनमुटाब बढाएर म उम्मेदवार भएको होईन । म पार्टीको एक सिपाही भएको नाताले पार्टीले निर्णय गरेको पार्टीले दिएको जिम्मेवारी पुरा गर्न म अगाडी बढेको हुँ । आगामी निर्वाचनमा राजनीतिक हिसााबले राजनीतिमा होमिई सकेपछि महत्वकांक्ष्ीा नहोला भन्ने त हुंदैन, तर पनि पार्टीको निर्णयलाई नै आधिकारीक निर्णय मान्नुपर्छ भन्ने सोच मेरो हो ।
    मेरो आफ्नो सवालमा भन्ने हो भने, म पार्टीको गाउँपालिकाको सेक्रेटरी र जिल्ला समितिमा लामो समयदेखी कार्य गर्दै आएको नाताले पनि मेरो चाहना त गाउँपालिकाको अध्यक्षमै हो तर पनि दावा गर्दै गर्दा खेरी पार्टीले उचित ढंगले नेतृत्वहरुको क्षमता व्यवस्थापन गर्ने क्रममा पार्टीले ठिक ढंगबाट सोच्दा खेरी पार्टीले गरेको निर्देशनलाई मैले मानेर जानुपर्छ भन्ने मेरो बुझाई हो ।

    विगतमा दुर्गम स्थान भनेर चिनिने कोशीपारीमा जन्मेर कलिलै उमेरमा उच्च शिक्षा हासिल गरिसकेको अवस्थामा रोजगारीको खोजिमा नलागी राजनीतिमा होमिनुको प्रमुख कारण के होला ?

    मुख्य कुरो त एउटा राज्य व्यवस्थाले उत्पिडन गरेको एउटा वर्ग र जाति पनि हो । त्यसकारणले जातिय मुक्ति र वर्गीय मुक्तिको लागि भएको आन्दोलनमा होमिनका निम्ति जो माओवादी आन्दोलनको शसस्त्र ढंगबाट जनयुद्ध सुरु भयो । मेरो उमेरको हिसाबले साथै समग्र हिसाबले जनयुद्धमा असाध्यै होमिन त पाईन । मैले अध्ययन गर्दादेखि नै राजनीति स्कुलिङ नै माओवादी राजनीतिबाट सुरु भयो । जहाँ जातीय मुक्तिको कुरा, वर्गीय मुक्तिको कुरा थियो, जसले गर्दा मलाई थप आकर्षण गरायो ।
    राजनीतिको सुरुवातसंगै केही समय शिक्षण पेशा पनि अंगाले, तर मनले मानेन व्यक्तिगत फाईदामा मात्रै केन्द्रित हुनु हुदैन मुलुकमा आमुल परिवर्तनको लागि समाजको नेतृत्व गरेर अगाडी बढ्नुपर्छ भन्ने लागेर राजनीतिमा होमिए । राजनीतिमा अगाडी बढ्दै गर्दा विभिन्न खाले अप्ठ्याराहरु नआएका होइनन् तर पनि हार नखाईकन निरन्तर रुपमा अगाडी बढ्दै गए । मेरो मूल्यांकनमा मैले जे गरे ठिक गरे भन्ने लागेको छ ।

    तपाई जनप्रतीनिधि भएको ५ वर्ष पुगेको छ , यो समयको अनुभवहरु के कस्ता रहे ?

    यो अवधी अविस्मरणीय रहेको छ, जुन हो ५ वर्ष अगाडी आफु निर्वाचनमा होमिदै गर्दा एउटा व्यवस्थाको अन्त्य गर्दै अर्को व्यवस्थाको सुरुवात थियो । जुन सुरुवाती अवस्थाको पहिलो जनप्रतीनिधि हुने अवसर दिए जनताले । आफु जनप्रतीनिधि हुंदै गर्दा खेरी फरक व्यवस्था भित्रको थुप्रै कानुनी जटिलताहरु, धेरै ऐनको अभावहरु रहेको थियो त्यस्तो अवस्थामा पनि कार्यलाई अगाडि बढाउन निकै चुनौतीहरु थिए । त्यस्तै अर्को जटिलता भनेको लामो समय सम्मको राजनीतिक संक्रमण अवस्था साथै दलिय व्यवस्थाले स्थानिय तहलाई सञ्चालन गर्ने अभ्यास थियो । त्यो अभ्यासमा राजनीतिक दलहरु भित्रका अहंता भित्र पनि एउटा खालको अराजकता सहितको नेतृत्व थियो । त्यसलाई व्यवस्थित गराउने विषय निकै ठूलो चुनौती हुनपुग्यो । त्यो चुनौतीलाई सामना गर्न हम्य हम्य नभएको होईन ।

    त्यतिमात्रै नभई सोही समयमा हामी सामु ठुला ठुला दुई पहाडहरु खडा भए । जसमा ०७२ को भूकम्पले तहस नहस पारेका संरचनाहरुको पुनः निर्माण जटिल थियो । पुनः निर्माण कार्यलाई व्यवस्थित गर्दै सम्पन्न गर्नुपर्ने, सो विषयलाई सम्पन्न गर्दै गर्दा विश्व महामारीको रुपमा फैलिएको कोरोनाले गर्दा अर्को चुनौती खेपनु पर्यो । हामीले पुनः निर्माण प्राधिकरणको जिम्मेवारीको हिसावले पनि ठिक ढंगले राज्यले दिएको नीति र विधि भित्र रहेर आम जनताको निजि आवासका कुराहरु, सरकारी आवासका कुराहरु, भौतिक पुर्वाधारका कुराहरुलाई सम्पन्न गराउने कुराहरुमा आफ्नो तर्फबाट भूमिका निर्वाह गर्यौं । त्यसैगरी कोरोनाको समस्यालाई जनतालाई स्वास्थ्यसंग पहुचमा ल्याउन र कोरोनाको त्रासबाट मुक्त गराउनको निम्ती हामीले निकै प्रयास गरेउ । सोही प्रयासको परिणाम स्वरुप चौरीदेउरालीमा १५ शैयाको अस्पताल बनाउन सफल भयौं । जसबाट पालिका साथै आसपासका जनताहरुलाई स्वास्थ्य सेवा दिन सफल भयौं । त्यतिमात्रै नभई पालिकामा रहेका हाम्रा अभिभाकहरुको बलमा अक्सिजन प्लान्ट सुरुभएको छ । हाल आएर पालिकाको ९ वटै वडामा स्वास्थ्य केन्द्रको व्यवस्था गरि व्यवस्थित ढंगबाट स्वास्थ्य उपचार गर्ने वातावरण मिलाएका छौं ।


    शिक्षा तर्फ हेर्ने हो भने विगतमा म आफैले अध्ययन गर्दै गर्दा एउटा विद्यालयमा प्राथमिक शिक्षा हासिल गरेँ । माध्यमिक सम्मको शिक्षाको लागि अर्को विद्यालय, उच्च शिक्षाको लागि राजधानी धाउनु पर्ने बाध्यता थियो । हालको अवस्थामा चौरीदेउराली गाउँपालिकामा विभिन्न विषयगत शिक्षाहरु हासिल गर्ने अवसर दिईएको छ । प्राविधिक शिक्षाको हिसावले आइ.एस.सी. एग्रिकल्चर विज्ञानको दुई विद्यालय र आई.टी अध्ययन गर्ने वातावरण रहेको छ । पशु भेटेनरी समेत अध्ययन गर्ने वातावरण साथै उच्च शिक्षाको लागि राजधानी धाउनु पर्ने अवस्थाको अन्त्य भएको छ ।

    त्यसकारणले आगामी दिनका जनप्रतीनिधिले (राजनीतिक दलहरुले) पुरानै तरिकाको प्रतिबद्धता पत्रहरु, पुरानै तरिकाको नाराहरु, पुरानै तरिकाको ढर्राहरु साथै विकासे नाराहरु लिएर जानु उचित हुंदैन र त्यो समाज र त्यो गाउँपालिका राजनीतिक हिसाबले विकासको हिसावले साथै समग्र रुपमा फरक कोर्समा प्रवेश गर्यो । शिक्षा, स्वास्थ्य, पूर्वाधार ,विकास निर्माण, खानेपानी, सडक लगायतको क्षेत्रमा एक हिसाबले सम्पन्नता भई सकेकोले अब हामीले अबको दिनमा राजनीतिक दलहरुले बनाएका प्रतिबद्धता पत्रमा रोजगारको ग्यारेन्टी सहितको योजना समावेश हुन जरुरी रहन्छ । पुरानै किसिमका नारा लिएर जनता समक्ष जाँदा जनताले पत्याउने वाला छैनन् एउटा कोर्स पुरा गरेउ अर्को कोर्स पुरा गर्नको लागि सबै राजनीतिक दलहरुले आफ्नो प्रतिवद्धदा पत्रहरुलाई संसोधन गरेर नयाँ ढंगको प्रतिबद्धताका साथ निर्वाचनमा जान सक्नुपर्ने छ ।

    अन्त्यमा पालिका वासीलाई केही बताउनु हुन्छ की ?

    जनता भनेको कुनै रानीतिक दल विशेष होईनन्, त्यसैले उहाँहरुले आफ्नो स्वतन्त्रता पूर्वक आफ्नो मताधिकार प्रयोग गर्न पाउनु पर्छ । नजिकिदै गरेको निर्वाचनको हिसावले चौरीदेउराली वासीहरुलाई के आग्रह गर्न चाहन्छु भने—समग्र विकासलाई साथै भएका उपलब्धीहरुलाई ठिक ढंगले नियालेर नजिकबाट प्रत्याभुत गरिसक्नु भएको छ । विगतमा थुप्रै अभावहरुले खड्किएको, धेरै समस्यामा अल्झिएको चौरीदेउराली गाउँपालिकामा आज पालिका बिस्तारै व्यवस्थित हुंदै हालको अवस्थामा आईपुग्दा खानेपानी, शिक्षा, स्वास्थ्य,सडक लगाएतको विकास भएको छ । पालिकामा विकासले निकै ठुलो फड्को मारेको छ । हाल रहिरहेका जनप्रतीनिधिहरु साथै पार्टीको समेत उचित मूल्यांकन गरेर जनताले साथ सहयोग गर्न जरुरी रहन्छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार