२०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024

स्वास्थ्य बिमाको उपचार पाँचखालमा गर्ने तयारीमा छौ


३९९११ पाठक संख्या
  • २०८० भाद्र १, शुक्रबार मा प्रकाशित ८ महिना अघि
  • पैसो सबथोक हैन यदि पैसाको पछि लाग्ने भए सायद नेपाल बसिन्न थियो होला चिल गाडीमा विकसित मुलुक …… ।

    पाँचखाल नगरमा रहेको नगरवासीलाई जटिल प्रकृतिको रोग बाहेकका उपचारका लागि पाँचखाल प्राथमिक स्वास्थ्य केन्द्रलाई आधारभुत अस्पतालको रुपमा विकास गर्ने लक्ष्यलाई मेयर महेश खरेल लगायतका जनप्रतिनिधिहरूले साथ र सहयोग नदिएको हैन ।

    स्वास्थ्य बिमा भरखर भरखर सुरुवातीको अवस्था छ ‚ पूर्ण रुपमा व्यवस्थापन हुन सकेको छैन । जसको कारण उपचारमा केही समस्या भएकै हो ‚ निजी अस्पताल तथा क्लिनिकहरूमा गएर तुरुन्तै उपचार गरेजस्तो त हुदैन तरपनि भिडभाडले गर्दा उपचारमा समय लाग्ने गरेको छ ।

    नगरवासीले स्वास्थ्य बिमा अन्तरगत उपचार गराउँदा समस्या भएकोले धुलिखेल अस्पतालसँग समन्वय गरेर बिमा तफर्को उपचार पाँचखाल प्राथमिक स्वास्थ्य केन्द्रमा नै गर्ने सोच छ । जसको कारण नगरवासीलाई सहज हुने छ ।

    लव ग्रीन नेपाल ‚ उज्यालो नेपाल लगायतका संस्थाहरूले स्वास्थ्यको क्षेत्रमा गरेको सहयोग अविस्मरणीय छ । पाँचखाल नगरका प्रवक्ता एवं वडा नं ८ का वडा अध्यक्ष संजय तामाङको पहलमा उज्यालो नेपालले पाँचखालका स्वास्थ्य चौकिमा सि.डि.पि कार्यक्रमहरू सञ्चालन गर्न सिड मनि (बिउ पुँजी) को व्यवस्था ‚ एम्बुलेन्स सेवा लगायतको धेरै खाले सहयोग गरेको छ ।

     

    उज्ज्वल अधिकारी
    स्वास्थ्य शाखा संयोजक
    पाँचखाल नगरपालिका

    साबिक पाँचखाल गा.वि.स वडा नं ४ हालको पाँचखाल नगरपालिका वडा नं ३ को उर्वरा भूमि एवं अति रमणीय स्थलको रुपमा चिनिने लामि डिही (साहुटोल) मा पिता स्व. मिन प्रसाद अधिकारी तथा माता भवानी अधिकारीको कोखबाट २०३४ साल असार ५ गते जन्मनु भएका उज्ज्वल अधिकारी बाल्यकालबाटै चञ्चल प्रष्ट वक्ता एवं सहयोगी स्वभावको मिलनसार साथै परोपकारी स्वभावको हुनुहुन्छ ।

    स्वास्थ्यकर्मीको माध्यमबाट समाजको सेवा गर्ने लक्ष्यका साथ आफ्नो अध्ययनको क्रममा प्राविधिक शिक्षालाई अँगाल्दै अगाडि बढ्नुभएको अधिकारीको लागि वैदेशिक रोजगारी अवसरको ओइरो नलागेको हैन । आर्थिक पक्ष मात्रै सबथोक हैन ‚ जन्मभूमिको सेवा नै प्रमुख हो भन्ने मान्यताको साथमा अगाडि बढ्दै जाँदा २०५३ साल भदौ २० गते दमौली प्राथमिक स्वास्थ्य केन्द्र तनहुँ बाट नोकरीको सुरुवात भयो । जन्मभूमिको सेवा गर्न नपाय विदेशी भूमिमा पसिना बगाउने सोचको विकास कै क्रममा नोकरी सुरुवातको दुई वर्ष मै २०५५ साल भदौमा पाँचखाल हेल्थ पोस्टमा सरुवा हुनुभयो ।

    आफूले हासिल गरेको ज्ञान र सीपलाई जन्मभूमिमै रहेर सेवा गर्ने अठोटका साथ अगाडि बढ्दै जाने क्रममा २०५८ बैशाख २२ गते शकुन्तला बजगाईँसँग लगनगाँठो बाँधियो । एउटै सोच ‚ एकै प्रकारको शिक्षा ‚ सेवा नै धर्म हो ‚ स्वदेशमै रहेर निमुखाहरूको सेवा गर्ने सोचको साथ अगाडि बढ्नुभएको शकुन्तलाको साथले गर्दा पनि स्वास्थ्य शाखा संयोजक अधिकारीलाई नेपालमै रहेर सेवा गर्ने थप हौसला मिल्यो ।
    २०६३ साल बाट पाँचखाल प्राथमिक स्वास्थ्य केन्द्रमा रहेर कार्य गर्दै गर्दा २०७४ साल बाट पाँचखाल नगर स्वास्थ्य शाखा संयोजकको जिम्मेवारी सम्हाल्दै स्वास्थ्य क्षेत्रमा पाँचखाललाई अब्बल बनाउने दृड संकल्पका साथमा अगाडि बढ्दै आउनु भएको स्वास्थ्य संयोजक अधिकारीसँग समसामयिक विषयमा ईश्वरी राजकुमार मैनालीले गरेको कुराकानी अंश .

    तपाई पाँचखाल नगर स्वास्थ्य संयोजकको नाताले भन्नुपर्दा स्वास्थ्यमा के कस्ता उपलब्धीहरू हासिल गर्न सफल हुनुभएको छ ?

    म पाँचखाल नगरको स्वास्थ्य शाखा संयोजक मात्रै हैन ‚ म स्थानीय पनि हुँ । म जागिरको लागि मात्रै पाँचखाल स्वास्थ्य शाखाको जिम्मेवारी सम्हालेको हैन । पाँचखालमा स्वास्थ्य क्षेत्रमा ठुलो फड्को मार्दै नगरवासीको चाहना अनुसार कार्य गर्नु मेरो दायित्व हो ‚ मेरो ठुलो कमाई हो । जुन ढङ्गको कमाईले हाम्रो अघिल्लो पुस्ताबाट आशीर्वाद र आगामी पुस्ताहरूको इज्जत साथै नगरवासीको सपना साकार गर्नु हो । पैसो सबथोक हैन यदि पैसाको पछि लाग्ने भए सायद नेपाल बसिन्न थियो होला चिल गाडीमा विकसित मुलुक …… ।

    पाँचखाल नगरमा रहेको नगरवासीलाई जटिल प्रकृतिको रोग बाहेकका उपचारका लागि पाँचखाल प्राथमिक स्वास्थ्य केन्द्रलाई आधारभुत अस्पतालको रुपमा विकास गर्ने लक्ष्यलाई मेयर महेश खरेल लगायतका जनप्रतिनिधिहरूले साथ र सहयोग नदिएको हैन । विडम्बना विश्वमा महामारीको रुपमा फैलिएको कोरोनाको कारण लक्ष्यलाई तत्काल चुम्न नसकेपनि आगामी दिनमा हाम्रो मिसन पुर्ण हुनेमा आशावादी छौं । हाल थोरै जटिल ढङ्गको समस्या आउनासाथ उपचारको लागि शहर धाउनु पर्ने बाध्यता छ । त्यस्ता खाले समस्यालाई निराकरण गर्दै सामान्य उपचारको लागि शहर धाउनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्ने जमर्को गर्दै छौं ।

    तपाईंको लक्ष्य त अत्यन्त राम्रो रहेछ ‚ तर स्वास्थ्य विमा गर्ने नगरवासिले उपचार गर्न धुलिखेल अस्पताल जाँदाको शास्तिको विषयमा जानकारी छ ?

    एकदम राम्रोसँग जानकारी छ ‚ स्वास्थ्य बिमा भरखर भरखर सुरुवातीको अवस्था छ ‚ पूर्ण रुपमा व्यवस्थापन हुन सकेको छैन । जसको कारण उपचारमा केही समस्या भएकै हो ‚ निजी अस्पताल तथा क्लिनिकहरूमा गएर तुरुन्तै उपचार गरेजस्तो त हुदैन तरपनि भिडभाडले गर्दा उपचारमा समय लाग्ने गरेको छ । सरकारले स्वास्थ्य बिमा वापतको रकम पनि समयमा उपलब्ध गराउन नसक्दा अस्पताललाई पनि समस्या छ । समयमा भुक्तानी नहुँदा स्वास्थ्य कर्मीहरू थप गर्न पनि समस्या छ । जसले गर्दा भिड बढ्नु अस्वभाविक हैन ।

    नगरवासीले स्वास्थ्य बिमा अन्तरगत उपचार गराउँदा समस्या भएकोले धुलिखेल अस्पतालसँग समन्वय गरेर बिमा तफर्को उपचार पाँचखाल प्राथमिक स्वास्थ्य केन्द्रमा नै गर्ने सोच छ । जसको कारण नगरवासीलाई सहज हुने छ । प्राथमिक स्वास्थ्य केन्द्रबाट सम्भव नहुने उपचारको लागि धुलिखेल पठाउने हाम्रो लक्ष्य रहेको छ ।

    नगरवासीको स्वास्थ्यको विषयमा धेरै सोच्नु भएको रहेछ ‚ स्वास्थ्यमा आमूल परिवर्तनको लागि केही नयाँ ढङ्गको सोचको विकास भएको छ ?

    म पाँचखाल नगरमा २०७४ बाट स्वास्थ्य संयोजकको रुपमा कार्यरत छु । प्राविधिक पक्षमा काम गर्दै गरेको अवस्थाबाट व्यवस्थापन पक्षमा आउँदै गर्दा केही मात्रामा असहज अवस्था निम्तनु स्वभाविक हो । तर समग्रतामा भन्नुपर्दा पाँचखाल प्रवासीहरूलाई स्वास्थ्यको हिसाबले गर्नुपर्ने दायित्वहरूको विषयमा तत्पर रहिरहे । स्वास्थ्यमा परिवर्तन ल्याउनको लागि जोड दिएका छौं जसमा पहिलो नगरवासीलाई स्वास्थ्य बिमाको दायरामा ल्याउने । जसमा अशक्त ‚ जेष्ठ नागरिक तथा महिला स्वास्थ्य स्वयं सेविकाहरू‚ अति गरिब भनी पहिचान भएका नगरवासीलाई स्वास्थ्य बिमामा समेटेर लाने लक्ष्य अनुसार लगभग ३० प्रतिशत नगरवासीहरू आबद्ध हुनुभएको छ ।

    त्यसैगरी नगरभित्र रहेका स्वास्थ्य संस्थाहरू मध्य प्राथमिक स्वास्थ्य केन्द्र बाट उपचारात्मक सेवा ‚ आधारभूत स्वास्थ्य चौकी‚ शहरी स्वास्थ्य केन्द्रहरूबाट सामान्य उपचार साथै प्रतिकारात्मक सेवा प्रदान गर्दै आएका छौ ‚ सो सेवालाई निरन्तरता दिने छौं । आधारभुत अस्पताल (पाँचखाल प्राथमिक स्वास्थ्य केन्द्र) बाट नगरवासीको उपचारहरू गरिने र सो स्थानमा उपचार हुन नसक्ने ढङ्गको केस हरूलाई धुलिखेल अस्पतालसँग सहकार्य गर्ने योजना बनाएका छौं । सोही अनुरूप धुलिखेल अस्पतालको सहकार्यमा हामिले निःशुल्क वृद्ध बृद्धा लाई दाँत राख्ने ‚ महिलाहरूको पिसाब चुहिने समस्याको स्किनिङ्ग र शल्यक्रिया गर्ने कार्यहरू समेत भएका छन् ।

    पाँचखालमा डेंगी रोगको अवस्था कस्तो छ ? नियन्त्रणको लागि के कस्तो उपायहरू अपनाउनु भएको छ ?

    स्वास्थ्यमा मुख्य गरी क्युरेटिभ र प्रिभेन्टिभ गरी दुवै सेवालाई प्राथमिकतामा राखेर काम गरिरहेका छौं । त्यसैगरी विपत् हिसाबले कोभिडको समस्यासँग पार हुन सफल भएका छौं । हाल आएर डेंगी को समस्याले निकै त्रसित गराएको छ । डेंगी फैलन नदिने क्रममा पाँचखाल नगरपालिका विगत बर्षहरु बाटै सजग भएको छ । जसको कारण पाँचखालमा डेंगी रोगको भयावह स्थिति आएको छैन ।

    यस आर्थिक वर्षमा पाँचखालमा डेंगी रोगबाट १ जना मात्रै बिरामी भएको छ । डेंगी नियन्त्रणको लागि प्रत्तेक स्वास्थ्य संस्थाहरूमा र विद्यालय नर्स साथै हाम्रो टिम परिचालन बाट डेंगी फैलन सक्ने अवस्थालाई मध्यनजर राखेर खोजेर नष्ट गर अभियान साथै चेतना मूलक कार्यक्रमहरू चलाएका छौं जसको कारण फैलन पाएको छैन र सार्वजनिक बिदाको दिन बाहेक पाँचखालमा निःशुल्क डेंगी रोगको परिक्षण गर्दै आएका छौं । साथै पाँचखाल नगरमा रहेको आर.आर.पी लाई तयारी अवस्थामा राखेका छौं ।

    पाँचखाल नगरमा कति स्थानबाट नगरवासीलाई स्वास्थ्य सेवा प्रदान गर्नुभएको छ ?

    पाँचखाल नगरपालिका अन्तर्गत रहेका १३ वटै वडा बाट स्वास्थ्य सेवा प्रदान गर्दै आएका छौं । त्यसैगरी पाँचखालमा रहेका सबै वडाहरूमा महिला स्वास्थ्य स्वयंसेवीकाहरु हुनुहुन्छ नगरमा रहेको ७९ जनाको सो टिमले पनि स्वास्थ्य सेवा प्रदान गर्दै आउनु भएको छ । आवश्यकता अनुसार समय समयमा स्वास्थ्य शिविरको आयोजना गरेर समेत सेवा प्रदान गर्दै आएका छौं ।

    प्राथमिक स्वास्थ्य केन्द्र बाट के कस्ता सुविधाहरू प्रदान गरेको छ ? थप सुविधा विस्तारको लागि कुनै योजना रहेको छ ?

    नगरमा रहेको अन्य स्वास्थ्य केन्द्रहरूबाट दिने सेवा भन्दा फरक ढङ्गको सेवा प्राथमिक स्वास्थ्य केन्द्रबाट प्रदान गर्दै आएका छौं । सो केन्द्रबाट क्युरेन्टिभ र प्रिभेन्टिभ दुवै प्रकारको सेवा प्रदान गर्दै आएका छौं । मुख्य चाही उपचारात्मक सेवा प्राथमिक स्वास्थ्य केन्द्रबाट प्रदान गर्दै आएका छौं । सहज ढङ्गको स्वास्थ्य सेवाको लागि मेडिकल अफिसरको नेतृत्वमा रहेको टिमले एक्से्र ‚ ल्याव‚ इ.सि.जि‚ बर्थिङ्ग सेन्टर सहितको इमर्जेन्सी सहित २४ घण्टे सेवा प्रदान गर्दै आएका छौं ।हाम्रो सोचमा प्राथमिक स्वास्थ्य केन्द्रबाट आधारभुत अस्पतालको रुपमा सेवा प्रदान गर्ने लक्ष्य लिएका छौं ।

    नगरमा रहेको सवै खाले स्वास्थ्य केन्द्रहरूमा आवश्यक जनशक्ति पुर्ण रहेको छ ?

    पाँचखाल नगरपालिका अन्तर्गत रहेका १३ वटा वडामा र नगरपालिकामा सहित (स्वास्थ्य चौकी ‚ प्राथमिक स्वास्थ्य केन्द्र) ५१ जनाको स्थाई दरबन्दीको संरचना रहेको छ । शहरी स्वास्थ्य केन्द्र‚ बालुवा स्वास्थ्य केन्द्रमा ल्याब सञ्चालनको लागि र वर्थिङ्ग केन्द्रमा नगरपालिकाको आन्तरिक स्रोतबाट कर्मचारी व्यवस्थापन गरेका छौं । सबै दर्वन्दि पूर्ण भएको अवस्था छैन ‚ केही पद रिक्त छन् भने केही करारका कर्मचारी बाट काम चलाइएको छ । पाँचखालको स्वास्थ्यमा स्थाई ३३ जना ‚ संघीय करारमा ४ जना ‚ केही रिक्त पदहरु रहेको छ । ल्याब ‚बर्थीङ्गसेन्टर सहरि स्वास्थ्य केन्द्रमा गरी) २२ जना स्थानीय करारमा रहनु भएको छ । प्रदेश करारमा ५ जना विद्यालय नर्स ‚ संघीय करारमा २ जनाको दरवन्दि (छात्रबृद्धि) करार हुनुहुन्छ ।

    स्वास्थ्यको क्षेत्रमा पाँचखालका निर्वाचित जनप्रतिनिधिले कस्तो खाले सहयोग गरेको छ ?

    पाँचखाल नगरमा निर्वाचित जनप्रतिनिधिको कारण नगरको स्वास्थ्य शाखाले फड्को मार्नुका साथै नगरवासीले निःशुल्क सेवा समेत पाएका छन् । स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको छ जसले गर्दा स्वास्थ्य शाखाले क्रियटिभ कामहरू गर्न सफल भएको छ । लामो समयदेखि निरन्तर सेवामा खटिदै आउनु भएका महिला स्वयंसेविकाको लागि यातायात, जेष्ठ नागरिकलाई दाँत राख्ने , मोतिया विन्दुको निःशुल्क शल्यकृया , प्रत्तेक वडा वडामा गर्भवती महिलाको लागि निःशुल्क भिडियो एक्स्रे , स्वास्थ्य विमा लगाएतका बिभिन्न कार्यक्रम व्यवस्था गर्ने वातावरण जनप्रतिनिधिकै कारण हो । जनप्रतिनिधि र स्वास्थ्य कर्मीहरूको सम्बन्ध नङ्ग र मासुको जस्तो भएकोले स्वास्थ्यको क्षेत्रमा ठुलो फड्को मार्ने दिसामा अगाडि बढेको छ ।

    पाँचखाल नगरमा रहेका एनजीओ आईएन जिओले केही सहयोग गरेको छ ?

    धेरै सहयोग पाएका छौं ‚ कोभिडको समयमा त उहाँहरूको साथ र सहयोगको कारण ठुलो राहत मिलेको थियो । लव ग्रीन नेपाल ‚ उज्यालो नेपाल लगायतका संस्थाहरूले स्वास्थ्यको क्षेत्रमा गरेको सहयोग अविस्मरणीय छ । पाँचखाल नगरका प्रवक्ता एवं वडा नं ८ का वडा अध्यक्ष संजय तामाङको पहलमा उज्यालो नेपालले पाँचखालका स्वास्थ्य चौकिमा सि.डि.पि कार्यक्रमहरू सञ्चालन गर्न सिड मनि (बिउ पुँजी) को व्यवस्था ‚ एम्बुलेन्स सेवा लगायतको धेरै खाले सहयोग गरेको छ ।

    अन्तमा नगरवासीलाई स्वास्थ्यको विषयमा केही सुझाव दिन चाहनु हुन्छ ?

    नगरवासीलाई स्वास्थ्य शाखाको तफर्बाट पहिलो सुझाव बर्सातको समयमा सरुवा रोगहरूको भए हुने भएकोले सतर्क रहन अनुरोध गर्दछु । डेंगी रोग नियन्त्रण भएको छैन कुनैपनि दिन समस्या आउन सक्छ । मलेरिया हटेपनि पुन आउन सक्छ डेंगी वा मलेरिया या अन्य कुनैपनि सरुवा रोगको शंका भएमा तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गर्दछु । डेंगीलाई नियन्त्रण गर्ने बिषयमा सचेत हुँदै खोज र नष्ट गर अभियानमा नगरवासिले हातेमालो गरेर अगाडि बढ्न जरुरी छ । डेंगी रोग सार्ने लामखुट्टेको बासस्थानको पहिचान गर्न जरुरी छ । यस नगरमा भाईरल कन्जेन्टी भाईटिस (आँखा पाक्ने रोग) समस्या बढि रहेको छ , त्यसैले यस्ता समस्या भएका व्यक्तिहरुले आफ्नो नजिकको स्वास्थ्य संथामा गई स्वास्थ्यकर्मीसंग सल्लाह साथै उपचार गर्न आग्रह गर्दछु । साथै उक्त समस्या भएका विद्यार्थी भाई वहिनीहरुलाई केही समय घरमै बसी समस्या समाधान भए पश्चात मात्र विद्यालयमा जान अनुरोध गर्दछु ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ८%५%१%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार