२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

राजनीतिक हस्तक्षप छैन, त्यसले गर्दा पाँचखालको भविश्य शुन्दर रहेको छ


१२३५७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर २५, बुधबार मा प्रकाशित ४ साल अघि
  • लोक बहादुर भण्डारी
    प्रमुख प्रशासकीय अधिकृत (पाँचखाल नगरपालिका)

    साबिक धनकुटा जिल्लाको लेगुवा गाबिस वडा नं ३ हालको महाँलक्ष्मी नगरपालिका वडा नं ६ को रमणिय स्थलको रुपमा परिचित खनियाँखर्कमा पिता उदय वहादुर भण्डारी तथा माता तिजमायाँ भण्डारीको कोखवाट पाँचौ सन्तानको रुपमा २०२६ साल जेठ १० गते जन्मनु भएका लोक वहादुर भण्डारी मिलनसार सालिन साथै भद्र हुनुहुन्छ । बाल्यकालबाटै सामाजिक कार्य, घुमफिर साथै अध्ययनमा बिशेष रुचिका साथ अगाडी बढ्नु भएका भण्डारी २०५३ सालबाट सरकारी सेवामा प्रवेश गर्नुभयो । लोकसेवा आयोगबाट अधिकृतमा नाम निकाली पहिलो पदस्थापनाको रुपमा संखुवासभा खादवारीमा रहेको मालपोत कार्यालयमा पदस्थापना भएको थियो ।

    धनकुटा स्थित खनियाँखर्कमा रहेको पञ्चकन्या प्राथमिक विद्यालयबाट क.ख.रा सुरुगरी जनता मा.वि. जितपुरबाट प्रवेशिका (एस.एल.सि) परीक्षा उतिर्ण गरी उच्च शिक्षाको लागि काठमाडौ आउनु भएका भण्डारीले एम ए, एम.पिए, एक बर्षे विएड र समाज शास्त्र सम्मको अध्ययन गर्नु भएको छ । भूमी सुधार मन्त्रालय, उपराष्ट्रपती कार्यालय, एक नम्वर प्रदेश सभा सचिवालय, जनप्रतिनिधी नै नभएको समयमा कास्कीको लेखनाथ नगरपालिका, इलाम नगरपालिका र जनप्रतिनिधी हुँदाको अवस्थामा दार्चुलाको महाकाली नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा समेत कार्य गरेको लामो अनुभव पछि ९ महिना अगाडी पाँचखाल नगरपालिका कार्यालयमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत हुनुहुन्छ ।

    नगरबासीको हितको खातिर प्रशासनिक खर्चलाई अत्यन्त कम गरी विकास निर्माणको लागि खर्च गर्ने मनसायका साथ अगाडी बढ्दै नियमित बजेटको ४० प्रतिशत सम्म प्रशासनिक खर्चगर्न पाउने प्रावधान हुंदा हुंदै पनि त्यसलाई घटाएर २५ प्रतिशतमै (चालु तर्फ) खर्च पु¥याएर बचेको रकम समेत बिकास निर्माणमै लगाई नगरको बिकासको लागि निरन्तर रुपमा अगाडी बढ्नुभएको छ । आम्दानिको स्रोत कम रहेपनि पाँचखाललाई अन्यत्रको स्थानिय तहको तुलनामा नमुना ढंगको नगरको रुपमा अगाडी बढाउंदै नगरबासीहरुको हितको खातिर कार्य गर्दै आउनु भएका भण्डारीसंग पाँचखाल नगरपालिकाको समसामयिक बिषयमा ईश्वरी राजकुमार (आइ.आर.कें) मैनालीले गरेको कुराकनी अंश ।

    तपाईले पाँचखाल आउनु भन्दा अगाडी धेरै नगरहरुमा कार्य गरी सक्नु भएको छ , अन्य नगर र पाँचखाल नगरमा के कस्ता भिन्नता पाउनु भयो ?

    मैले जनप्रतिनिधि नहुंदा पनि कार्यकारी प्रमुखको रुपमा इलाम नगरपालिका र लेखनाथ नगरपालिमा काम गरे र जनप्रतिनिधि हुंदाको अवस्थामा महाँकाली नगरपालिका र हाल पाँचखाल नगरपालिकामा कार्य गर्दै छु । अरु नगरपालिका भन्दा पाँचखाल नगरपालिका काठमाडौं बाट नजिक रहेको छ । यो नगरमा बसोवास गर्ने नगरबासिहरुको चेतनाको स्तर धेरै राम्रो साथै जनप्रतिनिधिहरुमा उच्च किसिमको राजनीतिक सहमतिको आधारमा अगाडी बढ्ने र यहाँ रहेका कर्मचारी खारिएका, राम्रा भएकोले कर्मचारीको टिम र जनप्रतिनिधिको टिम मिलेर अगाडी बढ्दा अन्यत्रको तुलनामा काम गर्न सहज महसुस गरेको छु ।

    पाँचखालमा रहेका नगरबासिहरु, जनप्रतिनिधिहरु र कर्मचारीहरुका कारण कामगर्न सहज भएको बताउनु भयो, सेवाग्राहीहरुलाई कसरी र कुन ढंगबाट सहज तरिकाले सेवा प्रदान गर्नुभएको छ ?

    “पाँचखाल नगर, कृषि शहर” भन्ने मुल नारका साथमा काम गरी रहेको छौँ । हामीले जनमैत्रि सेवा र मुस्कान सहितको सेवा, भ्रष्टचार विरुद्धमा सुन्य सहनशिलताको नीति अनुरुप सेवा ग्राहिलाई प्रथम अग्रस्थानमा राखेर हामीले सेवा प्रवाह गरिरहेका छौं । सेवा प्रवाहलाई प्रभावकारी पु¥याउनाको निम्ती हामीले नागरीक हेल्प डेक्सका व्यवस्था गरेका छौं । १३ वटै वडामा नागरिक वडापत्रको व्यवस्था, १३ वटै वडाबाट सेवा प्रवाह हुन्छ, वडा र नगरसंग सम्पर्क गर्नकोलागि सम्पर्क अधिकृतको व्यवस्था, सुचना अधिकारीको व्यवस्था गरेका छौं । उप—प्रमुख लक्ष्मी दनुवारको अध्यक्षतामा अनुगमन गर्ने कार्य भएको छ । नगरबासिहरुका गुनासालाई तत्काल सम्बोधन गरेका छौं । नगरको टाडा टाडाबाट सेवा लिन आउनेहरुलाई सजिलो हवस भन्ने उद्देश्यले वडा वडामै सम्पत्तिकर लगायतको सेवा प्रदान गर्दै आएका छौं ।

    १३ वटा नै वडामा अनलाईन प्रकृया अगाडी बढाएर सेवा प्रदान गरेको हो ?

    सबै वडामा अनलाईन नभएपनि केही वडामा सुरु भएको र बाँकी वडाहरुमा सुरु गर्ने तयारी भएको छ । विगतमा नगरको कार्यालयबाट मात्रै सम्पत्ति कर लिने गरेकोमा सेवाग्राहीहरुलाई समस्या भएको महसुस गर्दै वडा वडामै कर तिर्ने वातावरण तयार गरेका हौं ।
    पाँचखाल नगरपालिकामा विकास निर्माण अवस्था के कस्तो ढंगबाट अगाडी बढेको छ ?
    पाँचखाल नगरपालिकामा स्रोत साधनको हिसाबले भन्नु पर्दा काभे्रमा रहेको १३ वटै पालिका मध्य कम आय रहेको पालिका हो । तर पनि यस नगरपालिकाको भिजन भने स्पष्ट र फराकिलो रहेको छ । बल्ल बल्ल ढुंगा गिटी बालुवाको ठेक्का र त्यसमा पनि मुद्धा परेको अवस्था छ । यसपालि पनि स्थानिय बिबादका कारणले ठेक्का लगाउन सकेनौ । अरु नगरको तुलनामा यहाँ करका दरहरु र राजश्वका दरहरु अत्यन्तै कम रहेको छ । केन्द्र सरकार, प्रदेश सरकार, बिभिन्न संघ संस्थासंग, विकासका साझेदारीहरुसंगको सहयोगमा नगरपालिकाले आफ्ना विकास निर्माणका कामहरु सेवा प्रवाहका कामहरु, सुशासनका कामहरुलाई अगाडी बढाएको छ ।

    पाँचखाल धार्मीक कृषि नगरी भन्ने बिषयमा निकै चर्चामा आएको छ, कृषिको लागि नगरले के कस्ता योजना अगाडी बढाएको छ ?

    कृषिको लागि बिशेष गरेर यस नगरले भू—उपयोग योजना निर्माण गरीरहेका छौं र केही बर्ष अगाडीबाट नै कृषि योग्य भूमिमा प्लटिङ्ग गर्न रोक लगाईएको छ । कृषिको लागि प्रमुख माटो भएकोले माटो परिक्षणकोलागि प्रदेश सरकारको पहलमा ल्याव निर्माण भएको छ । माटोको उर्वरा शक्ति बढाउनकोलागि कृषकहरुलाई कृषि चुन वितरण गर्ने कार्य गर्ने तयारी गरेका छौं । पाँचखालमा सेमि र्अगानिक तरकारी उत्पादन गर्नाका निम्ती कृषि शाखाबाट कृषकहरुलाई तालिम दिने, बिभिन्न संघ संस्थाले पनि कृषकहरुलाई तालिम दिने काम गर्दै आएको छ । पाँचखालमा रहेको लवग्रीन नेपालसंग समन्वय गर्दै सेमि र्अगानिक ढंगबाट तरकारी उत्पादनको लागि कार्यहरु भइरहेका छन् ।

    पानीको स्रोतहरुको संरक्षण गर्न रिचार्ज पोखरी निर्माणको कामहरु समेत अगाडी बढेको छ । पाँचखालमा रहेको इट्टाभट्टाको कारण जनस्वास्थ्य साथै कृषिमा पर्न जाने असरलाई न्युनिकरण गर्नका लागि नगरले वातावरण ऐन र नियमावली पास गरीसकेको छ । वातावरण विभागवाट प्राबिधिक टोली झिकाएर अनुगमन गर्ने कार्य समेत भएको छ । ईट्टाभट्टहरुलाई नगरपालिकाले बनाएको ऐन कानुन, निर्देशिका र वातावरण बिभागबाट भएको निर्देशन अनुसार संचालन गर्नकोलागि पनि अनुरोध गरेका छौं ।

    पाँचखालमा भएका भट्टाहरुलाई पुरै विस्थापित गर्छौ की, मापदण्डमा रहेमा संञ्चालन हुन दिन्छौं ?

    नगरपालिकाको प्रमुख काम भनेकै नगरबासिलाई रोजगारी सिर्जना गर्ने हो , रोजगारीबाट जनस्तरमा सुधार ल्याउनु हो । उद्योगहरुलाई वातावरण नियम , ऐन र निर्देशिका अनुसार उद्योग चलाउछ भने स्वागत गर्छौ । उद्योगहरुलाई विस्थापित नभई स्थापित गर्नु पर्छ तर उद्योग संचालनको नाममा वातावरण विर्गान पाईन्न । वातावरणमा असर हुंदा स्थानियको स्वास्थ्यमा असर हुन्छ, स्वास्थ्य भन्दा ठुलो उद्योग हुन सक्दैन । पाँचखालको वडा नं ७ र ८ मा सेज संञ्चालन हुने प्रकृयामा रहेको छ । वडा नं ७ मा हरित महिला औधोेगिक ग्राम पनि निर्माण हुदैछ । वडा नं २ मा कृषि विश्वविद्यालय स्थापना हुंदैछ । त्यसैगरी वडा नं १२ मा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय निर्माण हुने भएको छ । त्यसैले भट्टाहरु वातावरण मैत्री ढंगले संचालन हुन नसकेमा विस्थापित गर्नुपर्ने अवस्था आउंछ ।

    कृषि नगरीमा सेमी र्अगानिक तरकारी उत्पादन गर्ने बताउनु भयो, तर सिंचाईको अवस्था कमजोर रहेको छ, सिंचाइको उचित व्यवस्थाको लागि नगरले के सोचेको छ ?

    सिंचाईकोलागि हाल नगरमा रहेको पानीको स्रोतहरुलाई संरक्षण गर्ने, सबै वडाहरुमा पोखरीहरु निर्माण गर्ने, राजकुलोहरुलाई व्यवस्थापन गर्ने लगायतका बिषयमा योजना अगाडी बढाएका छौं ।

    पाँचखालमा संचालन हुने तयारीमा रहेको सुनकोशि पाँचखाल बृहत खानेपानीको तयारी कस्तो हुदै छ ?

    पाँचखालमा खानेपानीको समस्या भएकोले २ अर्ब २१ करोडको लगानीमा सुनकोशि पाँचखाल बृहत खानेपानी योजना संञ्चालन हुदै छ । दक्षिण एशियाकै सबैभन्दा ठूलो परियोजना पाँचखालमा चल्दै छ । हाल टेण्डर भई सकेको छ । परियोजना सम्पन्न गर्नको निम्ति पाँचखालमा रहेका राजनीतिक दल लगाएत सर्वसाधारण साथै बिभिन्न संघ संस्थाहरु र मिडिया कर्मीहरुले पु¥याउनु भएको सहयोग महत्व पुर्ण रहेको छ ।

    नगरको आम्दानी कम रहेको बताउनु भयो, प्रशासनिक खर्चको अवस्था कस्तो रहेको छ ?

    नगरमा आन्तरिक आम्दानी कम भएकोले खर्चको बिषयमा धेरै कम गर्नु पर्ने अवस्था छ । नगरको कुल वजेटबाट ४० प्रतिशत भन्दा बढि प्रशासनिक खर्च गर्न नपाईने सरकारी नियम रहेको छ तर पाँचखाल नगरमा प्रशासनिक खर्चलाई २५ प्रतिशत नाघ्न नदिने र ७५ प्रतिशत रकम बिकासमा लगाउने योजनाका साथमा अगाडी बढेका छौं । सोही हिषावले यो बर्षको प्राथमिकतामा अघिल्लो बर्षमा सुरुगरेको योजनाहरुलाई पुरा गर्ने हो । खर्च गर्दा सबै बिषयमा कम गर्ने गरेका छौं । हामीले ७१ करोडको बजेट बनाएपनि १२ करोड घाटा बजेटमा छौं । हामीले धेरै कार्यक्रमहरु सुन्ना वजेटको कन्सेप्टमा कार्यक्रमहरु अगाडी बढाएका छौं । कर्मचारीलाई भनेअनुसारको प्रोत्साहन सुबिधा दिन सकेका छैनौ । कर्मचारीलाई जे जति सुबिधा दिनु पर्ने हो सो दिन सकेका छैनौ । पाँचखालमा रहेका विभिन्न संघसंथाहरुलाई खासै सुबिधा दिन सकेका छैनौं । इन्धन देखि सबै बिषयमा मितव्ययिताको ढंगबाट अगाडी बढेका छाँै । अन्य नगरको तुलनामा इन्धन खर्च अत्यन्त कम छ , पाँचखालमा बार्षिक १२ लाखले इन्धन पु¥याएका छौं ।

    फोहोर मैला व्यवस्थापनकोलागि कुनै नयाँ ढंगको रणनीति अपनाएको छ नगरले ?

    नगरपालिकाले आफ्नो स्थापना कालबाटै निःशुल्क रुपमा फोहारे संकलन गर्दै आएको यिथो । हालैबाट सुरुवात रिसाईकल इन्भारमेन्ट प्रईभेट लिमिटेड धुलिखेललाई फोहोर मैला व्यवस्थित गर्ने बिषयमा सम्झौता भएको छ । फोहोर मैलालाई व्यवस्थीत ढंगबाट व्यवस्थापन गर्ने बिषयमा योजना अघि बढि सकेको छ । जुन योजनाले दिर्घकालिन रुपमा कुनै समस्या नपर्ने गरी व्यवस्थापन गर्दै छौं । हाल सम्म पाँचखाल चौकी भन्दा पर जंगलको खोल्चोमा र काजिको तथा धैरेनि सामुदायिक वनको खेर गएको ठाउमा फोहोर व्यवस्था गर्दै आएका छौं ।
    फोहोर संकलनको लागि समानन्तर रुपमा ४ वटा संस्थासँग कुरा अगाडी बढाएका छौं । लोकल संस्थाहरुसंग पनि कुरा अगाडि बढेको छ । संकलन गरेको फोहोर राख्ने बिषयमा छलफल भइरहेको छ, त्यसको टुंगो लाग्ने बित्तिकै फोहोर मैला व्यवस्थापन थप सहज ढंगले व्यवस्थापन हुन्छ । हामीले जिरो ल्याण्ड फिल्ड साईडको योजनालाई अगाडी वढाएर दिर्घकालीन सोचका साथ कार्य गर्ने बिषयमा कार्यपालिकामा छलफल हुदै छ ।

    नगरमा रहेका जनप्रतीनिधिहरु र कर्मचारीको सम्बन्धको कस्तो रहेको छ ? जनप्रतीनिधिले कर्मचारीलाई काम गर्न बाधा पु¥याएका छन् की ?

    जनप्रतीनिधि र कर्मचारीको बिचमा सुमधुर नङ्ग र मासुको सम्बन्ध रहेको छ । पाँचखालमा भएको कर्मचारी र जनप्रतीनिधिको जस्तो व्यवहार अन्यत्रपनि हुन जरुरी छ । बास्तबमा तपाईले जटिल कुरो उठाउनु भयो, म आफु विगतमा जनप्रतिनिधि नहुंदा र हुंदा पनि अन्य नगरहरुमा काम गरी सकेको नाताले भन्नु पर्दा जनप्रतिनिधि नहुंदा भन्दा हुंदा काम गर्न धेरै सहज हुन्छ । अर्को कुरा मैले अरु नगरमा जनप्रतिनिधिसंग रहेर काम गर्दा र पाँचखालमा आएर काम गर्दा पाँचखालका जनप्रतिनिधि धेरै राम्रो पाए । कार्यरत नगरको जनप्रतिनिधिको कारण मलाई पनि नगरमा केही नयाँ ढंगको कार्य गर्ने जोस जाँगर बढेको हो । तपाईले सोध्नु भयो मैले यथार्थ भन्नै पर्छ, पाँचखालले जे जति जनप्रतिनिधि पाएका छन् त्यो पाँचखालकोे भाग्य भएको महसुस गरेको छु । मेरा कतीपय स्थानिय तहमा गएका साथीहरु जनप्रतिनिधिकै कारण स्थानिय तहबाट वाक्क भएर छोड्न आतुर देखिन्छन् । सबै बिषयलाई अध्ययन गर्दा म आफु पनि भाग्यमानि भएको महसुस भएको छ ।

    पाँचखालमा रहेका सम्पुर्ण जनप्रतिनिधिबिच अत्यन्त घनिष्ट राम्रो संबन्ध रहेको पाएको छु । नगरको हितकोलागि गरीने कुनैपनि कार्यमा विवाद देखिदैन । कुनैपनि मिटिङ्गमा बिवाद भएको देख्दिन, सबैको एउटै खाले सोच रहेको छ, नगरमा के कसरी बिकास गर्ने ? कसरी खर्च कम गर्ने र गुणस्तरीय बिकास निर्माण कसरी गर्ने भन्ने बिषयमा केन्द्रित भएको पाएको छु । सोही आधारमा अगाडी बढ्दा खर्च कम भएको कुरा बताई सकेको छु । नगरप्रमुखले पाउने तलब पनि लिने गर्नु भएको छैन ।

    वडाध्यक्षहरुले सुबिधा लिने बिषयलाई भन्दा विकास निर्माण र सो कार्यमा चुहावट हुन नदिने बिषयलाई प्राथमिकता दिदैै आउनु भएको छ । उदाहरण स्वरुप वडा अध्यक्षहरुलाई सुबिधा दिन मोटरसाईकल खरिद गर्ने भनिएको रकमबाट दमकल किन्ने निर्णय भयो । हालकै तरीकाबाट यसरीनै एक ढिक्का भएर ५ बर्ष सम्म जनप्रतिनिधि अगाढी बढ्ने हो भने पाँचखालले ठुलो फड्को मार्ने सुनिश्चित छ ।

    कस्तो तरिकाले अगाडी बढ्दा स्थानिय सरकार संञ्चालनमा समस्या रहंदैन ?

    स्थानिय सरकार संञ्चालनमा सहजताको लागि ‘हाम्रो मुख्य विशेषता नै भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता र मुस्कानसहितको सेवा हो’ । त्यसैगरी अर्को भनेको जनप्रतिनिधिको राजनैतिक पाटो र कर्मचारी प्रशासनको प्रविधिक पक्षमा एक अर्काले क्रस नगरी अगाडी बढ्दा स्थानिय सरकार सञ्चालनमा कुनै समस्या रहन्न ।

    अन्तमा केही भन्न चाहनु हुन्छ की ?

    खासै भन्नु पर्ने त खासै छैन, सबै बिषयमा उठान भएको जस्तो लाग्छ तरपनि , पाँचखाल नगरपालिकाको सन्दर्भमा पाँचखाल नगर अत्यन्तै राम्रो तरिकाले विस्तारै अगाडी बढेको छ । पाँचखालमा अनगिन्ति सम्भावनाहरु रहेका छन्, तथापि चुनौती पनि कम छैनन् । यहाँ ठूला ठूला मेघा प्रोजेक्टहरु आएको अवस्था रहेको छ ।

    विकास निर्माणमा सु—शासन सेवा प्रवाहमा उच्च किसिमको राजनीतिक सहमति रहेको छ । राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्वको विचमा द्वन्दको अवस्था छैन, सारै राम्रो सुमधुर सम्बन्ध रहेको छ । नगरवासिहरुबाट नगरपालिकालाई ठूलो भरोसा रहेको छ । मिडियाबाट पनि धेरै साथ सहयोग पाएका छौं । बिभिन्न एनजिओ आइएनजिओ हरुबाट साथ सहयोग पाइरहेका छौँ । संघिय सांसद तथा मन्त्री, प्रदेशिक सांसदहरु तथा नगरमा सकृय राजनीतिक दलहरु, बाट पाँचखाल नगरलाई धेरै किसिमका सहयोग र समर्थन पाएका छौं । बिकास निर्माणका निम्ती टिम स्पिडको आधारमा नगरपालिका अगाडी बढेको हुनाले नगरको भविष्य सुन्दर रहेको छ । पाँचखालमा जनप्रतिनिधिले प्रसाशनलाई सघाउने, प्रशासनले राजनीतिलाई सघाउने र कुनैपनि किसिमको राजनीतिक हस्तक्षप छैन त्यसले गर्दापनि पाँचखालको भविष्य सुन्दर देखेको छु ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार