काभ्रे जिल्लाको महाभारत गाउँपालिकाको १७ औँ गाउँसभामा अध्यक्ष श्री कान्छालाल जिम्बा ज्यूबाट आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत नीति तथा कार्यक्रम
सभाका सदस्यज्यूहरु,
महाभारत गाउँपालिका गाउँसभाको सत्रौं अधिवेशन समरोहमा यहाँहरुलाई हार्दिक स्वागत गर्दछु । यस गरिमामय सभामा गाउँपालिकाको आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्न गइरहेको छु । स्थानीय तहको दोस्रो निर्वाचन सम्पन्न भई हामीले कार्य प्रारम्भ गरेको ३ वष व्यतित भइसकेको छ । यस अवधिको हाम्रो कार्यसम्पादनको मूल्याङ्कन गर्ने अभिभारा आम गाउँबासीलाई दिदै यस गरिमामय सभामा गाउँपालिकाको वार्षिक तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा गौरवको अनुभूति
यस क्षणमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र स्थापनाका लागि नेपाली जनताले गरेको लामो गौरवपूर्ण ऐतिहासिक संघर्षमा जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । लोकतन्त्र तथा गणतन्त्र प्राप्तिका लागि जनयुद्ध, जनआन्दोलनका क्रममा महाभारत गाउँपालिकाको भूमीबाट कुल बहादुर राना मगर, ज्ञान बहादुर गोले, प्रविना बज्यू, शक्ति, लिला बहादुर मोक्तान (निर्माण) प्रमिला माझी, विमला वाईबा, राजु नेपाली, प्रहार, दिल बहादुर बोम्जन (दिपक) सीमा र विष्णु स्याङतान लगायतका सहासिक योद्धाहरुले बलिदान गर्नुभएको छ । यी आन्दोलनका क्रममा बेपत्ता भएका घाइते योद्धा र पीडितहरु उच्च सम्मान व्यक्त गर्दछु । नेपालको युगान्तका परिवर्तनका लागि भएका आन्दोलनमा अगुवाई गर्नुहुने सम्पूर्ण अग्रजहरुको योगदानप्रति उच्च सम्मान सहित स्मरण गर्न चाहन्छु ।
सभाका सदस्यज्यूहरु,
नेपालको संघीय संरचना अनुसार बागमती प्रदेश अन्तर्गत काभ्रेपलाञ्चोक जिल्लाका १३ वटा स्थानीय तहहरुमध्ये जिल्लाको दक्षिणी भेगमा अवस्थित महाभारत गाउँपालिका १८६ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको भौगोलिक रुपमा काभ्रे जिल्लाकै सबैभन्दा ठूलो स्थानीय तह हो । राष्ट्रिय जनगणना २०७८ अनुसार यस गाउँपालिकाको कूल जनसंख्या १६०७९ रहेको छ। जसमा पुरुष ७८८० र महिला ८१९९ रहेका छन् । भिन्न भौगोलिक, सास्कृतिक, सामाजिक, राजनैतिक तथा आर्थिक पहिचान बोकेका यस गाउँपालिकामा विशेषगरी तामाङ, मगर, नेवार, बाहुन, क्षेत्री, माझी, दलित, पहरी समुदायका मानिसहरुको बसोबास रही आएका छन् ।
यस गाउँपालिकाको उत्तरी सिमानामा रोशी गाउँपालिकासँगै पर्यटकीय क्षेत्र भुमीचुली लेक, ताराखसे लेक र चैत्यपानी जस्ता महत्त्वपूर्ण महाभारत कले घेरिएको छ, भने यस गाउँपालिकाको पूर्व सिमानामा सिन्धुली जिल्लाको घ्याङलेक गाउँपालिका, दक्षिणमा सिन्धुली जिल्लाको मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकासँगै महाभारत गाउँपालिकाको सिमानाबाट बगेको कोखाजोर खोला रहेको छ । पश्चिममा खानीखोला गाउँपालिका र महाभारत गाउँपालिकाको सिमानाबाट बग्ने चाउखोलाले घेरिएको छ । यस गाउँपालिकाको उत्तरी सिमानामा प्राकृतिक तथा पर्यटकीय रुपमा रहेको सुन्दर (म्हाबर) लेक समुन्द्र सतहबाट अन्दाजी २५०० मि. उचाईमा रहेको छ । र यस म्हाबर लेकबाट नै अन्तत यस गाउँपालिकाको नामाकरण महाभारत हुन गएको हो।
सभाका सदस्यज्यूहरु,
गाउँपालिका स्थापना भएदेखि नै लोकतान्त्रिक विधि र पद्धति अनुरुप कार्य सञ्चालन गरी छोटो समय सीमाभित्र गाउँपालिकाको सुशासन, विकास र समृद्धिको जग तयार भएको छ । सीमित स्रोत र साधनका बाबजुद गाउँबासीको असीमित आकाङ्क्षा परिपूर्ति गर्नु निश्चित रुपमा चुनौतिपूर्ण छ, तथापी सीमित स्रोत र असीमित जनचाहना सन्तुलन कायम गर्दै नेपालको संविधान, सोहो योजना, मानव बिकास सुचकाङ्क, दीगो विकासको राष्ट्रिय लक्ष्यहरु, आवधिक योजना, गाउँबासीको विकासको चाहना तथा राजनैतिक दलहरुको प्रतिवद्धता र जनप्रतिनिधिहरुको आकाङ्क्षालाई मध्यनजर गर्दै यो नीति तथा कार्यक्रम तयार गरिएको छ। यो नीति तथा कार्यक्रम तर्जुमा गर्ने क्रममा राय सुझाव प्रदान गर्नुहुने साथै यस कार्यको लागि सहयोग पुयाउनु हुने सम्पूर्ण गाउँबासी, राजनैतिक दलहरु, नागरि समाज, कर्मचारी तथा सञ्चार जगतहरुमा धन्यवाद ज्ञापन गर्न चाहन्छु ।
सभाका सदस्यज्यूहरु,
लोकतन्त्र आफैँमा जनमुखी शासन हो । स्थानीय सरकारले लोकतन्त्रको मूल्य र विधिलाई कानून तर्जुमा, सेवा प्रवाह, विकास र विपद् व्यवस्थापनका माध्यमबाट स्थानीयकरण गरेको छ । नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा अन्य प्रचलित कानूनी व्यवस्थाले स्थानीय तहलाई नीति निर्माण, विकास व्यवस्थापन, स्रोत संशाधनको परिचालन, सेवा प्रवाह एवं सुशासन र विपद् व्यवस्थापनको कार्यसूची प्रदान गरेको छ । उल्लेखित कार्यसूचीलाई मध्यनजर गरी यस महाभारत गाउँपालिकालाई देशकै एक उत्कृष्ट एवं नमुना स्थानीय तहको रुपमा स्थापित गर्ने, युवा स्वरोजगार र गरीबीको न्यूनीकरण गर्ने, स्वच्छ, सफा र सुन्दर गाउँपालिकाको पहिचान कायम राख्ने र योजनावद्ध रुपमा बस्ती विकासको साथ साथै भौतिक पूर्वाधारको दृष्टिले नमूना महाभारतको रुपमा पहिचान झल्किने प्रमुख लक्ष्य यस नीति तथा कार्यक्रमले लिइएको छ ।
कार्यालयबाट प्रदान गरिने दैनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाई सुशासनको अनुभूति जनतासामु ल्याउन समग्र गाउँपालिकाको क्षमता विकास गर्न समेत अपरिहार्य छ। सेवाग्राहीले सरल र सहज तरिकाले सेवा प्राप्त गर्ने हकलाई सुनिश्चित गर्न सूचना र प्रविधिको उच्चतम् प्रयोग गर्नु अनिवार्य छ । आन्तरिक सुशासन र सवल प्रशासनको विकासबाट हामीले अख्तियार गरेको नीति तथा कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन हुने भएकाले यो नीति तथा कार्यक्रम त्यसतर्फ नै निर्देशित रहेको कुरा म यहाँहरुमाझ अवगत गराउन चाहन्छु ।
सभाका सदस्यज्यूहरु,
स्थानीय तहको पहिलो र दोस्रो निर्वाचनमा सामेल भई आफ्नो अमूल्य मताधिकार प्रयोग गरी महाभारत गाउँपालिकाको रुपरेखा कोर्ने अभिभारा प्रदान गर्नुभएका सम्पूर्ण गाउँबासीज्यूहरुप्रति पुनः कृतज्ञता प्रकट गर्दछु । गाउँपालिकाको सर्वाङ्गीण विकास मार्फत गाउँबासीको हित र कल्याणका लागि गरिएका प्रतिबद्धता र बचनबद्धता प्रति हामी कटिबद्ध छौं । गाउँपालिकाको गरिमा र ख्यातिलाई अग्र स्थानमा पत्याउनु हुने गाउँबासी, जनप्रतिनिधि, कर्मचारीहरुको योगदान प्रतिको लगाव, मार्गदर्शनलाई धन्यवाद दिन चाहन्छु ।
सभाका सदस्यज्यूहरु,
यस सँगै प्रचूर सम्भानाहरुबीच हाम्रा सामु देहाय बमोजिमका विद्यामान चुनौतीहरू रहेका छनः
१. व्यवसायिक तथा प्राबिधिक शिक्षाको विकास गर्नु,
२.कृषि विकास तथा प्रसारलाई शिघ्र तथा व्यवस्थित बनाउनु,
३. गुणस्तरीय बीउबिजन मलखाद समयमा नै उपलब्ध गराउनु,
४.युवा जनशक्तिलाई कृषि व्यवसाय प्रति आकर्षित गर्नु,
५.व्यवसायिक कृषकको संख्या वृद्धि गर्नु,
६.वैदेशिक रोजगारीबाट फर्केका सीपयुक्त युवाको सीप तथा पुँजीलाई उद्यम विकासमा उपयोग गर्नु,
७.निर्माण भएको पूर्वाधारको मर्मतसंभार पद्धतिको विकास गर्नु,
८.सडक लगायतका पूर्वाधारको उपयोग योजना, डिजाइन तथा ड्रइङ विना गरिने सडक तथा अन्य पूर्वाधारका संरचना निर्माणको कार्यलाई रोक्नु,
९.भिरालो ठाउँ, बाढी पहिरो तथा डुवान लगायतका प्रकोपको उच्च जोखिम भएका वस्तीमा भवन निर्माण कार्यलाई रोक्नु,
१०. अव्यवस्थित बस्ती बिस्तारलाई रोकी व्यवस्थित बस्ती विकास गर्नु,
११. बैज्ञानिक, जलवायु उत्थानशिल तथा व्यवहारीक एवम् उपयुक्त भूउपयोग योजना तर्जुमा गरी लागू गर्नु,
१२. सञ्चार सेवा प्रदायक संस्थाहरू बाट प्रभावकारी सेवा प्राप्ति र ब्यवस्थित गर्नु,
१३. प्राकृतिक स्रोत तथा नदिजन्य पदार्थ (ढुंगा, गिट्टी, बालुवा) को मापदण्ड अबलम्बन नगरी अत्यधिक दोहन रोक्नु,
१४. विभिन्न कालखण्डमा गाउँपालिकामा निर्माण भएका पूर्वाधारका संरचना (पूँजीगत सम्पति) को लगत तयार तयार गर्नु, मूल्याङ्कन गर्नु तथा सेवा प्रभावमा प्रभावकारी उपयोग सम्बन्धी योजना (Asset Management Plan) तयार गरी कार्यान्वयन गर्नु ।
सभाका सदस्यज्यूहरु,
अब, म यस सम्मानित सभामा आर्थिक वर्ष ०८२/८३ नीति तथा कार्यक्रम प्रस्तुत गर्नु अगाडि गत वर्ष ०८१/०८२ मा हामीले हासिल गरेका महत्वपुर्ण उपलब्धिहरुको समीक्षा गर्न चाहन्छु ।
सभाका सदस्यज्यूहरु,
महाभारत गाउँपालिका कृषि सम्भावना, उत्पादन क्षमता र प्राकृतिक स्रोतको दृष्टिले समृद्ध क्षेत्र हो । विशेषतः कपी, अदुवा, बारीमा आधारित तरकारी उत्पादन, मौरीपालन, पशुपालन र लघु सिँचाई क्षेत्रमा महत्वपूर्ण योगदान रहँदै आएको छ । गाउँपालिकाले पछिल्ला वर्षहरुमा कृषिको व्यवसायीकरण र आत्मनिर्भरता वृद्धिमा विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको छ । महाभारत गाउँपालिकाको मुख्य जीविकोपार्जनको आधार कृषि हो । यहाँको भूगोल पाखा, भिरालो जमिन र मौसम अनुकूलताका कारण विभिन्न बाली तथा नगदे बाली उत्पादनमा प्रचूर सम्भावना छ । यहि सम्भावनालाई पहिचान गरी गाउँपालिकाले कृषि क्षेत्रमा विशेष नीति तथा कार्यक्रम तय गरेको छ । कृषि क्षेत्रलाई आधुनिकीकरणमा रुपान्तरण गर्न कृषकहरूलाई सीप, तालिम, र अनुदान सहित कृषि उपकरणमा जोड दिइएको छ ।
विशेषगरी महाभारत गाउँपालिकाको कफीलाई ब्रान्डिङ गर्न कफी नर्सरी स्थापना, कफी बिरुवा, तालिम, तथा उपकरण वितरण कार्यक्रम सञ्चालन गरी कफी व्यवसायलाई थप व्यवस्थित र दिगो बनाउने प्रयास गरिएको छ । महाभारत अब केवल परम्परागत कृषि गर्ने ठाउँ मात्र रहेन, आधुनिक सोच, सीप र प्रविधिसँग जोडिएको छ । साथै चालु आ.व.मा स्वीकृत वार्षिक नीति तथा कार्यक्रममा एक वडा एक कृषि उत्पादन अन्तर्गत जसले रोप्छ कफीको बोट उसले पाउँछ रु बीस को नोट, कार्यक्रम लागू भएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा १ लाख २५ हजारभन्दा बढी कफी बिरुवा वितरण, प्लास्टिक मल्चिङ सहित बगैँचा स्थापना, कफी नर्सरी स्थापना, पल्पर मेसिन, मिनी टिलर, ड्रम, थोप सिँचाइ जस्ता प्रविधिको प्रयोग, कृषक प्रशिक्षण, भ्रमण र परामर्श सेवा लगायतका कार्यक्रमहरू सञ्चालन गरेको छ ।
अन्ततः गाउँपालिकाभित्र कफी खेतीको प्रवर्द्धनमार्फत स्थानीय कृषकको जीवनस्तर सुधार गर्ने, युवा पुस्तालाई कृषि क्षेत्रमा आकर्षित गरी दीर्घकालीन आर्थिक स्रोत तय गर्ने गाउँपालिकाको प्रमुख उद्देश्य हो ।
सभाका सदस्यज्यूहरु,
महाभारत गाउँपालिका भौगोलिक र प्राकृतिक दृष्टिले पशुपालनका लागि उपयुक्त क्षेत्र हो । पराम्परागत रुपमा गरिदै आएको पशुपालनलाई व्यवस्थित, व्यवसायिक र उत्पादनमूखी बनाउने उद्देश्यका साथ गाउँपालिकाले पछिल्ला वर्षहरुमा पशु सेवा प्रवर्द्धनमा विशेष प्राथमिकता दिएको छ । सामुदायिक छाडा कुकूरहरुलाई रेबिज खोप तथा बन्ध्याकरण कार्यक्रम सञ्चालन गरिएको छ । पालिकास्तरिय पशुपालन व्यवस्थापन, दुग्धपदार्थ उत्पादन तथा विविधिकरण तालिम सञ्चालन गरी कृषकहरुले लाभ लिएको छ । जसबाट धेरै कृषकहरुले प्रत्यक्ष रुपमा प्राविधिक ज्ञान हासिल गरेको छ । कृषकहरुका लागि व्यवहारिक बाख्रापालन प्रविधि नामक पुस्तिका प्रकाशन गरी वितरण गरिएको छ । पशुपंक्षीमा लाग्ने विभिन्न रोगहरुविरुद्ध निःशुल्क औषधि वितरण गरेको छ । जसमा ३२३ जना सेवाग्राहीले प्रत्यक्ष रुपमा सेवा लिएको छ ।
सभाका सदस्यज्यूहरु,
शिक्षा सामाजिक रुपान्तरणको आधार हो, भन्ने उद्देश्य सहित “शिक्षामा लगानी, ल्याउँछ सुनौलो विहानी” नारा अघि सारेको छ । महाभारत गाउँपालिकाको आ व २०८१/०८२ मा कूल बजेटको शिक्षा क्षेत्रमा झन्डै ३० प्रतिशत बजेट बाँडफाँड भएको थियो । जसमा प्रायःजसो बजेट विद्यालयहरुलाई अनुदानको रुपमा निकासा भयको थियो । शिक्षा क्षेत्रमा राज्यको कूल बजेटको धेरै अंश अनिवार्य दायित्व अन्तर्गत पर्ने गर्दछ ।
आ.व. २०८१/०८२ मा अनिवार्य तथा निशुल्क शिक्षा लागू भएको स्थानीय तह घोषणाका लागि बागमती प्रदेश सरकारबाट बजेट तथा कार्यक्रमको व्यवस्था भए बमोजिम यस गाउँपालिकाका सम्पूर्ण वडाहरुलाई अनिवार्य तथा निशुल्क शिक्षा लागु भएको वडा घोषणा गरी गाउँपालिकालाई समेत मिति २०८२।०२।३० गते अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको गाउँपालिका घोषणा गर्ने कार्य सम्पन्न भएको छ । यसैगरी शिक्षा तालिम केन्द्र, धुलिखेलको आयोजना र यस गाउँपालिकाको सहयोग तथा लागत साझेदारीमा बालविकास सहजकर्ताहरुको लागि ५ दिवसिय क्षमता विकास अभिवृद्धि तालिम र विद्यालयका प्र.अ र शिक्षक कर्मचारीलाई सूचना तथा संचार प्रविधि सम्बन्धी ५ दिवशिय क्षमता विकास अभिवृद्धि सम्बन्धि तालिम सञ्चालन गरिएको थियो । यससँगै प्रत्येक तीन महिनामा विद्यालयका प्रधानाध्यापकहरुसँग शैक्षिक सुधार तथा विद्यालयको प्रगति विवरणबारे अन्तरक्रिया तथा छलफल गरिएको छ। साथै महाभारत गाउँपालिकाको स्थानीय पाठ्यसामाग्री अन्तिम चरणमा पुगेको छ ।
सभाका सदस्यज्यूहरु,
स्थानीय सरकारको प्राथमिक दायित्व स्वरुप सबै नागरिकलाई सुलभ, गुणस्तरीय र समावेशी स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यका साथ महाभारत गाउँपालिकाले विगत आ.व. हरुमा स्वास्थ्य प्रणालीको सदृढीकरणतर्फ निरन्तर प्रयास गर्दै आएको छ । गाउँपालिकाको आ.व. २०८९/०८२ मा स्वास्थ्य क्षेत्रमा २.७१ % बजेट बाँडफाँड भएको थियो । जसमा अनिवार्य दायित्व सँगै दिगो विकासको लक्ष्य हासिल गर्न विभिन्न कार्यक्रमहरु संचालन गरिएको थियो । महाभारत बन्दै छ, बा आमालाई सन्चै छ भन्ने नविनतम् नाराका साथ समुदाय स्तरमा गएर १९०७ जना नागरिकहरुको नसर्ने रोगहरु परिक्षणका साथै स्वस्थ खानपान तथा जिवनशैली बारे परामर्श दिएको थियो । जसमध्ये उच्च रक्तचाप भएका- १२७ जना, मधुमेह भएका २६ जना यसैगरी मृगौला बिरामि १२४ जना, र मोटोपना भएका ६२२ जनालाईस्वस्थ्य शिक्षा दिनुका साथै आवश्यक परामर्श दिईएको छ ।
स्वास्थ्य संस्थाबाट टाढा रहेको बस्तीहरुमा ११ वटा विशेषज्ञ सहितको एकिकृत जनस्वास्थ्य अभियानमा नसर्ने रोगहरु, आँखा, नाक, कान, घाँटी, पोषण प्रवर्धन, स्त्री रोगतथा प्रजनन स्वास्थ्य, बालरोग, प्रयोगशाला सेवा, दन्त सेवा, आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवा, परिवार नियोजनमा पुरुष बन्ध्याकरण सेवा,एक्सरे र भिडियो एक्सरे सेवा, पाठेघरको मुखको क्यान्सर संकास्पदबिरामीलाई उपचार सेवा लगाएत सामान्य रोगहरु सम्बन्धी सेवाहरु संचालन गरि १६५९ ( एक हजार छ सय एकाउन्न ) जना नागिरकहरुलाई सेवा दिईएको छ । क्षयरोग रोकथाम तथा नियन्त्रण गर्नको लागी डाक्टर सहित एक्सरे सेवा लिएर आवश्यक वडामा शिविर संचालन गरि ४११ जना (चार सय एघार जना ) क्षयरोग संकास्पद मानिसहरुमा चेकजाँच गरि समुदायमा लुकेर रहेको क्षयरोग बिरामीहरु खेजपड्ताल गरिएको थियो ।
यसैगरी आँखाको मोतियाविन्दुको समस्या खोजपड्ताल गर्न र आँखा सम्बन्धी समस्याहरु पहिचान तथा उपचार गर्न ६ वटा वडामा केन्द्र राखेर शिविर सञ्चालन गरि १२६८ जना नागरिकहरुको आँखा परिक्षण तथा उपचार गरिएको र १०० जनाको आँखाको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया गरिएको थियो । मातृ तथा नवशिशु मृत्युदर घटाउन, राष्ट्रिय खोप कार्यक्रमलाई ९० प्रतिशत भन्दा बढि प्रगती हासिल गर्न र संस्थागत सुत्केरी बढाउन गर्भवती महिलालाई निःशुल्क एम्बुलेन्स सेवा निरन्तरता दिइरहेको साथै संस्थागत सुत्केरी महिलाहरुलाई पोषण खर्च वितरणमा समेत निरन्तरता दिइरहेको छ । यस्तै महिलाको पाठेघरको मुखको क्यान्सरको बिरुद्ध दिइने खोप एच पि भि भ्याक्सिन सम्पूर्ण वडाहरुमा सञ्चालन गरी ८४१ जना किशोरीहरुलाई खोप सेवा समेत दिइएको छ ।
सभाका सदस्यज्यूहरु,
महाभारत गाउँपालिकाले “समावेशी पहुँच, सन्तुलित पूर्वाधार” को अवधारणाका साथ भौतिक पूर्वाधार विकासलाई स्थानीय विकासको मेरुदण्ड मानी, समग्र गाउँको समृद्धिको आधार तयार गर्ने रणनीति अनुरुप अघिल्ला वर्षहरुमा योजनाबद्ध पूर्वाधार विकासमा निरन्तरता दिएको छ । सडक, खानेपानी, विद्युत, भवन, संचार, सिँचाइ, नाली, पुल-पुलिया, भवन तथा सार्वजनिक सेवा केन्द्रहरु निर्माणमार्फत गाउँको समग्र पूर्वाधार सञ्जाल विस्तार भएको छ। यस्ता पूर्वाधारले जनताको दैनिकीमा प्रत्यक्ष सुधार ल्याउनुका साथै सेवा प्रवाह र स्थानीय आर्थिक क्रियाकलापलाई समेत सहज बनाएको छ ।
गाउँपालिका केन्द्र र जिल्ला सदरमुकाम जोड्ने छोटो दुरीको तीनखुट्टे सर्दुङ बुढाखानी सडक खण्डमा संघीय सरकार प्रदेश सरकार तथा गाउँपालिकाको साझेदारीमा स्तरोन्नति गर्ने कार्य सम्पन्न गरिएको छ । जसमा २ कि.मि. ढलान, ३ कि.मि. ग्राभेल तथा नाली र २ वटा कल्भर्ट निर्माण कार्य गर्ने कार्य समेत सम्पन्न भएको छ । यसबाट बढि सवारी चाप हुने र अत्यन्त असहज र जोखिम रहेको महादेवटार सर्दुङ सडक खण्डमा यातायात सञ्चालन सहज हुने अपेक्षा गरिएको छ ।
गाउँपालिकाको केन्द्र देखी वडा केन्द्रसम्म जोड्ने सडकहरुको स्तरोन्नती कार्यलाई प्राथमिकतामा राखी निर्माण कार्य भइरहेको छ । आहाले बासपुर सिङ्गरा भन्ज्याङ बनखु सडक खण्डमा १.२ किमि ग्राभेल तथा नालि निर्माण कार्य सम्पन्न गरिएको छ । त्यसै गरी मेलुङ ठाडे फोक्सिङ्टार सडक खण्ड स्तरोन्नति गर्ने कार्य सम्पन्न गरिएको छ । जस अन्तर्गत १ वटा कल्भर्ट, ८०० मिटर नाली, तथा २०० मि. सडक सोलिङ कार्य सम्पन्न भएको छ । गाउँपालिकाभित्र चालु आ.व. मा १० कि.मि. नयाँ सडक निर्माण सम्पन्न भएको छ भने १६९ कि.मि. निर्माण भएका सडकहरु सुचारु रहने गरी मर्मत गरिएको छ । झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम अन्तर्गत नमटार देउराली झोलुङ्गे पुल (८४ मि. स्पान) र फोक्सिङ्टार ख्यापुवा जोड्ने बनखु खोला झोलुङ्गे पुल (११३ मि. स्पान) निर्माण कार्य सम्पन्न भएको छ ।
वि.पि. राजमार्गबाट यस गाउँपालिका दे मदन भण्डारी राजमार्ग जोड्ने गरी जनमुक्ति मार्ग निर्माणको लागि प्रदेश सरकार र संघीय सरकारसँग बिशेष पहल र समन्वय गरिएको छ । यसबाट डोटे घर्तिछाप सडक खण्डमा करिब ४ कि.मि. सडक कालोपत्रे गर्ने कार्य सम्पन्न भएको छ भने बाँकि खण्ड निर्माणधीन अवस्थामा रहेको छ । गाउँपालिकाभित्रका सम्पुर्ण सडकहरुको मापदण्ड कायम हुने गरी सोही अनुरुप गाउँपालिकाको यातायात गुरुयोजना (RMTMP) लाई अद्यावधिक गरिएको छ ।
गाउँपालिकाको प्रशासकीय भवन निर्माणको कार्य अन्तिम चरणमा रहेको छ भने चालु आ.व. मा नै सम्पन्न गरी आगामी आ.व.मा नयाँ भवनबाट सेवाप्रवाह हुने व्यवस्था मिलाइनेछ । गाउँपालिकाको भू – उपयोगक्षेत्र निर्धारण गर्ने नीतिअनुरुप गाउँपालिकाभित्र रहेका जग्गा बर्गिकरणको कार्य अगाडि बढाइएको छ । एक घर एक धाराको नीति अवलम्वन गरिएअनुसार संघीय बिशेष अनुदानबाट सञ्चालित काभ्राखोल्सी हलिदे खानेपानी आयोजना सम्पन्न भएको छ, जसबाट ३५० बढी घरधुरी प्रत्यक्ष रुपमा लाभान्वित भएका छन ।
प्रदेश बिशेष अनुदान अन्तर्गत आहाले बासपुर उतिघारी खानेपानी आयोजना चालु आव मा नै सम्पन्न हुने गरी निर्माण भइरहेको छ । यस आयोजनाबाट १०३ घरधुरीमा खानेपानिको उपलब्धता सुनिश्चित भएको छ । अन्य बिभिन्न आयोजनाहरुबाट चालु आ.व. मा जम्मा ५०० घरमा धारा निर्माण कार्य सम्पन्न भएको छ । प्रदेश सशर्त अनुदान अन्तर्गत महादेवटार सिँचाई योजना सम्पन्न गरिएको छ । जस अन्तर्गत १.१४ कि.मि. सिँचाई कुलो निर्माण सम्पन्न भएको छ । अन्य बिभिन्न सिँचाई आयोजनाहरु गरी ५.२ कि.मि. पाइप सिँचाई निर्माण सम्पन्न गरिएको छ ।
सभाका सदस्यज्यूहरु,
स्थानीय शासनको प्रभावकारी, पारदर्शीता र जवाफदेहिता सुनिश्चित गर्ने आधारमध्ये एक हो – वित्तीय अनुशासन ! महाभारत गाउँपालिकाले यहि आधारलाई आत्मसात् गर्दै आ.व. २०७९/०८० २०८०/०८१ मा वित्तीय व्यवस्थापनमा सुधार आएको छ ।
महाभारत गाउँपालिका आ.व. २०७९/८०२२०८०/८१ का लागि महालेखापरीक्षकको वार्षिक प्रतिवेदन अनुसार बेरुजु शून्य कायम रहन सफल भएको छ । यस उपलब्धीले सिंगो गाउँपालिकालाई राष्ट्रमा चिनाउन सफल भएको छ । यस सुखद अवसरमा आम पालिकाबासी सबै दाजुभाई तथा दिदि बहिनिहरु लगाएत सहयोग गर्नुहुने सबै सबैमा हार्दिक आभार तथा धन्यवाद ब्यक्त गर्दछु । पालिकाले सबै खर्च तथा भुक्तानी वित्तीय ऐन, नियमावली र कार्यविधि अनुसार सम्पन्न गरेको छ ।यस्तै, आ.व. २०७९/८० र २०८०/८१ मा Local Government Institutional Self- Assessment (LISA) तथा Fiscal Risk Assessment (FRA) मा पनि पालिकाले सन्तोषजनक अंक प्राप्त गरेको छ, जसले आन्तरिक नियन्त्रण प्रणाली सुदृढ रहेको देखाउँछ ।
आन्तरिक लेखापरीक्षण शाखाले नियमन, निगरानी र सुधारात्मक कार्यान्वयनमा निरन्तर ध्यान दिँदै आएको छ । आन्तरिक लेखापरीक्षणबाट प्राप्त सुझावहरूको कार्यान्वयन, समायोजन तथा जोखिम व्यवस्थापनलाई आगामी वर्षमा थप प्रभावकारी बनाउने योजना बनाइएको छ । त्यसैगरि स्थानिय विपद ईकाई व्यवस्थापन तथा संचालनको हाल सम्म आदि दर्जन भन्दा बढि बैठकहरु बसेर महत्वपुर्ण निर्णयहरु गरिएको । मनसुन शुरु हुनु पुर्व विपद पुर्व तयारी स्वरुप सार्वजनिक सुचना मार्फत आम नागरिकमा जानकारी गरिएको स्थानीय आपतकालिन कार्यसंचालन केन्द्र (LEOC) मा विपद व्यवस्थापनको लागि आवश्यक खाद्यन्न लगायतको सामग्रीहरुको भण्डारण गर्ने कार्य सम्पन्न गरिएको । साथै विपद व्यवस्थापन तथा जोखिम न्युनिकरणका लागि विपदको अत्यावश्क सामग्रीहरु पालिका स्थित विभिन्न प्रहरि युनिटहरुलाई वितरण गर्ने कार्य समेत सम्पन्न भैसकेको छ ।
२०८१ असोज १०,११ र १२ गते परेको अविरल बर्षातका कारण अबरुद्द गाउँपालिकाको सबै सर्वजनिक सेवाहरु समयमै सुचारु गरिएको थियो । यस संगै अविरल बर्षातका कारण निजि घरहरुमा भएको क्षति अन्तर्गत आस्थायी आवास निर्माणको लागि जम्मा १७ घरधुरिको तथ्याङक संकलन गरि NDRRMA को विपद पोर्टलमा प्रविष्ट गरि पहिलो किस्ता बापदको रु२५,०००/- रकम वितरण सम्पन्न गरेर दोस्रो किस्ताको बिबरण समेत प्रबिष्ट शुरु भएको छ । सो पश्चात अविरल बर्षातका कारण निजि घरहरुको निर्माण प्रक्रिया थलानि गर्न ANDRRMA को आयोजनामा घरको क्षतिको आंकलन गर्न प्राविधिकको लागि DDA तालिम पश्चात घरहरुको सर्वेक्षण कार्य समेत सम्पन्न भैसकेको ।
यस संगै २०८१ असोज १०,११ र १२ गते परेको अविरल बर्षातका कारण गाउँपालिकाको ११ वटा क्षतिग्रस्त खानेपानीको पुर्ननिर्माणको लागी खानेपानीको फाईल संकलन गरि ३ नं. डिभिजन कार्यलय सिन्धुपाल्चोकलाई अनुरोध गरे पश्चात खानेपानीको पाईप माग गरेर वितरण गर्ने कार्य समेत अन्तिम चरणमा पुगेको छ भने वडा नं. २ स्थित ठुलोखोल्सि खानेपानी आयोजनाको सिघ्र संचालनको लागि डिभिजन खानेपानी कार्यलय भक्तपुरबाट पाईपहरु तत्काल माग गरेर सो आयोजनामा उपलब्ध गर्ने कार्य समेत सम्पन्न गरिसकेको छ । साथै विपद पुर्वतयारी स्वरुप खानेपानि आयोजनामा हुनसक्ने क्षतिको तत्काल मर्मत तथा संचालन एवं न्युनिकरणका लागि यस महाभारत गाउँपालिकाबाट २ जना प्राबिधिक कर्मचारिलाई हप्तादिनको प्लम्बिङको तालिममा सहभागिता समेत जनाईसकेको छ ।
सभाका सदस्यज्यूहरु,
संघीयता कार्यान्वयनको आधारस्तम्भ कानुन निर्माणको क्षेत्रमा पहल भई ४० भन्दा बढी कार्यविधि निर्देशिका र मापदण्ड निर्माण भएका छन् । उपभोक्ता समिति दर्ता कार्यविधि पारित गरी २८ वटा खानेपानी उपभोक्ता समिति र अन्य समितिहरुको दर्ता भएको छ । कर्मचारी छनौटमा योग्यता, निष्पक्षता र तटस्थता : सेवा प्रवाहमा चुस्तता” भन्ने मूल मन्त्रलाई आत्मसात् गरी करार कर्मचारी नियुक्ती सम्बन्धी प्रक्रियालाई वस्तुनिष्ठ बनाउने प्रयासमा अनमी सूचना प्रविधि अधिकृत सहायक कम्प्युटर अपरेटर नियुक्ती गरी सेवा प्रवाहलाई थप शिघ्र तथा चुस्त बनाउने प्रयास भएको छ ।
अभिलेख व्यवस्थापन तथा सूचना व्यवस्थापनको क्षेत्रमा वैज्ञानिक फाइलिङ पद्धतिको अनुशरण गरी कार्यसम्पादन गर्दै सूचनाको हकको व्यवहारिक अनुभूति हुने गरी कार्य भएको छ । सेवा प्रवाहलाई चुस्त र परिणाममुखी बनाउन नीतिगत व्यवस्थानुरुप मासिक त्रैमासिक अर्धवार्षिक तथा वार्षिक समिक्षात्मक गोष्टीहरु तथा प्रतिवेदन प्रणालीलाई कार्यान्वयन र सार्वजनिकिकरण गरिएको छ ।
जनप्रतिनिधिहरु तथा कमर्चारीहरुको लागि सामाजिक सुरक्षा तथा पञ्जीकरण सम्बन्धी क्षमता विकास तालिम तथा योजना कार्यान्वयनमा चुस्तता तथा प्रभावकारीता सम्बन्धी गोष्टी आयोजना गरीएको छ । महाभारत गाउँपालिकाको आवधिक योजना अद्यावधिक तथा मध्यमकालिन खर्च संरचना साथै सडक गुरु योजना तर्जुमाको काम अगाडी बढेको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सञ्चालित आयोजना अन्तर्गत यस गाउँपालिकाको सबै वडामा सञ्चालनमा रहेको जम्मा ३४ वटा आयोजनाहरु सम्पन्नको लागि सुचिकृत बेरोजगार व्यक्तिहरु मध्येबाट रोजगारीमा संलग्न ११६ जना व्यक्तिहरुलाई रोजगारीमा खटिनुपूर्व अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको । यस कार्यक्रम अन्तर्गत रोजगारी सिर्जनाका लागि विनियोजित बजेट रकमको ८७ प्रतिशत रकम पारिश्रमिक वापतको कार्यमा खर्च भई ३२ वटा आयोजना सम्पन्न गरिएको र रोजगारीमा संलग्न व्यक्तिहरुका लागि रोजगारीमा खटिनुपूर्व आवश्याक सुरक्षा सामाग्री समेत वितरण गरिएको थियो । सबै व्यक्ति र वर्गले गर्ने कार्य सम्मानको लागि सबै वडामा “श्रमको सम्मान राष्ट्रको अभियान” सम्बन्धि जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको ।
महाभारत गाउँपालिकाबाट विदेशिएका बढ्दो युवाशक्तिको मध्यनजर गर्दै बैदेशिक रोजगारीको प्रक्रियालाई सहजीकरणका लागि पुनः श्रमस्वीकृति को कार्य गाउँपालिकाबाट लिन मिल्ने व्यवस्था गरिएको छ साथै बैदेशिक रोजगारीमा जानुपूर्व जानकार हुनुपर्ने नितिगत प्रक्रियासँगै बैदेशिक रोजगार बोर्ड कन्सुलर विभागबाट प्राप्ता हुने सुविधाबारे जानकारी गराई गाउँपालिकाबाट नै सुविधा प्रदान गर्ने व्यवस्थाको तयारीमा रहेको । महाभारत गाउँपालिकाभित्र दक्ष जनशक्तिको उत्पादकत्वमा जोड दिँदै विभिन्न संघसंस्थाहरुसंगको सहकार्यमा निःशुल्क सिपमुलक तालिमहरु सञ्चालन गरिएसँगै बढ्दो बेरोजगारी संख्यालाई न्युनिकरण गरी आन्तरिक रोजगारी प्रवर्दन र सिर्जनाका लागि रोजगार रणनिति तर्जुमा गरी रोजगार संवाद मञ्चलाई व्यवस्थित तरिकाले सञ्चालनका कार्यहरु समेत भईरहेको छ ।
सभाका सदस्यज्यूहरु,
स्थानीय श्रोत साधनको व्यावसायिक रुपमा उपयोग गरी लघु उद्यमी सिर्जना मार्फत अति गरिब, विपन्न, महिला,दलित,जनजाती समुदायको आर्थिक उत्थान गरी गरिबि न्युनिकरण गर्ने उद्देश्यले संचालन भएको गरिवि निवारणको लागि लघु उद्यम बिकास कार्यक्रमले उद्यमशिलताको क्षेत्रमा कार्य गर्दै आईरहेको छ । यसै क्रममा आ.ब २०८१/८२ मामहाभारत गाउँपालिकालेगरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत ३ वटा वडाहरुमा विभिन्न कार्यक्रमहरु संचालन गरि ११० जना नयाँ लघु सिर्जना गर्न सफल भयो यसै गरि ६० जना भैरहेको पुराना उद्यमीहरुलाई पनि स्तरोन्नति गर्ने कार्यहरु गरियो ।
अतः आ.ब ८१ / ८२ मा वडान. ४ मा उद्यमशीलता विका तालिम बाट छनौट भएको ३८ जना उद्यमीहरुलाई कागती खेति सम्बन्धि प्राविधिक सिप विकास तालिम संचालन गरियो।यसै गरि वडा न.५ मा झोल तथा डल्ले साबुनको प्राविधिक सिप विकास तालिम, अगर बत्ति सम्बन्धि सिप विकास तालिम,मौसमीतथाबेमौसमी तरकारी खेति को सिप विकासतालिमसंचालन गरि ४५ जना लघु उद्यमीहरू सिर्जना गरियो।यसै गरि वडा न. ६ मा दुनोट बनाउने सम्बन्धि सिप विकास तालिम र बेमौसमी तरकारी खेतीको सिप विकास तालिम संचालन गरि ३० जना लघु उद्यमीहरू सिर्जना गरियो ।
स्तरोन्नति कार्यक्रम अन्तर्गत वडा न. ४ मा पुराना लघु उद्यमी हरुलाई पशु पालन सम्बन्धि सिप विकास तालिम संचालनगरियो।वडा न.३ मा पुरानाउद्यमीलाई कफी खेति सम्बन्धि सिप विकास तालिम संचालन गरियो । यसै गरि वडा न.५ मा मौसमी तथा बेमौसमी तरकारी खेति सम्बन्धि सिप तालिम संचालन गरि जम्मा ६० जना पुराना उद्यमीहरुलाई स्तरोन्नति गर्ने कार्य गरियो । वडा सचिव र कम्प्युटर अपरेटरहरु तथा वडा अध्यक्ष सहितको सहभागितामा २ दिने सामाजिक सुरक्षा तथा पञ्जीकरण सम्बन्धी क्षमता विकास तालिम सञ्चालन भएको थियो ।
सामाजिक सुरक्षा वितरण लगाएतको कार्यहरुलाई थप व्यवस्थित बनाउन १८ ओटा बायोमेट्रिक भेरिफिकेसन खरिद गरेर वडाकार्यालयहरुलाई (प्रति वडा २/२ ओटा) १६ ओटा डिभाइस वितरण समेत वितरण गरिएको थियो । महाभारत गाउँपालिकाको न्यायिक समितिले मेलमिलापकर्ताहरुलाई ३ दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।यस आ.व को जेष्ठ महिना सम्म ३ वटा विवाद दर्ता भएको र ३ वटै विवाद फछ्यौट भएको छ । न्यायिक समितिले यो आ.व. मा १३ वटा बैठकहरु सम्पन्न भएको छ । प्रत्येक चौमासिक विवरणहरु आन्तरीक मामिला तथा कानुन मन्त्रालयमा पठाउने कार्य गरिएको छ । । न्यायिक समितिको मुख्य उपलब्धिको रुपमा छिटो छरिटो न्याय प्राप्तिको अनुभव सेवाग्राहिले पाएको, जित जितको अनुभव भएको र निशुल्क र सर्वसुलभ महशुस भएका छन ।
सभाका सदस्यज्यूहरु,
संघीयता कार्यान्वयनको आधारस्तम्भ कानुन निर्माणको क्षेत्रमा पहल भई ४० भन्दा बढी कार्यविधि निर्देशिका र मापदण्ड निर्माण भएका छन् । उपभोक्ता समिति दर्ता कार्यविधि पारित गरी २८ वटा खानेपानी उपभोक्ता समिति र अन्य समितिहरुको दर्ता भएको छ । “कर्मचारी छनौटमा योग्यता, निष्पक्षता र तटस्थता : सेवा प्रवाहमा चुस्तता’ भन्ने मूल मन्त्रलाई आत्मसात् गरी करार कर्मचारी नियुक्ती सम्बन्धी प्रक्रियालाई वस्तुनिष्ठ बनाउने प्रयासमा अन मी सूचना प्रविधि अधिकृत सहायक कम्प्युटर अपरेटर नियुक्ती गरी सेवा प्रवाहलाई थप शिघ्र तथा चुस्त बनाउने प्रयास भएको छ ।अभिलेख व्यवस्थापन तथा सूचना व्यवस्थापनको क्षेत्रमा वैज्ञानिक फाइलिङ पद्धतिको अनुशरण गरी कार्यसम्पादन गर्दै सूचनाको हकको व्यवहारिक अनुभूति हुने गरी कार्य भएको छ ।
सेवा प्रवाहलाई चुस्त र परिणाममुखी बनाउन नीतिगत व्यवस्थानुरुप मासिक त्रैमासिक अर्धवार्षिक तथा वार्षिक समिक्षात्मक गोष्टीहरु तथा प्रतिवेदन प्रणालीलाई कार्यान्वयन र सार्वजनिकिकरण गरिएको छ । जनप्रतिनिधिहरु तथा कमर्चारीहरुको लागि सामाजिक सुरक्षा तथा पञ्जीकरण सम्बन्धी क्षमता विकास तालिम तथा योजना कार्यान्वयनमा चुस्तता तथा प्रभावकारीता सम्बन्धी गोष्टी आयोजना गरीएको छ । महाभारत गाउँपालिकाको आवधिक योजना अद्यावधिक तथा मध्यमकालिन खर्च संरचना साथै सडक गुरु योजना तर्जुमाको काम अगाडी बढेको छ ।
सभाका सदस्यज्यूहरु,
अब म आगामी आ. व. २०८२/८३ को विषयगत एवं क्षेत्रगत तथा कार्यक्रमहरु प्रस्तुत गर्दछु ।
१. आर्थिक विकास
क. कृषि
ख. पशु विकास
ग सहकारी सम्बन्धी नीति तथा कार्यक्रम
• सहकारीसँग सहकार्य गर्ने मूल उद्देश्यका साथ यस गाउँपालिका क्षेत्रभित्र स्थापना भएका सबै सहकारी संस्थाहरुको लगत संकलन, अद्यावधिक र नवीकरण गर्ने कार्यमा विशेष जोड दिदै, उक्त सहकारीहरुलाई लागत साझेदारीमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने नीति लिईनेछ ।
• गाउँपालिकाभित्र रहेका सहकारी संस्थाको अनुगमन तथा नियमन गरी विषयगत कार्यप्रति उत्तरदायी बनाइनेछ ।
२. सामाजिक विकास
क शिक्षा
ख स्वास्थ्य
ग संस्कृति सम्बन्धी नीति तथा कार्यक्रम
घ युवा तथा खेलकुद सम्बन्धी नीति तथा कार्यक्रम
ङ लैङ्गिक समानता र सामाजिक समावेशीकरण
३ भौतिक पूर्वाधार विकास
क यातायातः
ख भवन तथा आवास
ग खानेपानी तथा सरसफाई
घ जलस्रोत तथा सिँचाई
ङ संस्कृति पर्यटन पुर्बाधार
४ वातावरण, जलवायु तथा विवद् व्यवस्थापन
५ सुशासन, सार्वजनिक सेवा तथा क्षमता विकास सम्बन्धी नीति तथा कार्यक्रम
६ कर, राजस्व तथा आन्तरिक श्रोत परिचालन नीति तथा कार्यक्रम
ख स्थानीय तथ्याङ्क संकलन र अभिलेख व्यवस्थापन सामाजिक सुरक्षा तथा पञ्जीकरण
ग वित्तीय
घ न्यायिक समिति
७. राष्ट्रिय रोजगार कार्यक्रम तथा युवा स्वरोजगार कार्यक्रम
८. गरिवी निवारणको लागि लघु उद्यम विकास
अन्त्यमा, महाभरत गाउँपालिकाको आर्थिक परिवर्तनलाई रुपान्तरणको खाकातिर लैजाने कार्य सोचसहित आर्थिक वर्ष ०८२।०८३ को नीति तथा कार्यक्रम प्रस्ताव गरेको छु । प्रस्तुत नीति तथा कार्यक्रम महाभारतको भविष्यको मार्गदर्शक दस्तावेज हो । महाभारतको समग्र विकास, सुशासन, सेवा प्रवाह, पूर्वाधार निर्माण लगायतको कार्यमा प्रभावकारिता ल्याउँदै स्थानीय सरकारप्रति नागरिकले भरोसा गर्न दरिलो शासकीय अभ्यासको अभिष्ट पुरा गर्न सबैको साथ र सहयोग प्राप्त हुनेछ भन्ने अपेक्षा राखेको छु ।
महाभारत गाउँपालिकालाई जनअपेक्षा अनुरुप विकासका चाहना पुरा गर्ने, स्थानीय सरकार र स्थानीयवासीवीचको सुमधुर सम्बन्ध कायम गर्ने, आधुनिक प्रविधि र मौलिक पहिचानको सम्मिश्रणवाट महाभारतलाई समृद्ध बनाउने हाम्रो दृढ सङ्कल्प अविचलित छ । यस अवसरलाई सदुपयोग गर्दै सम्पूर्ण गाउँपालिकावासीलाई स्वच्छ, निष्पक्ष, न्यायपूर्ण र प्रतिबद्ध नेतृत्व प्रदान गरिनेछ । प्रस्तावित नीति तथा कार्यक्रमको सफल कार्यान्वयनबाट सामाजिक आर्थिक क्षेत्र गतिशील भई आर्थिक वृद्धि र पारस्परिक सम्मान र अवसरसहित सामाजिक न्याय कायम हुनेछ । यो नीति तथा कार्यक्रम कार्यान्वयनमा सबै क्षेत्रबाट सक्रिय सहयोग हुने विश्वास लिएको छु । अन्तमा, महाभारतको समग्र विकासमा योगदान गर्ने राजनीतिक दल, राष्ट्रसेवक कर्मचारी, शिक्षक, नीजि सहकारी र सामुदायिक क्षेत्र, श्रमिक वर्ग, नागरीक समाज, सञ्चार जगत लगायत सम्पूर्ण दिदीबहिनी दाजुभाई तथा विकास साझेदार संस्थाहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।
कान्छालाल जिम्बा
अध्यक्ष
२०८२ असार ९ सोमबार
प्रतिक्रिया दिनुहोस